PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सन्दिप जोराले कीर्तिमानी अर्धशतक बनाए पनि नेपालले जित्न सकेन, टी २० आईमा युएईलाई १-० को अग्रता



गोविन्दराज नेपाल

सन्दिप जोराले कीर्तिमानी अर्धशतक बनाए पनि नेपालले जित्न सकेन, टी २० आईमा युएईलाई १-० को अग्रता
सन्दिप जोरा युएईविरुद्ध ब्याटिङ गर्दै, फोटो : www.thenational.ae

फैसलावाद (पाकिस्तान) : युवा खेलाडी सन्दिप जोराले कीर्तिमानी अर्धशतक बनाएपनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा नेपाल युएईसँगको पहिलो टी २० अन्तर्राष्ट्रिय खेलमा २१ रनले पराजित भएको छ। जितपछि युएईले ३ खेलको टी२०आईमा १-० को अग्रता बनाएको छ।
३ खेलकै ओडिआई सिरिजमा पनि युएईले पहिलो खेल जितेको थियो तर नेपालले पुनरागमन गर्दै बाँकी दुई खेल जितेर सिरिज २-१ ले आफ्नो पक्षमा पारेको थियो।

नेपालको लागि टी २० अन्तर्राष्ट्रिय डेब्युमै अर्धशतक प्रहार गर्ने सन्दिप पहिलो खेलाडी समेत बनेका छन्। उनले युएई विरुद्ध नटआउट ५३ रन बनाए।

तर युएइले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पूरै २० ओभर ब्याटिङ गर्दा पनि ७ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो।

नेपालको लागि टी २०आईमा अर्धशतक प्रहार गर्ने तेस्रो, नेपालको लागि टी२०आईमा डेब्युमै अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका सन्दिप टी २० आईमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडी समेत बनेका छन्। यसअघि नेपालको लागि सुवास खकुरेल र कप्तान पारस खड्काले टी२०आईमा अर्धशतक प्रहार गरिसकेका छन्।

जोराले १७ वर्ष १०३ दिन हुँदा टी२०आईमा अर्धशतक प्रहार गर्दै कीर्तिमान बनाएका हुन्। यसअघि युएई विरुद्धको तेस्रो ओडिआई खेल्दै ओडिआईमा समेत डेब्यु गरिसकेका जोराले उक्त खेलमा २० बल खेल्दै १ चौका र १ छक्काको मद्दतमा १९ रन बनाएका थिए।

युएई विरुद्ध पाँचौ नम्वरमा ब्याटिङ गरेका सन्दिपले ४६ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा ५३ रन प्रहार गर्दै नटआउट रहे। तर उनको कीर्तिमानी इनिङ्सले समेत नेपाललाई जित दिलाउन भने सकेन।

नेपालको लागि ओडिआईमा डेब्यु गर्नुअघि कप्तान पारसबाट डेब्यु क्याप लिँदै सन्दिप जोरा, फोटो : रमन शिवाकोटी

यसअघि ओडिआईतर्फ पनि सबैभन्दा कम उमेर अर्धशतक बनाउने खेलाडीको कीर्तिमान नेपाली खेलाडीले नै तोडेका थिए। युएई विरुद्धकै दोस्रो ओडिआईमा नेपालका रोहितले अर्धशतक प्रहार गर्दै सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने शाहिद अफ्रिदीको कीर्तिमान तोडेका हुन्।

नेपालका लागि सन्दिप बाहेक सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन बनाउनु बाहेक अन्य ६ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओडिआई खेल्न नपाएका प्रदिप ऐरीले ओपनिङको जिम्मेवारी पाएपनि इनिङ्सको पहिलो बलमै मोहम्मद नाभिदको बलमा एलबिडब्लु आउट भए। यस्तै प्रदिपसँग ओपनिङ गरेका कप्तान पारसले २५ बल खेल्दै ४ चौकाको मद्दतमा २५ रन नै बनाए।

उपकप्तान ज्ञानेन्द्र मल्ल १० बल खेलेर ७ रन बनाउँदै आउट भए भने दिपेन्द्र सिंह ऐरी, टी २० आई मा डेब्यु गरेका रोहित कुमार पौडेल र करण केसी समान ४ रन बनाएर आउट भए। आठौँ नम्वरमा ब्याटिङ गरेका सोमपाल कामीले १९ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै २९ रन बनाए।

छैटौँ विकेटका लागि सन्दिप जोरा र रोहित पौडेलले ३४ तथा सातौँ विकेटका लागि सन्दिप जोरा र सोमपालले ३९ रनको साझेदारी गरेका थिए। सन्दीप लामिछाने २ रनमा नटआउट रहे।

नेपाली इनिङ्सको समाप्तीपछि सन्दिप जोरा पछाडी बायाँ र सन्दीप लामिछाने दायाँ

त्यसअघि दुबईस्थित आइसीसी एकेडेमी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै युएईलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।

नेपालले सुरुमै युएईको विकेट लिँदै दबाब दिएपनि शाइमन अनवरले अर्धशतकिय इनिङ्स खेलेपछि युएइले २० ओभरमा १५३ रन बनाएको थियो।

चौथो विकेटका लागि अनवर र मोहम्मद उस्मानले ६१ रनको साझेदारी गर्दै युएईको इनिङ्स उकासेका थिए।

अनवरले ३८ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५९ रन बनाए। उस्मानले ३० रन बनाए भने मोहम्मद बुता २० रनमा नटआउट रहे।

नेपालको लागि सन्दीप लामिछानले र बसन्त रेग्मीले २-२ विकेट लिए भने सोमपाल कामी र डेब्यु ब्वाए अभिनाश बोहराले १-१ विकेट झारे।

नेपालको बलिङमा महँगा बनेका करण केसीले ४ ओभरमा ४३ रन खर्चिए भने अभिनाशले ३६ रन खर्चिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell