PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

युएईविरुद्धको सिरिज नेपाललाई किन महत्वपूर्ण? यस्ता छन् तीन कारण



गोविन्दराज नेपाल

युएईविरुद्धको सिरिज नेपाललाई किन महत्वपूर्ण? यस्ता छन् तीन कारण

काठमाडौं: पहिलो पटक आइसीसी ओडिआई नेसनलको मान्यता पाएपछि नेपालले १० महिनाको अन्तरमा दोस्रो ओडिआई सिरिज खेल्दैछ।

नेपालले युएईविरुद्ध यही जनवरी २५ देखि ३ खेलको ओडिआई सिरिज खेल्न लागेको हो। यस्तै युएईविरुद्ध नै नेपालले ३ खेलको टी २०आई सिरिज पनि खेल्दैछ।

एकैपटक यती धेरै खेलहरु खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलवार युएई प्रस्थान गरेको छ।

दुई फरक फर्म्याटको खेल खेल्नुपरेका कारण यस पटक नेपाली टिममा १६ खेलाडी राखिएको छ। पारस खड्काको कप्तानीमा रहेको टोलीमा चार नयाँ अनुहारको रुपमा भिम सार्की, पवन सर्राफ, सन्दिप जोरा र अभिनाश बोहरा छन्।

गत मार्चमा जिम्मावेमा भएको वर्ल्डकप क्वालिफायरमा उत्कृष्ट ३ एसोसिएट राष्ट्रभित्र परेपछि नेपालले अहिलेसम्म एकमात्र ओडिआई सिरिज खेलेको छ। अगष्टमा नेदरल्याण्ड्ससँग उसैको भूमिमा भएको सिरिज नेपालले १-१ को बराबरीमा सकाएको थियो।

त्यसको झण्डै ६ महिनापछि नेपालले दोस्रो ओडिआई सिरिज खेल्न लागेको हो र यो नेपालको लागि निकै महत्वपूर्ण रहेको नेपालको कप्तान र प्रशिक्षकले पनि बताएका छन्।

 

युएईविरुद्धको सिरिज किन महत्वपूर्ण?

 

सिरिज जित्ने लक्ष्य

नेपाल पहिलो पटक ओडिआई सिरिज जित्न चाहन्छ र त्यसको लागि अवसर पनि छ। अगष्टमा नेदरल्याण्ड्सविरुद्धको दोस्रो ओडिआई खेलमा १ रनको रोमाञ्चक जित हात पार्दै २ खेलको सिरिज बराबरी गरेको नेपाल पहिलो सिरिज जितको खोजीमा छ।

कप्तान पारस खड्काले नेपालले यस पटक सिरिज जित्न सक्ने बताए। 'हामी पहिलो ओडिआई सिरिज जित्न चाहन्छौँ र त्यसका लागि तयार पनि छौँ।' मंगलवार बिदाइपछि पारसले भने।

नेपाललाई युएईविरुद्ध सिरिज जित्ने अवसर पनि छ। युएईका नियमित कप्तान रोहन मुस्ताफासहित ३ महत्वपूर्ण खेलाडी नेपालविरुद्ध खेल्न छैनन्। यस्तै एडना मफटीले पनि सन्यास लिइसकेका छन्।

यस पटक नेपालको टिम सन्तुलित भएको प्रशिक्षक जगत टमाटाले बताए। 'हाम्रो बलियो पक्ष नै टिम सन्तुलित छ। नयाँ केटाहरु पनि छन्।'

'बलिङ र फिल्डिङमा सुधार भएको छ। ब्याटिङमा पनि मिडल अर्डर र लोअर मिडल अर्डर राम्रो छ। ओपनिङमा पनि हामीसँग विभिन्न अप्सन छन्। ५० ओभरको खेल नेपालमा धेरै नभएकोले हामीलाई नयाँ बल फेस गर्न पक्कै पनि कठिन छ। तर हामी सिरिजका लागि तयार छौँ।' टमाटाले भने।

 

र्‍याङ्किङमा पर्ने अवसर

नेपालले १० महिनाअघि ओडिआईको मान्यता पाएपनि अफिसियल रुपमा आइसीसीको ओडिआई र्‍याङ्किङमा समावेश छैन। नेपालले अहिलेसम्म ३ मात्र ओडिआई खेल खेलेको छ। युएईविरुद्धको ३ खेलपछि नेपालको ओडिआई खेल संख्या ६ पुग्नेछ।

नेदरल्याण्ड्सविरुद्ध २ खेलको सिरिज खेलेको नेपालले त्यसपछि एसिया कप छनोटमा युएईविरुद्ध खेलेको खेलले पनि ओडिआई मान्यता पाएको थियो।

हामीलाई युएईविरुद्धको सिरिज ओडिआई र्‍याङ्किङमा पर्न पनि महत्वपूर्ण छ। यो सिरिजपछि अर्को एक सिरिज खेलेमा हामी र्‍याङ्किङमा पर्नेछौँ,' पारसले भने, 'ओडिआई नेशन भइसकेपछि सिरिजको प्रत्येक खेल महत्वपूर्ण हुन्छ। हरेक खेलबाट अंक जोडिदै जान्छ,' पारसले भने।

'र्‍याङ्किङमा पर्नु भनेको राम्रो हो। यही हामीले जित्छौँ भने फाइदा हुन्छ।' प्रशिक्षक जगत माटाले भने

 

 

युवा खेलाडीको लागि अवसर

नेपालको राष्ट्रिय टिममा एकै पटक ४ नयाँ खेलाडीले स्थान बनाएको यो सम्भव पहिलो पटक हो।

उमेर समूह र नेपालमा भएको टी-२० लिगहरुमा उत्कृष्ट प्रदर्शन गरेका भिम शार्की, पवन सर्राफ, सन्दिप जोरा र अभिनाश बोहरा पहिलो पटक टिममा परेका हुन्।

भेट्रान स्पिनर शक्ति गौचनको सन्यास र अलराउण्डर सागर पुन चोटका कारण टिमबाहिर भएपछि पवन सराफ स्पिन अलराउण्डरको रुपमा नेपालको टिममा प्रवेश गरेका छन्।

यस्तै नेपाली टिमको नियमित ब्याट्सम्यान शरद भेषावकर विरामी भएकाले युएई नजाने भएपछि उनको अभावलाई पुरा गर्नसक्ने खेलाडीको रुपमा भिम सार्कीलाई हेरिएको छ।

सन्दिप जोरा टी-२० फिनिसरको रुपमा खेल्न सक्छन् भने अभिनाश डेथ ओभरमा राम्रो बलिङ गर्न सक्छन्।

यी चार खेलाडीलाई एकै पटक तीन अवसर छ। राष्ट्रिय टिमको डेब्यु गरेमा यी खेलाडीले एकै पटक ओडिआई र टी२० मा पनि डेब्यु गर्नेछन्।

नयाँ अनुहार बारे टमाटा भन्छन्, 'यस पटक नयाँ खेलाडीहरु पनि टिममा छन्। जसले आगामी दिनमा नेपाली टिमलाई अगाडी बढाउन सक्छ भन्ने विश्वास छ। उनीहरुले जुन आशा देखाएका छन्। त्यसलाई अझ राम्रोसँग प्रदर्शन गरेर देखाउनेछन् भन्ने विश्वास छ।'

यस्तै टिममा रहेका चारै जना खेलाडीको फरक विशेषता रहेको टमाटाले बताए।

'भिम र जोरा एउटै क्वालिटीको प्लेअर हो। भिमले ५० ओभरको लागि लामो इनिङ्स खेल्न सक्छ। जोरा टी२० को लागि राम्रो छ। दुवैको फिल्डिङ एक्सलेन्ट छ। नेपालमै राम्रो छ उनीहरुको फिल्डिङ बेस्ट छ।'

'अभिनाशले डेथ ओऐरमा राम्रो बलिङ गर्छ टी २० मा। आगामी वर्ल्डकपको लागि हामीले उसलाई तयार पार्दैछौँ। टी २० फ्रेन्चाइजमा पनि उसले राम्रो गरिरहेको छ। उसले आफ्नो चार ओभर राम्रोसँग गर्न सक्छ।'

यस्तै पवनले धेरै खालको भूमिमा निभाउन सक्ने टमाटाको बुझाई छ। 'पवनलाई दुवै फर्म्याटमा प्रयोग गर्न सकिन्छ। ओपनरको भुमिकामा पनि हुन सक्छ। उ राम्रो अलराउण्डर हो। अफस्पिन पनि गर्छ। ओभरअल सबै नयाँ खेलाडीहरु राम्रो छन्।'

यस्तै कप्तान पारसले अहिलेको नेपाली टिम नै योङ टिम रहेको बताए। 'टिममा नयाँ खेलाडी बएका छन्। योङ टिम बनेको छ। ग्रुमिङ स्टेजमा छा। एकै पटक बन्ने होइन। आगामी दुई/तीन वर्षपछि को खेलाडी कस्तो छ भनेर थाहा हुन्छ। हामीले डोमेस्टिकमा राम्रो गरेका खेलाडीहरुको पोटेन्सियल, क्यारेक्टर हेरेर उनीहरुलाई टिममा स्थान दिएका छौँ।'

 

१६ सदस्यीय नेपाली टोली :

पारस खड्का (कप्तान), अभिनाश बोहोरा, बसन्त रेग्मी, भिम सार्की, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदिप ऐरी, रोहित कुमार पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोरा

 

नेपाल युएईबीचको खेलतालिका:

२५ जनवरी (माघ ११) :  पहिलो ओडीआई

२६ जनवरी (माघ १२) : दोस्रो ओडीआई

२८ जनवरी (माघ १४) :  तेस्रो ओडीआई

३१ जनवरी (माघ १७) : पहिलो टि-२०आई

१ फेब्रुअरी (माघ १८) :  दोस्रो टि-२०आई

३ फेब्रुअरी (माघ २०) :  तेस्रो टि-२०आई

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell