PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

ट्रम्प सहमत भएपछि अमेरिकामा ३५ दिने लामो 'सट डाउन' अन्त्य, पर्खालका लागि बजेटको माग कायमै



ट्रम्प सहमत भएपछि अमेरिकामा ३५ दिने लामो 'सट डाउन' अन्त्य, पर्खालका लागि बजेटको माग कायमै
फोटो: POLITICO

वासिङ्टन : अमेरिकामा इतिहासकै सबैभन्दा लामो 'सट डाउन' अन्त्य भएको छ। विगत ३५ दिन देखि आंशिक रुपमा बन्द रहेका अमेरिकी सरकारी कार्यालयहरु खोल्न राष्ट्रपति डोनाल्ड ट्रम्प सहमत भएका छन्।

मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन ट्रम्पले तल्लो सदन कंग्रेससँग बजेट माग गरेका थिए। तर डेमोक्रेटहरुको विरोधका कारण बजेट प्रस्ताव पारित हुनसकेको थिएन। पर्खालका लागि बजेट पास नगरेसम्म सरकारी खर्च निकासा नगर्ने अडान ट्रम्पले लिएका थिए।

तर पर्खालका लागि खर्च समावेश नगरी सरकारी कार्यालयहरुलाई खोल्न ट्रम्प 'अस्थायी रुपमा सहमत' भएका हुन्।

यद्यपि, ट्रम्पले बढ्दो मानवीय तथा आप्रवासी संकट समाधान गर्न मेक्सिकोसँगको सीमामा स्टिलको पर्खाल लगाउन कंग्रेससँग माग गरिएको ५.७ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव यथावत् रहेको बताएका छन्।

सरकारी कार्यालयहरु बन्द हुँदा ८ लाखभन्दा बढी कर्मचारीहरुले तलब बिनानै काम गर्नु परेको थियो।

ह्वाइट हाउसको रोज गार्डेनमा आयोजना गरिएको पत्रकार सम्मलेनमा ट्रम्पले यो राष्ट्रिय सुरक्षासँग सम्बाधित विषय भएकाले यसलाई सरकारको पराजय भन्न नहुने बताएका थिए।

उनले ' हामीहरु सरकारी कार्यालयहरु खोल्न र सट डाउन अन्त्य गर्न अस्थायी सहमतिमा पुगेका छौं। यो घोषणा गर्दा मलाई धेरै गौरव महसुस भइरहेको छ' भन्दै कार्यक्रम सुरु गरेका थिए।

सदनले पर्खाल बनाउनका लागि बजेट पास नगरे फेरी 'सट डाउन' हुन सक्ने तर्फ सचेत गराउँदै ट्रम्पले भने 'मसँग अरु शक्तिशाली विकल्प थिए। तर म यसपटक त्यो विकल्प प्रयोग गर्ने छैन।'

कंग्रेसले बजेट पास गर्ने नदेखेपछि केही दिन अघि ट्रम्पले कंग्रेसको स्वीकृति बिना नै पर्खाल बनाउने चेतावनी दिएका थिए। अमेरिकी संसदले पर्खाल बनाउनका लागि बजेट नदिए संकटकाल लगाउने र सरकारी काम वर्षौंसम्म ठप्प पार्ने ट्रम्पको चेतावनी थियो। ट्रम्पले भनेको 'शक्तिशाली विकल्प' संकटकाल लगाएर पर्खाल बनाउने तर्फ उन्मुख रहेको बताइएको छ।

कंग्रेसले बजेट पारित नगरे संविधानले दिएको अधिकार प्रयोग गरी यो समस्याको समाधान खोज्न आफू बाध्य हुने वा फेब्रुअरी १५ देखि फेरी 'सट डाउन' हुने ट्रम्पले चेतावनी दिएका छन्।

सीमामा पर्खालका लागि बजेट छुट्याउने सम्बन्धमा सदनमा छलफल हुनुपूर्व सरकारी कार्यालय खोल्न ट्रम्पमाथि आफ्नै दलबाट समेत दबाब रहेको थियो।

यता, डेमोक्रेटहरुले भने ट्रम्प पछि हट्नुलाई आफूहरुको विजयको रुपमा व्याख्या गरेका छन्। कंग्रेसकी सभामुख न्यान्सी पेलोसीले भनिन् ' एकता नै हाम्रो बल हो। सायद राष्ट्रपति ट्रम्पले यसलाई बुझ्न सकेनन्' भनेकी छिन्।

ट्रम्पले एक हप्ताअघि ट्रम्पले आंशिक रुपमा बन्द रहेको सरकारी कार्यालय खोल्न नयाँ प्रस्ताव ल्याएका थिए। उनले युवा उमेरमा सुखद भविष्यका लागि भनेर गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका 'ड्रिमर्स' र टेम्पोरेरी प्रोटेक्टेड स्ट्याटस 'टीपीएस' अन्तर्गत अस्थायी रुपमा बसोवास गर्ने इजाजत प्राप्त गरेकाहरुका सम्बन्धमा सम्झौता हुन सक्ने बताएका थिए।

तर विपक्षी डेमोक्रेटहरुले ट्रम्पको प्रस्ताव अस्वीकार गरेका थिए।

अमेरिका प्रवेश गर्न खोजी रहेका हजारौं आप्रवासीहरु केही महिनदेखि अमेरिकासँग सीमा जोडिएको मेक्सिकोका शहरहरुमा छन्। तर ट्रम्प प्रशासनले भने गैर कानूनी रुपमा कसैलाई पनि अमेरिका प्रवेश गर्न नदिने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell