PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

इस्लामिक स्टेटमा संलग्न हुन सिरिया पुगेकी १९ वर्षीया बेगमको बेलायती नागरिकता रद्द



इस्लामिक स्टेटमा संलग्न हुन सिरिया पुगेकी १९ वर्षीया बेगमको बेलायती नागरिकता रद्द
फोटो : PA

लन्डन :  १५ वर्षको उमेरमा बेलायतबाट इस्लामिक स्टेटमा सहभागी हुन सिरिया पुगेकी शमिमा बेगमको बेलायती नागरिकता रद्द गरिएको छ।

बंगलादेशी आमा बुवा भएको कारण उनले अरु देशको नागरिकता लिन सक्ने भन्दै बेलायतले उनको नागरिकता रद्द गरेको बीबीसीले जनाएको छ।

इस्लामिक स्टेटको प्रभावशाली क्षेत्र मानिएको बगुजबाट भाग्दै उनी सिरियाली शरणार्थी शिविरमा पुगेकी थिइन्। हाल १९ वर्ष पुगेकी बेगमले उक्त शिविरमा केही हप्ता अघि मात्रै छोरालाई जन्म दिएको बताइएको छ।

सन्तान जन्मेपछि सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै बेगमले आफू बेलायत फर्कने इच्छा व्यक्त गरेकी थिइन्। उनले आफू इस्लामिक स्टेटको 'पोस्टर गर्ल' बन्न नचाहेको भन्दै आफ्नो सन्तानलाई बेलायतमा हुर्काउने इच्छा रहेको सार्वजनिक गरेकी थिइन्।

ब्रिटीश कानुन अनुसार आफ्ना नागरिकको सुरक्षाका लागि कसैको नागरिकता रद्द गर्न सकिने प्रावधान छ। यस्तै कोही व्यक्ति राज्यविहीन बन्दैन भने पनि नागरिकता रद्द गर्न सकिन्छ। बेगमको हकमा उनको अभिभावक बंगलादेशी भएकाले राज्यविहीन हुनु नपर्ने तर्क दिइएको छ।  

बेगमले बेलायत फर्कने इच्छा व्यक्त गरेपछि उनको परिवारले उनलाई बेलायत फर्काउन सरकार समक्ष आग्रह गरेको थियो। तर सरकारले उल्टै नागरिकता नै रद्द गरिदिएपछि त्यस विरुद्ध कानुनी चुनौती दिने तयारी भइरहेको बताइएको छ।

आइएस लडाकुसँग विवाह गरेकी बेगमले यसअघि दुई सन्तान गुमाइसकेकी छिन्। त्यसैले यो बच्चालाई सुरक्षित भविष्य दिन चाहिरहेको उनले बताएकी छिन्। उनको नागरिकता रद्द भए पनि उनको सन्तान नागरिकता रद्द हुनुभन्दा पहिलै जन्मेकाले बच्चालाई ब्रिटीश नै मानिने प्रावधान रहेको छ।

तर बेगमलाई बंगलादेशले नागरिकता दिने विषयमा भने अन्योल रहेको छ। बेगमले आफू कहिल्यै बंगलादेश नगएको र त्यहाँको राहदानी समेत नभएको बताएकी छिन्।

यता, बेलायत फर्कने इच्छा व्यक्त गरेको केही दिन मै नागरिकता खोसिएपछि केही सांसदहरुले विरोध गरेका छन्।

कन्सर्भेटिभ सांसद जर्ज फ्रिमेनले सरकारको सो निर्णय 'गलत' रहेको भन्दै त्यसले नकरात्मक नजिर स्थापित हुनेमा चिन्ता व्यक्त गरेका छन्। यस्तै केही लिबरल डेमोक्रेट सांसदहरुले समेत बेगमलाई बेलायत फर्कन दिनु पर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell