PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

साफ महिला च्याम्पियनसिपमा नेपालको दुई लक्ष्य: घरेलु मैदानमा भारतलाई हराउने, अनि उपाधि जित्ने



गोविन्दराज नेपाल

साफ महिला च्याम्पियनसिपमा नेपालको दुई लक्ष्य: घरेलु मैदानमा भारतलाई हराउने, अनि उपाधि जित्ने
फोटो: ANFA

काठमाडौं: दक्षिण एसियाली फुटबल महासंघ साफ महिला च्याम्पियनसिप पहिलो पटक नेपालमा आयोजना हुँदैछ।

सन् २०१० बाट शुरु भएको महिला फुटबलको यस प्रतियोगिताको पाँचौ संस्करण फागुन २८ देखि चैत २८ सम्म विराटनगरको शहीद रंगशालामा सञ्चालन हुनेछ।

नेपालमा पहिलो पटक हुन लागेको र काठमाडौं बाहिर हुन लागेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितासमेत हो यो।

यस पटक नेपालको सीधा दुई लक्ष्य छ। पहिलो भारतलाई हराउने अर्को घरेलु मैदानमै उपाधि जित्ने।

नेपालले अहिलेसम्म साफ च्याम्पियनससिपको उपाधि जित्न सकेको छैन। हुन त दक्षिण एसियामा नेपाल जहिल्यै उपाधि दाबेदारको रुपमा देखा पर्दै आएको छ।

सुरुको तीन संस्करण नेपालले फाइनल पनि खेल्यो। तर तीनै पटक भारतसँग पराजित भएपछि नेपालले उपविजेतामा ह्याट्रिक गर्‍यो।

चौथो संस्करणमा सेमिफाइनलमा भारतसँग भिडेको नेपालले भारतको चुनौतीलाई परा गर्न सकेन।

एक हिसाबले हेर्दा भारत नै नेपालको तगारोको रुपमा रहेको थियो।

तर अहिले समय फेरिएको छ। नेपालले घरमै साफ च्याम्पियनसिप खेल्दैछ। केही समयमअघि भारतलाई उसैको मैदानमा पराजित गरेको नेपालको मनोबलसमेत उच्च छ। भारतमै भएको हिरो गोल्डकपमा भारतलाई २-१ ले पराजित गरेपछि नेपालका प्रशिक्षक हरि खड्काले भनेका थिए, ‘भारतलाई उसैको मैदानमा हराउने इच्छा पूरा भएको छ।‘

त्यो जित नेपालको लागि उपाधि जिते जत्तिकै ठूलो सफलता थियो। किनभने नेपालले त्यसअघि भारतलाई हराउनै सकेको थिएन।

गत नोभेम्बरमा म्यानमारमा भएको २०२० टोकियो ओलम्पिक छनोटमा पनि नेपाले अग्रता लिएर पनि भारतसँग बराबरी खेलेको थियो।

त्यो भन्दा अघि साफ च्याम्पियनसिप र साग फूटबलमा पनि भारतले नेपाललाई पराजित गरेको थियो।

यस्तै गत अक्टोवरमा थाइल्याण्डमा भएको एएफसी वुमन्स यू-१९ च्याम्पियनसिप क्वालिफायरमा पनि नेपालले भारतलाई २-० ले पराजित गरेको थियो। उक्त खेलामा २ गोल नै गरेकी युवा फरवार्ड रेखा पौडेल अहिले सिनियर टिममा छिन्।

रेखासँगै कप्तान निरु थापा अनि गोल मेसिनको उपनाम पाएकी सावित्रा भण्डारी ‘साम्बा’ ले नेपालको फरवार्ड लाइन सम्हाल्नेछन्। भारतलाई भारतमै हराउँदै साबित्राले दुई गोल गरेकी थिइन्।

ओलम्पिक छनोट, हिरो गोल्डकप र यू-१९ क्वालिफायर खेल्दा नेपाल र भारत एकअर्काको कमजोरी र बलियो पक्षहरुको बारेमा जानकार छन्।

राष्ट्रिय फुटबल टिमका पूर्व कप्तानसमेत रहेका महिला टिमका प्रशिक्षक हरि खड्का पनि यसबारे जानकार नै छन्। उनकै प्रशिक्षणमा नेपालको महिला फुटबल टिमले पछिल्लो ६ महिना उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

अहिले नेपाल घरेलु मैदानमै खेल्दैछ र नेपाललाई साफको उपाधि जित्ने यो सुनौलो मौकाको रुपमा रहेको छ। त्यसका लागि नेपालले भारतलाई हराउनुपर्नेछ अनि उपाधि जित्नुपर्नेछ।

नेपाल र भारत नै दक्षिण एसियाली महिला फूटबलका शक्ति राष्ट्र हुन् भलै नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन। यी दुई टोली फरक समूहमा छन्। समूह ए मा नेपालसहित बंगलादेश र भुटान छन् भने समूह बी मा भारत, श्रीलंका र माल्दिभ्स छन्। पाकिस्तानले अन्तिम समयमा नाम फिर्ता लिएपछि दक्षिण एसियाका ६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्ने लागेका हुन्।

पछिल्लो संस्करणमा उपविजेता बनेको बंगलादेशले महिला फुटबलमा सुधार गरिरहेको छ। त्यसैले नेपालको पहिलो काम बंगलादेशलाई पराजित गर्दै समूहको विजेता बन्नु हुनेछ। यसो भएमा नेपालले समिफाइनलमा भारतसँग खेल्नुपर्ने छैन।

यदि नेपाल र भारत आ-आफ्नो समूहको विजेता बनेमा भने यी दुई टोलीबीच फाइनलमा भेट हुन सक्नेछ। नेपालले दक्षिण एसियाली राष्ट्रहरुमा भारत बाहेक अन्य टिमसँग हारेको छैन।

दुवै समूहमा ३-३ टोली मात्र रहेकाले ४ खेल जित्ने टिम नै च्याम्पियन बन्नेछ। नेपालले पनि उपाधि जित्न चार खेल जिते पुग्छ।

यस पटक नेपाली टिममा पुराना र युवा खेलाडीहरुको मिश्रण छ। पूर्व कप्तान तथा कीर्तिमानी फर्वार्ड अन्तिम टोलीमा पर्न नसकेपनि यू-१९ का ६ खेलाडी रहेको नेपाली टिम सन्तुलित देखिन्छ।

प्रशिक्षक खड्काले पनि नेपाली टोलीलाई उत्कृष्ट मानेका छन्।

 

 

अहिलेसम्म साफमा नेपालको प्रदर्शन

पहिलो साफ २०१०

समूह चरण : माल्दिभ्सविरुद्ध ६-० ले विजयी, अफगानिस्तानविरुद्ध १३-० ले विजयी,

पाकिस्तानविरुद्ध १२-० ले विजयी

सेमिफाइनल : बंगलादेशविरुद्ध ३-० ले विजयी

फाइनल : भारतसँग १-० ले पराजित

 

दोस्रो साफ २०१२ : समूह चरण : पाकिस्तानविरुद्ध ८-० ले विजयी, माल्दिभ्सविरुद्ध ५-० ले विजयी, अफगानिस्तान विरुद्ध ७-१ ले विजयी

सेमिफाइनल : श्रीलंकाविरुद्ध ३-० ले विजयी

फाइनल :  भारतविरुद्ध ३-१ ले पराजित

 

तेस्रो साफ २०१४ 

समूह चरण : भुटानविरुद्ध ८-० ले विजयी, पाकिस्तानविरुद्ध२-० ले विजयी, श्रीलंकाविरुद्ध ३-० ले विजयी

सेमिफाइनल : बंगलादेशविरुद्ध १-० ले विजयी

फाइनल : भारतविरुद्ध ६-० ले पराजित

 

चौथो साफ २०१६ 

समूह चरण : भुटानविरुद्ध ८-० ले विजयी, माल्दिभ्सविरुद्ध ९-० ले विजयी, श्रीलंकाविरुद्ध १-० ले विजयी

सेमिफाइनलमा :  भारतविरुद्ध ३-१ ले पराजित

नेपाली टोली

किपर: अन्जना राना मगर, एन्जिला तेम्वाप्पो सुब्बा, उषा नाथ

डिफेन्डर: हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मनमाया लिम्बू

मिडफिल्डर: अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, शर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी

फरवार्ड: रेखा पौडेल, निरु थापा(कप्तान), साबित्रा भण्डारी

यस्तो छ खेल तालिका



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell