PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

गल्फर प्रतिमाको स्मृतिमा आङ छिरिङ शेर्पा: 'मलाई डक्टर बनाउने उहाँको सपना थियो'



गोविन्दराज नेपाल

गल्फर प्रतिमाको स्मृतिमा आङ छिरिङ शेर्पा: 'मलाई डक्टर बनाउने उहाँको सपना थियो'

नेपाली महिला गल्फको नम्बर वान खेलाडी प्रतिमा शेर्पा उच्च शिक्षाका लागि हाल अमेरिकामा छिन्। नेपालमा हुँदा शिक्षा र गल्फलाई सँगै अगाडि बढाएकी प्रतिमा गल्फ करियरलाई पनि सँगैसँगै अगाडि बढाउन अमेरिकामा मेहनत गर्दैछिन्। काठमाडौँको रोयल नेपाल गल्फ कोर्स नजिकै छाप्रोमा हुर्किएकी प्रतिमाले गल्फ खेलेरै अमेरिकासम्मको बाटो तय गरिन्। विश्व गल्फको लेजेण्ड टाइगर उड्सलाई भेटिन्। यी सफलताका पछाडि उनले धेरै संघर्ष र मेहनत पनि गरेकी छिन्। र उनको सफलतामा धेरैले सहयोग पनि गरेका छन्।

तिनै सहयोगीमध्ये एक थिए व्यवसायी आङ छिरिङ शेर्पा। यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भयो। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना हुँदा शेर्पा र मन्त्री अधिकारीसहित सातै जनाको मृत्यु भएको हो।

बाहिर देखिन नरुचाउने तर सबैको भलो चिताउने र सहयोगी भावना राख्ने आङ छिरिङ नेपाली पर्यटन र उड्ययन क्षेत्रमा पायोनियर व्यक्तित्व हुन्। विभिन्न क्षेत्रमा गरेर उनको झन्डै ५० अर्ब बढी लगानी रहेको छ। त्यस अन्तर्गत गोकर्ण गल्फ रिसोर्ट पनि छन्। त्यही रिसोर्टमा उनले गल्फ खेलेका छन्। र त्यहीँ खेल्नेमध्ये एक प्रतिमालाई पनि उनले सहयोग गरेका थिए।

प्रतिमाले आफ्नो गड फादर आङ छिरिङसँगको सम्बन्ध र सहयोग आफ्नै शब्दमा व्यक्त गरेकी छिन्:

मेरो बाबा र छिरिङ अंकल (आङ छिरिङ शेर्पा)को पहिलादेखि नै चिनजान थियो। मेरो बारेमा बाबालाई पनि सोधिरहनु हुन्थ्यो। तर मैले त्यतिबेला भेट्न चाहिँ पाएको थिइनँ। म कक्षा ६ मा पढ्थेँ। त्यसै क्रममा घर फर्कने बेला उहाँसँग पहिलोपटक भेट भएको थियो। त्यसपछि उहाँले मलाई मेरो अफिस आऊ है भन्नुभयो। मेरो नाम आङ छिरिङ हो यो मेरो अफिस हो भनेर मलाई भन्नुभयो। हुन त मलाई पनि उहाँको अफिसबारे थाहा थियो। अंकलको अफिस जानलाई बाहिर सोधेर मात्र जानुपर्ने थियो। अनि मैले पनि त्यहाँको एकजना दिदीलाई मलाई छिरिङ अंकलले बोलाउनुभाथ्यो भनेर भनेँ। अनि दिलीले अंकलको अफिसमा फोन गरेर सरको छोरी आउनुभाछ भन्नुभयो। अनि म एकछिन छक्कै परेँ। मैले म उहाँको छोरी हैन नि त भनेर भन्दा दिदीले तिमीलाई उहाँले छोरी बनाउनुभा'छ भनेर भन्नु भयो। म अलिक बुझ्ने भइसकेकी थिइनँ।

भेटपछि उहाँले मेरो स्कुल र गल्फबारे सोध्नुभयो। केही पर्‍यो भने मलाई कल गर भन्नुभयो। गल्फको केही सामानहरू चाहिन्छ भने म बाहिर जाँदा ल्याइदिन्छु भन्नुभयो। त्यही दिनबाटै अंकल र मेरो सम्बन्ध बाउ छोरीको जस्तो भयो। मलाई धेरै माया गर्नुहुन्थ्यो। मैले केही गल्ती गरेँ वा उहाँलाई केही चित्त बुझेन भने राम्रोसँग सम्झाउनुहुन्थ्यो।

म जब चीनमा फाल्डो सिरिज खेल्न छनोट भएँ त्यतिबेला उहाँलाई नै भनेर जिम ज्वाइन गरेँ। बेलुका सधैँ जिम जान थालेँ। उहाँले मलाई जहिले पनि पहिलो प्राथमिकता एडुकेसन अनिमात्र गल्फ भन्नुहुन्थ्यो। उहाँको सपना मलाई डक्टर बनाउने थियो। तर त्यसमा मेरो कुनै रुचि थिएन। त्यो देखेर नै उहाँले गल्फमा नै अगाडि बढ भन्नुभयो।

पहिलोपटक फाल्डो सिरिजका लागि छनोट हुँदा म जम्मा १४ वर्षको थिएँ। जसले गर्दा मेरो नागरिकता बन्न सम्भव भएन। तर म १८ वर्ष पुग्ने बित्तिकै मेरै लागि भनेर आफ्नो व्यस्त समयका बावजुद पनि अंकल गाउँ जानु भयो। मलाई नागरिकता बनाउन सहयोग गरिदिनुभयो। उहाँले मलाई प्रतिमा होइन 'टासी' भनेर बोलाउनु हुन्थ्यो।

म पनि मेरा दुईजना बाबा हुनुहुन्छ भन्ठान्थेँ। मलाई दुबै जनाको माया उत्तिकै लाग्छ। म यता अमेरिका आउने बेला उहाँलाई भेट्न भने पाइनँ। उहाँ ट्रेकिङमा बाहिर जानुभाथ्यो। फोन पनि लागेको थिएन। तर प्लेन उड्ने बेला चाहिँ लाग्यो। मैले अंकललाई मेसेज पनि गरेको थिएँ।

'तिम्रो ममी बाबाको चिन्ता नगर। म हुन्जेल म केयर गर्छु। तिमीलाई भेट्न म वर्षको एकपटक आउँछु।' अंकलले यस्तो भन्नुभाथ्यो।

म प्लेनमा हुँदा पनि रोइरहेको थिएँ। अंकलले मलाई तिमी भविष्य बनाउन गाको हो। तिम्रो ग्रयाजुएसनमा म तिम्रो ममी र बाबालाई लिएर आउँछु भन्नुभाथ्यो। त्यतिबेला मभन्दा खुसी कोही हुँदैन देशको नाम र परिवारलाई गर्व बनाउनुपर्छ भन्नुभाथ्यो।

म यता आएपछि कुरा भयो। उहाँ यही मार्चको अन्त्यतिर आउने कुरा थियो। अनि मलाई यहाँको ठेगाना पठाउ केही पठाउनु परे सजिलो हुन्छ भन्नुभएको थियो। मैले ठेगाना पठाएको थिएँ।

मेरो यता अमेरिकन फेमिली पनि उहाँलाई भेट्न एकदमै उत्साहित हुनुहुन्थ्यो।

म चाँडै आउँछु भन्नुभयो। तर त्यसकै भोलिपल्टै जुन समाचार आयो। म छाँगाबाट खसेजस्तो भएँ। सुन्दा नै मलाई एकदमै गाह्रो भयो। घरमा फोन गर्दा मेरो ममी र बाबा पनि रोहिरहनुभाथ्यो। मैले जीवनमा पहिलोपटक एकदम नजिकको मान्छे गुमाएँ। यो क्षण एकदमै गाह्रो हुँदो रहेछ। उहाँले हाँसेको र उहाँले भनेको हरेक कुराहरू झलझली याद आइराछ। मैले टाइगर उड्ससँग भेटेँ भन्दा पनि उहाँ कत्ति खुसी हुनुभाथ्यो।

उहाँलाई अस्ति सपनामा पनि देखेँ। उहाँले हाँसेर मलाई हेर्नुभयो। साउद त्यही नै उहाँले मलाई दिनुभएको आशीर्वाद होला। अंकलको माया र सपोर्ट मैले कहिल्यै बिर्सिन सक्दिनँ।

उहाँलाई सम्झँदा पनि गाह्रो हुन्छ। म केही भन्न सक्दिनँ।... म रुँदिन भन्छु तर सक्दै सक्दिनँ। उहाँ हुनुहुन्न भनेर विश्वास गर्न अझै पनि सकेको छैन मैले। म नेपाल जाँदा उहाँलाई भेट्छु। त्यहीँ हुनुहुन्छ जस्तो लाग्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell