२०७२ वैसाख १२ गते भूकम्पका कारण घरहरु भत्किए, केही चर्किए मात्र। डरलाग्दो सुसाउने भोटेकोशी, भिरतिरबाट खस्दो चट्टान र ढुङ्गाहरु, निरन्तर पहिरो अनि परकम्प। अवस्था भयावह बन्यो। स्थानीय कसैले ज्यान गुमाएनन्। तर, तातोपानी नुहाउन र किनमेल गर्न आएका बाह्य पर्यटक, व्यापारीहरुको मृत्युले त्रसित र स्तब्ध तातोपानी। कोदारी, लिपिङबासी सुरक्षा खातिर बसाई सरे, सबै चिज छाडेर। कोही काठमाडौंका विभिन्न चौरमा, कोही स्थानीय डाँडाहरुमा पुगे।
भूकम्प लगतै बस्ती सुनसान भइसकेको थियो। बजारको नाम निशान बाँकी थिएन। केही महिनापछि कोही फर्किएर मर्मत सम्भार थाले। कसैले नबन्ने घरको झ्याल, ढोका, ग्रील आदि मात्र भए पनि निकाले। र, भूकम्पले थल्थलिएको भित्ताहरु छोडी हिँडे। बसाई सरे।
घरै माया मारेर बसाई सर्न सकेनन् ३५ वर्षीय छिरिङ मिङ्ग्यूर शेर्पा। किनकि बुबा नुर्पु शेर्पाले जिन्दगीभर मिहेनत गरेर बनाएको दुईवटा घर थिए त्यहाँ।
'बाबाले वर्षौ बजारबाट सामान ल्याउनु भयो। काठमाडौंमा बेचेर फाइदाको रकम जम्मा गर्नुभयो। सबै पैसा घरमा लगानी गर्नु भयो। त्यो मिहेनतले बनाएको घर कहाँ छोड्न सक्नु,' उनले सुनाए।
खासा र तातोपानी जोड्ने मितेरी पुल नै भूकम्पले भत्कायो। नाका ठप्प। फेरि खासाबाट सामान ल्याउँला, व्यापार गरौँला, पैसा जम्मा होला अनि घर बनाउँला भन्ने बाटो रहेन। वर्षौ लगाएर बुढेसकालका लागि जम्मा गरेको कमाइ छिनभरमै पानीमा मिल्यो।
एउटा घर केही पुरानो थियो १० लाख लगानी गरेर बनाएको। अर्कोमा बुबासँगै उनको पनि पसिनाको कमाइ मिसिएको थियो। त्यसका लागि ३० लाख खर्च। परकम्प केही कम हुँदै जाँदा योजना बनाउँदै थिए- तातोपानी फर्किएर घर मर्मत सम्भार गर्ने। खर्च जुटाउने क्रममा थिए उनी।
छिरिङ मिङ्ग्यूर शेर्पा
२०७३ साल असार २२ गते, बुधबार। असारे झरीले ओच्छ्यान छोड्न मन नलाग्ने बनाएको थियो। सिरकभित्रैबाट फेसबुक चहार्दै थिए। न्युज फिडमा देखिएको पहिलो पोस्टले सात्तो लग्यो। जुरुक्क उठे र थप केही मान्छेको प्रोफाइल चहारे। भोटेकोसीमा बाढी आएको निश्चित भयो। बस्ती पूरै डुबानमा परेछ। मनभरी डर जाग्यो। झल्झल्ती आफ्नो घरहरु सम्झिए। ती त परेनन् होला भन्दै आफैलाई थुम्थुमाउँदै थिए।
'कुन चाहिँले भिडियो अपलोड गरेको रहेछ। यसो हेरेँ, आफ्नो घर पनि देखियो। हेर्दा हेर्दै डुब्यो', केही बेर चुप लागे र बोले, 'सोच्न बाँकी केही रहेन।'
छिरिङले त मन जसरी पनि बुझाए। गाह्रो त ६८ वर्षीय बुबा र ६२ वर्षीया आमालाई सम्झाउनमा भयो। 'सधैं काठमाडौंमा गाह्रो भयो। गाउँ फर्किउँ, आफ्नै घरमा बसौं भन्नु हुन्थ्यो। म भूकम्पको डर छ भनेर सम्झाउँथें', उनी निकै निरश सुनिन्छन्। भने, 'भूकम्पले हल्लाएर छोडेको थियो। बाढीले पूरै लग्यो।'
निरन्तरको वर्षाले भोटेकोसी उर्लन छाडेन। माथि पहिरोले पिरोल्न सुरु गर्यो। केही दिनमै खबर आयो छिरिङ परिवारको अर्को घर पनि पहिरोको चपेटामा पर्यो।
बाढीले बगाएको घरबाट भाडा मात्र मासिक १५ हजार आउँथ्यो, पहिरोले थिचेको घरबाट ३० हजार।
अब पुनर्निमाण परको विषय। आफ्नो घर यही थियो भनेर ठम्याउने अवस्था समेत बाँकी रहेन। करिब ६० घर उसैगरी बगेर गए। यसरी नै सखाप भयो तातोपानी र मितेरी पुलसम्मका कोदारी र लिपिङ बजार।
छिरिङको पुर्ख्यौली घर लिपिङबाट पैदल २० मिनेटको उकालोपछि पुगिन्छ। बाल्यकालमा लिपिङदेखि कोदारीसम्मको स्कूल धाउने गर्थे। त्यसबेला देखेको ठाउँ सम्झन्छन्, ‘बढीमा आधा दर्जन घर थिए। निकै सुनसान, पसलहरु पनि धेरै थिएनन्।‘
बिस्तारै तातोपानीमा नुहाएर बजार घुम्न र किनमेल गर्न जानेको सङ्ख्या बढ्न थाल्यो। सोही अनुरुप थपिए घर अनि पसलहरु। सुनसान खोंचजस्तो लाग्ने ठाउँमा बस्ती बस्यो, बजार बन्यो। व्यापार व्यवसाय गर्नेहरुका लागि व्यापारिक हब।
कात्तिकदेखि चैतसम्म तातोपानी नुहाउने दैनिक ६ सयदेखि नौ सयसम्म पर्यटक हुन थाले। शनिबार र अन्य बिदाको दिन उक्त संख्या २ हजारसम्म पुगे। तीनै पर्यटकलाई ध्यानमा राख्दै स्थानीयले होटल, खुद्रा पसल, खासाबाट ल्याइएका लुगाको पसलहरु राख्न थाले। केही समयपछि त परपरका गाउँ ठाउँबाट पनि पसल, होटल राख्न आउनेहरु थपिए। इन्टरनेट बजारसम्मै पुग्यो। बैंकहरुको शाखा पनि खुले। खासाको होटल तथा पसलहरुमा नेपाली कामदारको माग बढ्यो, सामान ओसार्ने गाडी चालक आह्वानले रोजगारीको बाटो खुल्यो।
स्थानीयका लागि बजार बस्नु दैनिकी सहज हुनु थियो। बिजुली, सडकको पहुँचसँगै किनमेलका लागि पनि टाढा जान नपर्ने।
‘तर फेरी बाल्यकालमा देखेकोजस्तै सुनसान भयो हाम्रो तातोपानी। न मान्छे छन् न घर। बजारको त्यो चहलपहल आज सम्झदाँ पनि रमाइलो लाग्छ’, केही नोस्टाल्जिक अनि चिन्तित भावमा सुनाउँछन्, ‘कति शून्य भएको छ, एक्लै हिँड्न पनि डर लाग्ने।‘
नाकासँगै ठप्प गरिखाने भाँडो
पहिले पहिले सपना तामाङको होटलमा राति १० बजेसम्म ग्राहकको भिड लाग्थ्यो। पकाएर, खुवाएर, सरसफाइ गरेर थाकेकी उनलाई राहत दिने एउटै कुरा हुन्थ्यो, दिनभरको कमाइ। त्यही कमाइले उनको परिवारको दैनिकी चल्थ्यो।
राति होटल बन्द गरेर सुत्न जान्थिन्। तर, खासा-काठमाडौं गुड्ने कन्टेनरहरुको हर्न र आवाजले निद्रा पर्न गाह्रो हुन्थ्यो। बल्ल बल्ल निदाउँदा बिहान उठ्न गाह्रो। 'तर, उठ्नै पर्यो। पाँच छ बजेदेखि मान्छे आउन शुरु हुन्थ्यो। त्यसैले त्यसअघि नै आलु, चाउमिन उसिन्ने, तरकारी पकाउने काम सक्नु पर्थ्यो। बिहानदेखि बेलुकीसम्म भ्याइ नभ्याइ।'
तर, भूकम्पपछि अवस्था उस्तै रहेन। मितेरी पुलमा क्षति पुग्यो, निद्रा बिगार्ने गरी गुड्ने गाडी आउने बाटो नै बन्द भयो, बजार तहस नहस भयो। सपना तामाङको परिवार पनि मार्मिङस्थित मुल घर फर्कियो।
सपना तामाङ, घर बाहिर
अहिले तातोपानी धाराबाट निस्किएर जाने मितेरी पुलसम्म पुग्दा बिरलै घर ठाडो उभिएका छन्। तीमध्ये एक हो तातोपानी भन्सार कार्यालय। कार्यालय भवनको मुख्य गेटबाट भित्र छिर्दा आँखामा ठोकिन्छ काठ र सिसाको फ्रेम। चरचर चर्किएको भित्तामा काँटी ठोकेर अड्याइएको फ्रेममा लेखिएको छ :
'सदा स्मरणका लागि'
मिति २०७१ साल साउन ६ गते शुक्रबार बिहान तीन बजे जिल्ला सिन्धुपाल्चोक, मांखा गाविस ९ र राम्चे १ जुरेमा विशाल पहिरो गइ सुनकोसी नदी थुनिएको।
मिति २०७२ साल वैशाख १२ गते शनिबार ११: ५६ बजेको समयमा ७.८ रेक्टर स्केलको महाभूकम्प गएको।
मिति २०७३ असार २१ गते मंगलबार राति ८: ३० बजेको समयमा भोटेकोसीमा आएको विनाशकारी बाढीले जिल्ला सिन्धुपाल्चोक तातोपानी गाविसमा भौतिक क्षति पुर्याएको।
काठ नमक्किउन्जेल, सिसा नफुटुन्जेल, अक्षर नखुइलिउन्जेल रहला त्यो फ्रेम। तर, त्यसमा लेखिएका मिति नामेट छ। वर्षदिनको अन्तरालमा व्यहोर्नु परेको प्राकृतिक भवितब्यहरुले पारेको भौतिक, मानसिक अनि भावनात्मक असर उस्तै गहिरो।
भूकम्प गएको तीन वर्षपछि मात्र मितेरी पुल निर्माण शुरु भयो। पुलसँगै सुख्खा बन्दरगाह र सडक पुनर्निमाणको काम पनि अघि बढ्यो। नाका पुन: खुल्ने र बजार फेरि जुर्मुराउने अनुमानसहित शून्य तातोपानी, लिपिङ र कोदारीमा मानिस आउने क्रम शुरु भयो।
सपनाको परिवार पुन: लिपिङस्थित घरमा फर्किएको छ। बाटो ठप्प भएको तातोपानी लिपिङमा फेरि गाडीहरुको आवाज आउन थालेको छ। तर, त्यो आवाज खासाबाट लत्ता कपडा, स्याउलगायत सामान ओसार्ने कन्टेनरहरुको भने होइन, बरु पुनर्निमाणका लागि बालुवा, ढुङ्गा, सिमेन्ट ओसार्ने ट्रिपरहरुको हो।
केही समयअघि घर भाडामा दिएका कारण सपनाको घरमा अरुले नै होटल खोलेका छन्। नाका खुल्ने निश्चित भएपछि आफै व्यापार थाल्ने उनको कथन छ। भन्छिन्, 'घर भाडाभन्दा बढी पैसा दैनिक व्यापारबाट हुन्छ। अहिले पो घर खाली राख्नुभन्दा केही रकम आम्दानी हुन्छ भनेर भाडामा दिएको त।'
***
३० वर्षीय पवन कार्की खासाबाट काठमाडौं सामान पुर्याउने ठूलो कन्टेनर चलाउँथे। उनको मासिक ४० हजारसम्म कमाइ हुन्थ्यो। सानो ठूलो गरेर करिब १५ सय कन्टेनर गुड्ने गरेको उनको दाबी छ।
'पहिले पहिले कन्टेनर र अन्य गाडीको चापले घण्टौं जाममा बस्नु पर्थ्यो। अहिले गाडी देख्न पनि गाह्रो अवस्था छ। मैले पो स्थानीय गाडी चलाएको छु। कहाँ गए होलान् कन्टेनर चलाउने साथीहरु?'
केही केरुङ नाका पुगेका थिए। पवन पनि। ‘तर, गाडीको खर्च पनि नउठ्ने। धान्नै गाह्रो भएपछि धेरैजना फर्कियौं,’ उनले सुनाए।
फर्किएका सबै कामविहीन भए। हाल पवन स्थानीय गाउँहरुमा मान्छे पुर्याउने बोलेरो चलाउँछन्। काम नियमित हुँदैन। यात्रु भएका दिन मात्र खर्च जुट्छ तर घर चलाउन मुस्किल छ। बोलेरोमा पैसा नभएपछि गाडी चलाउने सीप थाती राख्दै पुनर्निमाणमा ज्याला मजदुरी गर्नेहरु पनि धेरै छन्।
नाकासँग सपना, पवनजस्ता धेरैको दैनिकी जोडिएको छ। नाकावारीको व्यापार, व्यवसायसँगै पारी पनि रोजगारीको अवसर पाएका थिए नेपालीले।
३९ वर्षीय छेतेन दोर्जे शेर्पा खासाको जाङ्मो होटलमा काम गर्थे। मासिक खर्च पठाउँथे जहान, छोराछोरीलाई। भूकम्प र बाढीका कारण होटल बन्द भयो। उनी नेपाल फर्कन पर्ने भयो। 'नाका ठप्प थियो। त्यसैले टिबेट गएर प्लेनमा फर्कन पर्यो। प्रकोपले त गरिखाने भाँडोसँगै घर पनि पो टाढा बनाएछ,' उनले भने।
***
भूकम्प, बाढी र पहिरोले क्षतिग्रस्त अरनिको राजमार्ग हुँदै पुग्नु पर्छ तातोपानी। बजार उठ्नु परको कुरा सडककै दुर्गती र त्रासका कारण यो ठाउँको यात्रा कठिन बनेको छ। त्यतिनै गाह्रो छ त्यहाँको भयावह र दयनीय अवस्था हेर्न।
बजार आसपासको दृश्य- सडकदेखि माथिल्लो भागबाट ढुङ्गा अनि माटोको ढिस्काहरु अहिले नै खस्लान् जस्तो लाग्छ। सडकदेखि तल भोटेकोसी, बालुवा र ढुङ्गाहरु मात्र देखिन्छन्। सडक छेउमा जोडेर बनाइएका घरहरु प्राय भत्किएका छन्, ढल्किएका छन्। केहीलाई खोलाले जमिनसहित तलतिर तानेको देखिन्छ, केही घरको भित्र ठूला ठूला चट्टानहरु पसेका छन्। सद्धे लाग्ने घरको पनि बरण्डा र छतभरि घाँसपात हरियो भएर उम्रिएका छन्।
घरभित्र छुटेका फोटो फ्रेममा सबै मानिस हाँसेको देखिन्छन्। ग्यास स्टोभ, दराज, थालहरु छोडिएका हुन्, सायद।
‘अस्थायी बासिन्दा थिए तर पनि आफू बस्ने घर, कमाइ खाने भाँडोको यो दुर्गती देख्दा भक्कानो फुट्दो हो। कोही त आउँछन्, पहिले आफू बस्ने गरेको घर भएतिर हेर्छन् र निर्धक्क रोएर फर्कन्छन्,’ नाका सुरक्षामा खटिएका दोलखाका रामबहादुर थामी भन्छन्। उनी पनि अन्य ६ सशस्त्र प्रहरीसँगै भन्सार कार्यालयकै भवनमा रहन्छन्। पूर्ण क्षति नपुगेको एकमात्र भवनमा। सुरक्षाका लागि बसेका यी जवानहरुलाई पनि त्रास छ। तर जिम्मेवारीसँग डराउनु हुन्न भन्ने चेत पनि उत्तिकै। ‘वर्षामा त निद्रा पर्दैन। कताबाट जमिन भासिन सुरु गर्ने हो, कताबाट डाँडा खस्न सुरु गर्ने हो भन्ने डर भइरहन्छ,’ बोल्छन्, ‘सेवामा खटेका छौं डराउनु त उपाय नै होइन नि।’
पुनर्निमाणले जगाएको आशा
मासिक दश हजार तिरेर घर भाडामा लिएका छन् सोमबहादुर थामीले। भूकम्पले रांबुसास्थित घर भत्काएपछि उनी लिपिङ बसाइ सरेका हुन्।
उनी र माइला छोरा मिनबहादुर थामी मिलेर भाडाको घरमा किराना पसल खोलेका छन्। उनीहरुले पसल खोलेपछि बजारबाट माथिका गाउँलेलाई किनमेल सजिलो भएको छ। नत्र नुन तेल किन्न पनि २६ किलोमिटर टाढा बाह्रबिसे पुग्नु पर्थ्यो। त्यहाँ नपाइने सामान किन्न बनेपा।
‘गाउँलेलाई सजिलो त भयो तर आफूलाई घाटा छ। कहिले त घर भाडा तिर्न पनि पैसा पुग्दैन,’ उनी गुनासोसँगै केही आशावादी बन्छन्, ‘नाका खुलेपछि मान्छे बढ्छन् अनि व्यापार पनि बढिहाल्छ नि।‘
सोमबहादुर थामी आफ्नो पसलमा
त्यही आशा लिएर लिपिङ र तातोपानीमा फाट्टफुट्ट मान्छे फर्कन थालेका छन्। फर्किएकाहरु अधिकांशको होटल वा किराना पसल छ। उनीहरुको ग्राहक पुल, सडक र बन्दारगाह निर्माणका लागि खटिएका कामदारहरु हुन्। केहीले भने आएर ठाउँ ओगटेका मात्र हुन्। बजार खुले आमदानी हुने लोभले।
सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक कृष्णगोपाल गुरुङका अनुसार वर्षायाममा यी ठाउँमा पाँच प्रतिशत मात्र मानिस थिए। हिउँद लागेसँगै १५ देखि २० प्रतिशत मानिस थपिएका छन्। भने, ’मान्छे बढ्नेक्रम जारी छ। नाका खुलेपछि बजार पक्कै पुनर्स्थापना हुनेछ।'
डिएसपी कृष्णगोपाल गुरुङ
उनले आउँदो मे दिवसका दिन मितेरी पुल उद्घाटन हुने जानकारी समेत दिए।
हाल १६० जना सशस्त्र प्रहरी सीमामा खटिएका छन्। स्थानीय साथै रुकुम, रोल्पा, अछाम, दैलेख तिरबाट आएका कामदारहरु सीमाक्षेत्रको मितेरी पुलदेखि सुख्खा बन्दरगाह, सडक निर्माणमा खटाइएका छन्। सुख्खा पहिरोको त्रास र वाधाबीच काम भइरहेको छ।
वार्षिक ६ अर्ब रुपैयाँ राजश्व संकलन हुने व्यापारिक नाका ठप्प भएपछि थला परेको तातोपानीसँग धेरैको मुख पेट जोडिएको छ। बजारमा निर्भर व्यापारी र कामदार अझै पनि प्रकृतिले अस्तित्व नै धरापमा पारेको यी ठाउँहरु पुनर्स्थापनाको आशामा छन्। नाका खुले बजार जुर्मुराउँछ, बजार उठे दैनिकी सुध्रन्छ।
नेपालपट्टि जिर्ण सडक। मितेरी पुल पारी दिनरात धमाधम काम भइरहेको छ। उक्त पुलतिर देखाउँदै कामदार थिलेन शेर्पा बोल्छन्, 'सीमावारी धेरै काम बाँकी छ।'
थिलेन शेर्पा