Nov 22, 2024 | ७ मंसिर २०८१

बाँच्‍ने आशामा निषेधको त्रास : विरामी र कुरुवा उत्रिए अस्पतालविरुद्ध, नर्सको बिजोग उस्तै

सागर बुढाथोकी/पहिलोपोस्ट

'बिरामीको ज्यान तलमाथि भयो भने अस्पताल खरानी हुन्छ, खरानी'

भिँडभित्रबाट एक जना आक्रोशित व्याक्तिको आवाज नटुङ्गिँदै त्यहीभित्रबाट अर्को आवाज सुनियो-

'हामी बिरामी मार्न बसेका होइनौं, बोल्न पाइन्छ भनेर जे पनि नबोल्नुस्। इमर्जेन्सीमा काम गरिरहेका छौँ, हामी रहरले धर्ना बसेका हैनौं।'

अर्कोतिरबाट अझै चर्को आवाज सुनियो, 'हाम्रो ज्यान ठूलो कि तपाईँहरुको माग?'

फेरि जवाफ आयो, 'यो कुरा अस्पतालको प्रशाशनमा गएर भन्नुस्। हाम्रो पीडा पनि बुझ्ने कोसिस गर्नुस्।'

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रको प्राङ्गणमा नर्सिङ कर्मचारी र बिरामीबीच भनाभन भइरहेको छ। बिरामीहरु सेवा नपाएको भन्दै आक्रोशित भएका छन् भने नर्सहरु वर्षौदेखि पीडित भएको भन्दै 'निर्णायक' आन्दोलनमा छन्। अस्पताल प्रशासन र नर्सहरुको झगडाको मारमा परेका बिरामीहरु भन्दैछन्, 'साँढेको जुधाइ बाच्छाको मिचाइ भयो। डायलासिस गर्न नपाए त मर्छौं हामी।'

***

अस्पतालको प्राङ्गणमा पुग्नेबित्तिकै नर्सहरु म्याट ओछ्याएर धर्ना बसेको देख्न सकिन्छ। उनीहरुको अगाडिपट्टि अस्पतालका सरसफाई कर्मचारीहरु पनि धर्नामै बसिरहेका छन्। धर्नास्थल अगाडिपट्टि सशस्त्र प्रहरीका जवानहरु हतियारसहित उभिएका छन्। सम्भावित झडप रोक्नका लागि हिजो रातिदेखि तैनाथ छन्, उनीहरु।

'प्रहरी दमन अन्त्य गर।'

'श्रम शोषण अन्त्य गर।'

'मासिक तलब समयमा उपलब्ध गर।'

'नातावाद कृपावाद अन्त्य गर।'

यो पनि पढ्नुहोस् : ८५ हजार 'रजिस्ट्रेड नर्स', तर ४८ हजार बेरोजगार: कुन चर्चित अस्पतालमा नर्सको तलब कति?

अस्पताल छिर्ने गेटका भित्ताहरुमा यस्तै किसिमका नाराहरु देखिन्छन्। डायलासिस गर्न अस्पताल आएका बिरामीहरु पूरै निराश देखिन्छन्।

अस्पतालको सातौँ वार्षिकोत्सवका दिन पारेर (हिजो बुधवार) आन्दोलन सुरु गरेका नर्सहरुले काम गरेका छैनन् भने सफाइ कर्मचारीहरु पनि धर्नामै छन्। अस्पतालका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठ आन्दोलनरत कर्मचारीहरुसँग सम्पर्कमा छैनन्। उनी बिरामीले खोज्दा पनि भेटिन्नन्। प्रशासन प्रमुख हरिहर पोखरेल पनि बेपत्ता छन्। अस्पतालमा भद्रगोल छ। बचाउन सक्ने बिरामीको ज्यान जुनसुकै बेला खतरामा पर्ने अवस्थामा पुगिसक्यो।

नर्सहरुले इमर्जेन्सी अवस्थामा डायलासिस गर्ने बताए पनि बिरामीहरु इमर्जेन्सी डायलासिस समेत नभएको दाबी गर्छन्। उनीहरु आक्रोशित हुँदै प्रश्न गर्छन्, 'डायलासिस सबैको इमर्जेन्सी नै हो। इमर्जेन्सी डायलासिस गर्ने जम्मा २ वटा मेसिन छ। इमर्जेन्सीमा आउने कति छन् कति। दुई वटा मेसिनले कति जनाको डायलासिस हुन्छ?'

सधैं भरिभराउ हुने अस्पतालको तीनवटै आइसियू चकमन्न छ। न त्यहाँ बिरामी छन्, न त नर्सहरु नै। दैनिक ८० देखि सय बिरामीलाई डाइलासिस सेवा दिने अस्पतालले अहिले डायलासिस गराउन सकेको छैन। त्यसको मारमा परेका छन् विरामी। यसरी नै आन्दोलन भइराख्ने हो भने हरेक दिन पीडितको सङ्ख्या मल्टिपल हिसाबले बढ्ने निश्चित छ।

चिकित्सकहरुले बिरामीको शारीरिक अवस्था हेरेर हप्तामा एकदेखि तीनपटक डायलासिस सिफारिस गरेका हुन्छन्। समयमा डायलासिस भएन भने छातीमा 'इन्फेक्सन' हुने तथा 'हर्ट अट्याक' भइ बिरामीको ज्यान तलमाथि हुनसम्मको खतरा हुन्छ। मृगौला रोगीहरुको लागि डायलासिस अत्यन्तै संवेदनशील उपचार विधी हो। तर, हिजो डायलासिस गर्नुपर्ने बिरामीहरुले आजसम्म डायलासिस गर्न पाएका छैनन्।

यो पनि पढ्नुहोस्: नर्सको व्यथा कसलाई के थाहा!

***

मानव अंग प्रत्यारोपण केन्द्रमा सरकारले डायलासिस निशुल्क गरेको छ। त्यहाँ डायलासिस गराउन स्थानीय सरकारले सिफारिस गरेको विपन्न वर्गको सिफारिसपत्र चाहिन्छ। आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सरकारले यो सहुलियत दिएको हो। डायलासिस गर्न कुरिरहेका चेतबहादुर योगी भन्छन्, 'आज नै डायलासिस नगरे ज्यान तलमाथि हुनसक्छ भन्ने थाहा छ तर यहाँ भद्रगोल छ। निजी अस्पताल गएर डायलासिस गर्न सक्दिनँ।'

चेतबहादुरले तीन वर्षदेखि निरन्तर डायलासिस गराइरहेका छन्। उनलाई हप्तामा तीन पटक डायलासिस गराउनु पर्ने चिकित्सकहरुले नै बताएका छन। तर, यसपटक उनले डायलासिस गराउन पाएका छैनन्। ज्यान तलमाथ हुने हो कि भन्ने डर छ। तै पनि केही गर्न सकेका छैनन्।

अस्पतालको प्रतीक्षालयमा मिठु पुर्कुटी निराश भएर बसिरहेकी छिन्। उनका साथमा छोरी बिमला पनि छिन्। बिमला मृगौलाको विरामी। सात वर्षदेखि रोगसँग जुध्दै आएकी उनलाई तीन वर्षदेखि नियमित डाइलासिस गराउनुपरेको छ। उनलाई हेपाटाइटिसले पनि च्यापेको छ। बोल्न सक्दिनन्। हिँड्डुल गर्न समस्या छ। आमाको सहाराबिना केही गर्न सक्दिनन्। आज उनको डायलासिस गराउने पालो तर डायलासिस युनिट पूरै बन्द।

निराश हुँदै आमा बिमलाले भनिन्, 'हामी गरीबहरु बर्बादै हुने रै'छौं। डायलासिस गराउने बल्लतल्ल पालो आउँछ। तै पनि यस्तो।'

अस्पतालको प्रशासन अघि एक हुल बिरामी र उनीहरुका आफन्त होहल्ला गरिरहेका छन्। प्रशासनका प्रमुख कर्मचारी त्यहाँ छैनन्। त्यहाँ भएका कर्मचारीलाई बिरामीहरु आक्रोशित हुँदै भन्दैछन्, 'ओपिडीको टिकट चाहिँ काट्ने अनि बिरामी चाहिँ नहेर्ने? हामी कहाँदेखि उपचार गर्न आएका छौँ, कति धेरै समस्या छ हामीलाई। अब रिपोर्ट नै नहेरेपछि हामी के गर्ने?'

तर, कर्मचारीहरु नाजवाफ।

त्यही हुलबाट एक जना मानिस आक्रोशित हुँदै भन्दैछन्, 'भर्खरै ट्रान्सप्लान्ट गरेको मान्छे हो। रिपोर्ट नै नहेरेपछि के हुन्छ हाम्रो? लापरवाहीको पनि हद हुन्छ नि।'

कराउने व्यक्ति रहेछन्, गोरखाका नरेन्द्र गुरुङ। असिनपसिन देखिएका थिए उनी। शारीरिक अवस्था कमजोर देखिन्थ्यो। उनका आफन्तले धेरै बोल्दा गाह्हो हुने भन्दै नबोल्न सुझाव दिइरहेका थिए।

उनले रिपोर्ट देखाउँदै भने, 'ट्रयाक लेभल एकदम हाइ छ। आज नदेखाए जे पनि हुनसक्छ।'

लामोलामो सास फेर्दै बोलिरहेका उनी बोल्दाबोल्दा टाउको समाएर थसक्क बसे। त्यसपछि भने बोल्न सकेनन्। दृश्य दर्दनाक लाग्थ्यो।

***

अस्पतालको प्रशासन छिर्ने गेटमै कार्डिथोरासिक भाक्कुलर युनिट (सिटिभिएस युनिट) छ। जसलाई चिकित्सकीय भाषामा 'मिनी आइसियु' भनिन्छ। भर्खरै अपरेशन गरेका बिरामीहरु सारिन्छ यहाँ। उक्त युनिटमा चिकित्सक तथा नर्सहरुको सक्रियता अनिवार्य जस्तै हुन्छ। तर, ओपिडी जस्तै सिटिभिएस युनिट पनि भद्रगोल छ। बिरामीहरु बेडमा लम्पसार छन्। तर छैनन्, नर्स तथा डाक्टरहरु।

त्यही युनिटमा भेटिएका मनोज सुनारले भने, 'बुबालाई आज बिहानबाट रगत चलाउने भनेको थियो तर अहिलेसम्म कोही आएका छैन। हनहनी ज्वरो आएको छ। डाक्टर नआएर हामी आफैँले सिटामोल ल्याएर खुवायौं। अब के हुने हो थाहा छैन।'

उनमा छटपटी धेरै देखिन्न। बेडमा लम्पसार परिरहेका आफन्तहरु हेरिरहेका उनीजस्तै अरु आफन्तहरु भन्दै थिए, 'यो अस्पतालले त मार्छ कि क्या हो? कोही हेर्न आउँदैन।'

***

नर्सहरुको धर्नास्थलमा एक महिला लामो सास फेर्दै भन्दै थिइन्, 'तपाईँहरु प्रशासनमा गएर भन्नुस्, भन्नुहुन्छ। प्रशासनमा गएर भन्यो, तपाईँहरुलाई भन्नुस् भन्छन्। हामी अब डायलासिस गर्न नपाएर मर्नु? अब यस्तो बिरामी मान्छे कताकता कुदुमँ?'

डायलासिस गराउन आएकी उनी एकदम कमजोर देखिन्थिन्। लामोलामो सास फेरिरहेकी उनको अनुहार असिनपसिन थियो। अरु बिरामीहरु उनको कुरालाई समर्थन जनाउँदै बीचबीचमै बोलिरहेका थिए।

धर्नामा बसेका नर्सहरु नाजवाफ भए। ती महिला बोल्दै गइन्, 'तपाईँहरुको माग जायज/ नाजायज म जान्दिन। जायज हो भने पूरा हुनुपर्छ। कहाँ गएर भन्नुपर्ने हो म भन्छु तर कृपया हामीलाई बिचल्ली नपार्नुस्। डायलासिस गराइदिनुस्।'

ती महिलाको कुरा सुनेर धर्नामा बसेका नर्सहरुले ताली बजाए। सबै बिरामीबाट गाली खाइरहेका उनीहरु ती महिलाको कुराले खुशी भए। दुईजना नर्सले उनलाई डोहोर्‍याएर इमर्जेन्सी डाइलासिस युनिटतिर लिएर गए।

यता, अरु बिरामीहरुसँग नर्सहरुको भनाभन चलिरह्यो।

यो पनि पढ्नुहोस् : नर्सको तलब पाँच हजार! श्रमशोषण बन्द गर भन्दै यसरी आन्दोलनमा उत्रिए

***

मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरुको यो पहिलो पटकको आन्दोलन होइन। यसअघि उनीहरुले एउटै माग लिएर पटकपटक आन्दोलन गरेका छन्। अस्पताल प्रशासनसँग छलफल गरेका छन्। तर, कागजी सम्झौता भए पनि कार्यान्वयन नभएको नेपाल नर्सिङ संघ इकाई भक्तपुरका नर्सहरु बताउँछन्।

चार महिनाअघि उनीहरुले अस्पतालमा तालाबन्दी नै गरे। लगत्तै प्रशासनले माग पूरा गर्ने सम्झौता गर्‍यो। तर, नतिजा शून्य। त्यसैले यसपटक उनीहरु निर्णायक आन्दोलनम जुटेका हुन्। भन्छन्, 'माग पूरा नगरेसम्म हामी यसरी नै धर्ना बस्छौँ बरु जागिर जाओस्।'

उचित र समयमै पारिश्रमिक नपाएको उनीहरुको आरोप छ। अस्पतालका निर्देशक पुकार चन्दले माग पूरा गर्ने लिखित सम्झौता कार्यन्वयन नगरेको दावीसमेत उनीहरुले गरे। सात वर्षदेखि काम गर्दा पनि सेवा सुविधा नबढेको गुनासो उनीहरुको छ। कुनै भत्ताबिना जोखिमपूर्ण काम गर्न बाध्य पारिएको उनीहरुको भनाइ छ।

'अस्पतालको डाइरेक्टर पनि उहाँ नै अस्पताल विकास समितिको सचिव पनि उहाँ नै। आफै धामी आफै बोक्सी भएपछि कहाँबाट पूरा हुन्छ हाम्रो माग?,' उनीहरुको प्रश्न छ, 'कुनै पनि उपाय नलागेपछि हामी धर्ना बस्न बाध्य भएका हौँ। हामी खुशी भए पो बिरामीहरुलाई सेवा दिन सक्छौं त। हामी इमर्जेन्सी सेवा दिन तयार छौँ तर अरु सक्दैनौं।'

दुई वर्षअघि प्रत्यारोपण केन्द्रबाट नर्स त्रजिना जति बिनाकारण निकालिएपछि नर्सहरुले आन्दोलन गरेका थिए। माइतीघर मण्डलामा आएर आन्दोलन गरेपछि उनीहरुसँग अस्पतालले सम्झौता समेत गरेको थियो। त्यही सम्झौता अहिलेसम्म पूर नगरेपछि उनीहरु आन्दोलन जुटेका हुन्। उनीहरुको एउटै आशय छ, 'आफू मरेर अरुलाई बचाउनु गाह्रो हुने रहेछ। आफू पीडित भए पनि इमर्जेन्सी अवस्थाका बिरामीलाई सेवा दिन तयार नै छौं।'

यो पनि पढ्नुहोस् : छोरीको आन्दोलन, सहभागी आमा : किन रोइन् मायादेवी?



ट्रेन्डिङ पोस्ट

Ncell