PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

महिला नेत्रहीन क्रिकेट सिरिज : एक खेल अगावै नेपालले जित्यो सिरिज



गोविन्दराज नेपाल

महिला नेत्रहीन क्रिकेट सिरिज : एक खेल अगावै नेपालले जित्यो सिरिज

इस्लामावाद (पाकिस्तान) : नेपालको नेत्रहीन महिला क्रिकेट टिमले विश्वमै पहिलो पटक भएको अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज जितेको छ।

पाकिस्तान विरुद्ध भइरहेको सिरिजअन्तर्गत आइतवार भएको चौथो खेल ९ विकेटले जित्दै नेपालले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको हो।

लाहोरमा भएको पहिलो र रावलपिण्डीमा भएको तेस्रो खेल नेपालले समान १० विकेटले जितेको थियो। फैसलावादमा हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण रद्ध भएको थियो।

इस्लामावादमा भएको खेलमा नेपालले पाकिस्तानले दिएको १०२ रनको लक्ष्य ८.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो।

नेपालको लागि विमला राईले सर्वाधिक ४२ रन बनाइन्। उनले १५ बल खेल्दै ९ चौकाको मद्दतमा नटआउट ४२ रन बनाएकी हुन्। यस्तै ओपनर मनकेसी चौधरीले २५ रन बनाउँदा मुना अर्याल २२ रनमा नटआउट रहिन्।

मनकेसीले १३ बल खेल्दै ५ चौकाको मद्दतमा २५ रन बनाएकी हुन्। मुना अर्यालले २८ बल खेल्दा एक चौका प्रहार गरिन्। मुना अन्तर्राष्ट्रि महिला नेत्रहीन क्रिकेटमा चौका प्रहार गर्ने बी वान क्याटेगोरीकी खेलाडी बनिन्। बी वान भएकोले उनको चौकाको ८ रन गणना भएको थियो।

इस्लामावादस्थित शालिमार क्रिकेट ग्राउण्डमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १०१ रन बनाएको थियो। पाकिस्तानका लागि किरन रफिकले सर्वाधिक १६ रन बनाउँदा ओपनर तयावा फतिमाले १३ रन जोडिन्। नेपालको लागि कप्तान विनिता राई, मुना अर्याल र आयुष्मा क्षेत्रीले १-१ विकेट लिइन्। पाकिस्तानका ४ खेलाडी रनआउट भएका थिए।

नेपालको लागि आयुष्मासँगै अन्य दुई खेलाडीले आज पहिलो खेल खेल्दै डेब्यु गरेका छन्। डेब्यु गर्नेमा सुस्मा तामाङ र आशिगा डगौरा छन्। नियमित कप्तान भगवती भट्टराई, गीता पौडेल र हिता गुरुङको स्थानमा उनीहरुले खेलेका थिए। कप्तान भगवतीको स्थानमा विनिताले आजको खेलको कप्तानी गरेकी थिइन्।

आफ्नो कप्तानमा पाकिस्तानलाई हराउँदै एक खेल अगावै सिरिज जितेपछि विनिताले फिल्डिङमा केही कमजोरी हुनका वावजुत नेपाली टोलीले राम्रो खेलेको बताइन्। 'हामी पहिलो महिला नेत्रहीन क्रिकेट जित्दा एकदमै खुशी छौँ। सबैले राम्रो क्रिकेट खेले। आगामी दिनमा पनि अझ राम्रो खेल्नेछौँ। 'उनले पाकिस्तानले पनि राम्रो खेलेको बताइन्।

यस्तै पाकिस्तानकी कप्तान रबिअ शेहजादीले लगातार तीन खेल हारेपछि यस सिरिजबाट आफूहरुले धेरै सिकेको बताइन्। 'हामीले खेल मात्र नभएर अन्य धेरै कुरा सिक्ने अवसर पायौँ। थोरै समयमको तयारीका वावजुत पनि हामीले राम्रो खेल्यौँ। अब अर्को पटक नेपालसँग खेल्दा हामी कडा चुनौती दिनेछौँ।'

चौथो खेलमा नेपालको लागि सर्वाधिक ४२ रन बनाएकी विमला राई प्लेअर अफ दि म्याच घोषित भइन्। उनले १५ हजार पाकिस्तानी रुपैयाँ र ट्रफी हात पारिन्। यस्तै १ विकेट लिनुका साथै २२ रन बनाएकी मुना भ्यालुएबल प्लेअर भइन्। उनले ५ हजार प्राप्त गरिन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell