PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

कालीकोटमा आगो लाग्दा काठमाडौंमा आत्तिएको मन : आगोपछि हिउँको पिरलोमा स्थानीय



स्वेच्छा राउत

कालीकोटमा आगो लाग्दा काठमाडौंमा आत्तिएको मन : आगोपछि हिउँको पिरलोमा स्थानीय

पुस १० गते बिहान ४ बजे। शिव शंकर न्यौपाने निद्रामै थिए। अचानक उनको फोनको घण्टी बज्यो। काठमाडौंको बढ्दो चिसो, उठ्ने मन त थिएन। तर, कलेज जानु पर्ने समय भएको अनुमान गर्दै फोन हेरे - घरबाट रहेछ। 

बिहानको ४ बजे घरबाट फोन? 

उनी झसङ्ग भए। हतासमा फोन उठाइहाले। उताबाट आमाको आत्तिएको आवाज आयो - ‘बाबु बाबु आगो लाग्यो आगो’। 
फोन काटियो। 

शिवलाई निद्रा र चिसोको प्रवाह भएन। जुरुक्क उठे। 

रिडायल गरे।

सम्पर्क हुन सकेन। पटकपटक प्रयास गरे तर फोन लाग्दै लागेन। 

‘होस हवास् उड्यो। आफ्नै घरमा भवितव्य नपरी आमा पक्कै आत्तिनु भएन,’ शिवले सुनाए। 

बिहान ९ बजेपछि ठूली आमा देवु उपाध्यायको फोन आयो। बल्ल थाहा पाए- उनको घर मात्र होइन गाउँ नै सखाप भएको रहेछ। बस्तीमा नेटवर्क नभएपछि केही परको डाँडामा गएर फोन गरेकी थिइन् उनले। यसपटक पनि विस्तृत जानकारी त लिन पाएनन् तर मानवीय क्षति नभएको थाहा पाएपछि थोरै नै सहि राहतको सास फेरे। 

त्यसपछि हतारिँदै अनलाइन मिडिया चहारे, पत्रपत्रिका खोज्न थाले। शीर्षक थियो- 'कालीकोटको खाडागाउँमा ८७ घर खरानी'। 

फेसबुकमा पनि मान्मदेखि जुम्लामा भएकाहरुले आफ्नो गाउँमा भएको आगलागीको जानकारी प्रवाह गरेको गर्यै  थिए। उनको आँखामा आफ्नो घर झल्झली आयो। खरले छाएको एकनासका घरहरुले बस्ती नै सुन्दर देखिन्थ्यो। ती सब खरानी भएको कल्पना गर्न खोजे सकेनन्। 

'तीन वर्ष अघि भूकम्प जाँदा आमाबुबाको हालत के भएको थियो होला भन्ने यस घटनाबाट मैले अनुमान गर्न सकेँ,' उनले २०७२ वैशाख १२ गतेको त्यो दिन सम्झिए, जब भूकम्पले पूरा काठमाडौं तहस नहस पारेको खबरहरु आइरहेका थिए। उनी काठमाडौंमा थिए, परिवार गाउँमा। भूकम्पले कालीकोटमा असर गरेको थिएन। तर, भोलिपल्टसम्म उनको र परिवारको सम्पर्क भएन। 

'त्यो बेला म सुरक्षित छु भन्दाभन्दै आमा आत्तिएर रुनुको कारण बल्ल थाहा पाएँ,' उनले अवस्था दाँजे। 

आगो लागेको खाडागाउँ कालीकोटको पलाता गाउँपालिका वडा नम्बर १ मा पर्छ। सदरमुकामबाट करिब ३० कोश टाढाको पाखोमा छ यो गाउँ। सदरमुकामबाट तीन घण्टा गाडीमा र गाडीबाट ओर्लिएर करिब तीन घण्टा नै हिँडेर मात्र पुगिन्छ यहाँ। 

स्थानीय अध्यापक नविन न्यौपानेको घरको छानोबाट मध्यरातमा आगलागी सुरु भएको थियो। जोडिएर रहेका घरहरुमा आगो सल्कन केही बेर पनि लागेन। गुहार्दा र आत्तिएर रोइकराइ गर्दा बस्तीका सबै परिवार घरबाट निस्किए। 

'बस्तीको संरचना हेर्दा अनुमान गरेँ, कुनै घर पनि बच्दैनन् भन्ने,' शिवले खरले छाएको त्यो घना बस्ती सम्झिए। 

पानीको अभावले आगो नियन्त्रणमा ल्याउनु सम्भव भएन। किनकि गाउँमा जम्मा चारवटा धारा छन्। रातभर मुलको पानी ट्याङ्कीमा जम्मा हुन्छ र बिहान दिउँसो धारामा छोडिँदै आएको छ, आगो निभाउने पानी पाउने कहाँबाट? गाउँबाट डेढ दुई घण्टा पैदल हिँडेपछि कर्णाली नदी पुगिन्छ। पानीको अन्य स्रोत केही छैन।
 
स्थानीयले स्याउला, घाँस पातले आगो निभाउन त खोजे। तर, सकेनन्। उल्टै आगोको रापले गर्दा ११ जनाभन्दा बढी घाइते भए। जसमध्ये ६५ वर्षीय दिप न्यौपाने, ६५ वर्षकै लाल न्यौपाने, ५० वर्षीया औली न्यौपाने, ४२ वर्षीया चैती न्यौपाने र अन्य गम्भीर घाइते भए। करिब तीन सयजना विस्थापित भए। १४० घरमध्ये ८७ घरत पूरै नष्ट। अरुमा पनि थोरबहुत क्षति। 

यहाँ मानवीय क्षति भएन भन्दा  'धन्न' भन्ने ठाउँ रहन्छ। तर, आगलागीपछिको बिजोग झनै भयावह छ। 

वस्तुभाउ रहेनन्। हिउँ पर्न सुरु हुने समय भयो। यही बेला सिंगो गाउँ नै छानोबिहीन। ओड्ने ओच्छ्याउने जले। पाल टाङ्ने वा अस्थायी बास बनाउने ठाउँ समेत छैन, भीरकै काखको बस्ती। वर्षभर काम गरेर उब्जाएको बालीले  ६ महिना धान्दैन। त्यो पनि आगोमा झोसिएर खरानी बन्यो। गाउँमा युवा थिएनन्। बालबालिका र वृद्धवृमात्र। अहिले पनि उनीहरु आत्तिने र डराउने क्रम जारी छ। 

यहाँका युवा प्राय सुर्खेत, धनगढी, वा भारतका विभिन्न शहरमा कामका लागि गएका छन्। थोरै काठमाडौंतिर पनि भेटिन्छन्।  कमाएर पठाउनेहरुको भरमा टर्छ परिवारको छाक। 'थुम्थुम्याउने भनेकै बालबालिकाले वृद्धवृद्धालाई वृद्धवृद्धाले बालबालिकालाई। ती बाहेक कोही छन् भने स्थानीय विद्यालयमा पढाउने र कार्यालयहरुको कर्मचारी हुन्,' शिवले गाउँको अर्को दु:खद् पाटो सुनाए। 

घटनाका भुक्तभोगी आनन्द उपाध्याय पनि आत्तिएका छन्। पहिलोपोस्टसँगको फोन संवादमा उनले भने, 'अहिले अवस्था सामान्य देखिन्छ। तर, बस्तीमा आगो निभे पनि मनमा निभेको छैन।' 

उनले आगलागी पछि हिमपातसँग जुध्नु पर्ने अवस्थाको कुरा सुनाए। 

हाल पूर्ण क्षति नभएका घर, वरपर गाउँ र स्थानीय श्री गणेश माध्यमिक विद्यालयमा आगलागी पीडितहरुलाई राखिएको छ। प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न संघ संस्थाहरुले पनि राहत सामाग्री पुर्याइसके। 

उपाध्यायले भने, 'बाह्र पन्ध्र दिनका लागि पुग्ने खाद्यान्न, लत्ता कपडा र ओड्ने ओच्छ्याउने  वितरण भइसक्यो। अब त्यसछिको बारेमा पनि सोच्न आवश्यक छ।' 

गृह मन्त्रालयले पनि आगलागी भएको दिन नै नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौंबाट ६० थान त्रिपाल, ३०३ थान लत्ता कपडा, २०० थाल ब्ल्याङ्केट, ११७ जोर जुत्ता पठाएको जनाएको थियो। त्यस्तै सुर्खेतबाट १०० थान ब्ल्याङ्केट, १०० थान सिरक डस्ना, ५ रोल म्याट, १५ कार्टुन चाउचाउ, ६ कार्टुन बिस्कुट, ३ बोरा चिउरा, २३ किलो फुरन्दाना र भाडाकुडा पठाइएको थियो। 
हाल खाडागाउँमै रहेका आनन्दका अनुसार नुन तेल चामलको भने अभाव छ। 

रत्नराज्य क्याम्पसका विद्यार्थी समेत रहेका शिव शंकर न्यौपाने भन्छन्, 'वर्ष भर काम गर्दा पनि ६ महिना खान अन्न नजुट्ने ठाउँमा सबैकुरा सकियो। अब अभावको सामाग्री लिएर मात्र घर जानुछ।' 

रत्नराज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले त्यसैका लागि राहत संकलन थालेको छ। राहत बटुल्ने कार्य अन्य क्याम्पसतिर पनि गर्ने उनीहरुको तयारी छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell