काठमाडौं: राजधानीमा चल्ने सार्वजनिक सवारी साधनमा चोरी तथा पाकेटमारी गर्नेलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट सादा पोसाकमा खटिएको ५० जनाको विषेश टोलीले ७७ जना पकेटमार तथा चोरहरुलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट पाँच लाख छयानब्वे हजार रुपैयाँसमेत बरामद गरेको परिसरका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए।
यात्रुको भिडभाड हुने समयमा पाकेटमार चोरी गर्ने गरेको प्रहरीको भनाइ रहेको छ। पाकेटमारहरुले सार्वजनिक सवारी समूह बनाएर कोड ल्याङग्वेज प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।
पकेटमारले पैसालाई द, मोबाइललाई कान, पकेटमार पीडितलाई रामे, पैसा धेरै छ भन्नलाई टानको द पैसा, पैसा थोरै छ भने जुटको द, गाडीलाई कांचा भन्ने गरेको खुलेको हो।
त्यस्तै केटालाई छापा, केटीलाई भद्री, पुलिस आयोलाई ठुल्दाई आयो, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग भन्नुलाई टप्की, गाडीभित्र अगाडि सर भन्नलाई अंकल जा र गाडीभित्र पछाडी सरलाई चिछल जा भन्ने गरेको खुलेको छ।
राजधानीमा मात्र करिव ५ सय पकेटमारहरु रहेको प्रहरीले जनाएको छ। यस्ता भाषा बोलिएको सुनिएमा सावधानी अपनाउन प्रहरीले जानकारी दिएको छ।