PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

ए डिभिजन लिग : मनाङको लगातार १२औँ जित, कीर्तिमानबाट एक जित टाढा



गोविन्दराज नेपाल

ए डिभिजन लिग : मनाङको लगातार १२औँ जित, कीर्तिमानबाट एक जित टाढा
file photo : anfa

काठमाडौँ : यसअघि नै सहिद स्मारक ए डिभिजन लिग २०७५ को उपाधि पक्का गरिसकेको मनाङ मर्स्याङ्दी क्लबले बुधवार हिमालयन शेर्पालाई पराजित गर्दै अपराजित यात्रालाई १२ खेलसम्म कायम राखेको छ।

लिग अन्तर्गत १२औँ चरणको खेलमा मनाङले शेर्पालाई २-१ ले पराजित गरेको हो। लगातार १२ खेल जितेको मनाङले ३६ अंक जोडेको छ। मनाङले यसभन्दा अघिको खेलमा संकटालाई पराजित गर्दै दुई खेल अगावै लिगको उपाधि पक्का गरेको थियो।

यस्तै बुधवारै भएको खेलमा संकटाले थ्री स्टारमाथि पुनरागमन जित हात पारेको छ। अमित तामाङले दुई पेनाल्टीमा दुई गोल गरेपछि संकटाले थ्री स्टारलाई २-१ ले पराजित गर्दै लिगमा दोस्रो स्थान पक्का गरेको हो।

हलचोकस्थित एपीएफको मैदानमा शेर्पाले मनाङलाई सुरुवातमा दबाबमा राखेपनि विदेशी खेलाडी आफिज ओलावाले ३३औँ मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाए। डिफेण्डर कमल श्रेष्ठले उपलब्ध गराएको लामो पासलाई सदुपयोग गर्दै ओलावाले शेर्पाका गोलकिपर किशोर गिरीलाई बिट गर्दै गोल गरेका हुन्।

४५औँ मिनेटमा शेर्पाका विश्वास श्रेष्ठले एकल प्रयासमा उत्कृष्ट गोल गरेपछि पहिलो हाफको खेल १-१ को बराबरीमा सकिएको थियो।

६३औँ मिनेटमा विशाल राईले दिपक राईको पासमा गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाए।  उक्त गोल नै मनाङको अपराजित यात्रा कायम राख्न निर्णायक बन्यो। ६९औँ मिनेटमा मनाङका मोहमद आसिफ र शेर्पाका विश्वास श्रेष्ठले रातो कार्ड पाएपछि दुवै टोलीले १० खेलाडीमा झरेर खेलको अन्त्य गरेका थिए।

दुवै खेलाडीबीच हात हालाहालको अवस्था आएपछि रेफ्री कविन ब्यन्जनकारले दुवैलाई रातो कार्ड देखाएका थिए।

लगातार १२ खेल जितेपछि मनाङका प्रशिक्ष सुमन श्रेष्ठले शेर्पा विरुद्ध सोचेजस्तो खेल्न नसकेको स्वीकारे। 'आज शेर्पाले पनि राम्रो खेल्यो। हामीले सोचेजस्तो खेल्न सकेनौँ। तर नतिजा आफ्नो पक्षमा आएकोले त्यसैमा सन्तुष्ट छौँ।'

मनाङले शेर्पा विरुद्धको खेलमा सुजल श्रेष्ठ र विदेशी खेलाडी एडालाजे सोमडेलाई रेष्ट गराएको थियो। दुवै खेलाडी पूर्ण रुपमा फिट नभएकाले जोखिम लिन नचाहेको प्रशिक्षक श्रेष्ठले बताए।

लिगको तेस्रो चरणको खेलमै मनाङले मिडफिल्डर प्रकाश बुढाथोकीलाई चोटकै कारण गुमाएको थियो। प्रकाश, सुजल र सोमिडे एकैपटक नहुँदा मनाङको मिडफिल्ड लाइनमा केही समस्य देखिएको पनि श्रेष्ठले स्वीकारे।

मनाङले अब यस सिजनको अन्तिम लिग खेलमा फ्रेण्ड्स क्लबसँग खेल्नेछ। तुलनात्मक रुपमा कमजोर रहेको फ्रेण्ड्स विरुद्ध जित हात पार्दै लिगमा नयाँ कीर्तिमान बनाउने लक्ष्यमा रहेको प्रशिक्षक श्रेष्ठले बताए।

उता दोस्रो स्थान हात पार्ने होडका लागि भएको खेलमा पेनाल्टी गोलको मद्दतमा संकटाले थ्री स्टारलाई हरायो।

खेल अवधीमा संकटाले दुई पेनाल्टी पाएको थियो र अमित तामाङले दुवै पेनाल्टीलाई गोलमा परिणत गरेपछि संकटाले लिगमा दोस्रो स्थान पक्का गरेको हो।

एन्फा कम्प्लेक्स मैदानमा भएको खेलको ३०औँ मिनेटमा रन्जन विष्टले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। तर १२ मिनेटपछि संकटाका अमित तामाङले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमै खेल बराबरी गरे।

६४औँ मिनेटमा पनि संकटाले पेनाल्टी पायो र त्यसमा अमितले नै गोल गर्दै संकटालाई २-१ को अग्रता दिलाए। त्यही पेनाल्टी गोल निर्णायक बन्दा संकटाले लिगमा नवौँ जित हात पार्‍यो।

१२ खेलमध्ये ९ जित र १ बराबरीसहित संकटाले २८ अंक जोडेको छ। यस सिजन मनाङ र त्रिभुवन आर्मीसँग मात्र हारेको संकटाले पुलिस, हिमालयन शेर्पा, च्यासल र थ्री स्टार जस्ता बलिया क्लबलाई समेत हराएर अन्डर डगको छवी बनाएको हो।

अब एक खेल मात्र खेल्न बाँकी रहँदा संकटाले तेस्रो स्थानमा रहेको थ्री स्टारमाथि ५ अंकको अग्रता कायम गरेको छ।

सिजनको तेस्रो खेलमा मनाङसँग हारेको थ्री स्टारको भने यस सिजन यो तेस्रो हार हो। थ्री स्टार यसअघि नेपाल पुलिससँग पनि अग्रता जोगाउन नसक्दा पराजित भएको थियो।

१२ खेलबाट थ्री स्टारले २३ अंक मात्र जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell