Oct 13, 2024 | २७ असोज २०८१

'स्पाइरल अफ साइलेन्स' चिरिएको महेन्द्रनगर : आखिर कसले गर्‍यो निर्मलाको हत्या? (#WhoKilledNirmala शृङ्खला २२)

पहिलोपोस्ट /पहिलोपोस्ट

  •  महेन्द्रनगरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल -

‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टर च्यातिएका छन्। निर्मलाको फोटो उल्टोपाल्टो छ। 'जस्टिस डिलेड इज जस्टिस डिनाइड’ अर्थात् ढिला न्याय दिनु भनेको न्याय नदिनु बराबर हो लेखिएका पोस्टर उप्कन थालिसके तर अपराधी पत्ता लागेको छैन।

कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयको गेटमा टाँसिएको श्यामश्वेत पोस्टर झट्ट पढ्नै नसकिने गरी धमिलिइसक्यो। ध्यान दिएर हेर्ने हो भने त्यसमा लेखिएको छ- ‘मेरी छोरी निर्मलाको हत्यारा तुरुन्त सार्वजनिक गर- बुबा यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त।‘

स्थलगत रिपोर्टिङका लागि चैतको दोस्रो साता महेन्द्रनगर पुग्दा ४१ डिग्रीमा तापक्रम तात्तिएको थियो, तर ठीक विपरीत निर्मला प्रकरण चिस्सिएको थियो। 

चार महिनाअघि यही ठाउँमा आउँदा जेजस्ता हल्ला यहाँ मच्चिएका थिए, त्यसले आफ्नो शक्ति बिस्तारै गुमाउँदै गएको महसूस हामीले गर्‍यौँ। 
त्यतिबेला जिल्ला प्रशासन कार्यालय बाहिर बाबु, आमा र कान्छी आमा २४ घण्टे धर्नामा बसेका थिए। उनीहरुका साथमा थिए अधिकारकर्मीहरु। हत्यारा सार्वजनिक नभएसम्म बस्ने भनिएको त्यो धर्ना ‘स्वास्थ्यलाई ध्यानमा राख्दै’ गत फागुन १० गते स्थगित गरिसकिएको छ। 

‘शान्त छ अहिले महेन्द्रनगर,’  फार वेर्स्टन युनिभर्सिटीमा अध्ययनरत धनुष बोगटीले भने। चार महिनाअघि भेट्दा उनैले हामीलाई यहाँ चलेका अनेकन् हल्ला सुनाएका थिए। महेन्द्रनगरमा लगाइएको कर्फ्यु अनि प्रहरीको गोली लागि एक किशोरको मृत्यु र अन्य कयौँ घाइते हुँदाका प्रत्यक्षदर्शी उनले अहिले भेट्ने बित्तिकै भने, ‘निर्मला, निर्मला…  कति सुन्नु मानिस वाक्क भइसकेका छन्। ८ महिना बितिसक्यो केही पत्ता नाइँ। त्यसैले पनि मानिस वाक्कदिक्क भएका हुन्।‘

नयाँ के के हल्ला छ त? हामीले चासो राख्यौँ। 

‘छैन त्यस्तो। अहिले निर्मला प्रकरणमा धेरै कुरा हुनै छोडेको छ। अहिले पहिले जस्तो भिआइपी व्यक्ति, एसपीका छोरा र बम दिदीबहिनीको बारेमा कुरा सुनिँदैन।‘

उनले एउटा नयाँ कुरा भने सुनाए, ‘अहिले दिलिपसिंह विष्टको बारेमा भने केही मानिसले कुरा गर्ने गरेको सुनिन्छ।‘

विष्टलाई प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेपछि नै मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई नक्कली अपराधी खडा गरेको आरोप लगाउँदै महेन्द्रनगरमा यसरी आन्दोलन भड्किएको थियो कि एक जनाको ज्यानै गयो। 

अहिले तिनै विष्टप्रति शंकाको दृष्टिले केही स्थानीयले समेत हेर्न थालेको उनले सुनाए। 

तर सबै त्यस्ता छैनन्। 

वीरेन्द्र तिवारीलाई अझै पनि ओपेरा होटल नै घटनास्थल जस्तो लाग्छ। अहिले जेजति कुरा आए पनि उनलाई किन किन ओपेरा होटलमा हत्या गरेर बाहिर फ्याँकिएको जस्तो लाग्छ। 

राजा महेन्द्रले बसाएको व्यवस्थित नगर महेन्द्रनगरमा पाँच वटा गल्ली छन्- ठाडो र तेर्सो दुवैबाट काटिएका। २ नम्बर गल्ली छिरेर करिब २ सय मिटर पर गएपछि भेटिने तिवारी मेडिकल पसलका सञ्चालक हुन् उनी। विभिन्न क्षेत्रका व्यक्तिहरुको उनको पसलमा जमघट हुन्छ- सुरक्षाकर्मीदेखि अधिकारकर्मी, सञ्चारकर्मी र सर्वसाधारणसम्म। 

यही प्रकरणको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीलाई उनले भने पनि – ओपेरा हुनसक्छ है घटनास्थल। पसल बाहिरको कुर्सीमा हावा खाँदै गफिएका तिवारीले हामीलाई सुनाए- सुरुमा त उनले पनि गम्भीर रुपमा लिए जस्तो गरे। तर पछि हैन, त्यस्तो त केही लिङ्क देखिएन पो भने।

‘मलाई भने अझै त्यहीँ हो जस्तो लाग्छ,’ उनले मनको कुरा सुनाए। 

हालको अवस्थाबारे उनले भने, ‘अहिले अलिकति शान्त भएको हो। आमाको केही भनाईले पनि शान्त भएको हो।‘

निर्मलाकी आमाले दीलिपसिंह विष्टमाथि शंका भएको बताएकी थिइन्। साथमा उनले यातना दिएको र प्रमाण नष्ट गरेको आरोप लागेका ८ प्रहरीविरुद्ध दिइएको जाहेरी सुधार गर्न निवेदन दिएकी थिइन्।  

‘कसैले १८ लाख रुपैयाँ पाउने होइनस् त्यही भएर निवेदन दे भनेर केही मानिसले भुटेको हुनसक्छ। महिलाको दिमाग न हो परिवर्तन हुनसक्छ’, उनी सुनाउँछन्। 

के अहिले निर्मला प्रकरणमा महेन्द्रनगरका स्थानीय बासिन्दाको चासो हुन छाडेको हो त?

उनले जवाफ दिए, ‘चासो हुन छोडेको चाहीँ होइन। बुझ्नै सकिएन, किन यस्तो भइरहेको छ?’

महेन्द्रनगरमा भेटिएका ट्याम्पो चालक सुरेन्द्रले पनि अहिले यो प्रकरणमा त्यस्तो हल्लासल्ला केही नभएको बताए। ‘खै अहिले त केही सुनेको छैन त्यस्तो। पहिले-पहिले त ठूलो ठूलो आन्दोलन गर्थे। अहिले केही पनि गरेको देखिएको छैन’,  उनले भने। 

दिलिपसिंह विष्टबारे उनको आफ्नै धारणा छ। भन्छन्, ‘दिलिप मेरो पडोसी हुन्। उसले हत्या नै गर्न सक्छ जस्तो लाग्दैन। ऊ पागल हो।‘
पहिले त्यहाँ दिलिपले हत्या गरेको हुँदै होइन भनी एक सय हैन दुई सय प्रतिशत जिम्मा लिने व्यक्तिहरु भेटिन्थे। अहिले भने दिलिपले नै हत्या गरेको भनेर पनि भन्नेहरु त्यहाँ देखिन थालेको उनले स्वीकारे। भने, ‘मानिसले दिलिपले गर्‍यो भन्छन् तर मलाई विश्वास छैन।‘ 

तर कसले गर्‍यो भन्ने म भन्न सक्दिनँ’,  निर्मलाको शव भेटिएको ठाउँ नजिकै टेम्पो रोकेका उनले आफ्नो अन्यौल सुनाए।

नेपाल पत्रकार महासंघको कञ्चनपुर जिल्लाका अध्यक्ष विष्णु अवस्थीलाई भने दिलिपसिंह विष्ट कै प्रकृतिका मानिसहरुले अपराध गरेको हुनुपर्ने लाग्छ। 

पहिलोपोस्ट टिमसँग कुरा गर्दै उनले पहिले र अहिलेको अवस्थामा आएको फरक यसरी सुनाए, ‘मानिसले त्यो समयमा अनेकथरि कुरा गरे। भिडमा जसले जे बोल्दियो, त्यही कुरा सत्य भयो। पुलिसले अहिले जसरी खुलेर कुरा गरिरहेको छ त्यो समयमा त्यसरी कुरै गरेन।‘ 

‘केही समाचार रे का भरमा समेत बने। दिलिपले दिएको बयान त्यतिखेर नै सार्वजनिक गरेको भए के हुन्थ्यो? दिलिपले यसो भनेको छ, यी यी प्रमाण भनेको भए कुरै सकिन्थ्यो। प्रहरीले लुकाउन खोज्यो।‘ 

पुलिसको व्यवहारले पनि प्रभाव परेको उनको विश्लेषण छ। मिडियाको बारेमा त उनले आत्मालोचना नै गरे, ‘मिडियाले पनि गहिरिएर तथ्यमा पुगेन। यहाँको स्थानीय पत्रकार पनि बम दिदीबहिनीको घरमा पुगेनन्। एक महिनापछि मात्र पुगे। नजानुपर्ने कारण के थियो?’

उनले आफ्नै अनुभव पनि सुनाए, ‘मैले पनि निर्मलाकी आमासित डेढ महिनापछि मात्र कुरा गर्न पाएँ। कुरा गर्न गयो कि २/ ४ जना मानिस आएर उभिहाल्थे। बनावटी कुरा बाहेक नबोल्ने। पुरै घेराबन्दी पारेका थिए। उनले भित्रका कुरा, आफ्नै ब्रह्मका कुरा जे हो, त्यो व्यक्त गर्न सकिनन्। अहिले मात्र व्यक्त गरिरहेकी छिन्।‘

सतही कुरामा मिडिया किन अल्मलियो त? 

अवस्थीले यसको विश्लेषण यसरी गरे,  ‘मासले एकथरी कुरा गरिरहेको थियो। मास एकतिर गइरहेको अवस्था थियो। मासको प्रतिकूल हुने गरी समाचार लेख्न गाह्रो थियो। सतही मात्र समाचार लेख्नु पर्ने भयो। इन्भेष्टिगेसन गरेर समाचार आएन। एउटाले ओपेरामा डान्सबार छ भन्दियो। त्यही समाचार आयो। ठूला ठूला मिडियाले पनि त्यही लेखे। डान्सबार छ कि छैन भनेर कोही बुझ्न गएनन्। पत्रकार पनि भिडको समाचारमा नै लाग्यो। मानव अधिकार संगठनले त लेख्यो, अरुको त के कुरा।‘ 

स्थानीय पत्रकारिताले पनि घटनाको अर्को पाटो नकेलाउँदा यस्तो समस्या आएको उनी बताउँछन्, ‘अहिले जे कुरा आएको छ, त्यो कुरा छुट्यो। मासको कुरासँगै यी कुरा पनि आउनुपर्थ्यो। अहिले मानिसले केही बुझ्दै गए।‘ 

हामी बम दिदीबहिनीको घरतर्फ लाग्यौँ। दिदी बबिता बम अहिले त्यहाँ नबस्ने रहिछिन्। फोन सम्पर्कमा आएकी उनले आफू मामाको घरमा रहेको बताइन्। घरमा बहिनी रोशनी र उनका दाजु र भाउजु थिए। रोशनीले दिदीको बिहेको तयारी हुँदै गरेको सुनाइन्। 

‘दिनभर घरमा नै बस्न्या हुम्। कहाँ जानु?’,  सुदूरपश्चिमेली लवजमा उनले सुनाइन्। 

यो चार महिनामा के परिवर्तन भयो त?

निर्मलाको शव भेटिएको ठाउँमा अहिले उखुबारी हैन गहुँबारी छ। 

‘पहिले हन्ड्रेडका हन्ड्रेड प्रतिशत गाली गर्थे, अहिले कम छ। पहिले हाम्रो बारेमा बोल्ने एउटा अधिकारकर्मी थिएनन्। अहिले हाम्रो बारेमा बोल्ने अधिकारकर्मी र अरु पनि भए। अहिले छिमेकी पनि मिडियामा खुलेर बोल्ने भए। पहिले बोल्न समेत डराउँथे। अहिले केही परिवर्तन भएको छ, पहिले जस्तो वातावारण छैन’,  उनी आशावादी सुनिइन्।

उनको पढाइ भने यही घटनाका कारण छुट्यो। पढ्न जाने स्थिति भएन। बुबाले ट्रान्सफर सर्टिफिकेट माग्न जाँदासमेत भिडले स्कूल जलाइदिन्छौँ भनी धम्की दिएको कारण दिन मानेन स्कूलले। 

‘पढाइ त एक वर्ष लस भयो। पढाइ त फेरि पनि पढिहाल्छु नि। तर जीवनमा धेरै कुरा सिके। सात वर्षमा पढ्न नसकेको कुरा पढ्न पाएँ। धेरैभन्दा पनि धेरै कुरा सिकेँ’, उनले भनिन्। 

हल्ला चलाउनेहरुले त्यो घरमा बम दिदीबहिनी मात्र बस्ने भनेर हल्ला चलाए पनि केही हप्ताअघिसम्म दाजु भाउजु पनि सँगै बस्थे। 
‘भाउजु पानी ल्याइदिनु न,’ रोशनी चिच्याइन्। 

भित्रबाट भाउजुले गिलासमा पानी लिएर आइन्। पानी खाँदै गर्दा उनले लामो सुस्केरा तान्दै भनिन्, ‘निर्मला आएको दिन दाजुभाउजु हुनुहुन्न थियो। दाइ नभएर ठीक भयो। नत्र दाइलाई पनि केरकार गर्थे होलान्। अनेक कुरा लाउँथे होलान्। दाजुको नै डिएनए गर्थे होलान्।‘

घरमै बसेर उनले इन्टरनेट खुबै चलाउने भइसकेकी छिन्। घरको अगाडि अम्बाको रुख हुनु शुभ मानिँदैन भनेर उनले वास्तुशास्त्रका साइट हेरेर थाहा पाइन्। 

‘घर अगाडि त आँप लगाउनु पर्ने रहेछ,’ उनले आफूले पाएको ज्ञान हामीलाई सुनाइन्। 

अझै पनि केही समाचारहरुमा उनीहरुको आँगनमा रहेको अम्बाको रुखको जरासमेत नभएको लेखेको उनले पढेकी रहिछिन्। भनिन्, हेर्न जानुस् न, अझै यहाँ जरा छन्। 

दिलिपसिंह विष्टको बारेमा उनले भनिन्, ‘दिलिपको भिडियो हेर्दा त सिकाए जस्तो लाग्दैन। त्यही भिडियो हेरेर त निर्मलाको आमाले शंका गरेकी।‘ 

उनको घरबाट स्कूलसम्म जाने बाटोको बीचमा एक जना पागल बस्छ भनेर उनले पहिले नै सुनेकी रहिछिन्। भनिन्, ‘मैले दिलिपलाई चिनेको थिइनँ पहिले। दिलिप नै हो भनेर कसैले भन्न सक्दैनन्। तर त्यहाँ एउटा पागल बस्छ सबैले भन्छन्।‘  

निर्मलाको घर नजिकैकी छिमेकी मञ्जु भट्टलाई चार महिनाअघि भेट्दा उनले दिलिपले त यस्तो गरेको हुँदै हैन भन्थिन्। अहिले भने दिलिपलाई देखेर डर लागेको सुनाइन्।

‘दिलिप हिजोअस्ति यहाँ होली खेल्न आएको थियो। उमेर पनि खाएको रहेछ। पहिले मैले देखेको थिइनँ। तेरो नाम के हो भन्दा हेरिरहने। यसो हेर्ने। मलाई पनि कस्तो डर लाग्यो। मेरो नाम दिलिप दिलिप भन्दो रहेछ।

‘त्यही हो भनेर कसरी भन्ने? कुनै प्रमाण छैन’, उनले भनिन्, ‘तर शंका गर्न त मिल्छ।‘

अहिले निर्मलाको बुबा आयो कि प्रहरीको गाडी आइहाल्ने कुरा उनले सुनाइन्। ‘कति न निर्मलाको बुबाले नै मारेको जस्तो’, उनले भनिन्। 
खासमा निर्मलाको भेजिनल स्वाब उनको हो कि हैन भनी आमाको रगत परीक्षण गर्नलाई नमूना दिँदा किन दिएको भन्दै निर्मलाका बुबाले निर्मलाकी आमालाई कुटपिट गरेको भिडियो भाइरल भएको थियो। 

कुटपिटको भिडियो सार्वजनिक भएपछि पनि निर्मलाको घटनामा चासो लिइरहेका धेरैलाई दिक्दार बनाएको धनुष सुनाउँछन्। 

मञ्जुका ससुराले पनि अहिले पक्ष विपक्षमा मानिसहरु बाँडिएको सुनाए। 

चार महिनाअघि पहिलो पटक रिपोर्टिङमा आउँदा र अहिले आउँदा हामीले देखेको मुख्य परिवर्तन यही थियो। पहिले एकपक्षीय थियो विचार। अहिले विभिन्न पक्षका विचार भएका छन्। पहिले आफूलाई लागेको कुरा व्यक्त गर्न पनि मानिस डराउँथे। 'स्पाइरल अफ साइलेन्स'को स्थिति थियो।  

जर्मन प्राध्यापिका इलिजावेथ नौली न्युम्याननले पहिलो पटक प्रयोग गरेको स्पाइरल अफ साइलेन्स सिद्धान्तमा एउटा विचारलाई मात्र यति धेरै फैलाइन्छ कि अल्पमतको अर्को विचार पूरै मौन रहन बाध्य हुन्छ। यसले मानिसहरुलाई आफूले विश्वास गरेको कुरा नै सबैले विश्वास गर्ने कुरा हो भन्ने विश्वास हुन्छ। 

समाजबाट एक्लिने, लोकप्रियता वा इज्जत गुमाउने डरले मानिसहरु आफू नजिकको वातावरण राम्रोसँग अध्ययन गर्छन्। कुन विचार वा व्यवहार चल्तीमा छ, कुन लोकप्रिय छ, उनीहरु त्यसै अनुसार विचार व्यक्त गर्ने गर्छन्। यो मौनताको कुचक्र तोड्न धेरै गाह्रो हुन्छ र समय लाग्छ। 

त्यतिखेर दिलिपसिंह विष्ट र बम दिदीबहिनीको बारेमा स्पाइरल अफ साइलेन्सको स्थिति थियो। कसैले पनि विपरीत विचार राख्न सक्दैन थिए।  

 अहिले त्यो स्थिति छैन। मानिसहरु यो पनि हुन सक्छ, त्यो पनि हुनसक्छ भनी विविध विचार व्यक्त गरिरहेका छन्। 

एउटै कुरामा प्रगति भएको छैन- अनुसन्धान। 

निर्मलाको हत्या कसले गर्‍यो?

अझै पनि अनुसन्धान कुहिरोको कागै बनिरहेको छ। 

(महेन्द्रनगरमा महेन्द्र बमको सहयोगमा)

#WhoKilledNirmala शृङ्खला  

विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?

शृङ्खला १९ : प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन

शृङ्खला २० : जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो

शृङ्खला २१ : बरु एक्लै रुन सजिलो : निर्मलाकी आमा

 थप समाचार



ट्रेन्डिङ पोस्ट

Ncell