रणकला स्वयम्भू, सुन्धारा रुटकी टेम्पु चालक हुन्। छोरी सात वर्षकी भइन्। श्रीमान् ६ वर्षदेखि साउदीमा। श्रीमान फर्कोस् भन्ने चाहन्छिन्, फोन पर्खन्छिन्। हरेकपटक उनको फोन आउँदा रिङटोन बज्छ- ‘मेरो जीवनबाट जाने भए जाऊ, तर अन्तिमपल्ट भेट्न आऊ।’
रणकलालाई अन्तिमपटक भेट्नका लागि उनको पति विदेशबाट आउँछन् कि आउँदैनन् होला? प्रश्न अनुत्तरित रहन्छ। एयरपोर्टको प्रतीक्षालयसम्म पुराएर छोडिदिन्छन् फिल्म ‘बुलबुल’ निर्देशक विनोद पौडेलले। रणकलाको पति आउन पनि सक्छन्, नआउन पनि सक्छन् दर्शकको बुझाई अनुरुप अनुमान गर्ने ठाउँ रहन्छ।
उसो त फिल्मका लेखक तथा निर्देशकले ओपन इन्डिङ शैलीको प्रयोग गर्दैक्लाइमेक्स देखि नै कथालाई एक हदमा दर्शकको बुझाई र विश्लेषणको जिम्मामा छोडेका छन्।
***
टेम्पो चलाएर पारिवारिक एवं व्यक्तिगत जीवन सम्हाल्ने महिलाको दैनिकीमाबुलबुलको कथा उनिएको छ। रणकला (स्वस्तिमा खड्का) तीनै महिलाहरुमध्येकी एक हुन्।
टेम्पो चलाएर कमाएको पैसाले छोरी पढाउँछिन्, प्यारालाइसिस भएको ससुराको औषधी जुटाउँछिन्, परिवार चलाउँछिन्। पतिको व्यग्र प्रतिक्षामा रहेकी उनको जीवनमा चौकीदार चोपेन्द्र आउँछन्। त्यसपछि उतार चढावसँगै विविध परिस्थितिहरु सिर्जना हुन्छन्।
ती परिस्थितिहरुसँगै रणकलाको मनोदशा, अन्तरद्वन्द्व, परिवार वा समाजसँगको द्वन्द्व फिल्ममा देखाइएको छ। गाउने चरा भनी सामान्यतया बुझिए पनि 'बुलबुल' लडाकु चराका रुपमा पनि चिनिन्छ। भारतमा बुलबुल चरा लडाउने मेलासमेत हुन्छ। रणकला पात्रहरुसित हैन आफ्नै परिस्थितिहरुसित लडेर बुलबुल बन्छिन्।
उनी प्रेम चाहन्छिन्, श्रीमान साथै होस्, आफूले पकाएर दिएको मिठो मानेर खाने केही होस् भन्ने चाहन्छिन्। उनलाई शारीरिक साथको पनि खाँचो छ। उनको यौन मनोदशा साथी भीमा(लक्ष्मी वर्देवा)सँग टेम्पोमा बसेर ‘एडल्ट फिल्म’ हेरेर रमाउनुले संकेत गर्छ।
यसबीच उनले एकल महिलामाथि टेम्पो मिस्त्रीजस्ता पुरुषले गर्ने दुर्व्यवहारको सामना गर्नुपर्छ। घरबेटी जस्ता महिलाले चरित्रमाथि उठाउने प्रश्नसँग पनि लड्नु पर्छ।
'त्यस्तो जाबो लोग्ने र छोरीलाई त मेरै कमाइले पाल्दिन्छु' भन्ने आत्मविश्वासी उनीअप्ठ्याराहरुबीच पनि छोरी र ससुराप्रतिको जिम्मेवारीबाट भाग्ने पक्षमा भने छैनन्।बरु आफैसँगको अन्तरद्वन्द्वमा रुमलिन्छिन्।
उनको कथा भन्नेक्रममा जोडिने भीमा र टेम्पो मिस्त्रीबीचको वैवाहिक कथाले बेग्लै महत्व बोक्छ।
मिस्त्रीले महिलालाई पितृसतात्मक दृष्टिकोणबाट मात्र हेर्ने पुरुषहरुको प्रतिनिधित्व गर्छ। जसका लागि महिला शारीरिक उपभोगका वस्तु मात्र हो, जसका लागि यौन दुर्व्यवहार रमाउने माध्यम हो, जसलाई श्रीमतीले मोबाइलमा एडल्ट फिल्म राख्नु असह्य हुन्छ।
यहाँ रणकला र भीमाको सपना जुध्छ। रणकलाले श्रीमानसँगको जिन्दगी सुखी रहने कल्पना गरिरहँदा भीमा एकल जीवन ठीक हुने निचोडमा पुगेकी हुन्छिन्। यी दुबै एउटै मैदानमा फरक खेल खेलिरहेका खेलाडी जस्तै लाग्छन्। टेम्पु स्टेसन कुनै मैदान र परिस्थिति एक खेल।
***
मुकुन भुषालले चरित्रमा गरेको कामले दर्शकलाई फरक स्वाद दिएको छ। प्रायः फिल्ममा मुख्य पात्र सामान्य बोली, शैलीमा प्रस्तुत हुन्छन्। सहायक कलाकारको हाउभाउ र शैलीमा भने फरक काम भएको पाइन्छ, हसाउँनको लागि होस् या मुख्य पात्रभन्दा फरक देखाउनका लागि।
तर, केन्द्रमा रहेर पनि मुकुनले आफ्नै चरित्रमाथि गरेको प्रयोग भने दमदार छ।
बरु निर्देशकले चोपेन्द्र पात्रलाई उस्तो धेरै ठाउँ दिएनन् कि? उनले हुलिया र बोलीमा गरेको मेहनत छोडौं। उनलाई ‘चाय गुलो’ छ भन्ने पटकपटकको मजाकका लागि बाहेक केमा सम्झने दर्शकले? न त ‘अँ रणकलालाई निकै माया गर्दो रहेछ’ भन्ने विन्दुमा पुराइन्छ न त ‘बिचरा एकदम सोझो रहेछ’ भन्ने अवस्थामा नै।
स्वस्तिमा खड्काले हालसम्म गरेको काममा बुलबुल उत्कृष्ट छ। उनले टेम्पो चालक बन्न सडकमा र आफ्नो व्यक्तित्वमा गरेको प्रयास स्पष्ट देखिन्छ। तर, डायलग डेलिभरीमा भने उनी पुरानै फिल्महरुमा जस्तै लाग्छिन्।
लक्ष्मी वर्देवा र जोयश पाण्डेको कथा र अभिनयले फिल्मलाई आधासम्म रणकला केन्द्रित हुन दिएको छैन। उनीहरुको कथा थोरै पनि बनावटी लाग्दैन। दुबै नाटकीय प्रस्तुत हुँदैनन्।
तर, सुरुवातदेखि जोडिएका यी दुई पात्र कता छुट्छन्? वा निर्देशकले रणकलाको कथामात्र अघि बढाउन आवश्यक ठाने? प्रश्न उब्जन्छ।
टेम्पु चालक महिलाको पृष्ठभूमि बोक्ने फिल्ममा कथा नसकिँदै रणकला र टेम्पुबीचको सम्बन्ध सकिनु अस्वभाविक लाग्छ। उनले पेशा र परिस्थितिलाई एकसाथ जोगाउन कुनै संघर्ष गर्दिनन्। दर्शकले बिर्सन्छन् उनी टेम्पु ड्राइभर हुन् भन्ने।
फिल्मका केही दृश्य अस्वभाविक लामा र केही प्रसङ्गविहिन लाग्छन्। जस्तै टेम्पोमा चड्ने युवतीको फोन संवाद। त्यहाँ उनी नाटकीय प्रस्तुत हुन्छिन्, मुख्य पात्रहरुले अभिनयमा जोगाएको जिवन्तता छायाँमा पर्नेगरी उनमा फोकस गराइन्छ।
ट्रेलरमा देखिने दृश्य छ, जहाँ स्वस्तिमा चुरोट तानिरहेकी हुन्छिन्। निर्वस्त्र रहेर शरीरमा पानी खन्याउँछिन्।
दृश्य दोहोराएर देखाइन्छ। तर, किन? उक्त दृश्य देखाउनु अघि वा पछि रणकला पात्रको मनोदशा प्रष्ट बुझ्ने ठाउँ नदिई घटनाक्रम अघि बढ्छन्।
केही दृश्यमा प्रतीकात्मकताको कलात्मक प्रयोग गरिएको छ। जस्तै टेम्पोको पाङ्ग्रा।
रणकलाकी छोरीसँगको सम्बन्ध सतही प्रस्तुत गरिएको छ। प्रेमको अभावमा विरक्तिएकी महिलाको छोरीसँगको सम्बन्ध त्यति क्लिसे?
***
पात्रहरु सबै यौनिकतामा अल्झिएको जस्तो लाग्छ। भीमा र उनको श्रीमानले बोल्ने संवाद, गर्ने व्यवहार प्रायः यौन सम्बन्धसँग जोडिएर आउँछन्। चोपेन्द्र पात्र पनि आफ्नो आकर्षणलाई प्रेम भन्छ, हरेकपटक रणकलाले नजिक हुने ठाउँ दिंदा शारीरिक स्पेस खोज्छ।
रणकला पनि दोसाँधमा छिन्। आफू ‘अरु कसैकी पत्नी’ भएको चेतले मात्र उनलाई चोपेन्द्रसँग शारीरिक रुपमा निकट हुन रोक्छ।
निर्देशकले संवादमार्फत पनि पात्रहरुको यौन मनोविज्ञानलाई कथामाथि हावी गराएका छन् जसका कारण पात्रहरुबीचको भावनात्मक सम्बन्ध गौण बन्छ।
पार्श्व ध्वनिले कथा भन्ने र पात्रको संवेदनासँग दर्शकलाई जोड्ने काम गरेको छ। तर, केही दृश्यमा भएको ध्वनिको प्रयोगमाथि प्रश्न आवश्यक छ। जस्तै- भीमालाई पतिले कुटेपछि टेम्पुमा बज्ने ध्वनि। त्यसले शून्यता, क्रमभंगता, गहिरो चोट वा पीडा संकेत गर्छ।
दैनिक खटपट गर्ने पति पत्नीबीचको झगडापछि त्यो ध्वनि प्रयोग कति आवश्यक थियो?
यदि फिल्ममा उक्त ध्वनिले कुनै गाम्भिर्यता जनाउथ्यो भने दर्शकले पनि केही गम्भीर दृश्य अपेक्षा गर्छन्। तर हुन्छ के? भीमा केरा किनेर कपाकप खान्छे। खाँदै गर्दा ‘पहिला पैसा त दिनुस्’ भन्ने आवाज सुनिन्छ। अनि दर्शक गलल्ल हाँस्छन्।
***
प्रयोगात्मक कामका लागि धन्यवादका पात्र हुन् पटकथाकार एवं निर्देशक विनोद पौडेल। डेब्यु फिल्म साँघुरोमा पनि उनले पृथक पहिचान दिएका थिए। स्थापित सूत्रहरुबाट पर रहेर महिलाको मनोदशा चित्रण गरेका छन्। सामाजिक र काव्यिक दुबै पाटोको न्यारेसन बनिआएका फिल्महरुको भन्दा फरक बनाउन योगदान रहेको छ सिनेम्याटोग्राफर सुसन प्रजापतिको।
हर्मन लेविसले अ प्राक्टिकल म्यानुअल अफ स्क्रिन प्लेराइटिङ फर थियटर एन्ड टेलिभिजन फिल्म्समा दावी गरेका छन्,'बक्स अफिस तथ्याङ्कले प्रमाणित गर्छ कि जतिसुकै गैरकलात्मक भए पनि ह्यापी इन्डिङ फिल्मले धेरै कलात्मक अनह्यापी इन्डिङभन्दा बक्स अफिसमा राम्रो गर्छ।' 'बुलबुल'लाई निर्देशकले कलात्मक ओपन इन्डिङमा फिल्म छोडेका छन्। दर्शकहरुले त्यसलाई कसरी लिन्छन्, त्यो हेर्न बाँकी छ। सरल कथाको काव्यिक न्यारेसनसहितको बुलबुल हेर्न लायक फिल्म भने बनेको छ।