PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

महिला नेत्रहीन क्रिकेट सिरिज : मनकेसीको कीर्तिमानी अर्धशतकमा नेपाल १० विकेटले विजयी, पाँच खेलको सिरिजमा २-० को अग्रता



गोविन्दराज नेपाल

महिला नेत्रहीन क्रिकेट सिरिज : मनकेसीको कीर्तिमानी अर्धशतकमा नेपाल १० विकेटले विजयी, पाँच खेलको सिरिजमा २-० को अग्रता

इस्लामावाद (पाकिस्तान) : मनकेसी चौधरी अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बन्दा नेपालले पाकिस्तानलाई तेस्रो टी-२० खेलमा १० विकेटले पराजित गरेको छ।

नेपालले लाहोरमा भएको पहिलो खेल पनि १० विकेटले नै जितेको थियो। फैसलावादस्थित इकवाल स्टेडियममा हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण रद्ध भएको थियो।

फैसलावादमै शुक्रवार हुने भनिएको तेस्रो खेलपनि मैदान भिजेका कारण हुन नसकेपछि इस्लामावादमा सारिएको थियो। तेस्रो खेल जितेपछि नेपालले सिरिजमा २-० को अग्रता लिएको छ र अब बाँकी २ मध्ये एक खेल जितेमा पनि सिरिज आफ्नो पक्षमा पार्नेछ।

शनिवार इस्लावादको सिमाना रावलपिण्डीमा भएको तेस्रो खेल नेपालले ७.३ ओभरमै जितेको हो। ओपनर मनकेसी चौधरीले आक्रमक ब्याटिङ गर्दै मात्र २१ बल खेलेर नटआउट ५८ रन बनाइन्। बि टू क्याटेगोरी खेलाडी चौधरीले आफ्नो इनिङ्समा १० चौका प्रहार गरिन्। यस्तै अर्का ओपनर विनिता पुनले २४ बल खेल्दै ५ चौकाको मद्दतमा नटआउट ३४ रन बनाइन्।

चौधरी र पुनबीच भएको १०३ रनको साझेदारी पनि महिला नेत्रहीन क्रिकेटमा कीर्तिमानी साझेदारी हो।

पाकिस्तानले पहिलो खेलको तुलनामा तेस्रो खेलमा सुधारिएको प्रदर्शन गरेपनि नेपाली खेलाडी ब्याटिङमा हावी भएको थियो। १०३ रनको लक्ष्य नेपालले आठौँ ओभरमा पुरा गरेको हो।

पहिलो खेलमा ५३ रनमै अलआउट भएको पाकिस्तानले दोस्रो खेलमा भने सुधारिएको प्ररद्शन गर्दै पूरै २० ओभर ब्याटिङ गर्‍यो। पाकिस्तानका लागि ओपनर तयावा फतिमाले सर्वाधिक २७ रन बनाइन् भनेद सादियाले १७ रन जोडिन्। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पाकिस्तानले ३५ रन अतिरिक्तबाट पाएको थियो। मैदान ओसिलो रहेका कारण पहिलो इनिङ्समा नेपाली खेलाडीलाई फिल्डिङमा केही गाह्रो भएको थियो। तर अन्तिमतिर भने नेपालले चुस्त फिल्डिङ गर्दै पाकिस्तानलाई रन बनाउन बाट रोकेको थियो।

बलिङमा नेपालका लागि कप्तान भगवती भट्टराईले र मुना अर्याले १-१ विकेट लिइन्। भगवतीले ३ पाकिस्तानी खेलाडीलाई रनआउट समेत गरिन्। यस्तै सरिता घिमिरेल डाइरेक्ट हिटमार्फत एक रनआउट गरिन्।

लगातार दुई खेल जितेपछि नेपालकी कप्तान भगवती भट्टराईले पाकिस्तान र नेपाल दुबै टिमले आज राम्रो खेलेको बताइन्। 'पाकिस्तानी टिमले आज पहिलो खेलभन्दा राम्रो ब्याटिङ गर्दै पूरै २० ओभर खेल्यो। हाम्रो ब्याट्सवुमनले पनि राम्रो खेल्यो र हामीले खेल जित्यौँ। अब बाँकी खेलहरुमा पनि राम्रो खेल्नेछौँ र पाकिस्तानले पनि अझै राम्रो खेल्ने आशा छ।'

यस्तै पाकिस्तानकी कप्तान रबिअ शेहजादीले लगातार दुई खेल हारेपनि आफूहरुले धेरै सिकेको बताइन्। 'हामीले पहिलो खेल भन्दा आज धेरै राम्रो प्रदर्शन गर्‍यौँ। हामी प्रत्येक खेलमा केही न केही सिक्दै छौँ।'

यस्तै प्लेअर अफ दि म्याच बनेकी नेपालकी मनकेसी चौधरीले पहिलो अर्धशक प्रहार गर्न पाउँदा खुशी लागेको बताइन्। उनले आगामी खेलमा अझै राम्रो प्रदर्शन गर्ने प्रतिक्रिया दिइन्।

पाकिस्तान ब्लाइण्ड क्रिकेट काउन्सिलको आयोजनामा भइरहेको पाँच खेलको सिरिज अन्तर्गत चौथो खेल आइतवार र पाँचौ खेल सोमवार हुनेछ। दुवै खेल इस्लामावादस्थित शालिमार क्रिकेट स्टेडियममा हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell