भाइ शाश्वतले कक्षा चारमा पढिसकेका किताब र लेखिसकेका कापीहरु थन्काउँदै थिएँ। किताब कापीको बीचमा एउटा डायरी भेटेँ। 'ए फोर' साइज पेपर काटेछ र स्टिच गरेछ। प्रष्ट बुझियो, त्यो डायरी भाइले आफै बनाएको हो।
आवरणमा लेखिएको थियो 'बि ह्याप्पी, नट स्याड'। बीचमा खैरो कागज पनि टाँसेछ र लेखेछ 'वान ब्वाइ स्टोरी'। तल्लो भागमा एउटा चित्र, जसमा एउटा केटो छ र उसको आँखाबाट आँशु झरिरहेछ भन्ने अनुमान गर्न सकिन्थ्यो। सायद, उसले लेखेको 'वान ब्वाइ' दु:खी छ।
उसको कक्षा चारको परीक्षाफल आयो। ९५ प्रतिशत ल्याएर दोस्रो भएको सुन्दा खुशी थिएँ। उसलाई एकपटक स्याबास् भनेर सम्झाएको थिएँ- 'पोजिसन र पर्सेन्टेज मात्र राम्रो आएर खुशी हुने होइन है।'
परीक्षामा प्राप्त अङ्क बाहेक के कुराले बढी अर्थ राख्छ त? न उसले सोध्यो न मैले नै भनेँ। सायद, उसलाई दिदीले जवाफ दिन्न भन्ने भयो। त्यसैले सोधेन। किनकि त्यसअघि उसले धेरैपटक सोधेका प्रश्नहरुको जवाफमा मैले गाली गरेर टारेकी थिएँ।
मेरो लागि भाइ सानै छ। उसले खोज्ने, सोध्ने विषयहरु उसको उमेरकाले गर्ने खोज हो जस्तो लाग्दैन। युट्युबमा सम्बन्धित भिडियोहरु हेरिबस्ने उसका प्रश्नहरु हुन्छन्- सिरिया वारमा टोटल कतिवटा कन्ट्री इन्भल्भ छ थाहा छ? कतारको ब्लकेड कहिलेसम्म कन्टिन्यु हुन्छ होला?
उसले चासो राख्ने यस्ता थुप्रै विषय मेरो चासो नहुनसक्छ त्यसैले सजिलो जवाफ दिन्छु - इन्टरनेटमा हेर न।
यी प्रश्नहरु बाहेकका रहर पनि उमेरभन्दा केही ठूलो गरेजस्तो लाग्छ। केही समय अघिदेखि नै उसले कपाल 'एज' हान्ने भन्थ्यो। त्यो भनेको कानदेखि माथि भागको कपाल छोटो बनाएर दुईवटा धर्काजस्तो काट्ने रहेछ।
बहिनी र मैले जिप लेन गरेर फर्किएपछि उसले पनि निकै रहर गर्यो। हामीले उसको परीक्षापछि कपाल काट्ने रहर चाहिँ पूरा गरिदिँदै भन्यौ- बाबुको जिप लेन गर्ने बेला भएको छैन है। ठूलो भएर गर्ने।
ऊ रिसाउँदै भन्यो, 'ठूलो भएर त बन्जी नै गरिहाल्छु नि।'
हामीलाई ऊ रिसाएको पनि मनपर्छ त्यसैले झन् जिस्काउँदै हास्छौं। हामी हाँस्दा चड्किन्छ, झर्किन्छ अनि हामी गाली गर्छौं। उ चुप लाग्छ। किनकि सिकाएका छौं - ठूलो मान्छेसँग मुख लाग्ने होइन। प्रतिवाद गर्ने होइन।
९ वर्षे भाइले मिहेनतले बनाएको डायरी हेरेर फिस्स हाँसेँ। थन्काउने किताबको खातमा हाल्न मन मानेन, टपक्क टिपेर कक्षा पाँचको किताब कापी राख्न खाली गरेको टेबलमा राखेँ।
एन फ्य्राङ्कको डायरी त्यही टेबलमा रहेको करिब एक महिना भइसकेको थियो। चाहेर पनि सुरु गर्न समय मिलिरहेको थिएन। सिकाइ समूहका प्रबन्ध सम्पादक सुदर्शन घिमिरेले दिएका हुन्। एक रात निदाउनुअघि खगेन्द्र गिरीले अनुवाद गरेको उक्त किताब (एक किशोरीको डायरी)को एउटा अंश अनलाइनमा पढेँ। त्यसपछि डायरी उठाउने जमर्को गरेँ।
Photo: Anne Frank org
१९२९ जुन १२ का दिन फ्र्याङ्क्फर्ट, जर्मनीमा बस्ने यहुदी परिवारमा जन्मिइन् एन फ्य्राङ्क। उनी चार वर्षकी हुँदा उनको परिवार हल्यान्ड बसाइ सर्यो।
तेह्रौं जन्मदिन अर्थात् १९४२ को जुलाई १२ का दिन एनले उपहारमा एउटा डायरी पाइन्।
डायरी पाएकै दिन केही वाक्य लेखिन्-
प्रिय डायरी,
मैले आजसम्म कसैलाई भरोसा गर्न सकेकी छैन। आशा छ, तिमीलाई विश्वास गरेर म आफ्ना सारा रहस्य बताउन सक्छु। तिमी मेरो ठूलो सहारा हुनेछौ।
तेह्र वर्षकी किशोरीले 'साथ र भरोसा'बाट डायरी लेखनको सुरुवात गर्छिन्। भाइको सिरियायुद्ध बारे प्रश्न वा जिप लेन गर्ने रहरलाई ‘उमेर भएको छैन’ भनेर टार्ने मेरा लागि किशोरीको उमेर र उनले लेखेका शब्दहरुले बोक्ने गाम्भिर्यता व्यङ्ग्यात्मक बने झै लाग्यो। यो व्यङ्ग्यले पुस्तकप्रति झनै आकर्षित गर्यो।
सुरुवाती पानामा उनले डायरी लेख्न थाल्नुको कारण खुलाएकी छिन् -
मेरो सच्चा साथी कोही पनि छैनन्। जति छन् तीसँग म हँसी मजाक र सामान्य कुराकानीमात्र गर्छु। उनीहरुसँग म यहाँभन्दा निकट हुनसक्छु जस्तो लाग्दैन।
यति पढिसक्दा मैले आफू नजिकका अनुहारहरु सम्झिएँ। हँसी मजाकमात्र गर्ने साथीहरु छन्। मसँगै भइदिएर कुरा सुन्ने, साथ दिनेहरु पनि छन्। तर, आफ्नो सबै कुरा म उनीहरुसँग भन्न सक्दिन, एनले जसरी डायरीसँग पनि। किनकि सबैसँग सत्य बोल्ने वा लेख्ने साहस हुँदैन। कम्तिमा मसँग छैन।
एकपटक आफू केही गर्न सक्दिनँ भन्ने हीनतावोधबारे केही लेखेर कम्प्युटरमा राखेको थिएँ। एकदिन बहिनीले सबैजना खाना खाइरहँदा त्यो टिपोटका बारे सोध खोज गरी। मसँग जवाफ थिएन। कुनै क्षणिक घटनाका कारण पोखेको दिक्दारी बाहेक केही होइनभन्दा विश्वास गर्ने वातावरण पनि थिएन। लाजले रातो पिरो भएँ। केही नसोची डिलिट गरेँ।
यस्ता केही घटनाहरु छन्, म स्मरणबाट पनि मेटिउन् भन्ने चाहन्छु। बिर्सन सक्दिन तर लुकाउन त सक्छु नि। आफ्नो कमजोरी, छल लुकाउनका लागि पनि म लेख्न सक्दिन।
एनलाई सायद यी सब कुराको डर थिएन। उनको उमेरमा मलाई पनि सत्यसँग डर थिएन, त्यस समय उनको जति चेत हुन्थ्यो भने प्रसङ्ग केही फरक हुन्थ्यो, सायद।
Photo:Anne Frank Fonds
यी किशोरीको दैनिकीले आत्ममूल्याङ्कन गर्न लगायो। सँगै केही सचेत गराउँदै लग्यो।
जुलाई ५ का दिन उनले आफ्नो परीक्षाफल बारे प्रसङ्ग उल्लेख गरेकी छिन्। लेखेकी छिन्-
आमाबुबा अन्य अभिभावकभन्दा फरक हुनुहुन्छ। उहाँहरुलाई मेरो रिपोर्ट कार्डको चिन्ता र पर्वाह छैन। जबसम्म म स्वस्थ र खुशी छु अनि मुखमुखै लाग्दिनँ, तबसम्म उहाँहरु सन्तोष नै मान्नुहुन्छ।
केही दिनअघि मात्र भाइ रिपोर्ट कार्ड बोकेर उफ्रिँदै आएको सम्झिएँ। सायद मैले त्यही दिन प्रष्ट पार्नु पर्थ्यो- उ असल र स्वस्थ मानिस बनोस्। उमेरले आफूभन्दा ठूला या साना कोहीसँग मुख नलागोस्, दैनिक कोक, तितौरा नखाओस् हामीले चाहेको यति मात्र हो। भन्न त भनेँ - पोजिसनले मात्र म्याटर गर्दैन। उसले थाहा पाएन - पोजिसन र पर्सेन्टेज बाहेक अर्को केले अर्थ राख्छ?
मैले पनि त थाहा पाएको थिइँन। त्यसैले परीक्षाको अघिल्लो रातभर बसेर शिक्षकले लेखाउनु भएका प्रश्नोत्तर घोकेँ। परीक्षामा हुबहु उतारेँ पनि। राम्रो अङ्क ल्याएँ। तर, आज न ती प्रश्न याद छ न उत्तर नै। स्कूले जीवनको परीक्षाफल हेर्दा साह्रै लाज लाग्छ।
परीक्षाफलबारे लेखेकै दिन एनकी सोह्र वर्षीया दिदी मार्गोलाई जर्मनीस्थित श्रम शिविरमा जान नाजी सिपाहीले उर्दी जारी गर्छ। त्यसपछि एनको परिवारको अवस्था उस्तै रहँदैन। नेदरल्यान्डस्को राजधानी आम्सटर्डमस्थित एक गुप्त भवनमा पुग्छन्। र, उनीहरुको भूमिगत जीवन सुरु हुन्छ।
उसो त त्यहाँ पुग्नुअघि पनि उनीहरु कहाँ स्वतन्त्र थिए र? १९४० मा नेदरल्यान्ड्सले जर्मनीसँग आत्मसमर्पण गरेदेखि यहुदी विरोधी आदेशहरु आउन थाले। यहुदी भएको चिनाउन पहेलो तारा छातीमा टाँस्न पर्थ्योआ। किनमेल गर्न, घर बाहिर रहन, घुम्न, काममा निस्कन समय सीमा तोकिएको थियो। चाहेको पसल जान र सर्वसाधारण स्कूलमा पढ्न पाउँदैन थिए।
यातना शिविर र काल कोठरीको तुलनामा गुप्त भवन सुरक्षित थियो।
Photo:Anne Frank Fonds
त्यहाँ पुगेपछि जुलाई ९ देखिमात्र एनले आफ्नो दैनिकी लेखनलाई निरन्तरता दिइन्। त्यसपछि सुरु हुन्छ कहाली लाग्दो आत्मलाप। ३ सय २२ पानाको किताबमा पढ्न बाँकी पानाहरु पातलिँदै जाँदा एन फ्य्राङ्क हुर्कँदै र परिपक्व हुँदै जान्छिन्। उनको विचारहरु परिवर्तन हुँदै जान्छन्।
युद्धकालीन त्यो समय, यहुदीहरुले भोगेको पीडा, त्रासदी र चिन्ता बढ्दो परिवेश एनको आँखाबाट हेर्न सकिन्छ। दुई वर्षको अन्तरालमा उनमा आउने वैचारिक परिवर्तनहरुले दङ्ग्याउँछ। उनको परिवार, आफूसँगै रहेका अन्य यहुदी सदस्य, प्रेम, देश, युद्धबारे आफैसँग गरेका विमर्शहरुले पटकपटक सोच्न बाध्य बनाउँछ - त्यो उमेरमा म कहाँ थिएँ?
१९४० को दशककी किशोरी हरेक विषयवस्तुलाई हेर्ने आफ्नो दृष्टिकोण बनाउँछिन्। उनी आफ्नो बुझाइमा प्रष्ट र निर्णयमा दृढ छिन्। उनीसँग आफ्ना तर्कहरु छन्। भयबीच सिक्न खोज्नु, पढ्न चाहनुले जति सहयोग अरु केले गर्यो होला?
सन्दर्भ फेरि नेपालकै। सन् २०१५ मा भूकम्प जाँदा छिमेकका केही परिवारसहित हामी पनि महिना दिनभन्दा बढी पाल टाँगेर बस्यौं। निरन्तर पराकम्पले मानसिकस्थिति र दैनिकीमा फेरबदल गरायो। शैक्षिक संस्था नखुल्दा अझ बढी प्रभावित थिए, भाइ बहिनी। हरेक दिन धुलोमा खेलेर वा अझै ठूलो भूकम्प आए कता भाग्ने, के गर्ने योजना बनाएर बस्थे। ती सबैबाट बाहिर ल्याउन पालमै कक्षा संचालनको योजना बनाएँ। उद्देश्य त्रास र तनाव केही कम होस् भन्ने थियो। तर, सबैले आफ्नो सन्तान पठाएनन्। नपठाउने अभिभावकको जवाफ हुन्थ्यो- मरिन्छ कि बाँचिन्छ केको पढाई नि? यो बिजोगमा बच्चालाई किन टेन्सन दिनु?
समस्या यहीँ छ। हाम्रो समाजमा चुनौतीहरुको सामना गर्न सिक्न, जिज्ञासाहरु मेट्न कि उमेरले छेक्छ कि अभिभावकको मायाले।
उमेरको पावन्दी त एनलाई पनि थियो। ‘हेनरी फ्रम दी अदर साइड’ पढ्दा उनले गालीको सामना गर्नुपर्छ। ‘तिमी एउटा पुरुषको मनोविज्ञान कसरी बुझ्न सक्छौ?’, गुप्त भवनमा उनीहरुसँगै रहेका डेन्टिस्ट डुसेलले उनलाई प्रश्न गर्छन्,’ तिम्रो यस्ता किताब पढ्ने बेला भइसकेको छैन। बीस वर्षको मान्छेले पनि यसको सम्पूर्ण कुरा बुझ्न सक्दैन।'
तर, किताब र रेडियो नै समय कटाउने उपाय थिए। उनले पढ्ने किताबहरुको विषय निश्चित थिएनन्। फ्रान्सेली भाषादेखि साहित्य र इतिहासमा उनको रुची।
उनको सपना पनि पुस्तकसँगै जोडिएको छ, त्यहाँबाट निस्किएर गुप्त भवनबारे किताब लेख्ने।
स्वतन्त्र हुने, ताजा खाना खाने, तातो पानीले नुहाउने, आङमा छोटो नहुने कपडा र पैताला नदुखाउने जुत्ता लगाउने दिन पर्खिरहेकाहरु सँग किताब नहुँदो हो, रेडियो नहुँदो हो त कस्तो हुन्थ्यो होला? अझ कस्तो होला समय कै चेत भएन भने?
उनीहरुसँग घडी छैन। चर्चको घडीले घण्टाघण्टामा दिने आवाजसँगै त्यहाँबाट निस्कने दिनको गन्ती गर्छन् यी। तर, अचानक त्यो घडीको घण्टी निकालिन्छ। त्यसपछि एनले लेखेको वाक्य पीडादायी छ।
‘त्यो घण्टीलाई पगालिनेछ र युद्धमा काम आउने हतियार जस्ता चिज बनाइने छ।’
समयचेत दिने घडीको घण्टीमा मृत्युको आवाज सुनिनु, उफ् कस्तो विरोधाभाष।
स्वभावले चञ्चल, जिद्दी र ठाँटिलो लाग्ने किशोरीले यी विषयमा चिन्तन गरिरहेकी छिन्। डायरीमा उनले गर्ने आत्ममूल्याङ्कनले पनि गहिरो अर्थ बोक्छ।
एनको पारिवारिक तस्विर। Photo:Anne Frank Fonds
दिदीसँग मिल्न नसक्ने उनी स्वीकार्छिन्- ‘मसँग दिदी बहिनीमा हुनुपर्ने पर्याप्त दुर्गुण छ।’
आमासँग पनि ठाकठुक परिरहन्छ। ‘आमासँग मेरो चर्को दन्तबजान भयो। म उहाँलाई भन्दा बढी आफ्नो साथीहरुलाई बुझ्न सक्छु। यो निकै खराब कुरा हो।’
उनका अंतरंग कुरा रोचक छ जसलाई नेपाली समाजका किशोरकिशोरीले आफ्नो संवेदनासँग जोड्न सक्छन्। मानिसको व्यवहार र मनस्थितिको अध्ययन गर्छिन् उनी। गुप्त भवनमा पुगेताका उनीहरुसँगै बस्ने पिटर उनलाई बुद्धु लाग्छ। सोच्छिन् ऊसँग आफ्नो मित्रता जम्न सक्दैन। तर, दुई वसन्त पार गर्दा नगर्दै उनी तिनै पिटरसँग प्रेममा पर्छिन्।
उदार भएर एन आफ्नो प्रेम र सम्बन्धको कुरा आफ्नो अभिभावक वा दिदीसँग गर्न सक्छिन्। उदारताले निम्त्याएको सावधानी प्रष्ट बुझिन्छ। उनी पिटरको सामिप्यतामा रमाउनुका साथै उसको अपरिपक्वतामा प्रश्न पनि गर्छिन्, दुईबीच नमिल्ने मतबारे मन्थन पनि गर्छिन्।
त्यो उदारता नेपाली परिवेशमा जति आवश्यक छ, त्यति नै कठिन पनि। किनकि किशोर प्रेम र सम्बन्धलाई हाउगुजी ठान्छ हाम्रो समाज। एनको उमेरका कसैले पनि विपरित लिङ्गीप्रति आफ्नो धारणा बनाउन बन्देजजस्तै छ। किशोर किशोरी एकअर्का प्रति आकर्षित हुने स्वभाविकता व्यक्त गर्नु अपराध सरह मानिन्छ।
हात्तीगौंडास्थित दलित महिला उत्थान बाल शिक्षालयमा कक्षा दुईमा पढ्ने बालकले आत्महत्या गरेको खबर पुरानो भएको छैन। गत फागुन दोस्रो साता छात्रावासको खाँटमा पासो लगाएको थियो १२ वर्षीय समुद्र मल्लले। प्यारालाइसिस भएकी आमा र इन्डियातिर रहने बुबा, सानैदेखि अभिभावकको प्रेमबाट बञ्चित उसले सुसाइड नोटमा लेखेको थियो- ‘म फलानो केटीको कारणले मरेको।’
पढ्दै जाँदा एनको प्रेम प्रसङ्गले उक्त घटना सम्झायो। उक्त घटनाले भाइको ‘स्याड ब्वाइ’को डायरी। कतै उसले पनि प्रेम वियोगको कथा त लेखेको होइन? मनमा शङ्का जाग्यो। हत्तपत्त खाटबाट उठेर उसले बनाएको डायरी पल्टाएँ।
‘एउटा सानो परिवार थियो जहाँ बुबा, आमा र नेल नामक केटो थियो। आमा गर्भवती थिइन्। बच्चा जन्माउने दिन आइसक्दा पनि उनीहरुसँग पैसा थिएन। त्यसैले घरमै बच्चालाई जन्म दिने निर्णय गरे। अन्त्यमा आमाले सुन्दर छोरीलाई जन्म दिइन्।’
अङ्ग्रेजीमा लेखिएको अपूरो कथा पढ्दा पनि म दङ्ग परेँ। उसको भाषिक अशुद्धता गौण लागे। बरु उसले कथामा कल्पना गरेको त्यो ‘ब्युटिफुल डटर’मा एन फ्य्राङ्क कल्पना गरेँ। जसको शब्दहरुबाट मैले युद्धको त्रासदी, यहुदीहरुको भोगेको दमन र कष्टलाई नियाल्ने मौका पाइरहेकी थिएँ।
एनको दैनिकीले मलाई मानवता छोडेका राजनीतिक र धार्मिक विभेदकारी मात्र नभएर उनीहरुलाई लुक्न मद्दत गर्ने असल मानिहरु पनि चिनायो। साथै गुप्त भवनको चेपबाट दुनियाँ हेरिरहेकी एनका वाक्यहरुले त्यस समयका महिलाहरुको अवस्थासँग पनि केही नजिक पुर्यायो।
उनले लेखेकी छिन्-
‘कुन महिला कस्ती भन्ने कुरा एक झल्कोमै ठम्याउन थालेकी छु। महिलाहरुको अनुहार या त गम्भीर हुन्छ या दयालु। यो चाहिँ उनीहरुका श्रीमानका स्वभावमा भर पर्छ।’
यो पितृसत्ताको संकेत हो।
उनीहरुसँगै बस्ने एक पुरुषले आम्सटर्डम पानीमा डुब्यो भने त्यस समय महिलाहरु पौडिँदै गर्दा मुसाले तिनको खुट्टामा टोके के गर्लान्? भन्ने जिज्ञासा राख्छन्। किशोरीले जवाफमा लेखेकी छिन्- 'भोलि आपत् पर्दा सबभन्दा चर्को स्वरमा को चिच्याउँदो रहेछ, म पनि हेरुँला।'
उनको बुझाइ सतही छैन भन्न झल्क्याउँछ- किन महिलालाई उहिलेदेखि अहिलेसम्म पुरुषको तुलनामा हीन ठानिन्छ? यो सब अन्यायपूर्ण छ भनेर बस्ने पक्षमा उनी छैनन्। लैङ्गिक असमानता र अन्यायको कारण जान्न चाहन्छिन्।
अब आफ्नै सन्दर्भ। अठार वर्षको उमेरमा एक संस्थामा आवद्ध भएर काम नगरेसम्म मैले लैङ्गिक असमानता र समाजमा महिलाको अवस्थाबारे कहिल्यै पनि सोचेको थिइँन। चौध वर्ष पुगेकी एनले त आफ्नो तर्क समेत राखेकी छिन्-
‘आफ्नो शारीरिक शक्तिका भरमा पुरुषले शुरूदेखि महिलालाई कजायो। यो अन्याय चुपचाप सहनु महिलाको मूर्खता थियो। भाग्यवश शिक्षा, काम र प्रगतिले महिलाहरुको आँखा खोलिदिएको छ। महिला पुरुषलाई बराबर अधिकार दिइएको छ।'
दुर्भाग्य एनले कल्पना गरेको सात दशक बितिसक्दा पनि त्यो लैङ्गित समानताको तराजु बराबर भएको छैन। नेपालको हकमा स्कूलमा छात्रादेखि, सामाजिक, राजनीतिक क्रियामा महिला सहभागिता हेरौं। कानुनमा लेखिएको समानता व्यवहारमा उतार्दा महिला किन पछाडि नै छोडिन्छन्, विवेचना गरौं।
आमाको नाममा नागरिकताको मागलाई हाम्रो सांसद्ले ‘कथित समानताको माग’ भन्दै गर्दा वर्षौअघि ती किशोरीले भनेकी थिइन्- ‘मलाई विश्वास छ आगामी शताब्दीमा बच्चा जन्माउनु महिलाको कर्तव्य हो भन्ने अवधारणा फेरिनेछ। बिना कुनै गुनासो र आडम्बर यो बोझ उठाउने सम्पूर्ण महिलाले सम्मान र प्रशंसा पाउनेछन्।’
एनको जस्तो चेत सांसदहरुमा नभए पनि उनको उमेरका हरेक किशोर किशोरीमा हुने हो भने लैङ्गिक समानताको लडाई सायद लामो हुनेछैन।
पिटर र एन। Photo: WDW
मंगलबार, ११ अप्रिल १९४४
गुप्त भवनमा लुकेकाहरु पक्राउ पर्ने डरले सामान लुकाउने, जलाउने योजना बुन्छन्। एक सदस्यले एनको डायरी पनि जलाउने उपाय सुझाउँछिन्। एनले जवाफमा लेखेकी छिन्- मेरो डायरी डढ्यो भने म पनि त्यहीसँगै डढ्छु।
एन बितिन् तर डायरी जीवन्त रह्यो।
सोही वर्षको अगस्टमा 'गेस्टापो'ले उनीहरुलाई नियन्त्रणमा लिन्छ। फरकफरक शिविर पुर्याउँछ। एन र उनकी दिदी मार्गो सोही वर्ष फेब्रुअरी वा मार्चको सुरुवातमा टाइफसका कारण बित्छन्।
यहुदीहरुमध्ये एनका पिता ओटो फ्य्राङ्क मात्र बाँचे। यातना शिविरबाट सोभियत फौजले मुक्त गराएपछि उनले छोरीको डायरी भेटे। पहिलोपटक सन् १९४७ मा डच भाषामा प्रकाशित डायरी हाल ६० भन्दा बढी भाषामा अनुदित छ। जुन एक किशोरीको मनोवैज्ञानिक उताड चढावको मात्र नभएर यहुदीहरुले भोगेको कष्टको पनि दस्तावेज हो।
म चाहन्छु भाइले यो दस्तावेज पढोस्। सबै विषय, कुरा नबुझ्ला, आएर सोधोस् वा इन्टर्नेटमा खोजोस्। र, पढिसकेर भनोस् 'म पनि हजुरहरुलाई भन्न नसकेको कुराहरु डायरीमा लेख्छु।'