PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

ह्विलचियरमा यात्रा गर्नेहरुको सकस : 'हिमाली पास पार गर्नभन्दा कठिन भो बाटो'

ह्विलचियरमा यात्रा गर्नेहरुको सकस : 'हिमाली पास पार गर्नभन्दा कठिन भो बाटो'

स्वेच्छा राउत/पहिलोपोस्ट


पुस ६ गते शुक्रबार। जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रको गेटमा भेटिए रामबहादुर तामाङ। कोही सहयोगी पाइन्छ कि भन्दै बसेका रहेछन् उनी। उनको कोठा यहाँबाट थोरै पश्चिमतिरको नारायणटार चोक पार गरेर २ सय मिटर दक्षिणपूर्वतिर छ। २० मिटर चौडाइको सडक हुँदै गल्लीतिर लाग्ने हिम्मत नआएपछि उनी कसैको सहायता खोजिरहेका थिए। 

अर्थोपेडिक अस्पताल र नेपाल अपाङ्ग संघसमेत रहेको केन्द्रको कम्पाउन्डबाट बाहिरिएपछि सडकको अवस्था यस्तो छ कि ह्विलचियरबाट यात्रा गर्ने उनी जस्ताको हिम्मत एक्कासी हार्छ। अरु ठाउँमा कसैको सहयोगविना नै ह्विलचियरबाट यात्रा गर्ने उनका लागि यो ठाउँ भने सहज छैन। रोचक त के हो भने, यो त्यही सडक हो जसलाई तत्कालीन जोरपाटी गाउँविकास समितिले 'अपाङ्ग मैत्री सडक' घोषणा गरेको थियो। मुलुककै पहिलो अपाङ्गमैत्री सडक भनिएको यो सडकमा फुटपाथसँगै ह्विलचेयर मार्ग पनि बनेको थियो।

‘यहाँ बसेर हेरिराख्नु पर्छ, त्यो बाटो त माथि हिमाली क्षेत्रको पासहरु जस्तो लाग्छन्, 'तामाङले सडकतर्फ औंला तेर्स्याउँदै भने, 'बरु ती पासहरु सजिलै काटियो हौ। यो बाटो त साह्रै गाह्रो छ।' अहिले यो बाटोमा अपाङ्गमैत्री सडकको अवशेषसमेत भेटिन्न। 

तामाङले १० वर्षअघि पार गरेको अप्ठ्यारो भनिने तासी लाप्चा पास, मिङ्माला पास, आमालाप्चा पास सम्झन्छन्। र, अहिले हिँड्न बाध्य यो सडकसँग त्यसको तुलना गर्छन्। 

*** 

सोलुखुम्बु, दूध कौशिकाका रामबहादुर तामाङ १४ वर्ष मात्रका थिए, जब उनले पर्यटकको भारी बोकेर पैसा जोहो गर्न थाले। घरको आर्थिक अवस्था कमजोर। स्कूल बिदा हुँदा 'पोर्टर' बन्थे र खर्च जुटाउँथे। आफूभन्दा ठूलो भारीसँगै उकालो लाग्थे, ओरालो झर्थे। हिमाली बाटो सहज हुने कुरै भएन। तर, भिर, पहरा, खोल्सा र चिप्लो बाटोसँग डराउनु 'पोर्टर' धर्मको विपरीत थियो। आवश्यक परे आफै बाटो बनाउँदै हिँड्न सक्नुपर्थ्यो। 
२०६७ सालमा रामले ट्रेकिङ थालेको १३ वर्ष भइसकेको थियो। अब त पहिले भन्दा ठूलो भारी बोक्ने, छिटो पाइला चाल्ने, धेरै पर्यटकको समूह नै नेतृत्व गर्ने भइसकेका थिए। त्यतिखेर दैनिक ६ सय ज्याला थियो, उनको। 

त्यही वर्षको असार महिना। लुक्लाबाट अमेरिकी पर्यटकहरुलाई काठमाडौं उडाएर घर जाने तयारीमा थिए उनी। त्यत्तिकैमा उनका काकाले सगरमाथा आधार शिविर हिँडेका दुईजना रसियन नागरिकको भारी बोकिदिन अर्‍हाए। 

‘थोरै मान्छे भएकाले धेरै पैसा आउँछ भन्ने लाग्यो। दैनिक १ हजार मात्र दिए पनि १८ दिनको १८ हजार,’ रामले सुनाए, 'आफैँ गेष्ट लगेपछि खाना खाजाको पनि खर्च हुन्थेन। त्यसैले पैसा आउने काम छोड्न मन लागेन।' 

तीनजना नाम्चेबाट पाङ्बुचे लाग्दै थिए। फेरिचेमा पुगेर भारी बिसाए, थकाइ मारे। गेष्ट एकछिनमै उठेर हिँडेपछि राम पनि उठे। 

‘कि नबस्नु पर्ने रै'छ कि अलि बेर नउठ्नु पर्ने रै'छ।’ 

उठेर पर्यटकको पछि लाग्दा घटेको घटना सम्झँदा उनको आँखा आज पनि रसाउँछन्।
 
असार १९ गते। 

‘म उभिएकै बाटोमा पहाडको टुप्पोबाट झारलको बथानले ढुङ्गा झार्यो। बीचतिरबाट आएको ठूलो ढुङ्गोले थिच्यो,’ उनले भने, 'त्यहीँसम्म रै'छ आफ्नै खुट्टामा उभिएर जिन्दगी चलाउनु।' 

लुक्लाको पासाङ ल्हामु निकोल निक्ली हस्पिटलबाट सिधैं जोरपाटीको अर्थोपेडिक अस्पताल सिफारिस गरियो। मेरुदण्ड भाँचिएको उनको असार २७ गते मात्र अपरेशन भयो। डाक्टरहरुले पहिलेजस्तै उभिन सक्ने आश्वासन त दिए तर त्यसो भएन। उनको कम्मरमुनिको भाग चल्न छाड्यो। करिब ६ महिना साँगाको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा पनि बसे। त्यहाँ उनले ह्विलचियरमा आउजाउ गर्न सिके। 

‘ह्विलचियर मैत्री अस्पताल र हाम्रो सडक कहाँ उस्तै हुन्थ्यो र ? डिस्चार्ज भएपछिको अवस्था निकै जटिल बन्यो,’ उनले सुनाए।


 
केही समय अस्पताल नजिकै डेरा गरी बसे। पछि सोलुखुम्बुबाट श्रीमती र छोरालाई त्यही बोलाए। ‘सहारा दिने तिनै त हुन् भनेर बोलाएँ,’ उनले भने। 

उनीजस्तै अपाङ्गता भएका व्यक्तिका लागि खुलेको संस्थासँगको आवद्धतासँगै सिन्धुपाल्चोकको तातोपानी पुगे। त्यहाँ श्रीमतीका लागि होटल खोलिदिए, छोरालाई बोर्डिङ स्कूल भर्ना गरिदिए। 

विडम्बना, उनको खुट्टा बनेकी श्रीमतीलाई पनि बैशाखीको सहारा चाहिने भयो। 

‘पहाड हल्लेर मैले खुट्टा गुमाएँ। जमिन हल्लिएर श्रीमतीले खुट्टा गुमाइन्,’ उनले २०७२ सालमा गएको भूकम्पले निम्त्याएको भवितव्य सम्झिए। तातोपानीबाट श्रीमती चिनीमायाको उपचारका लागि उनी पुन: नेपाल अर्थपेडिक अस्पताल फर्किए। 

त्यसयता उनी नारायणटारस्थित अस्पताल आसपास नै बसेका छन्। अनुभव साट्छन्, 'ठाउँ राम्रो छ, अस्पताल नजिक छ, आफूजस्तै ह्विलचियरमा भएकाहरुसँग सुख, दु:खको कुरा गर्न पाइन्छ, सीप सिक्न खोज्नेलाई त्यो पनि छ। आउन जान मात्र हो गाह्रो।' 

पैदल यात्रीदेखि सवारी साधन चालकसम्मले गुनासो गर्दै आएको जोरपाटीको सडक ह्विलचियर प्रयोगकर्ताको लागि अभिशापजस्तै बनेको छ। राम र उनकी श्रीमतीजस्तै दैनिक नेपाल अपाङ्ग संघको कम्पाउन्डमा धाउनु पर्ने धेरै छन्, जसका लागि जोरपाटीको सडक असहज र असुरक्षित छ। 

*** 

स्वयम् अपाङ्ग रहेका खगेन्द्रबहादुर बस्नेतले अपाङ्ग संघका लागि ७२ रोपनी जग्गा दान गरे। संघको कम्पाउन्डभित्र बेसहारा अपाङ्गका लागि आश्रय दिने खगेन्द्र नवजीवन केन्द्र, अपाङ्ग बालबालिकाका पढाउने एसओएस बालग्राम, नेपाल अर्थोपेडिक हस्पिटल, अपाङ्गता भएकालाई सिपमुलक तालिम र आश्रय प्रदान गर्ने बिआइए फाउन्डेसन रहेको छ। 

कुनै समय स्पाइनल इन्जुरीको अस्पतालसमेत यही कम्पाउन्डभित्र थियो। ट्रेकिङ गएक पत्रकार तथा प्रकाशक कनकमणि दीक्षित दुर्घटनामा परेपछि त्यो अस्पतालले नयाँ स्वरुप पायो। काठमाडौं मेडिकल कलेज पनि अस्पतालसँगको सडकभन्दा पारी थियो जुन पछि सिनामंगल सर्यो। त्यसैले स्थानीयले यो ठाउँको नाम नै 'अपाङ्ग' भन्न थाले, जुन यद्यपि प्रचलनमै छ।

यहाँ दैनिक सयौंको सङ्ख्यामा ह्विलचियर प्रयोगकर्ताहरु आउँछन्। नारायणटार, जोरपाटी वरपर डेरा गरेर पनि धरै ह्विलचियर प्रयोगकर्ताहरु बस्छन्। ती सबले भोग्ने दु:ख र समस्याको कथा उस्तै उस्तै लाग्छ। 

***

तीन वर्षयता हरेकदिन बौद्धदेखि धाउँछन् नवाङ छिरिङ शेर्पा। उनी बिआइएमा अपाङ्गता भएकाहरुलाई थाङ्का चित्र बनाउन सिकाउँछन्। ह्विलचियर र तीन पाङ्ग्रे स्कूटरमा यात्रा गर्ने उनको पनि सडक अनुभव निकै तीतो छ। भन्छन्, 'कुनै पनि दिन सहज यात्राका कारण खुशी भएको याद छैन।' 

बौद्धदेखि यहाँसम्मको दुरी जम्मा २ किलोमिटरमात्र हो तर यति पार हुन् उनलाई पूरै ३० मिनेट लाग्छ। पेटीरहित सडक, खाल्डाखुल्डी, ट्राफिक जाम र ट्राफिक नियम नमान्ने सवारी चालकहरु उनीहरुका लागि ठूलै समस्या हुन्।
 
शेर्पा यी सबैको दोष सरकारलाई मात्र दिँदैनन्। भन्छन्, 'आम मान्छेले ह्विलचियर वा कुनै पनि अपाङ्गलाई हेर्ने दृष्टिकोण, गर्ने व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ।' 

हम्मेहम्मे गरी ह्विलचियर गुडाउँदा 'कसरी लैजान्छ?' भन्दै हेर्नेहरु धेरै पटक देखेका छन्, उनले। ‘कसरी कटाउँछ भनेर हेर्छन्। हामीलाई पनि कसैले विचरा भनेर सहयोग गरुन भन्ने लाग्दैन तर हामीलाई सहज हुने संरचना बनाइदिए पुग्थ्यो।' 

*** 
२०७० सालमा ह्विलचियर मैत्री सडक पेटी निर्माण भयो। जोरपाटी ओरालोदेखि वाग्मती पुलसम्म बनाइएको ह्विलचियर मैत्री पेटी सडक बिस्तारका नाममा भत्काइयो। भत्काउने काम सजिलै भए पनि बनाउनेक्रम चाहिँ खासै अगाडि बढेन र अहिलेको हालत भोगिरहन वाध्य छन् उनीहरु।

'हामीले रुमालमा पैसा थापेर बनाएको अपाङ्गमैत्री सडक एकपटक पनि जानकारी नदिइ भत्काइयो,’ नेपाल अपाङ्ग संघमा भेटिएका नवराज कार्कीले आक्रोशित हुँदै सुनाए, 'राज्यले हामीलाई नागरिकता बाहेक केही दिएन। हामीले आफ्नै बलवुतामा बनाएको पेटी पनि गैरजिम्मेवार भएर भत्काए।' 

सडक त बनाउने सुरसार चलिरहेको छ। तर, त्यो ह्विलचियर मैत्री हुने प्रस्ट छैन। ह्विलचियर मैत्री भन्नाले सिंढी, खाल्डो वा कुनै पनि अवरोधरहित सडक पेटी हुन्। तर, काठमाडौंका कुनै पनि सडक त्यस अनुरुप नबनाइएको उनको दावी छ। 

गत वर्ष बिआइएमा आश्रित सविन थापालाई गाडीले ठक्कर दियो। थापाको हातमा चोट लाग्यो र ह्विलचियर बिग्रियो। उक्त घटनापछि करिब ६०/७० जना ह्विलचियर प्रयोगकर्ताले गोकर्णेश्वर नगरपालिकामा पुगेर नगर प्रमुख सन्तोष चालिसेलाई ज्ञापन पत्र बुझाए। लगत्तै नगरपालिकाले ग्राभेल बिच्छ्याइ पनि दियो। तर, माटो मिसिएको ग्राभेलका कारण ह्विलचियर गाढिने र चिप्लिने समस्या झन् बढ्यो।
 
'यही बाटो हुँदै गोकर्ण फरेस्ट रिसोर्ट जाने मन्त्रीहरुले पनि देखेका होलान् यो विजोग। उनीहरुलाई पनि अवस्था दयनीय लाग्ला। तर, हाम्रा लागि केही गर्न आवश्यक ठान्दैनन्,' नवराजले भने, 'हामीलाई भिन्न केही चाहिएको होइन। भइरहेको संरचना हाम्रा लागि पनि सहज बनोस् भन्ने हो। तर, यहाँ दुईजना हिँड्न गाह्रो हुने पेटी छ। पेटीको बीचमा पोल, पसल, पार्किङ छन्।'  

गोकर्णेश्वर नगपालिकाका मेयर सन्तोष चालिसेले भने अब सडक बन्दा ह्विलचियर प्रयोगकर्ताको ध्यानमा राखेर काम भइरहेको बताए। 'जोरपाटी चोकबाट पेटी बनाउने काम सुरु भइसकेको छ,' उनले भने, 'बनिरहेका सडक पेटी अपाङ्ग मैत्री हुनेछन्। पेटीको बीचमा पोल, खाडल र अरु अवरोध केही हुने छैनन्।'

*** 

सुनसरीका टिकाराम ढुङ्गाना ६ वर्षको उमेरदेखि खगेन्द्र नवजीवन केन्द्रमा छन्। केही साता अघि उनको इलेक्ट्रिकल ह्विलचियर ग्राभेल हालेको सडकमा पल्टियो। उनको शरीरमा सामान्य चोट लाग्यो तर त्यो भन्दा बढी मनमा दुख्यो। 

'जादुको छडी कसैको हातमा छैन। आजको भोलि केही भयङ्कर परिवर्तन होस् भनेका होइनौं। तर, वर्षौ देखिको विजोग देखिएको छैन र?,’ ढुङ्गानाले प्रश्न गरे।

उनका अनुसार सानातिना दुर्घटनाले पनि ह्विलचियर बिग्रने सम्भावना धेरै हुन्छ। नेपालमा प्राय: प्रायोजित ह्विलचियर प्रयोग हुन्छन् जुन विदेशमा प्रयोग भइसकेपछि नेपाल पठाइन्छ। यहाँ कुनै पनि किसिमको ह्विलचियर उत्पादन हुँदैन। ‘किनेर चलाउन धेरै महङ्गो पर्छ। प्रायले प्रयोग गर्ने सहयोगार्थ नै हो,’ उनले भने, 'त्यो पनि बाटोका कारण ठोक्किने, बिग्रिने हुन्छ। मर्मतका लागि आवश्यक सामाग्री समेत पाइँदैन।' 

काठमाडौंमा सार्वजनिक सवारी साधनहरु पनि अपाङ्ग मैत्री छैनन्। साझा यातायातले चलाउने भनिएको बस यातायात मैत्री हुने भनिएको छ तर त्यो यो रुटमा देखिन्न। भएकै रुटमा पनि सडकको संरचनाले ह्विलचियर मैत्री बस गुड्न सक्ने अवस्था छैन। त्यसैले ह्विलचियर नै आवत जावतको एकमात्र विकल्प हो। 

*** 

१८ वर्षदेखि नेपाल अर्थपेडिक अस्पतालमा कार्यरत् डाक्टर मुक्तिनाथ तिमिल्सिनाले कहिल्यै पनि जोरपाटी नारायणटार सडकलाई अपाङ्ग मैत्री नपाएको दावी गरे। पानी पर्दा हिलो र घाम चर्कँदा अत्याधिक धुलो हुने सडकका कारण अरु मानिसमा भन्दा धेरै ह्विलचियर प्रयोगकर्ताको स्वास्थ्यमा असर गरेको तर्क गरे। 

'प्राय स्पाइनल कर्डमा चोट लागेकाहरुका लागि ह्विलचियर अनिवार्य हो। उहाँहरुको चोट र कम कसरतका कारण छाती कमजोर हुन्छ,’ प्रष्ट पार्दै भने, 'त्यसैले धुलोले चाँडै असर गर्छ। निमोनियाको सम्भावना बढी रहन्छ।' 

अरुको तुलनामा उनीहरुमा दिसा, पिसाब रोक्ने क्षमता कम हुन्छ। शौच नियन्त्रणका लागि ‘क्यापिट्राइजेसन’ तालिम लिएका हुन्छन्। जसले हरेक दिन दिसा तथा पिसाब फेर्ने एकै समय मिलाउन मद्दत पुर्याउँछ। तर, सडकको खाल्डा खुल्डीका कारण उक्त प्रक्रियामा पनि असर गर्छ। 

'यहाँ प्रायले हातले ठेल्नु पर्ने म्यानुअल ह्विलचियर प्रयोग गर्नुहुन्छ। शारीरिक पीडा छँदैछ साथै ह्विलचियरमा अडिने शारीरिक भागहरु जस्तो पिठ्यु र थाइमा ‘प्रेसर सोर’को सम्भावना हुन्छ।' 

प्रेसर सोर घस्रणका कारण बन्ने घाउ हो जसले इन्फेक्सन निम्त्याउँछ। पिसाबको नली छोटो हुने भएकाले  महिला ह्विलचियर प्रयोगकर्तामा सोर र पिसाब इन्फेक्सन बढी हुने उनले बताए। 

यहाँको बाटोको पहिचान बनेको छ - हिउँदमा धुलो र वर्षामा हिलो। यस्तैमा उनीहरु यात्रा गर्न वाध्य छन्।

डाक्टर तिमिल्सिनाले भनेजस्तै रामबहादुर तामाङ आफ्नो हातमा उठेको ठेला र चोटको दागहरु देखाउँछन्। भन्छन्, 'यस्तो दु:ख त पहाड उक्लिँदा, सयौं केजी भारी बोक्दा र लड्दा पनि भएन हौं।'



ट्रेन्डिङ पोस्ट

Ncell