Nov 22, 2024 | ७ मंसिर २०८१

एउटा 'साइको' यात्रा : हिउँले ढपक्कै छोप्दा पाँच पोखरी

सागर बुढाथोकी/पहिलोपोस्ट

घुम्न जाँदा 'ट्रेन्डिङ प्लेस'मै किन जाने त?

लामो समयपछि भेट भएका साथीहरु बीच 'टुर प्लान' बनिरहँदा एउटा कठिन प्रश्न उब्जियो। मुगुको रारा, मुस्ताङको मुक्तिनाथदेखि दोलखाको कालिञ्चोकसम्मका फोटोले फेसबुक छपक्कै। अब त्यहीँको यात्रा त किन गर्नु हो?

तर, जटिल रह्यो फरक ठाउँ खोज्नेक्रम। छोटै समयमा घुम्ने तय भए झै ठाउँ छान्न पनि समय लगाउने फुर्सद थिएन। आफूलाई गुमनाम राख्ने एक मित्रले ठाउँ ठम्याए - पाँच पोखरी। उनलाई हामी उनलाई ई: भनेर चिन्छौं। सायद तपाईँले पनि चिन्नुहुन्छ। सिंहदरबारको गेटमा रातो रङ छापेको याद छ? सीके राउतलाई हिंसात्मक बाटो छाड्न आह्वान गर्दै कलाकार कर्मा र निशा अधिकारीसँगै सुझावपत्र बुझाएको याद छ? भारतले नाकाबन्दी लगाउँदा मध्य पहाडी लोकमार्गमा साइकल यात्रा गर्ने मानिस थाहा छ? अनि मधेशमा क्षमा अभियानमा जुटेर गम्छा र भादगाउँले टोपी बाड्ने मानिस चिन्नुहुन्छ?

हो, हाम्रो यात्राको योजनाकार ई: तिनै हुन् जो आफूलाई यसबाहेक अरु नामबाट चिनाउन रुचाउँदैनन् भलै उनको भूमिकाले उनी को हुन् 'ओपन सेक्रेट' भइसक्यो।

मुलुकको धेरैजसो भूभागलाई पैदल नै छिचोलिसकेका उनी पाँच पोखरी पनि पटकपटक पुगिसकेका रहेछन्। अन्तत: ट्राभलको 'टार्गेट फिक्स' भयो। तर, के लैजाने र कहाँबाट जाने बाँकी कसैलाई पत्तो नाई। घुम्दै जाँदा हाम्रो टिमको नामाकरण पनि भयो - एक्स्ट्रिम सुपर साइको ल्याङ ग्रुप। यही ग्रुपसँग आज तपाईँलाई पनि हामी लैजाँदै छौं - पाँच पोखरीतिर। जानुहुन्छ होइन त? हो भने आउनुस् - काठमाडौंबाटै थालौं यात्रा।

जोरपाटीको वाग्मती नदी किनारामा रहेको ह्याल्मो यातायात चढ्दा पो थाहा पयो कति जना छन्, यो यात्रामा। कूल १० यात्रु। पेशा सबैको फरक। कोही जान, कोही अन्जान। एउटा अनौठो मिश्रण। बिहान ९ बजे गुड्यो गाडी।

वनजंगल। खोला। धुलो कच्ची बाटो र हरियाली गहुँबारी छिचोल्दै साँझ ६ बजे सिन्धुपाल्चोकको भोताङमा गएर गाडीले यात्राको पूर्णविराम लगायो। अब यहाँबाट हाम्रो यात्रामा सवारीको साथ टुट्यो। भोताङमै बस्ने योजना बनाए पनि यहाँभन्दा डेढ घन्टा माथिको देउराली भन्ने ठाउँका एक टी हाउस संचालक भेटिए। हामी उनको पछिपछि लाग्न थालिहाल्यौं। डोकोभरी सामान बोकेर हिँडेका उनलाई भेट्टाउन मुस्किल परिरहेको थियो, हामीलाई।

आठ घन्टाभन्दा बढी कच्ची सडकमा बस चढेर लोथ भएका सबैजनासँग हिँड्नुको विकल्प सकिएको थियो। त्यसमाथि सिधै ठाडो उकालो बाटो। माथितिर हेर्दा नआत्तिने कोही थिएन। त्यसैले होला, साथी प्रकाश कटुवाल भन्दै थिए, 'स्टामिना लास्टै घटेछ। हिँड्नै सकिएन।'

उनी त्यत्तिमै रोकिएनन्। थपे, 'स्टामिना भन्ने बित्तिकै केटाहरुको 'त्यता' ध्यान गयो होला। त्यता नबुझ्नु।'

घुम्ने योजनाकै सिलसिलमा पाटनमा भेट हुँदा प्रकाशले फुर्तीसाथ भनेका थिए, 'संखुवासभाको डाँडापाखा कुदेको मान्छे हूँ, सजिलै हिँड्छु। मलाई गाह्रो हुन्न।'

उनको त्यो फुर्तीलाई 'रि क्याप' गराए ई:ले। प्रकाशले हाँस्दै थपे, 'संखुवासभाको डाँडापाखा कुदेकै मान्छे हो तर १५ वर्षअघि...।'

उनको कुरोले हाँसो थाम्न कसरी सकिन्थ्यो?

प्रकाशजस्तै साथी जमाल अलीलाई पनि हिँड्नमै समस्या। उनलाई त भिर देख्यो कि रिगंटा लाग्ने रहेछ। हिँड्न गाह्रो भए पनि जमालको आत्मविश्वासमा भने कुनै कमी थिएन।

जमाल र प्रकाशमात्र हैन रिजवान र समुन्द्र केसीका लागि त यो पहिलो ट्रेकिङ थियो। त्यसैले डर र उत्साह दुवै थियो सबैमा। भोताङबाट देउराली करीब डेढ घण्टा हिँडियो। त्यहाँ पुग्दा रातको साढे आठ बजिसकेको थियो।

चिटिक्क परेको टी हाउस। किचेनसँगै सानो पसल पनि। बीचको भागमा हामीजस्तै बटुवाका लागि भनेर तयार राखिएका खाटहरुको लस्कर। अर्को छेउमा आगो ताप्न मिल्ने ठूलो चुल्हो। यति कठिन ठाउँमा पनि शानदार लाग्यो, बास बस्ने ठाउँ। होटेलका संचालक बिरु वाइबाले एक रात सुतेको र खाएको तीन सय रुपैयाँ लिने कुरा गरे। हाम्रो अनुमानभन्दा धेरै सस्तो।

बिरु खाना पकाउने तयारीमा लागे। त्यहाँ गीत घन्किरहेको थियो, 'तिम्ले साथ छोड्यौ, नाता तोड्यौ म बाँचु कसरी? जस्लाई धेरै माया गरेथेँ...'

रातो वर्णको अनुहार। 'तेरे नाम' फिल्मको सलमान खान स्टाइलको हेयर स्टाइल। दौरा सुरुवाल भिरेका। होटलमा सानी छोरी र उनी मात्र रहेछन्। सानी छोरीले उनलाई सघाइरहेकी थिइन्।

एकपछि अर्को वियोगान्त गीत बजिरहेपछि झ्याउ लाग्यो। सोधेँ, 'दाइ के सारो दु:खी गीत बजाएको होउ। वियोगमा हुनुहुन्छ कि क्या हो?'

'श्रीमती हिँडेको मंसिरदेखि फर्केर आएकी छैन। के गर्नु तनावै छ?'

'यस्तो गीत सुनेर चाहिँ तनाव हराउँछ त?'

उनी हाँस्दै कामतिर लागे।

आशिफ र सागर रैलाले उनलाई तरकारी काट्न सघाए।

३२ वर्षीय उनका २ छोरा र २ छोरी रहेछन्। अधिकांश समय भारतको काश्मिरतिर बसेका। भूकम्प पछिमात्र घर आएर होटल खोलेर बसेका रहेछन्। पारिवारिक झगडाले ठूलो रुप लिएपछि बिरुकी पत्नी माइत गइन् र फर्किनन्।

थकित शरीर लिएर बास बस्न पुगेका हामीले उनको कथा सुन्दै खाना खायौं। खाना खाइसकेपछि उनले हामीलाई टुंगुनाको धुन सुनाए। सुत्ने बेलामा सविन ज्ञवालीले सुनाए कविता।

जब कसैले नसोचेको आइलाग्यो..

भोलिपल्ट बिहानै हामी पाँच पोखरी जान तयार हुन थाल्यौं। ६ बजे तयार हुने भनेको सात त बजिगयो, नेपाली पाराले। यही कारणले ग्रुपको नाममा एउटा शब्द भेटियो— ल्याङ।

१० जनाभाइ मध्ये एकमात्र पाँच पोखरी पुगेका। अरु ९ जना बाटोबारे अन्जान। साथी ई: ले भने, 'जम्मा २४ किलोमिटर बाटो हो। हामी पाँच पोखरी पुगेर आज नै फर्किन सकिन्छ।'

तर, होटलका बिरु भन्दै थिए, 'मान्छे पुर्ने हिउँ छ। तपाईँहरु धेरै पुग्न सके नर्सिङपाटीसम्म मात्र हो। त्यहाँभन्दा माथि जान सक्नुहुन्न।'

पैदलै देश घुमेका 'ई:' को कुराले छुट्टै आत्मविस्वास आएको थियो। बिरुको कुरा कसले सुन्ने?

एक दुई पुरिया बिस्कुट र एक दुई प्याकेट चाउचाउ बोकेर टोली उकालो लाग्यो। उकालो ओरालो, भिरको बाटो। कोही अगाडि र कोही पछाडि। हिँड्दै गर्दा 'ई:' ले भने, 'साथीहरु एउटै गतिमा हिँड्लान् भनेर पुगेरै फर्किन सकिन्छ भनेको थिएँ। पुग्नै गाह्रै पर्ला जस्तो छ।'

त्यतिन्जेल साथीहरुले बोकेको चाउचाउ बिस्कुट आधिजसो सकिसकेको थियो। बिहानै खाएर हिँडेको, खानाले कतिन्जेल थेग्थ्यो र?

बाटो उकालो ओरालो भए पनि ढपक्कै लालीगुरास फुलेका थिए। चराहरुको मीठो चिरविराहट पनि। जंगलको बीचमा हिउँ पग्लेर बनेको झरना र खोलाको संगीत अद्‍भुत सुनियो। त्यसमाथि साथीहरुको गफ, रमाइलो हुने भइहाल्यो।

१० जनाको एउटै टोली भए पनि त्यो टुक्रिँदै, जोडिँदै थियो। सबैको गति समान नभएकाले समूह फरकफरक बन्दै थियो।

साथी सागर, ई: सविन र आशिफ र म अलि अगाडि थियौँ। प्रकाश, जमाल, समुन्द्र र सुरेन्द्र केही पछि। हामी साथीहरुलाई पर्खँदै अगाडि बढ्दै थियौं।

त्यहीबेला चार जना युवाहरु नर्सिङपाटीबाट फर्कँदै गरेको भेट्यौं। उनीहरु पाँच पोखरी पुग्न नसकेर बाटैबाट फर्केका रहेछन्। नर्सिङपाटीमा सबै होटल हिउँले पुरिएको सुनाए उनीहरुले। तीमध्ये एकले भने, 'होटलमा मान्छे कोही छैनन्। हिउँले गर्दा जान सकिन्न। हामीले त एउटा होटल फोडेर आफूले लगेको चाउचाउ पकाएर रात कटायौं।'

पाँच पोखरी पुग्ने आत्मविश्वास लिएर हिँडेका हामी उनीहरुको कुराले केही निराश भयौं। आत्मविश्वासमा कमी आयो। किनकि, हामीसँग रात कटाउनको पुग्नेगरी खानेकुरा नै थिएन।

पाँच पोखरी नपुगे पनि नर्सिङ पाटीसम्म पुगौं भन्ने साथीहरुसँग सल्लाह भयो। एक रात जसरी नि कटाइला भन्ने आत्मविश्वास जाग्यो। साथीहरु फेरि हिँड्न थाले। लगभग चार बज्न थालेपछि हिउँ नै हिउँको बाटो आउन थाल्यो। हाम्रो हिँडाइ केही संयमित हुन थाल्यो।

जता हेर्‍यो हिउँ नै हिउँ। हामी हिउँलाई टेक्दै हिँडिरह्यौं। साथी ई: चप्पलमा थिए। तर, उनले हार मानेनन्। बीच बाटोमा पुगेर पछाडि फर्केर हेर्दा साथीहरु त कता हुन् कता। उनीहरुलाई कुर्न थाल्यौँ। आधा घण्टा कुर्दा पनि उनीहरु आएनन्। म र सविन त नर्सिङपाटी नजिकै पुगिसकेका थियौं।

त्यही बेला साथी ई: ले परैबाट आवाज दिए- 'साथीहरु आउन सकेनन्। फर्किम् है फर्किम्।'

दिक्क लाग्यो। पुगिसकेको मान्छे फर्कनुपर्ने! तर, अगाडि बढेर नि के गर्ने? ज्यानै नरहे के रहला? सविन र म फर्कियौँ। फर्कँदै गर्दा सविनले भन्यो, 'साइको मजा आइरा'थ्यो, खत्तम भइगो नि दाइ।'

सविन हरेक शब्दमा 'साइको' जोड्दै बोल्थ्यो। त्यो वातावरणमा उसको कुरा सुन्दा पनि गजबै लाग्थ्यो। हामी दिक्क मान्दै फर्कँदै थियौं। केही तल आएपछि साथी सुरेन्द्र 'गुड न्युज, गुड न्युज...' भन्दै आए। उनले तल खर्कको गोठमा छिरेर २ किलो जति चामल र एक पोको चिउरा झिकेर ल्याएछन्। देखाउँदै भने, 'अब आज नर्सिङ पाटी जाँदा पनि बाँचिन्छ। खानेकुरा भेटियो।'

अजिंगरको आहारा दैवले जुराउँछ भनै झै हाम्रो आहारा सुरेन्द्रले जुराएका थिए। खाना नपाएर मरिन्छ कि भन्ने डर बोकेका हामी सबैको मुहारमा खुशी छायो। हार मानेर फर्केका हामी फेरि नर्सिङपाटीतिरै लाग्यौं। त्यतिन्जेल सबै साथी भेला भइसकेका थिए।

अर्को तीन जनाको टोली पनि एक जना गाइड लिएर आउँदै रहेछ। त्यसपछि अब बाँचिन्छ भन्ने आशा जाग्यो। हामी करीब साँझको ६ बजे नर्सिङपाटी पुग्यौँ। त्यहाँबाट फर्केका साथीहरुले तोडेको होटलमा छिर्‍यौं। त्यसबाहेक हामीसँग अर्को विकल्प थिएन। बाहिर हिउँको चिसोमा बस्नसक्ने अवस्था थिएन। सागरले आगो बाले। ताप्केमा हिउँ भरेर तताए। त्यसपछि हामीले पानी खान पायौं।

र, मैले सन्दुक तोडेँ...

त्यसपछि सबैको ध्यान होटलमा रहेको ठूलो काठको सन्दुकमा गयो। त्यही होटलमा बसेर फर्केका साथीहरुले भनेका थिए, 'होटलमा सन्दुक थियो, हामीले तोड्न कत्ति कोसिस गर्‍यौं तर सकेनौं। त्यो सन्दुक तोड्न सकेको भए खान पाइन्थ्यो।'

हामीसँग २ किलो चामल र अलिकति चिउरामात्रै थियो। साथीहरु सन्दुक तोड्ने कि नतोड्ने छलफलमै थिए। मैले यस्सो ताल्चामा हेरेँ। ताल्चालाई हिर्काउँदा हिर्काउँदा कुच्चिन लागिसकेको रहेछ। साथीहरुले एकोहोरो ताल्चालाई ढुंगाले हानेछन्। ढुंगाले हानेर ताल्चा कहाँ खुल्थ्यो र?

मैले यताउति हेरेँ। नजिकै र्‍याकमा एउटा रड देखियो। त्यो रड ताल्चामा छिराएर तानेँ। सन्दुक तोडियो। छलफलमै व्यस्त साथीहरुले ताली बजाए।

'कस्ता बुद्धु रहेछन् ती केटाहरु। कति कोसिस गर्दा पनि ताला तोड्न नसकेको रे! आइडिया चाहिन्छ आइडिया।'

त्यतिखेर यस्तै भन्न आयो। सन्दुकभित्र हेरेँ। चामल थियो। दाल थियो। चाउचाउ र भाँडाकुँडा पनि। भोकले खरिएका साथीहरुले सुरुमा चाउचाउ उमाले। हिउँ पगालेर बनाएको चाउचाउको स्वाद पनि गजबको थियो।

त्यसपछि सागरले दाल र भात पकाए। मैलै लसुन र रातो खोर्सानी पिसेर गुन्द्रुकको अचार बनाएँ।

साथीहरु अल्छी भएको देख्दा सागर भन्थे, 'साथीहरु एक्स्ट्रिम अल्छी भए। यस्तो एक्स्ट्रिम चिसोमा एक्लै काम गर्नु परेको छ।'

सविन हरेक शब्दमा 'साइको' जोड्थ्यो भने सागर 'एक्स्ट्रिम'। जस्तै, एक्स्ट्रिम हिउँ छ। एक्स्ट्रिम मजा आयो।

अब थाहा पाइसक्नुभयो होला- ग्रुपको नाम किन 'एक्सट्रिम सुपर साइको ल्याङ' भयो भनेर।

हिउँमा टेकेर आकाश हेर्दै मुत्र बिसर्जन...

राति १० बजेतिर सविन र म बाहिर निस्क्यौं। भर्खरै पानी परेर आकाश उघ्रिएको थियो। धर्तीमा सेतो हिउँ चारैतिर देखिएको थियो भने आकाशमा झिलिमिल तारा। छुट्टै संसार, छुट्टै आनन्द। हल्का सिरसिरे हावा चलिरहेको वातावरणमा आकाशको ताराको प्रकाशले हिउँ टल्किएको दृश्य। माइनस तापक्रम भए पनि बाहिर बसेर आकाश हेरिरहुँ जस्तो। धर्ती हेरिरहुँ जस्तो।

त्यही बेला सविनले मुत्र बिसर्जन गर्दै भन्यो, 'हिउँमा उभिएर आकाशको तारा हेर्दै मुत्र बिसर्जन गर्दा त साइको मज्जा आउँदो रै'छ दाइ।'

सविनले लास्टै हँसायो।

त्यसपछि हामी भित्र छिर्‍यौं। सानो कुचुक्क परेको ठाउँमा सुत्ने ठाउँ मिलाउन गाह्रो। हामीसँग साथमा स्लिपिङ ब्याग थियो। तर, ओछ्याउनका लागि गतिलो केही थिएन। चिसो भुइँमा त्यत्तिकै १० जना सुत्दा बिरामी पर्ने डर! त्यहीँ ओछ्याउने मान्द्रो भेटियो। त्यसमै स्लिपिङ ब्याग ओडेर सुतियो। रातभरी पानी परिरह्यो।

भोलिपल्ट ६ नबज्दै उठ्दा सागरले हिउँ जम्मा गरेर तताइसकेको थियो। तातो पानी खाइयो। होटलबाट बाहिर निस्किएपछि छुट्टै संसार। मौसम एकदम खुलेको। जता हेरे पनि हिमाल नै हिमाल। हिमालको अगाडि थियौं, हामी।

महामुर्ख भएपछि दु:ख...

हिमाललाई पृष्ठभूमिमा राखेर साथीहरु फोटो खिच्न थाले। आशिफले योगा गरे। जमालले फोटो खिचे। हामी प्रकाशले लगेको सातु र पानी खाएर पाँच पोखरी जान कस्सियौँ।

नर्सिङ पाटीबाट पाँच पोखरी पुग्न जम्मा ६ किलोमिटर मात्रै भए पनि बाटो एकदम डरमर्दो। उकालो ओरालो भिरालो र हिउँ नै हिउँ। अलिकति चिप्लियो भने ज्यान बच्ने चान्स थिएन। हिउँ धेरै भएकाले पाँच पोखरी पुग्न यस सिजनमा कोही नसकेको तलै बिरुले बताइसकेका थिए।

हामीभन्दा अघि एक टोली पाँच पोखरी जान अघि बढ्यो। उनीहरु गएपछि हाम्रो आत्मविश्वास बढ्यो। हामी उनीहरुलाई भेट्ने भन्दै हिँड्न थाल्यौं। तर, केही माथि पुगेपछि उनीहरु फर्किए। तिनैमध्येका एकले सुझाए, 'हाम्रो कुरा मान्नुहुन्छ भने तपाईँहरु पनि फर्कनुस्। एकदम गाह्रो छ। अलिकति चिप्लियो भने मान्छे बच्दैन। मान्छे डुबिने हिउँ भएर को जान सक्छ हौं।'

उनीहरुले सँगै लिएर गएको स्थानीय गाइडले पनि भने, 'म यहीँको मान्छे त जान सकिनँ तपाईँहरुसँग त गाइड पनि छैन, नजानुस्। फर्किनुस्।'

उनीहरुको कुरा सही थियो। १० मध्ये ५ जना साथीहरु फर्किए। म सविन, आशिफ, सागर र सुरेन्द्र जसरी पनि पुग्ने भन्दै अघि बढ्यौं।

आशिफ भन्दै थिए, 'हिजो ती केटाकेटीले भनेको कुरा सुनेको भए यही नर्सिङ पाटीसम्म पनि आइँदैनथ्यो। जानुपर्छ। हामी सक्छौं।

साथी सागरले आशिफको कुरामा सही थाप्दै भने, 'हो त अरुको कुरा सुनेर हुन्छ। तल होटलको दाइको कुरा सुनेको भए त देउरालीबाट नै फर्किहालिन्थ्यो नि।'

आशिफ वाइल्ड रमाइलो गर्नुपर्छ भन्दै अघि लाग्यो। हामी उसको पछिपछि। हामी कहिले अगाडि र कहिले पछाडि गर्दै हिउँ पन्छाउँदै हिँड्न थाल्यौं। एक हिसाबले ट्र्याक खोलिरहेका थियौं पालैपालो।

आशिफ र सागर पातला भएकाले हिउँमा धेरै भासिएनन्। तर म र सविन मोटो भएकै कारण बढी भासिएको अनुभव भयो। कम्मर कम्मर भाँसिनु त हाम्रा लागि सामान्य भइसकेको थियो। तर, जोश कहाँबाट आइरहेको थियो? अचम्म लाग्छ, त्यतिन्जेल अलिकति पनि डर लागेको थिएन।

हामी त्यसैगरी हिउँले पुरिएको ट्रेकिङ ट्रेल माथिमाथि हिँड्न थाल्यौं। जुत्ता भासिएर कम्मरकम्मर पुगेका बेला एकले अर्कोलाई तान्दै हिँड्यौं। घरिघरि चिप्लिँदा सात्तो जान्थ्यो। आफू हिँडेको भिरालो बाटो तल हेर्दा रिंगटा लाग्थ्यो।

हिमालको मौसम छिनछिनमै परिवर्तन हुने रहेछ। एकैछिनमा कुइरो लागेर बाटो अलिकति पनि नदेखिने। छिनमै घामले हिउँ टल्किएर हेर्न नै नसकिने। बिजुली चम्किएर मेघ पनि गर्जन्थ्यो। मनमा डर भए पनि मेरो बोली फुट्यो, 'डन्ट वरी गाइज केही हुन्न्। हामी जसरी नि पुग्छौँ।'

हिउँमा हिँड्न गाह्रो भइरहेको बेला सविनले भन्यो— 'छिटो छिटो हिँड्यो भने म लास्ट रिसाउँछु नि गाइज।'

लड्दै, उठ्दै, हिउँमा धसिँदै हामी बल्लतल्ल लौरी बिनायक पुग्यौं। लौरी बिनायक समुन्द्री सतहदेखि चार हजार मिटर उचाईमा रहेछ। हामी ६ मध्ये साथी सुरेन्द्रलाई त्यहाँ पुगेपछि लेक लाग्यो। उनी हिँड्न नसकेर त्यहीँ ढले। त्यहाँ केही झिक्राहरु थिए। आगो बाल्यौं। सुरेन्द्रले भने— 'म यहीँ हुन्छु तपाईँहरु पुगेर आउनुस्।'

लौरी विनायकबाट पाँच पोखरी पुग्ने बाटो झनै खतरा। तर, हाम्रो जोश रत्ति पनि कम भएको थिएन। साथी सुरेन्द्रलाई त्यही छोडेर हामी चार जना अघि बढ्यौँ। पाँच घण्टा हिँडेर आएको बाटोभन्दा त्यो एक घण्टाको बाटो डरलाग्दो थियो। धेरै पटक चिप्लियौँ पनि। डरले मुटु कामिरहेको थियो। मुर्खतापूर्ण काम गरिरहेको छौँ भन्ने पनि सबैलाई थाहा नै थियो।

बाँच्ने आशा मारेको पल ...

जसोतसो पाँच पोखरी पुग्यौँ। पाँच पोखरीमा भएका होटल हिउँले पुरिएर छानो मात्र देखिएको थियो। मान्छे कोही थिएन। ६ घण्टा हिउँमा हिँडेर गलेको शरीर। तर पनि यहाँ पुगेपछि आनन्द लाग्यो। हिउँले जमाए पनि पाँच पोखरीको आकृति प्रष्ट देखिन्थ्यो। १५ मिनेट जति बस्दा तीन पटक मौसम परिवर्तन भयो त्यहाँको। सुरुमा चरक्क घाम लागेर पूरै हिउँ टल्कियो। त्यसपछि कुहिरो लागेर हावा चल्यो। त्यसपछि बिजुली चम्किँदै मेघ गर्जन हुन थाल्यो। साथी सागर अत्तालिँदै भन्न थाले, 'गाइज जाउँ पानी पर्‍यो भने एक्स्ट्रिम बिजोग हुन्छ।'

बल्ल त्यतिबेला ज्यानको डर लाग्न थाल्यो। बाटोमा छोडेको सुरेन्द्रलाई सम्झियौं। तल नर्सिङपाटीमा भएका साथीहरु कत्ति अत्तालिए होलान्? १०/१२ घण्टामा पनि हामी नफर्कँदा साथीहरु के गर्लान्? तनाव बढ्न थाल्यो।

हामी हतारिँदै फर्कियौं। असिना पानी पर्न थाल्यो। हिउँको बाटो असिना पानीले बाँच्ने आशा मर्‍यो।

'पानीले हिउँ पहिरो गयो भने?'

'हिँड्दा हिँड्दै चिप्लिएर तल पुगियो भने?'

'चट्याङ पर्‍यो भने?'

मनमा यस्तै सोचेर हिँड्दै थियौं। सविनले भन्यो 'हामी लास्टै महामुर्ख दाइ। यस्तो बाटो किन आउनुपर्‍या होला?'

सबै साथीहरु अत्तालिएका थिए। आफूले आफैँलाई गाली गरिरहेका। तर, गाली गरेर के गर्नु? चेत खुल्दा ढिलो भइसकेको थियो। बाँच्ने झिनो आशा बोकेर हामी फर्किरहेका थियौं।

पानीले निथ्रुक्क भिजिसकिएको थियो। जुत्ताभित्र हिउँ पसेर खुट्टा कक्रक्क भइसकेको। त्यही बेला साथी सागरले भन्यो, 'एक्सिट्रिम चिसो भयो दाइ हिउँले हातगोडा खान्छ कि क्या हो?'

बल्लतल्ल लौरी विनायक आइपुगियो। त्यहाँ आइपुग्दा आगो बलिरहेको थियो तर सुरेन्द्र थिएन। एकछिन डर लाग्यो। उनी पानी परेपछि हिँडे होलान् भन्ने लाग्यो। हामीले आफ्नो ज्यान आगोमा सेकायौं। शरीरले बल्ल राहत महसुस गर्‍यो।

अनि फेरि हिउँको बाटो फर्कियौं। फर्कँदै गर्दा म एकदम गलिसकेको थिएँ। चिसोले खुट्टाहरु कक्रिसकेको थियो। हातहरु कठ्याङ्रिएर चलाउन नमिल्ने भइसकेको थियो। बाँचेर फर्कँने आशा मरिसकेको थियो। साथीहरु एक ठाउँमा आराम गर्न बसे। म त्यहाँ पुग्दा शरीर थेग्न नसकेर गर्ल्याम्म ढलेँ। अनि अनौठो आवाजमा भने, 'ममी... आएदेखि फोन पनि गरेको छैन। मर्छु कि क्या हो...। साथी हो म चिप्लिएर लडेँ भने मलाई छोडेर नजाओ है।'

साथीहरुले अनौठो मानेर हेरेको देखेर आफै सम्हालिएँ। साथीहरुले जिस्केको ठाने होलान्। तर, म होपलेस भएर त्यो अवस्थामा पुगिसकेको थिएँ। साथीहरुको हाल उस्तै थियो।

बल्लतल्ल १० घण्टा हिउँको यात्रा गरेर नर्सिङपाटी पुगियो। साथी रिजवानले होटलको कोठामा पुग्न नपाइ अंगालो मार्दै भने, 'तपाईहरुलाई सकुशल फर्काइदिनु भनेर मैले कत्ति धेरै अल्लाहलाई दुवा गरेँ। कस्तो डर लाग्यो। दिनभर अल्लाहलाई दुवा गरेर बसेँ।'

रिजवानको कुराले मन चसक्क भयो। आफू हिँडेको बाटो सम्झँदा मात्रै रिंगटा लाग्यो।

होटलमा पुग्दा होटलका साहुजी आइसकेका रहेछन्। साथीहरुको अनुहार हेर्दा सामान्य नै थियो। कुरा मिलाइसकेका रहेछन्। दुई छाक खाएर एक रात सुतेको प्रतिव्याक्ति पाँच सय तिर्नुपर्ने भएछ। ज्यान बचेको थियो, त्यति रकम हाम्रो लागि ठूलो थिएन।

लगातार १६ घण्टा हिँडेपछि...

बिहान सात बजे हिँडेको मान्छे होटल पुग्दा चार बजिसकेको थियो। त्यस दिन त्यही बस्न सम्भव थिएन। होटलका साहुजी नयाँ पाउना लिएर पुगिसकेका थिए। खाना खाएर हामी देउराली नै झर्ने भयौं।

त्यहाँबाट हामी फर्कियौं। हिँड्नासाथ असिना पानी पर्‍यो। साथी 'ई:' लाई सोधेँ— 'होटलको साहुजीसँग कसरी मिल्यो कुरा?'

...होटलका साहु कम्मरमा खुकुरी भिरेर भित्र छिरे। चारैतिर हेरेर सन्दुक हेर्न थाले। हामी सबै जना डरायौँ। त्यही बेला उनले खुकुरी झिकेर राखे। खुकुरी हाम्रो रिजवानले पो बोकेर बाहिर हिँड्यो। ती साहु त उल्टै तर्सिएर बाहिर निस्किए। रिजवान त खुकुरी देखाउँदै सेल्फी पो खिचिरहेको रहेछ!

त्यसपछि वातावरण अलि सहज भयो। अनि पैसाको कुरा मिल्यो।

'ई:' को कुरा सुनेर हाँसो रोक्न सकिन।

करीब १० बजे देउरालीमा अघिल्लो दिन छाडेको होटलमा निथ्रुक्क भिजेर आइपुगियो। ब्यागभित्रको लुगा पनि भिजेको थियो। शरीर काम्न थाल्यो। हतार हतार सिरकभित्र छिरेँ। जमाल र प्रकाश अझै होटलमा आइपुगेका थिएनन्। उनीहरु हिँड्न नसकेर होपलेस भइसकेका थिए। जमालले फोन गरेपछि होटलका साहु उनीहरुलाई लिन गए। सविन र आसिफ भाइले तरकारी पकाउने भए।

भोलिपल्ट बिहानै उठेर जमाल, प्रकाश, सागर र रिजवान काठमाडौं फर्किने भए। हामी ६ जना हेलम्बु र सेर्माथाङ हुँदै हेल्मोहरुको मुख्य देउता आमायाङ्री जाने भयौं।

साथीहरु काठमाडौं हिँडे, हामी हेलम्बुतिर। अघिल्लो दिन ३० किलोमिटर हिँडेकाले हामी होटलबाट ढिलो निस्कियौं। होटलका बिरुले आफ्नो परिवार वियोगको कथा सुनाए। गाउँकै एक जना केटासँग श्रीमती लागेको शंका गरेपछि उनीहरुको झगडा परेको रहेछ। उनी डिभोर्स गर्न तयार भएर बसेका रहेछन्। भन्दै थिए, 'चारवटा छोराछोरीको बिजोक हुने भयो।'

उनीसँग बिदा माग्ने बेला साथी ई: ले सोधे, 'दाइ यो पाँच पोखरी जाँदा मान्छे मरेका छन् कि छैनन्?'

उनले सामान्य पारामा भनेँ, 'धेरै मरेका छैनन्। पोहोर साउनमा मात्रै लेक लागेर दुई जना मरे।'

ई:ले फेरि सोधे - 'बुढाबुढी हो।'

'हैन अठार/ उन्नाइस वर्षका,' उनको जवाफ सुनेर झसङ्ग भइयो। हिउँ नपर्दा त मान्छे मर्दा रहेछन्। कस्तो मुर्ख भइएछ हो! एकपटक फेरि आफैलाई गाली गरेँ।

उनीसँग बिदा भएर हामी त्यहाँबाट बाटो लाग्यौं। त्यस दिन याङ्री खोलामा खाना खाइयो। त्यो मंगोलियन हर्ट ब्याण्डको गायक राजु लामाको गाउँ रहेछ। खोलाको किनारमा अत्यन्तै सुन्दर गाउँ। खाना खाएर हामी उकालो लाग्यौं। डाँडा पाखा उकालो ओरालो गर्दा गर्दै हामी बोलगाउँ पुग्दा झमक्क साँझ परेको थियो।

डाँडाबाट बस्ती हेर्दा जस्ताको छाना पुरै टल्कन्थ्यो। पुरानो किसिमको मौलिक घर एउटै थिएन। त्यतिमाथि डाँडामा पनि इट्टाको पक्की घर बनेका। माथि माथि लेकमा पनि म:म चाउमिन जस्ता खानाहरु पाइने। लोकल खाना भेट्न मुस्किल।

तोपे भाइले झुक्याएपछि...

बोलगाउँको एउटा पसलमा आश्रय बनायौं। होटल नभए पनि उनीहरुले हामीलाई बास दिने भए। त्यस रात त्यहीँ खाना खाइयो।

खाना खाएपछि आशिफले गाँजा बनाउन थाले। आशिफ हरेक दिन गाँजा तान्थे। त्यसलाई उनी तोप भन्दा रहेछन्। 'म नि एकदिन चाख्छु' भनेको थिएँ। तर, मौका मिलेको थिएन। खाएर बबाल गरिएला भन्ने डरले पनि आँट नआएको हो।

त्यस दिन 'म पनि तान्छु' भनेँ। सबैले एकएक सर्को ताने। मैले पनि। फेरि अर्को सर्को तानेपछि कोठामा आएँ। उता आशिफले बोलेको सुनियो— 'सागर दाइले तोप तान्न अस्तिदेखि रहर गरिरा'थ्यो। आज रहर पूरा गरिदिउँ त भनेर सुर्ती हालेर दिएँ।'

केटाहरुसँग गरेको कुरा मैले सुनिहालेँ। 'तेरीमा तोपे भाइ मलाई झुक्याउने?'

साथीहरु सब जना हाँस्न थाले।

त्यस रात त्यत्तिकै बित्यो। हामी भोलिपल्ट बिहानै चिया खाएर तार्केघ्याङका लागि हिँड्यौं। त्यहाँ दुईपटक पुगेका साथी ई:ले सुनाए, 'राजा वीरेन्द्रले मन पराएको ठाउँ हो तार्केघ्याङ।'

लाङटाङ राष्ट्रिय निकुञ्जको बाटो सेर्माथाङ हुँदै हामी दिउँसो तार्केघ्याङ पुग्यौं। गाउँ, ठाउँ र बाटो एकदमै रमणीय। तार्केघ्याङमा खाना खानासाथ आमा याङ्री जाने उकालो सुरु भयो। ३ हजार ७ सय मिटरको उकालो चढेर होटलमै फर्किँनु थियो, हामीलाई। दुई बजे हामी उकालो चढ्यौँ।

विभिन्न रङका लाली गुरास हेर्दै आमा याङ्री पुग्दा ६ बजिसकेको थियो। डाँडाबाट चारैतिर हिमालहरु देखिने। एकदम गजबको थियो आमा याङ्रीको सुन्दरता।

हामी डाँडाबाट केही थान तस्बिरहरु लिएर फर्किएका मात्र थियौँ, फेरि हावाहुरी सहित असिना पानी पर्न थाल्यो। बिजुली चम्किँदै चट्याङ पर्दा सात्तो जान्थ्यो। साथीहरु धेरैपटक लडे। करीब रातको ९ बजे होटल आइपुगियो। त्यो रात 'स्याक्पा' खाएर सुत्यौँ।

साहु साहुनीको ठट्टा...

भोलिपल्ट होटल याङ्री पिकका साहु साहुनी हामीसँग गफिन थाले। साथी ई: लाई साहुजीले जिस्काए— 'पहिला आउँदा सानो थियो, कालो टोपी लाएर आएको। अहिले कपाल पालेर इजरायली जस्तो भएर आएछ। अब अर्को पटक आउँदा लट्टा पालेर बमबम भोले भन्दै आउनु।'

साहुजीले अनेक कुरा गरेर हँसाए। अनि भने— 'इजरायलीले त खर्च गर्दैन धन्न तिमीहरुले त अलिअलि खायौं।'

उनका अनुसार विदेशी पर्यटकले भन्दा नेपाली पर्यटकले धेरै खर्च गर्ने रहेछन्। विदेशीहरु होटलको कोठा सित्तैमा मागेर तातोपानीमा चाउचाउ हालेर खाने गरेको सुनाए उनले।

भने, 'एउटा खैरैले खर्च गर्ला भनेर रुम फ्रिमा दिएको त लास्टमा तातोपानीमा चाउचाउ हालेर खायो। जम्मा ६० रुपैयाँमा बसेर गयो।'

साहुनी चाहिँ इजरायल बसेर आएकी रहिछिन्। साउजीलाई जिस्काउँदै भनिन्, 'कस्तो ठाउँमा बसेको थिएँ म। यो जंगलको बीचमा ल्याएर राखिदियो।'

साहु झन् के कम, जवाफ फर्काइहाले, 'मान्छेहरु यस्तो ठाउँ हेर्न पैसा तिरेर कहाँ कहाँदेखि आउँछन्। तिम्रो त भाग्य रै'छ।'

त्यहाबाट साथी सुरेन्द्र गोसाइकुण्ड जाने भए, एक्लै। हामी काठमाडौँ आउन ओरोलो झर्‍यौं। साथीहरु गफिँदै हिँड्दा हिँड्दै साँझ पर्न लाग्यो। त्यही बेला एउटा टिपर भेटियो। त्यसमै चढेर हामी तालमाराङसम्म आयौं।

तालमाराङमा ई: को साथी मोहिन उद्दिन स्कुलमा पढाउने रहेछन्। त्यस साँझ स्कुलमै बस्ने भयौं। साँझ एकछिन इन्द्रवतीको सुन्दरता हेर्दै बसियो।

होटलमा खाना खाएपछि हामीले मोहिनको कथा सुन्यौँ। मोहिन पुराना पत्रकार। हिमालयन टाइम्देखि रेकर्डसम्म काम गरेका रहेछन्। अहिले टिच फर नेपाल संस्थाबाट तालमाराङको स्कुलमा पढाउन पुगेका। उनले हरेक दिन गाउँको नयाँ नयाँ कुराको बारेमा भ्लग पनि बनाउँदा रहेछन्।

हामी भोलिपल्ट बिहानै काठमाडौं आउन तयार भयौँ। साथी ई: केही दिन त्यतै घुम्ने भए। १० जना हिँडेको टोली फर्कने बेला चार जना मात्र भएका थियौँ। तर, विप्लवको बन्दको हल्लाले गाडी चलेको थिएन।

बल्लतल्ल एउटा टिपर मिल्यो। कच्ची बाटो, धुलो उडाउँदै मेलम्ची ल्याएर छोड्यो। त्यसपछि अर्को टिपर। लगभग तीनवटा टिपर फेरेर धुलिखेल आइपुग्यौं। यात्रा सकशपूर्ण रहे पनि मनभरी बेग्लै आनन्द थियो। धुलिखेल आएपछि गाडी भेटियो।

'धन्न बचेर आइयो' भन्दै आमालाई भिडियो र फोटो देखाएँ। सबै हेरिसकेपछि आमाले भन्नुभयो— 'कत्ति न सगरमाथा नै चढेर आएजस्तो।'



ट्रेन्डिङ पोस्ट

Ncell