PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

नेपाली गीतहरु अब 'दामी'बाट सुन्न सकिने, भन्छन्, 'गीत हेर्न होइन, सुन्न बनेको हो'



स्वेच्छा राउत

नेपाली गीतहरु अब 'दामी'बाट सुन्न सकिने, भन्छन्, 'गीत हेर्न होइन, सुन्न बनेको हो'

काठमाडौं: पछिल्लो समय साथीजस्तै बनेको छ मोबाइल। हामी मोबाइलमै युट्युबबाट गीत हेर्छौ, सुन्छौं। रेडियोबाट गीत सुन्छौ।

युट्युबमा छानीछानी गीतहरु हेर्न पाइन्छ। तर रेडियोमा त्यस्तो सुविधा हुँदैन। आफुले डाउनलोड गरेर राखेका गीतहरु पनि सुन्न सकिन्छ। तर, ती गीतहरु केही दिनमै पुराना भइसक्छन्।

युट्युबमा गीत हेर्दा काममा अवरोध हुन सक्छ। यस्तो अवस्थामा विकल्प के त? केही समयअघिसम्म यसको विकल्पमा एनसेलले योन्डर एप ल्याएको थियो। झन्डै नौ लाखपटक डाउनलोड भएको यो एप विविध कारणले बन्द भयो।

विकल्पमा के त?

केही युवाहरुले यसैको विकल्पमा दामी म्युजिक एप लन्च गरेका छन्।

यसरी जन्म्यो दामी

गायक रोशन श्रेष्ठले २०७० मा 'सुसेरी' एल्बम बजारमा ल्याए। आठ गीतमध्येको म्यजिक भिडियो बन्यो। भिडियो बनेकाले गीत धेरै दर्शक, स्रोतासम्म पुग्यो।

बिस्तारै अरु गीतको पनि भिडियो बन्यो। बनेका सबै भिडियोले सोचेअनुरुप हिट्स पाएनन्। भिडियो नबनेका गीत अडियो र सिडिमा थन्किए।

'यी गीत श्रोतामाझ कसरी ल्याउने?' रोशनले सोचे, 'आफ्नो गीत चले पनि नचले पनि उत्ति नै प्यारो लाग्ने। तर कहाँ लगेर कसलाई बजाइदेउ भन्नु?'

त्यसपछि उनले सांगीतिक पत्रिका 'मजमज' मासिक प्रकाशन थाले। रेडियोमा सांगीतिक कार्यक्रम सञ्चालन गरे। बाहिर नदेखिएका संगीतकर्मीहरुको गीत प्रसारण गरे।

तर, प्रविधिको विकासले उनको प्रयास निरर्थक बन्दै गयो। गीत, संगीत डिजिटलाइजेसन शुरु नहुनु नै कारण मान्छन् उनी।

योन्डर बन्द भएसँगै बन्यो 'दामी म्युजिक'को योजना। 'योन्डर ९ लाखपटक डाउनलोड भएको थियो। धेरैपछिसम्म बन्द हुनुका कारण सोध्दै मेसेजहरु आउँथे। यसैले बन्यो दामी एपको योजना', उनले भने।

दामीका लागि नेपाली गीत संकलन भयो र प्रसारण पनि। छ महिनाको प्रयासमा दामी सञ्चालनमा आयो। दामीमा करिब पन्ध्र हजार नेपाली गीत अपलोड भइसकेका छन्।

योन्डरसँग जोडिएको योग

सन् २०१७ को मेमा एनसेलले योन्डर म्युजिक एप सञ्चालनमा ल्यायो। उक्त एपमा गीतहरु नि:शूल्क उपलब्ध थिए। एप प्रयोगकर्ताको सङ्ख्याको आधारमा गायक वा गीतको अधिकार लिएकाले केही प्रतिशत रोयल्टी पाउन थाले।

रोशन यही योन्डरसँग जोडिन पुगे।

गीतहरु धेरै स्रोतासम्म पुर्‍याउने उनको धेयले केही गति लियो। उनले योन्डरका लागि आरएनएस डिस्ट्रिब्युसन कम्पनीमार्फत गीतहरु उपलब्‍ध गराउँथे। उनीमार्फत अपलोड भएका गीतहरुबाट आउने रोयल्टीको केही प्रतिशत रोशनले पनि पाउँथे।

'योन्डर कमाइको राम्रो माध्यम त बन्यो नै। गीत स्रोतासम्म पुग्यो। एउटा गायकका लागि आफ्नो गीत बज्ने उचित स्थान पाउनुजस्तो खुशीको कुरा अरु के हुन्छ होला?', उनले भने।

योन्डर र रोशनलाई जोड्न भने भूमिका खेलेका थिए सुदिप पोखरेलले। रेडियोमा काम गरिरहेका उनी योन्डरका लागि कर्मचारी थिए। रेडियोमा सांगीतिक कार्यक्रम गर्दादेखि चिनजानमा रहेका उनले रोशनलाई योन्डरका लागि गीत उपलब्ध गराउन लगाएका हुन्।

 

गायकलाई रोयल्टी पनि

गायक वा गीतको अधिकार लिएको कम्पनीसँग लिखित सम्झौता गरेरमात्र गीत अपलोड हुने रोशनले बताए। दुई वर्षका लागि गरिएका सम्झौता गीत कतिपटक सुनियो भन्ने आधारमा उक्त गीतको कमाइ विवरण गायकलाई दिइन्छ।

हालसम्म सयजना गायक गायिका, ब्यान्ड तथा केही म्युजिक कम्पनिसँग सम्झौतासहित गीत अपलोड भएका छन्। मुक्ती एण्ड रिभाभल, दीप श्रेष्ठ, दीपक बज्राचार्य, सबिन राई, सुगम पोख्रेलदेखि, लाउरे, भिटेन, साइराम म्युजिक, टिएचटी लाइभ, भाइब्स क्रियसन, एसियन म्युजिक लगायतसँग सम्झौता भएको हो।

कुल कमाइको पचास प्रतिशत एपकै हुन्छ भने बाँकी गायक वा कम्पनीको।

'अडियोमात्र रेकर्ड गराएका गायकलाई पनि केही राहत होस्, आफ्नो गीत सुनिए बापत् केही पैसा होस् भन्ने हेतुले नै सीमित बजारमा यो काम आँटेका हौं', सुदिपले सुनाए। गीत रेकर्ड गराएर अडियो घरमा थन्काएकालाई दामी म्युजिकले राहत दिने उनको विश्वास छ। भन्छन्,'गीत हेर्न होइन सुन्न बनेको भन्ने विश्वास स्थापित गर्न चाहन्छौं।'

रोशनले सही थापे, 'अब त्यस्तो अवस्था रहेन। पहिले गायक गायिका आफ्नो गीत बजाउन दिंदै हिड्थ्यौं। अब हामी गायक गायिकासँग गीत माग्दै छौं।'

रोशन र सुदिपसँगै टिममा छन् राजकुमार श्रेष्ठ। हङकङमा म्युजिक एपहरुको ट्रेन्ड देखेर उनी प्रभावित थिए। हाल टिममा डेभलपरदेखि मार्केटिङसम्मका १५ जना छन्। 'कानुनी दायरामा रहेर मर्यादित र व्यवसायीक ढंगामा एप सञ्चालन गर्दैछौं। यसले नेपाली संगीत प्रवर्द्धन, प्रचार गर्न अवश्य मद्दत गर्नेछ', रोशनले भने।

 

यसरी सुन्न सकिन्छ गीत

दामी एप एन्ड्रोइड र आइओएस दुबैमा उपलब्ध छ। एकपटक गरेको सब्सक्रिप्सन ३० दिन सम्म रहन्छ। एपमा अनलाइन गीत सुन्न सकिन्छ भने अफलाइन डाउनलोड गर्न मिल्ने व्यवस्था पनि छ। तर, सब्स्क्रिप्सनको मिति सकिएपछि गीत बजाउन मिल्दैन।

एकदिनका लागि गीत सुन्न चाहनेले तीन रुपैयाँ, एक साताका लागि पन्ध्र रुपैयाँ र एक महिनाका लागि पचास रुपैयाँ खल्ती, इसेवा, एनसेल लगायत एपबाट तिर्न सकिन्छ। देश बाहिर रहेकाले पे पाल र गुगल पेमार्फत तिर्न सक्छन्। एप डाउनलोड गरेको सात दिनसम्मका लागि भने फ्रि ट्रायल उपलब्ध छ।

हाल एपभित्रै रेडियो प्रसारण पनि उपलब्ध छ। मैथली, नेवारी, थारु, मगर भाषाका गीतहरु उक्त एपमा सुन्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell