PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

महिला नेत्रहीन क्रिकेट सिरिज : अन्तिम खेलमा पनि नेपाल १० विकेटले विजयी, सिरिज 'क्लिन स्वीप'

महिला नेत्रहीन क्रिकेट सिरिज : अन्तिम खेलमा पनि नेपाल १० विकेटले विजयी, सिरिज 'क्लिन स्वीप'

गोविन्दराज नेपाल/पहिलोपोस्ट


इस्लामावाद (पाकिस्तान) : पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज नेपालले क्लिन स्वीप गरेको छ।

सोमवार भएको पाँचौ तथा अन्तिम टी २० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली पाकिस्तान महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटले हराउँदै नेपालले सिरिज ४-० ले जितेको हो।

पहिलो र तेस्रो खेल समान १० विकेटले जितेको नेपालले चौथो खेल ९ विकेटले जितेको थियो। दोस्रो खेल भने वर्षाका कारण रद्ध भएको थियो।

इस्लामावादस्थित शालिमार क्रिकेट ग्राउण्डमा भएको अन्तिम खेलमा मनकेसी चौधरीले अर्धशतक प्रहार गरेपछि नेपालले पाकिस्तानले दिएको १२७ रनको लक्ष्य १०.४ ओभरमा पूरा गरेको हो।

मनकेसीले ३६ बल खेल्दै १५ चौकाको मद्दतमा नटआउट ८१ रन बनाइन्। यस्तै आशा रेगामीले ३३ बल खेल्दै नटआउट ३२ रन जोडिन्। अन्तर्राष्ट्रिय महिला क्रिकेटमा यो कुनै पनि विकेटको लागि उच्च साझेदारी हो।

त्यसअघि पाकिस्तानकी कप्तान रबिअ शेहजादीले टस जित्दै ब्याटिङ रोजेकी थिइन्। पाकिस्तानले लगातार तेस्रो पटक टस जितेपनि कुनै पनि खेल जित्न सकेन। पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको थियो। पाकिस्तानका लागि ओपनर निशा बुकसले सर्वाधिक ४० रन बनाइन् भने तयावा फतिमाले २७ रन जोडिन्। पाकिस्तानको सबै विकेट नेपालले रनआउटमार्फत लिएको हो। विकेटकिपर मनकेसिले ३ तथा बिनिता पुनले २ रनआउट गरिन्।

नेपालको लागि दोस्रो अर्धशतक प्रहार गरेकी मनकेसी प्लेअर अफ दि म्याच घोषित भइन्। उनले २५ हजार हात पारिन्। यस्तै भ्यालुएबल प्लेअर बनेकी आशाले ५ हजार हात पारिन्।

यसैगरी सिरी जितेको नेपालले १ लाख पाकिस्तानी नगद हात पार्‍यो। पाकिस्तानी टोलीले भने ५० हजारमै चित्त बुझायो।

यसैगरी सिरिजभर उत्कृष्ट प्रदर्शन गरेकी नेपालकी मनकेसी बी टु क्याटेगोरीतर्फ उत्कृष्ट बनिन्। यस्तै नेपालकै मुना अर्याले बी वान क्याटेगोरीतर्फ र नेपालकी विनिता पुन बी थ्री क्याटेगोरीतर्फ उत्कृष्ट घोषित भइन्।

यस्तै पाकिस्तानी टिमका किरण रफिक उत्कृष्ट विकेट किपर घोषित भइन्।

पाकिस्तान ब्लाइण्ड क्रिकेट काउन्सिलको आयोजनामा भएको यस सिरिज वर्ल्ड ब्लाइण्ड क्रिकेट लिमिटेडबाट मान्यता प्राप्त पहिलो सिरिज भएपनि यसअघि नै नेपालमा महिला नेत्रहीन क्रिकेटको दुइपक्षिय सिरिज भइसकेको छ।

वर्ल्ड ब्लाइण्ड काउन्सिलबाट मान्यता नपाएपनि सन् २०१४ मा क्रिकेट एसोसिएसन अफ ब्लाइण्ड, नेपालले नेपाल र बेतायतबीच सिरिज आयोजना गरेको थियो। र ३ खेलको उक्त सिरिज नेपालले ३-० ले जितेको थियो।  



ट्रेन्डिङ पोस्ट

Ncell