PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

'अर्ली' हैन 'टाइम्ली' महाधिवेशनको पक्षमा पौडेल, 'महासमितिमा मुद्दा मिलेकाले देउवासँग एक भएँ'



'अर्ली' हैन 'टाइम्ली' महाधिवेशनको पक्षमा पौडेल, 'महासमितिमा मुद्दा मिलेकाले देउवासँग एक भएँ'
फाइल फोटो

गोरखा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको अझै सिद्धान्तको टुंगो नलागेको आरोप लगाएका छन्।

राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस गोरखाले आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले अहिले पनि समाजवाद कि जनवाद भनेर नेपाल कम्युनिष्ट पार्टीका नेताहरु रुमलिरहेको आरोप लगाएका हुन्। पौडेलले भने, ‘अहिले पनि केपी ओली जनवाद भनेर भन्दैहुनुहुन्छ अनि प्रचण्ड चाँही समाजवाद भन्दै हुनुहुन्छ। उहाँहरुले अझै पनि सिद्धान्तमा कन्फ्यूज हुनुहुन्छ ।’ 

सिद्धान्तमा नै कन्फ्यूज भएको शक्तिले मुलुकमा समृद्धि ल्याउन नसक्ने दाबी गरे। सिद्धान्तको टुंगो नलागेको पार्टीकै कारण अहिलेको सरकार गतिहिन बनेको पौडेलको भनाई थियो।

नेपालका कम्युनिष्टहरु नारा लगाउन सिपालु भएको जिकिर गर्दै  पौडेलले थपे, ‘कम्युनिष्टहरु थुतुनो चलाउन सिपालु छन्। काम गर्ने ढंग छैन। त्यसकारण मुलुकको समृद्धिका लागि फेरि पनि नेपाली कांग्रेसले नै नेतृत्व लिनुपर्छ।’

सुशासनको चर्को भाषण गर्ने केपी ओलीको सरकार अहिले काण्डै काण्डमा फसेको तर्क पौडेलले गरे। वर्तमान सरकारका वाइडवडी काण्ड, सुन काण्ड, चिनी काण्ड कैयौं काण्ड मच्याएर पैसाको राजनीतिलाई बढवा दिएको पौडेलको आरोप थियो। पौडेलले पैसाको राजनीति लोकतन्त्र र सुशासनको सबैभन्दा ठुलो शत्रु भएको तर्क गरे।

पौडेलले विपीले लिएको मेलमिलापको नीतिको सान्र्दभिकता अझै रहेको उल्लेख गर्दै अब राष्ट्रिय हित र राष्ट्रियताका लागि राष्ट्रिय शक्तिका बीचमा अझै पनि एकता आवश्यक रहेको बताए। भने, ‘कांग्रेस राष्ट्रवादी शक्ति हो। कांग्रेस हिमाल पहाड तराईलाई एकै ठाँउमा राख्ने प्रयासमा लाग्यो। तर चुनावमा बेलामा मधेशलाई विहारमा मिसाउदा हुन्छ भन्ने केपी ओलीलाई राष्ट्रवादी भनियो। अब कांग्रेसले सच्चा राष्ट्रवादी शक्ति हो भनेर जनतालाई बुझाउन जरुरी छ।’

पौडेलले आफु सधै पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्दै भने–‘पार्टी एक बन्नुपर्छ भनेर मैले वीपी सुवर्णका पालादेखि नै भन्दै आएको हो। तर पार्टी एकता मुद्दामा हुन्छ। जीवन्त र लोकतान्त्रीक पार्टीमा छलफल र बहस हुन्छ।’ पौडेलले महासमिति बैठकमा पार्टी सभापति पार्टीको विधान लोकतान्त्रिक र समावेशी बनाउन तयार भएपछि त्यो मुद्दा सभापतिसँग आफु एक भएको बताए। एकताका लागि न्याय, निष्पक्षता र पारदर्शी मुल्याङकन हुनुपर्ने उल्लेख गर्दै उनले आफु अर्लि महाधिवेशनको पक्षमा नभई टाइम्ली महाधिवेशनको पक्षमा भएको स्पष्ट पारे।

पौडेलले अहिलेदेखि सदस्यता वितरण अभियान सुरु गरेर टोल, वडा, गाउ नगर तथा सबै तहगत अधिवेशन गर्ने हो भने अब टाइम्ली महाधिवेशन सम्भव भएकाले केन्द्रीय समितिको बैठकमा आफुले सोही धारणा राख्ने बताए। भने, ‘पार्टीको उज्यालो भविश्यका लागि अब क्यालेण्डरमा काम गर्न जरुरी छ। क्यालेण्डरमा काम गरे मात्र कम्युनिष्टसंग लड्न सकिन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell