PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

पूर्वप्रम लोकेन्‍द्रबहादुर चन्दको एस्कर्टिङ भ्यानले स्कुटरलाई ठक्कर दिएर भाग्यो, होला त कारबाही?



पूर्वप्रम लोकेन्‍द्रबहादुर चन्दको एस्कर्टिङ भ्यानले स्कुटरलाई ठक्कर दिएर भाग्यो, होला त कारबाही?

काठमाडौः शनिबार एउटा भिडियो एकाएक भाइरल भयो। २४ सेकेन्डको भिडियोले सबैको ध्यान खिच्यो।

भिडियो नयाँ बानेश्वर र माइतीघरबीचको सडकको थियो। अगाडिपट्टी एउटा सेतो रंगको स्कारपियो गाडी गुडिरहेको हुन्छ। त्यसको सुरक्षा गर्न पछाडि अर्को लेनबाट एउटा भ्यान आउँछ। बा १ झ ९५२९ नम्बरको भ्यान, आर्म्ड पुलिस फोर्स। अर्थात् भिआइपीको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल।

अर्को लेनमा एउटा स्कुटी गुडिरहेको हुन्छ। पछाडिबाट लेन चेन्ज गर्दै आएको सशस्त्रको भिआइपी पछुवा गाडीले स्कुटीलाई ठक्कर दिन्छ। स्कुटी सडकमा पछारिन पुग्छ। तर प्रहरीको भ्यान ती महिलाको उद्धारमा लाग्दैन। भिआइपीको सुरक्षामा नै दौडिन्छ।

भिडियोमा प्रष्ट प्रहरीकै गल्ती देखिन्छ। ‘हामीले पनि भिडियो हेरेर नै जानकारी पाएका हौं। गल्ती भएको छ। कसको सुरक्षामा खटिएको प्रहरीको गाडी हो। किन यस्तो भयो भन्ने जानकारीको लागि सशस्त्र प्रहरी बललाई पत्र काटिसकेका छौं।‘ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जयराम सापकोटाले भने।

प्रहरीकाअनुसार सशस्त्र प्रहरी बलको गाडी पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको बुझिएको छ। ‘जसको सुरक्षामा खटिएपनि कारबाही हुन्छ। पीडितलाई हामी क्षतिपूर्ति भराउनेदेखि चालकलाई कारबाहीसम्म गर्छौं,‘ एसपी सापकोटाले भने।

घटना शुक्रबार साँझ ५ बजेतिरको भएको सशस्त्र प्रहरी बलका डिआइजी सुरज श्रेष्ठले जानकारी दिए। ‘गाडी हाम्रो नै हो। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको थियो। भिआइपी व्यक्ति भएकाले छोड्न मिल्ने भएन। तर त्यसपछि उनीहरुले कसरी सहयोग गरे वा गरेनन्। प्रहरीलाई जानकारी दिए दिएनन् भन्ने विषयमा छानविन सुरु गरेका छौं। कारबाही हुन्छ।‘

बिरामी व्यक्तिलाई ट्याक्सीबाट उतारेर भाग्ने ट्याक्सी चालकलाई प्रहरीले केही दिनअघि मात्र कारबाही गरेको थियो। गत बुधबार बा १ ख ३८५१ नम्बरको ट्याक्सीमा चढेका ६० वर्षीय गोपाल कारञ्जितलाई ट्याक्सीबाट उतारेर कमलप्रसाद श्रेष्ठ भागेका थिए। त्यसको केही समयमा नै कारञ्जितको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell