A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.698f996e7d4885.89110192): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.698f996e7d4885.89110192,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.698f996e86a061.22021327): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.698f996e86a061.22021327,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

मृत्यु स्टेसन : यहाँ सबैको यात्रा एकै हुन्न, कोही बित्छन् त कोही फर्किन्छन्
PahiloPost

Feb 14, 2026 | २ फागुन २०८२

मृत्यु स्टेसन : यहाँ सबैको यात्रा एकै हुन्न, कोही बित्छन् त कोही फर्किन्छन्



स्वेच्छा राउत

मृत्यु स्टेसन : यहाँ सबैको यात्रा एकै हुन्न, कोही बित्छन् त कोही फर्किन्छन्

भोजपुरकी दुर्गा खड्का (नाम परिवर्तन) ७६ वर्षकी भइन्। हाल उनी साहिला छोरा वीरबहादुरको परिवारसँग कपनमा बस्दै आएकी छिन्। चैत महिनाको पहिलो साता दुर्गालाई दोस्रोपटक पक्षघात भयो। तत्काल महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइयो। तर, विडम्बना दोस्रो पटकको पक्षघातपछि उनको शरीर चल्न छोड्यो। त्यसमाथि निमोनियाले पनि समात्यो।

अवस्था निकै गम्भीर भएपछि उनी बाँचिरहने आशा मर्‍यो। चैतको १२ गते सँगै बसेका छोरा र आफन्तले पशुपति आर्यघाट पुर्‍याए। दश दान गरे। र, दुर्गालाई घाटसँगै रहेको 'आर्यघाट सेवा केन्द्र'मा लगेर राखे।

 

आफन्तहरु उनको अवस्थालाई लिएर चिन्तित थिए। केहीबेरमा 'घाटे वैद्य' सुवर्णमान वैद्य देखापरे। सिकिस्त दुर्गाको अनुहार नियाले। नाडी छामे। र, भने, 'अहिले केही भइहाल्दैन।'

परिवारमा आशा पलायो। ओखती सुरु भयो। अचम्म के भयो भने 'अब रहदिनन्' भनेर ल्याइएकी उनी तङ्ग्रन पो थालिन्। मुडाजस्तो उनको शरीर केही दिनमा चल्न थाल्यो। सुस्तरी बोल्न थालिन्। खाना खान सक्ने पनि भइन्। र, आशा मारेर घाट ल्याइएकी उनलाई तीन सातामै घर फिर्ता लगियो।

दुर्गा पहिली होइनन्, जो यसैगरी आशा मारेर ल्याइए पनि घर फर्किए। सुनसरीका भवनाथ भण्डारीलाई त ब्रह्मनालमा सुताइ सकिएको थियो। चिता बुक भयो, अन्तिम संस्कारको तयारी हुँदै थियो। छोराहरु शम्भुप्रसाद भट्टराई र कपिल भट्टराई दश दानका लागि यताउता गर्दै थिए। अचानक घाटे वैद्य सुवर्णमानले भवनाथको शरीरमा आँखा पुर्‍याए र आत्तिदै कराए, 'मरेको छैन। उठाउ उठाउ।'

आफन्तले शरीर उठाएर सत्तलमा ल्याए। मुखभित्र राखिदिएको सुन निकाले। शैय्या नम्बर १३ मा उनको उपचार सुरु भयो। धन्न उनले ज्युँदै जल्नु परेन। एक महिना अठार दिनसम्म उनको जण्डिसको उपचार भयो। त्यसपछि स्वस्थ भएर घर फर्किए।

घटना २०५९ सालको हो। २०६२ सालको जेठ २८ गते उनले वैद्यलाई धन्यवाद र सेवा केन्द्रलाई शुभकामनासहित पत्र बुझाए। त्यो पत्र सेवा केन्द्रमा जतन गरेर राखिएको छ। 

यस्तै घटनाहरुको बेलिबिस्तार लगाउँदै थिए, वैद्य। अचानक कार्यालयसम्म रुवाबासी र आत्तिएको आवाज सुनियो। केन्द्रकी नर्स सपना खड्का वैद्यलाई बोलाउन आइन्। मानिसहरु स्ट्रेचरसहित एक वृद्धालाई केन्द्रभित्र छिराउँदै थिए। हतारहतार ल्याइएका उनलाई खाटमा सुताइयो। वैद्यले नाडी छामे। वरपरको भिड हटाए। वातावरण केही शान्त बन्‍दा नबन्दै वृद्धाले अन्तिम सास फेरिन्। रुवाबासी पुन: मच्चियो। शरीरलाई स्ट्रेचरमै हालियो ब्रह्मनाल लगियो। त्यहाँ सुताउन्जेल वैद्यले ढोकाबाट हेरिरहे। त्यसपछि रोइरहेका आफन्तलाई हेर्दै लामो सास फेरे। उनको मुखबाट फुत्कियो - 'बैकुण्ठ बास होस्।'

सबै घाटसम्म पुग्दैनन्। घाटसम्म पुगेका केही पुन: घर पनि फर्कन्छन्। जति फर्कन्छन्, उनीहरु सेवा केन्द्रप्रति कृतज्ञ रहन्छन्। यो त्‍यही तीन तले सेतो भवनको कथा हो।

***

पशुपतिनाथ मन्दिर परिसर छिर्ने पूर्व ढोका विशेष अवस्थामा बाहेक अन्य दिन बन्द रहन्छ। त्यसैले यो ढोकाबाहिर मान्छेको खासै भिड लाग्दैन। ढोका बाहिर वाग्मती नदीतर्फ झर्ने सिंढी छ। हरेक साँझ हुने गंगा आरती हेर्न आउनेहरुका लागि त्‍यो सिंढी दर्शकदीर्घा बन्ने गर्छ। सिंढीको देब्रेपट्टि छ, पशुपति आर्यघाट सेवा केन्द्र।

खोलासँगै टाँसिएको ब्रह्मनालबाट पूर्वी ढोकातर्फ उक्लँदा दर्जन खुड्किलो माथि, जाली ढोकाबाट भित्र हेर्दा देखिन्छ अस्पतालको जस्तै दृश्य। मिलाएर राखिएका शैय्याहरु। अक्सिजन सिलिन्डर, स्लाइन स्ट्यान्ड, औषधी केस आदि। अनि हरेक शैय्या टाँसिएको भित्तामा देउताको फोटो साथै संस्कृत श्लोकहरु पनि।

घाटे वैद्यले नाडी छाम्छन्, आँखा नियाल्छन् र अवस्था कस्तो छ बुझ्छन्। वैद्यले अवस्था गम्भीर छ वा सामान्य जानकारी दिन्छन्। गम्भीर छैन भने आवश्यकता अनुसार आयुर्वेदिक औषधी दिन्‍छन्। कसैलाई मेडिकल पेन किलरहरु पनि दिइन्छ।

सेवा केन्द्रमा ४० वटा शैय्या छन्। सत्तलसँगै जोडिएको तलाको एउटा कोठामा अङ्ग दानको काम हुन्छ। त्यस्तै अर्को कोठामा गम्भीर अवस्थामा ल्याइएकाहरुलाई राखिन्छन्, अस्पतालको इमर्जेन्सीजस्तै। उनीहरुको अवस्थामा केही सुधार भयो भने दोस्रो तलामा सारिन्छ, अस्पतालकै जेनरल वार्डमा जस्तै। र, त्यहाँबाट पनि केही राम्रो भए तेस्रो तलामा। तेस्रो तलामा केही दिन राखेर घर फर्काइन्छ। जसका लागि तेस्रो तलामै कार्यालय हुँदै निस्कने ढोका छ।

'मृत्युलाई जितेर तेस्रो तलासम्म आएकालाई त्यही बाटो फर्कन नपरोस् भनेर माथिको ढोका खुला राखेका छौं,' सेवा केन्द्रको संस्‍थापक वैद्य सुनाउँछन्।

यहाँको सेवा नि:शूल्क हो। सुवर्ण वैद्य र उनका भाइ सुरेन्द्र हुन् उपचारकर्ता। औषधी पनि आफै बनाउँछन्। टाढाबाट आएकाको कुरुवालाई खान बस्नको व्यवस्था पनि छ। 'अस्पतालमा र औषधीमा लाखौं खर्चेर आएकालाई यहाँ पनि पैसा त कसरी तिराउनु?,' उनले सुनाए, 'मैले यो प्रश्न आफैँलाई सोधेर मात्र सेवा नि:शूल्क गरेको हुँ। फेरि यो हाम्रो पुर्ख्यौली कर्म पनि हो।'

***

'राजदरबारमा नाडी छाम्न जाँदा सेनाहरुले सुरक्षा दिएर लग्छन्। त्यहाँ सम्मान पाइन्छ, काम राम्रो हुँदा बक्सिस पनि। रानी र राजकुमारीहरुको उपचार गर्न चाहिँ गाह्रो हुन्छ। किनकि उहाँहरुलाई तीन खोपीभित्र राखिन्छ। नाडीमा काँचो धागो बानेर हाम्रो हातसम्म ल्याइ पुर्‍याएपछि त्यही धागो छामेर रोगव्याध अनुमान गर्नुपर्छ।'

बुबा भरत वैद्यले यस्तै घटना सुनाउँदा दङ्ग पर्दै सुन्थे, सुवर्णमान। सबैले बुबालाई 'वैद्यराज' पुकार्दा उनलाई गर्व लाग्थ्यो। उनलाई लाग्थ्यो बुबाले राजदरबारमा उपचार गर्ने थाहा पाएर नै नामको पछाडि 'राज' जोडिएको हो।

बुबाले आयुर्वेदिक औषधी बनाएको देख्थे। घाटमा पुगेर मर्न लागेको मानिसको हात समाएको देख्थे। केहीलाई घाट नजिकैको भवन भित्रको एक कोठमा राखेर औषधी खुवाएको पनि देख्थे। तर, बुबाले सुनाएको राजदरबारको कथा भने कहिल्यै आँखा अगाडि देख्न पाएनन्। बुबा सुनाउथे - 'गाह्रो छ नि राज वैद्य बन्न। काम राम्रो गरे दरबार नत्र तरबार।' उनलाई तरबारले तर्साएन। बरु मनमनै दृढ बने - जसरी पनि 'राज वैद्य' बन्ने हो।

जयबागेश्वरीबाट पशुपति झर्ने ओरालोतर्फको बायाँ गल्लीमा वैद्य परिवारको घर छ। त्यहाँबाट प्राय बुबाको हात समाएर आर्यघाट पुग्थे उनी। बुबाले जाँच गरुन्जेल हेर्थे। थप उपचार गर्ने कोठामा उकाल्दा खुशी हुन्थे। किनकि त्यसरी नउकालिएकाहरु बित्थे र बित्नेका आफन्त बेहोस् हुनेगरी रुन्थे। उनीहरु रुँदा सुवर्ण आफूलाई सम्हाल्न सक्दैन थिए- आफू पनि घोक्रो सुक्नेगरी रुन्थे।

बुबालाई खाना, खाजा, पानी पुर्‍याउने, राती बस्न पर्दा ओढ्ने ओच्छ्याउने पुर्‍याउने उनको दैनिकि। घरमा औषधी बनाउने प्रक्रिया गहिरो गरी हेर्थे, सघाउँथे पनि। त्यसैले बुबाले पनि विश्वास गर्न थाले- विरासत थाम्छ।

२०१६ सालको भदौ महिना। भदौरे झरीले विश्राम लिएको थिएन। के झरी के घाम, घाटे वैद्यले पनि विश्राम बिरलै पाउँथे। बुबा घाटमा बोलाइएपछि उनी सधैंजसो हात समातेर ओरालो लागे।

सत्तलमा सुताइएको थियो, महाकवि लक्ष्मीप्रसाद देवकोटालाई। अरुबेलाजस्तै उनका बुबा नजिक गए, नाडी छामे। खबर सोधे। क्यान्सरले थलिएका कविले के जवाफ फर्काए सुवर्णलाई याद छैन। तर, उनी कवि छेउबाट उठेकामात्र के थिए, वरपर बसिरहेका कुरुवाहरुले हात जोड्दै अवस्थाबारे सोधे। उनका बुबाले सुझाए - ‘कोठा नम्बर एकमा लगौं।'

ब्रह्मनाल छेउको त्यो सेतो भवनको कोठा नम्बर एकमा सारेको करीब १० दिनसम्म लक्ष्मीप्रसाद देवकोटा बितेनन्। 'आफ्नो बुबाले नै बचाए भन्ने लाग्यो। उहाँ त शक्तिशाली हुनुन्छ रहेछ भन्ने भयो,' क्यान्सरले थलिएका देवकोटाले भदौ २९ गते अन्तिम सास फेरे।

दैनिक पशुपति दर्शन पछिमात्र अन्य कर्म थाल्ने उनी एकपटक पूर्व ढोका छेउ जान्थे। शव देख्‍नेवित्तिकै बैकुण्ठ बासको कामना गर्थे र त्यो जिर्ण सेतो भवनको कोठा नम्बर एक हेर्थे जुन प्राय खाली हुन्थ्यो।

युवावस्थादेखि भने उनी राजनीतिमा सक्रिय भए। राजवैद्य बन्ने बाटो मोडियो। बरु काठमाडौंमा शैक्षिक संस्था स्थापनादेखि अरु सामाजिक कार्यमा लागे। पञ्चायत कालमा काठमाडौं नगरपञ्चायत वडा नम्बर आठको वडाध्यक्ष निर्वाचित भए। पञ्चायत ढल्यो, जिम्मेवारी पनि बाँकी रहेन।

पुन: नयाँ ढङ्गबाट राजनीतिमा सक्रिय रहने सोच बनाएका उनको योजना बद्लियो जब एक बिहान जीवन र मरणको दोसाँधमा रहेको शरीरलाई वाग्मती तटमा पानीमा भिजाइराखेको देखे। उक्त शरीरसँगै रुझ्दै थिए, आफन्त पनि। ती आफन्‍त र नजिकै रहेको कोठा नम्बर एकलाई पालैपालो हेरेपछि सोचे- अब घाटबाट खाटमा पुर्‍याउने काम गर्छु। घाटे वैद्य बनेर व्यवस्थित सेवा दिन्छु।

‘वडा अध्यक्षको जिम्मा नरहेपछि म घाटमा आएर बुबालाई सघाउन थालेँ। तर यो भवनमा व्यवस्थित सेवा सुरु गरेको २०५२ सालमा मात्र हो,’ वैद्यले सुनाए।

उक्त भवन सिंहदरबार बनाएर बढी भएको निर्माण सामाग्री ल्याएर चन्द्रशम्शेरले बनाएको कथन छ। ‘राज परिवारको सदस्यका लागि भनेर निर्माण गरिए पनि खोइ किन हो त्यसको खास प्रयोग भएको मैले थाहा पाइन।'

भवनका झ्यालहरु खापाविहीन। प्रसाद खाएर फालिएका टपरा र कागजले अघिल्लो भागका कोठाहरु भरिएका। पछिल्लोमा सौचालय तर बाँदर पस्नसक्ने गरी खुला।

‘पशुपति गोश्वराको सहयोगमा सरसफाइ र पुनर्निर्माणको काम भयो,’ उनी सम्झन्छन्, 'शरणबहादुर थापा थिए अध्यक्ष। उनैले सहयोग गरे। आवश्यक शैय्या लगायत अन्य भौतिक वस्तुहरुको लागि सहयोग आह्वान गर्‍यौं।'

‘पुष्करलाल मास्केको स्मृतिमा’, ‘टुक्ककुमारी पाण्डे परिवार’, ‘नारायण भक्त श्रेष्ठको सम्झनामा’, ‘सौजन्य किरण गिरी’। यसरी केन्द्रका झ्यालका खापादेखि, फलामे खाट, टेबल, दराज, फ्रिज, कुर्सी, मेच, र्‍याक सबैमा दाताको नाम प्रष्ट देखिन्छन्। यी नामहरु तिनैको हो जसले यहाँबाट सेवा पाएका थिए।

यसैगरी सहयोग जम्मा हुँदै गयो। सेवा बिस्तार पनि। गोश्वराले रासनको जिम्मेवारी लिइदिँदा केन्द्रलाई केही सहज भयो।

गोकर्णेश्वर नयाँपाटीकी ३० वर्षीया कल्याणी विष्ट पाँच वर्षदेखि सेवा केन्द्रमा छिन्। नर्सिङ पढेकी उनको आफ्नै मेडिकल छ। तर, उनी यही केन्द्रमा रमाएकी छिन्। भन्छिन्, 'भावनात्मक रुपमा जोडिएकी छु यो ठाउँसँग। थाहा छैन किन वृद्धवृद्धाको सेवाकै लागि हुँ जस्तो लाग्छ।'

केन्द्रमै बस्ने उनी करीब ११ किलोमिटर टाढा रहेको घरमा चाडपर्वमा मात्र जान्छिन्। आफू नभए बिरामी एक्लिने डर छ उनलाई।

घाटको छेउ, वाग्मतीको एकोहोरो आवाज अनि एकान्तको कोठा। सुरुसुरुमा डर लागे पनि अब त्यही वातावरण प्यारो भएको बताउँछिन् उनी। भन्छिन्, 'यहाँ आशा मरेर आएकाहरुलाई ज्युँदो फर्काउँदाको आनन्द लिन पाइन्छ। आजकाल त मलाई बाह्य वातावरण सहन गाह्रो हुन्छ।'

उनको त्याग र समर्पणको तारिफ गर्नेहरु धेरै छन्। आफन्त ठीक भएर फर्कनेहरु पछिसम्म फोन गर्छन्, कतिले सहयोग गर्छन्, कतिले धन्यवाद दिन्छन्। उनी यसैमा खुशी छिन्। भन्छिन्, 'जस नदिनेहरुसँग चाहिँ गाह्रो हुन्छ। घाटमा ल्याइसकेपछि पनि मान्छे बचाउनु नसक्नु हाम्रो कमजोरी जसरी व्यवहार गर्छन् कसैकसैले। यो जायज होइन नि।'

उनीसँगै बस्ने नर्स सपना खड्काको विवाह भएपछि उनी एक्ली छिन्। ओम हस्पिटलबाट नर्सिङ पढेकी सपना पनि स्वयंसेवक हुन्। उनी दुई वर्षदेखि निरन्तर सेवामा छिन्। हाल सातदोबाटो देखि दैनिक बिहान आउने, दिनभर सेवा गर्ने र बेलुकी फर्कने गरेकी छिन्।

नर्सहरु र वैद्यहरुसहित आठजना सेवक छन्, जाँच्ने, औषधी दिने, सरसफाइ लगायत सबै कामका लागि। सरसफाइमा सघाउनेमध्येकी एक हुन्, सरस्वती 'वैरागी', जो सुवर्णले नाडी छामेको पहिलो बिरामी हुन्। पखलाका कारण अचेत उनलाई ब्रह्मनालबाट वैद्यले फर्काएका थिए। ‘मरी भनेर फालिएकी अहिलेसम्म केन्द्रमा सेवाको लागि आउँछिन्,’ उनले सुनाए।

वैद्यहरुले पशुपति क्षेत्र विकास कोषमार्फत् आंशिक कर्मचारीका रुपमा पारिश्रमिक पाउँदै आएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेशप्रसाद उप्रेतीले बताए। भने, 'घाटे वैद्य घाटमा परम्परागत रुपमा नाडी छाम्न राखिँदै आएको छ। तर, उहाँहरुले आफ्नो सेवा विस्तार गरेर जुन हस्पिटलको मोडालिटीमा चलाउनु भएको छ, यो सह्रानीय हो।'

यिनै व्यक्तिहरुको सेवा, गोश्वराको रासन र सर्वसाधारणको सहयोगमा चलेको छ केन्द्र।

बाबुको बिँडो थामेका वैद्यलाई अहिले चिन्ता बेग्लै छ - यो विरासत कसले धान्छ भन्ने बारे। उनका छोराहरु जेठा सुवेन्द्र र कान्छा शैलेन्द्रले उनीहरुकै रुचीको पेशामा लागेका छन्। दुईमध्ये कान्छाले मात्र औषधी बनाउन जानेका छन्। तर, अहिलेसम्म नाडी छामेका छैनन्। सुवर्णले भने, ‘औषधी पनि सीमित बनाएर हुँदैन हजारौं जडिबुटी चिन्नु पर्‍यो, हरेक समस्या पहिचान गरी आवश्यकता अनुसार बनाउन जान्नु पर्‍यो। सजिलो छैन नि।'

भगवान र भाग्यमा विश्वास राख्ने उनले कुनै दिन आफ्नै सन्तानले पुस्तैनी बिँडो थाम्ने विश्वास लिएका छन्। भन्छन्, 'छोरापछि नातिले पनि सिक्नै पर्छ।'

अध्ययनका लागि अष्ट्रेलिया जाने तयारीमा रहेको २५ वर्षीय नाति फर्कने आशा सुनाइ रहँदा उनको आँखामा प्रस्ट निराशा देखिन्थ्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell