PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

मनाङ आठौँ पटक लिग च्याम्पियन

मनाङ आठौँ पटक लिग च्याम्पियन

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौँ : मनाङ मर्स्याङ्दी क्लबले बिहीवार संकटा क्लबलाई ३-१ ले पराजित गर्दै २ खेल अगावै सहिद स्मारक ए डिभिजन लिगको उपाधि पक्का गरेको छ।

ए डिभिजन लिगमा सर्वाधिक सफल टोलि मनाङको यो कीर्तिमानी आठौँ उपाधि हो। उपाधिसँगै मनाङले नगद ५० लाख पुरस्कार पनि पक्का गरेको छ। यस्तै मनाङले एएफसी कप पनि खेल्न पाउनेछ।

लिगमा लगातार ११ खेल जित्दै च्याम्पियन बन्ने पनि मनाङ पहिलो क्लब बनेको छ। यस सिजन अपराजित रहने एक्लो क्लब रहेको मनाङले दोस्रो स्थानको संकटालाई पराजित गरेपछि लिगमा दुई चरण अघि नै उपाधि जितेको हो।

मनाङले लगातार ११ जित्दै ३३ अंक जोड्दा समान खेलबाट सकंटाको २५ अंक छ। अब संकटाले बाँकी दुई खेल जिते पनि मनाङलाई भेट्टाउने छैन। यस्तै तीन खेल खेल्न बाँकी थ्री स्टारको २३ अंक छ र उसले बाँकी खेल जितेपछि मनाङलाई भेट्ने छैन। 

एन्फाले साढे चार वर्षपछि आयोजना गरेको लिगमा यस पटक रेलिगेशनको व्यवस्था छैन। 

मनाङले यसअघि २०४३, २०४४,२०४६, २०५७, २०६०, २०६२ र २०७० मा लिगको उपाधि जितेको थियो। पछिल्लो पटक २०७० मा भएको ए डिभिजन लिगको च्याम्पियन समेत रहेको मनाङले उपाधि रक्षा समेतच गरेको हो।

'आजको खेल लिगको फाइनल जस्तै थियो। हामी आज च्याम्पियन बन्ने र कीर्तिमान बनाउनका लागि खेलेका थियौँ। त्यसमा सफल भयौँ।' मनाङको प्रशिक्षण सम्हालेको पहिलो सिजनमै लिगको उपाधि जितेपछि उत्साहित देखिएका मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भने।

'सबैको महेनत र परिश्रमले लिगको उपाधि जित्न सफल भयौँ। अब हाम्रो लक्ष्य बाँकी दुई खेल पनि जितेर नयाँ कीर्तिमान बनाउने हो।'

एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा संकटाले मनाङलाई पहिलो हाफमा कडा टक्कर दिएपनि इन्जुरी टाइममा विशाल राईको गोलमार्फत मनाङले अग्रता लियो।

आठौँ मिनेटमा कमल श्रेष्ठको फ्रिकिक र १५औँ मिनेटमा हेमन गुरुङको ३० यार्ड टाढाबाट प्रहार गरेको बल पोष्टमा लागेर फर्कँदा मनाङले अग्रता लिने मौका गुमाएको थियो।

तर पहिलो हाफमा थपिएको इन्जुरी टाइमको पहिलो मिनेटमा विशाल राईले प्रहार गरेको कर्नर संकटाका गोलकिपर राजा बाबुले पन्च गर्न खोज्दा बल संकटाका रोसन पहारीको खुट्टामा लागेर आफ्नै पोष्टमा छिरेपछि मनाङले अग्रता बनायो।

'हामीले पहिलो हाफमा धेरै अवसर पाएपनि बारमा लागेर पर्कियो। अवसरहरु पाएपनि स्कोर भएको थिएन। यती प्रयास गरेपछि गोल हुन्छ भन्नेमा विश्वस्त थिएँ। र त्यसमा सफल पनि भयौँ।' मनाङका प्रशिक्षक श्रेष्ठले भने।

दोस्रो हाफको अन्तिम दश मिनेटमा ३ गोल सम्भव हुँदा मनाङले दुई गोल थप्यो। ८१औँ मिनेटमा पुजन उपकोटीले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे। एक मिनेट अगाडि मात्र सुजल श्रेष्ठको स्थानमा मैदान छिरेका पुजनले विशाल राईको कर्नरमा हेडमार्फत गोल गरे।

विशाल कै पासमा ८७औँ मिनेटमा विदेशी खेलाडी एडालाजे सोमिडेले गोल गरेपछि मनाङको जित सुनिश्चित जस्तै बनेको थियो। खेल अवधीभर मनाङलाई कडा टक्कर दिएको संकटाका लागि विदेशी खेलाडी सेड्रिक अबाले ८९औँ मिनेटमा सान्त्वना गोल फर्काए।

पहिलो सिजन नै च्याम्पियन बनेपछि मनाङका प्रशिक्षक श्रेष्ठले लिगबाट धेरै कुराहरु सकेको बताए। 'यस लिगबाट धेरै कुराहरु सिकयो। यसअघि सिक्किममा भएको गर्भनर्स गोल्डकपमा पनि म नै प्रशिक्षक हुँदा मनाङले उपाधि जितेको थियो। यस मानेका म अलीकती भाग्यमानी जस्तो पनि भएँ। लिगका क्रममा धेरै कुराहरु सिक्दै गएँ। खेलाडीहरु पनि फ्रेण्डली भएर सजिलो भयो।' यस सिजन मनाङले लिगमा लागि नाइजेरियाली प्रशिक्षक फुजा तोपेलाई मुख्य प्रशिक्षक नियुक्त गरेपनि कागजी प्रकिया नमिल्दा श्रेष्ठले टचलाइनमा बस्ने जिम्मेवारी पाएका थिए।

'फुजा र म दुवै जनाको महिनेतले नै लिगको उपाधि सम्भव भएको हो। ट्रेनिङ देखि खेल सम्म हामी दुवै मिलेर सल्लाह गरेर निर्णय गर्थ्यौँ। फुजा भएर पनि मलाई धेरै सजिलो भयो।' श्रेष्ठले जितको श्रेय फुजालाई समेत दिए।

यस्तै च्याम्पियन मनाङका कप्तान विराज महर्जनले अपराजित रहँदै उपाधि जित्दा एकदमै खुशी लागेको बताए। 'हाम्रो टिम युनिटीले गर्दा नै हामी च्याम्पियन भयौँ। सबैले कडा मेहनत गरे।'

 

मनाङको लगातार ११ जित

ब्रिगेड ब्वाइजविरुद्ध : ३–१

एनआरटीविरुद्ध : २–०

थ्री स्टारविरुद्ध : २–१

एपीएफविरुद्ध : २–१

सरस्वती युथविरुद्ध : २–०

जावलाखेल युथविरुद्ध : १–०

मच्छिन्द्रविरुद्ध  : १–०

त्रिभुवन आर्मीविरुद्ध : १–०

च्यासल युथविरुद्ध : ३–१

नेपाल पुलिसविरुद्ध : १–०

संकटाविरुद्ध : ३-१

 



ट्रेन्डिङ पोस्ट

Ncell