May 19, 2024 | ६ जेठ २०८१

पाकिस्तानी कमेन्टेटरलाई 'वाउ' भन्न बाध्य पार्ने कीर्तिमानी क्रिकेटर मनकेसीका मनका कुरा

गोविन्दराज नेपाल/पहिलोपोस्ट

काठमाडौँ : पाकिस्तानमा भएको पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज जितेर नेपाली टोली स्वदेश फर्किसकेको छ।

पाकिस्तान ब्लाइण्ड क्रिकेट काउन्सिलको आयोजनामा भएको सिरिजमा नेपालको महिला नेत्रहीन क्रिकेट टोलीले पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टोलीलाई ४-० ले हराउँदै पहिलो सिरिज जित्ने इतिहास बनाएको हो।

उक्त सिरिजपछि अहिले एउटा नाम चर्चामा छ - मनकेसी चौधरी।

नेपाली टिमका विकेटकिपर अनि ओपनिङ व्याट्सवुमन। नेपाललाई ४ वटा खेल जिताउन मनकेसीले महत्वपूर्ण भूमिकामात्र खेलिनन् उनले केही कीर्तिमान समेत आफ्नो नाममा दर्ता गरिन्।

विश्व महिला नेत्रहीन क्रिकेटमा मनकेसीले पहिलो अर्धशतक बनाइन् जुन कीर्तिमान आगामी दिनमा पनि कायम रहिरहनेछ। यस्तै मनकेसीले सिरिजभर दुई अर्धशतक बनाइन् भने सबैभन्दा धेरै रनको साझेदारीमा सामेल भइन्।

ब्याटिङमात्र नभएर विकेटको पछाडि पनि मनकेसीको प्रदर्शन उत्तिकै चुस्त थियो। 

आँखा नदेख्नेहरुले खेल्ने खेल भए पनि नेत्रहीन खेलाडीहरु दिमागले भने मज्जाले खेल्छन्। पाकिस्तानी टिमका खेलाडी र पदाधिकारीहरु पनि मनकेसीको प्रदर्शनबाट निकै प्रभावित बने।

मनकेसीले सिरिजभर ४ खेलमै ओपनिङ गरिन्। तीन खेलमा नटआउट रहेकी उनी एक खेलमा भने तालमेल नमिल्दा रनआउट भएकी थिइन्।
उनले सिरिजभर सर्वाधिक १ सय ८३ रन बनाउँदा कूल ३२ चौका प्रहार गरिन्। बी टु क्याटेगोरीका खेलाडी मनकेसीले सिरिजभर उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्याटेगोरीमा उत्कृष्ट खेलाडीको अवार्ड समेत जितिन्। यस्तै दुई खेलमा उनी प्लेअर अफ दि म्याच घोषित भइन्। 

मनकेसीको खेल देखेर पाकिस्तानी खेलाडीहरु पनि चकित थिए। 'यो त हार्ड हिटर नै रहेछ। यो त केटाहरुसँगै खेल्ने जस्तो रहेछ भनेका थिए,' आफ्नाबारे पाकिस्तानी खेलाडीको टिप्पणी सुनाइन् उनले। 

१० वर्षदेखि क्रिकेटमा निरन्तर
मनकेसीको उमेरले भर्खर दुई दशक पार गरेको छ तर उनले क्रिकेट खेल्न थालेको नै एक दशक भइसक्यो। २०६५ सालमा चितवन जिल्ला नेत्रहीन क्रिकेट संघका अध्यक्ष सुमन खनालले नेत्रहीन क्रिकेट खेल्न उनलाई पनि काठमाडौँ ल्याएका थिए। त्यतिखेलर मनकेसी कक्षा पाँचमा पढ्थिन्। 

'महिला नेत्रहीन क्रिकेट टोली धेरै नभएकाले त्यो समयमा सबै खेलाडीहरु मिसाएर दुई टिम बनाएर खेलिन्थ्यो। सुरुको ३ म्याचमा भने म एक्स्ट्रा खेलाडी थिएँ। त्यसपछि भने खेल्ने अवसर पाएँ,' ११ वर्षको उमेरमै ब्याट समात्ने अवसर पाएको सम्झिइन् मनकेसीले। 

त्यसयता भने उनले निरन्तर रुपमा महिला नेत्रहीन क्रिकेट खेलिरहेकी छिन्। क्रिकेट खेल्दा उनलाई रमाइलो लाग्छ। 

नेत्रहीन क्रिकेट भएका कारण नेपालमा नियमित टुर्नामेन्ट नहुने हुँदा सुरुमा सबै जिल्लाबाट आएका खेलाडीहरु मिसाएर दुई-तीन टिम बनाएर खेलिन्थ्यो। मनकेसी जुन टिमबाट खेले पनि उत्कृष्ट प्रदर्शन गर्थिन्।

पाकिस्तान टुर जानुअघि पनि नेपालमा भएको पारा च्याम्पियनसीप अन्तर्गत महिला नेत्रहीन क्रिकेट सिरिजमा मनकेसीको टिम च्याम्पियन बनेको थियो। उनी रहेको टिम माछापुच्छ्रेले टिम सगरमाथालाई पराजित गरेको थियो जसमा उनी वुमन अफ दी म्याच भएकी थिइन्।

२०१४ मा पनि उत्कृष्ट
वर्ल्ड वाइन्ड क्रिकेट काउन्सिलबाट मान्यता नपाए पनि सन् २०१४ मा नेपाल र बेलायतबीच द्वीपक्षीय महिला नेत्रहीन क्रिकेट सिरिज भएको थियो। नेपाल नेत्रहीन क्रिकेट संघ क्याब नेपालको आयोजनामा नेपालमै भएको ४ खेलको उक्त सिरिज नेपालले क्लिन स्विप नै गरेको थियो।

ललितपुरको पुल्चोक इन्जिनियरिङ क्रिकेट ग्राउण्डमा भएको उक्त सिरिजको तीनवटै खेलमा मनकेसीले उत्कृष्ट ब्याटिङ गरेकी थिइन्। जसमा उनले दुई खेलमा उत्कृष्ट खेलाडीकै अवार्ड पाएकी थिइन्। त्यसबेला ओपनिङ र वान डाउनमा ब्याटिङ गर्थिन् उनी।

यसरी आउँछ चौका हान्ने जोश
पाकिस्तानमा भएको सिरिजमा मनकेसीले सर्वाधिक ३२ चौका प्रहार गरिन्। लाहोरमा भएको पहिलो खेलमा नेपालले पाकिस्तानलाई ५२ रनमै अलआउट गरेपछि नेपालले ५ ओभरमै उक्त खेल जित्दा उनले नट आउट १९ रन बनाएकी थिइन्। त्यसमा उनले दुई चौका समेत प्रहार गरिन्।

प्रत्येक म्याचमा मनकेसीले रन हान्दा कमेन्टेटरहरु पनि उत्साहित देखिन्थे, पाकिस्तानमा। मनकेसीले चौका प्रहार गर्दा माहोल नै बेग्लै हुन्थ्यो। रावलपिण्डीमा भएको सिरिजको तेस्रो खेलमा मनकेसीले पहिलो अर्धशतक प्रहार गरेपछि उनलाई कसरी चौका हान्ने शक्ति आउँछ भनेर सोधिएको थियो। 'मैले नेपालमा पनि यस्तै खालको चौका प्रहार गरेकी थिएँ। त्यही अनुसार नै खेल्दा चौका गयो,' उनको रिप्लाइ हुन्थ्यो।

सिरिज सकिएपछि उनलाई पङ्तिकारले सोध्दा यसो भनिन्, 'मलाई खेल्दा खेल्दै जोश आउँछ रन हान्नलाई। मनमा हुँदो रहेछ यसरी हान्दा चौका जान्छ भन्ने।'

तेस्रो खेलमा उनले १० चौकाको मद्दतमा नटआउट ५८ रन प्रहार गर्दै पहिलो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान राखेकी हुन्। 

पहिलो खेल जितेपछि बाँकी खेल जित्नेमा ढुक्क
पाकिस्तानसँग सुरुमा खेल्नुअघि केही डर लागे पनि पहिलो खेल सहजै जितेपछि उनलाई बाँकी खेल जित्नेमा पूरा विश्वास थियो। 

'पाकिस्तानसँग खेल्नुअघि सुरुमा हल्का डर लागेको थियो, जितिन्छ र हारिन्छ भन्ने यकिन थिएन। उनीहरुकै मैदानमा उनीहरुले कस्तो खेल्छन् थाहा पनि थिएन,' उनले सुनाइन्। यता नेपालमा हुँदा पाकिस्तानले राम्रो खेल्छ भन्ने सुनेकी थिइन् उनले। र, उनको टिम पनि पहिलो पटक बाहिर खेल्न जाँदै थियो। त्यसैले मनमा कस्तो होला भन्ने चिन्ता हुनु स्वभाविक थियो।

'तर, पहिलो खेलमै हामीले ५ ओभरमै खेल जित्यौं। त्यसपछि बाँकी खेल पनि हामीले नै जित्ने हो भन्नेमा विश्वस्त थियौं। जित्यौं पनि,' उनले भनिन्। 

अझै राम्रो खेल्ने प्रेरणा मिलेको छ
पहिलो विदेश भ्रमणमै मनकेसीले सबैको मन छुने प्रदर्शन गरिन्। विपक्षी विरुद्ध सुरुमै ब्याटिङ गर्ने अवसरलाई उनले खेर जान दिइनन् र सबै खेलमा उत्कृष्ट प्रदर्शन गरिन्।

टिमलाई जिताएर नेपालको नाम राख्न सकेकोमा उनलाई निकै गर्व लागेको छ। 

'मलाई सिरिज जितेपछि एकदमै रमाइलो लागेको छ। बाहिर देशमा आएर पनि रन हानेर नेपाललाई जिताएँ। नेपालको नाम राख्न सकेँ। छुट्टै आनन्द मिलेको छ,' अनुहारमा उत्साह प्रकट गर्दै भनिन्, 'यो भन्दा पनि अझै राम्रो खेलेर नेपाललाई अगाडि बढान् भन्ने हौसला मिलेको छ।'

खेल जित्दा श्रीमानको बधाई सन्देश
पाकिस्तानमा मनकेसीहरुले खेलिरहँदा सबैको नजर नेपाली टोलीमाथि थियो। नेपाली महिला नेत्रहीन क्रिकेट टोली जित्दा नेपाली खुशी हुनु स्वभाविक हो। तर, त्यसमा पनि विशेष खुशी हुने एक जना थिए, मनकेसीका श्रीमान्। मनकेसी हरेक दिन नेपालमा श्रीमानसँग कुरा गर्थिन्।

म्याच जितेको दिन अझ विशेष हुन्थ्यो उनका लागि। 'खेल जितेर होटल फर्केपछि श्रीमानलाई फोन गर्दा सुरुमै बधाई दिनहुन्थ्यो। एकदमै खुशी लाग्थ्यो,' उनले भनिन्।

चार वटै खेल जितेपछि एकदमै खुशी लाग्यो र घर छाडेको भन्ने फिल पनि भएन उनलाई। 'गुरुहरु सबै सँगै हुनुहुन्थ्यो। सिकाउनुहुन्थ्यो। अझ राम्रो खेल्न हौसला पनि दिनुहुन्थ्यो,' उनले भनिन्।

सहयोग मिले अझै पढ्छु
चितवनमा जन्मेकी मनकेसीको दुई वर्षअघि विवाह भएको हो। उनले चितवनमै कक्षा १२ सम्मको अध्ययन गरिसकेकी छिन्।
हाल भने उनी आफ्नो श्रीमानसँग बारामा बस्छिन्। यतिखेर मनकेसीको पढाइमा भने ब्रेक लागेको छ।

शिक्षा संकाय अध्ययन गरेकी मनकेसी अझै पढ्न चाहन्छिन्। 'आर्थिक अवस्था कमजोर भएकाले मैले १२ कक्षापछि पढ्न सकिन। पढ्ने मन अझै छ,' उनले भनिन्, 'कतैबाट सहयोग मिल्यो भने अझै पढ्छु। खेललाई पनि सँगै लैजान्छु र खेल भएको बेला खेल्छु।' 

हाल उनी श्रीमानसँगै बारामा चाउमिन फ्याक्ट्रिमै काम गरिरहेकी छिन्। राष्ट्रको लागि खेल्ने सबै खेलाडीलाई समान व्यवहार होवस् भन्ने पनि लाग्छ उनलाई। 'राष्ट्रको लागि खेल्दा हामीले पनि देशको झण्डा बोक्छौँ। हाम्रो जित पनि राष्ट्रकै जित हो,' उनको भनाईमा केही अपेक्षा र आशा घुल्छ, 'देख्नेहरुकै जस्तो स्वागत र रकम सहयोग पाएमा हामीलाई पनि हौसला मिल्छ र अझै राम्रो खेल्न मन लाग्छ।'



ट्रेन्डिङ पोस्ट

Ncell