PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

दुई विश्वकपको क्वालिफायर एकै पटक, नेपालको लक्ष्य ग्लोबल क्वालिफायर पुग्ने



गोविन्दराज नेपाल

दुई विश्वकपको क्वालिफायर एकै पटक, नेपालको लक्ष्य ग्लोबल क्वालिफायर पुग्ने
Photo : Thailand Cricket

काठमाडौँ : थाइल्याण्डमा भोलीबाट आइसीसी महिला क्वालिफायर एसिया टुर्नामेन्ट सुरु हुँदैछ। यो क्वालिफायर यसअघिका क्वालिफायरहरुभन्दा अली फरक छ। यो एउटा विश्वकपको लागि होइन दुई वटा विश्वकपको लागि रिजनल क्वालिफायर हो।

एसियाली राष्ट्रहरुको लागि सन् २०२० मा हुने टी २० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपको लागि सुरुवाती खुड्किलो हो।

यसमा एसियाका सात राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। आयोजक थाइल्याण्डसँगै नेपाल, युएई, मलेसिया, चीन, हङकङ र कुवेतले सिंगल राउण्ड रोविन लिगमा खेल्नेछन्। प्रत्येक टिमले ६-६ खेल खेल्नेछन्।

नेपालको लागि विश्वकपसम्म पुग्नका लागि यो पहिलो ढोकाको रुपमा रहेको छ। यस क्वालिफायरमा एकआपसमा खेलिसकेपछि अंकतालिकामा शीर्ष स्थानमा रहने टिम ग्लोबल क्वालिफायरमा छानिनेछ। त्यो पनि दुई वटा विश्वकपको क्वालिफायरका लागि।

क्वालिफायरअघि थोरै समयको तयारी भएपनि थाइल्याण्डमै भएको टी २० स्म्यासमा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको नेपाली महिला टोली उच्च मनोबलका साथ थाइल्याण्ड गएको छ।

आइतवार सहभागि राष्ट्रका कप्तानबीच क्वालिफायरको ट्रफी पनि सार्वजनिक भएको छ।

क्वालिफायर अन्तर्गत सोमवार तीन वटा खेल हुँदैछ। नेपालले भने मंगलवार मलेसियासँग खेल्दै क्वालिफायर सुरु गर्नेछ।

यस्तै नेपालले फेब्रुअरी २१ मा थाइल्याण्ड, फेब्रुअरी २२ मा युएई, फेब्रुअरी २४ मा हङकङ, फेब्रुअरी २५ मा चीन र फेब्रुअरी मा २७ मा कुवेतसँग खेल्नेछ।

नेपालले गत महिना थाइल्याण्डमै भएको टी २० स्म्यासमा थाइल्याण्डसँगै युएई, चीन र मलेसियासँग खेलिसकेको छ। समूह चरणमा अपराजित रहेको नेपालले सेमिफाइनलमा इन्डोनेसियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। तर फाइनलमा थाइल्याण्डसँग पराजित हुँदा नेपालको उपाधि जित्ने चाहना अधुरै रहेको थियो।

क्वालिफायर खेल्न जानुअघि नेपाली महिला टोलीले कीर्तिपुरमै तयारी गरेको थियो। यस्तै केही दिन अघि मात्र महिला क्रिकेटमा दुई वटा टी २० फ्रेन्चाइज लिग घोषणा भएपछि नेपाली खेलाडी अहिले उत्साहित भएका छन्।

नेपाली टिमका कप्तान रुविना क्षेत्रीले यस्ता खालको प्रतियोगिताले खेलाडीलाई उत्साहित बनाएको र क्वालिफायरमा राम्रो प्रदर्शन गर्न थप हौसला मिलेको बताएकी थिइन। साथै उनले यस क्वालिफायरमा पनि नेपालले आफ्नो उत्कृष्ट प्रदर्शन दिने बताएकी छिन्।

क्वालिफायरमा आयोजक थाइल्याण्डलाई ग्लोबल क्वालिफायर पुग्ने मुख्य दाबेदारको रुपमा हेरिएको छ। यसअघिका चार संस्करणमा पनि थाइल्याण्ड नै विजेता बन्दै अघिल्लो चरण पुगेको थियो। यसपटक थाइल्याण्डलाई नेपाल र युएई जस्ता राष्ट्रले चुनौती दिने पक्का छ।

क्वालिफायरका सबै खेलले टी २० अन्तर्राष्ट्रियको मान्यता पाउने भएकोले वरीयतामा रहेका टिमहरुको लागि पनि यो क्वालिफायरले असर गर्नेछ। टी २० वरीयतामा थाइल्याण्ड १२औँ युएई १४औँ र नेपाल १६औँ स्थानमा छ।

यस पटक आइसीसीले आफ्नो पाँच क्षेत्रमा क्षेत्रिय स्तरको क्वालिफायर गर्दैछ र त्यसबाट विजेता बन्ने पाँच राष्ट्रहरु ग्लोबल क्वालिफायरमा पुग्नेछ।

एसियाली छनोटसहित अफ्रिका, अमेरिका, युरोप र ओसियानाबाट गरी कूल २७ राष्ट्रले पहिलो चरणको छनोटमा प्रतिस्पर्धा गर्नेछन्। क्षेत्रिय छनोटमा एसियाबाट ७ टिमले प्रतिस्पर्धा गर्दैछन् भने अफ्रिकाबाट सर्वाधिक ९, ओसियानाबाट ६, युरोपबाट ३ र अमेरिकाबाट २ राष्ट्रले सहभागिता जनाउनेछन्।

यी पाँच क्षेत्रिय छनोटका विजेता टिमसहित ग्लोबल क्वालिफायरको आयोजक दुवै टी २० विश्वकपको लागि ग्लोबल क्वालिफायरमा छनोट हुनेछन्। यी सहित सन् २०१८ को टी २० विश्वकपमा अन्तिम दुईमा रहेका आयरल्याण्ड र बंगलादेश गरी कूल ८ टिमबीच सन् २०२० मा अष्ट्रेलियामा हुने महिला टी २० विश्वकपका लागि ग्लोबल छनोट हुनेछ। त्यसबाट शीर्ष दुई स्थानमा रहने टोली विश्वकपमा पुग्नेछन्।

यस्तै सन् २०२१ मा न्यूजिल्याण्डमा हुने विश्वकपका लागि भने पहिलो चरणको क्षेत्रिय छनोट पार गर्ने ५ राष्ट्र, आयरल्याण्ड र बंगलादेश अनी सन् २०१७-२०२० को महिला च्याम्पियनसिपमा रहेका ८ मध्ये अन्तिम तीन स्थानमा रहने ३ राष्ट्र गरी कूल १० राष्ट्रले ग्लोबल क्वालिफायर खेल्नेछ।

यसबाट तीन टिम ५० ओभरको विश्वकपमा छनोट हुनेछ र आयोजक न्यूजिल्याण्ड अनी २०१७-२०२० को महिला च्याम्पियनसिपमा शीर्ष चार स्थान रहने टोली गरी ८ टोलीबीच विश्वकप हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell