PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

इपीएल : विराटनगरलाई हराउँदै काठमाडौँ क्वालिफायर्समा, साविक विजेता विराटनगर लिग चरणबाटै आउट



गोविन्दराज नेपाल

इपीएल : विराटनगरलाई हराउँदै काठमाडौँ क्वालिफायर्समा, साविक विजेता विराटनगर लिग चरणबाटै आउट

काठमाडौँ : साविक विजेता विराटनगर वारियर्सलाई पराजित गर्दै काठमाडौँ किंग्स ११ एभरेष्ट प्रिमियर लिग इपीएलको क्वालिफायर्समा पुगेको छ। लिगको अन्तिम खेलमा सोमवार विराटनगरलाई ५ विकेटले पराजित गर्दै ५ खेलबाट ८ अंक जोडेको काठमाडौँ शीर्ष दुईमा रहँदै क्वालिफायर्स पुगेको हो।

काठमाडौको जितमा आइरिस खेलाडी केभिन ओ'ब्रायनले अलराउण्ड प्रदर्शन गरे। विराटनगरलाई १०० रनमा अलआउट गर्न ३ विकेट लिएका केभिनले ब्याटिङमा नटआउट ४५ रन बनाए।

काठमाडौँले अब फाइनल प्रवेशका लागि ललितपुर प्याट्रिओट्ससँग पहिलो क्वालिफायर्स खेल्नेछ। ५ खेलबाट ८ अंङ्क जोडेको ललितपुर यसअघि नै क्वालिफायर्स पुगिसकेको छ।

अन्तिम खेलमा पराजित भएपछि विराटनगर भने लिग चरणबाटै बाहिरिएको छ। चितवन र विराटनगरले लिग चरणमा ५ मध्ये २ खेल जित्दै समान ४ अंङ्क जोडेपनि रनरेटमा चितवन अगाडी रहँदै प्लेअफ पुगेको हो। चितवनले अब भैरहवा ग्लाडिएटर्ससँग एलिमिनेटर खेल्नेछ।

सुरुको तीन खेलमा पराजित भएको चितवनले त्यसपछि विराटनगर र पोखरा राइनोजलाई हराउँदै ४ अंक जोडेको हो। उता सुरुको दुई खेल जितेको विराटनर भने त्यसपछि लगातार तीन खेल हार्दै बाहिरियो। काठमाडौँ विरुद्ध १८ ओभर भन्दा पछि हारेको भए विराटनगर चितवनभन्दा रनरेटमा अगाडी रहने थियो। तर १८औँ ओभरमा केभिन ओ'ब्रायनले पारस खड्कालाई तीन छक्का प्रहार गर्दै काठमाडौँलाई जिताएपछि चितवन भाग्यमानी बनेको हो।

विराटनगरले दिएको १०१ रनको लक्ष्य काठमाडौँले १७.५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो। काठमाडौँका लागि केभिन ओ'ब्रायनले नटआउट ४५ रन प्रहार गरे। ओ'ब्रायनले ४३ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे। यस्तै प्रदिप शाहुले नटआउट २१ रन जोडे।

विराटनगरका कप्तान पारस खड्काले पहिलो ओभरकै काठमाडौँका कप्तान रोहन मुस्ताफालाई शुन्यमा आउट गर्दै राम्रो सुरुवात दिलाएका थिए।  त्यसपछि काठमाडौँले चौथो ओभरमा सागर पनु (१०) र ओपनर अमित श्रेष्ठ (१४) लाई गुमायो। दुवैको विकेट विराटनगरका भान डेर मर्वेले लिए। यस्तै दशौँ ओभरमा नरेश बुढाएर ७ र ११औँ ओभरमा राजु रिजाल १ रन बनाएर आउट भएपछि काठमाडौँ १०.१ ओभरमा ४८-५ को अवस्थामा थियो। त्यसपछि केभिन ओ'ब्रयानले छैटौँ विकेटका लागि प्रदिप शाहुसँग नटआउट ५८ रनको साझेदारी गर्दै जित दिलाएका हुन्।
 

बलिङमा विराटनगरका कप्तान पारस खड्का र रोलोफ भान डेर मर्वेले २-२ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर सय रन मात्र बनाएको थियो। विराटनगरका लागि सुमित महर्जनले सर्वाधिक २५ तथा हरि शहादुर चौहानले २२ रन बनाए। कप्तान पारस खड्काले २१ रन जोडे। बाबर हायतले ११ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

तेस्रो ओभरको पहिलो बलमा ओपनर अनिल शाहलाई ६ रनमा गुमाएको विराटनगरले नियमित अन्तरमा विकेट गुमाएको थियो। कप्तान पारस खड्काले बाबर हायतलसँग दोस्रो विकेटका लागि ३० रनको साझेदारी गर्दै रन उकासे।

६३ रनमा ५ विकेट गुमाएको अवस्थामा सुमित महर्जन र चौहानले छैटौँ विकेटका लागि २५ रनको साझेदारी गरे। तर त्यसपछि थप १२ रन जोड्दा विराटनगरले बाँकी ५ विकेट गुमायो।

विराटनगरलाई अलआउट गर्न काठमाडौँका केभिन ओ'ब्रायनले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। किफायती बलिङ गरेका प्रदिप शाहलुले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिए। कप्तान रोहन मुस्ताफाले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। विक्रम भुषालले २ तथा जितेन्द्र मुखियाले १ विकेट लिए।

प्लेअफ खेलहरु:
पहिलो क्वालिफायर्स : ललितपुर प्याट्रिओट्स भर्सेस काठमाडौँ किंग्स ११

एलिमिनेटर : भैरहवा ग्लाडिएटर्स भर्सेस चितवन टाइगर्स

दोस्रो क्वालिफायर्स : पहिलो क्वालिफायर्सको पराजित टिम भर्सेस एलिमिनेटिर जित्ने टिम

फाइनल : पहिलो क्वालिफायर्स विजेता भर्सेस दोस्रो क्वालिफायर्सको विजेता




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell