PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

सिंहदरबारमा जोखिम मोल्दै पुनर्निर्माण प्राधिकरणकै कर्मचारी

सिंहदरबारमा जोखिम मोल्दै पुनर्निर्माण प्राधिकरणकै कर्मचारी

स्वेच्छा राउत/पहिलोपोस्ट


काठमाडौं : २०७२ को भूकम्पपछि, सिंहदरबारलाई असुरक्षित भन्दै इन्जिनियरहरुले रातो स्टिकर लगाए। त्यहीँ रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आफ्नो ठाउँ छोड्यो। नजिकै बनेको नयाँ भवन प्रधानमन्त्री कार्यालय बन्यो। जोखिममा रहेको पुरानो भवनमा कुनै कर्मचारी फर्कन मानेनन्।

बरु पुनर्निर्माणको जिम्मा लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोही जिर्ण भवनमा अड्डा बनायो, जोखिमकै बीच।

त्यही भवनको पहिलो तला। भित्र छिर्नासाथ देखिन्छ, रातो बोर्ड। जसमा सेतो अक्षरले लेखिएको छ - ‘यहाँ भइरहेको कामका कारण हुने असुविधाका लागि क्षमाप्रार्थी छौं।’

बोर्डमा लेखेको कामले पुनर्निर्माण र प्रवलीकरणको काम जनाउँछ। भवनको पहिलो तल्लादेखि रेट्रो फिटिङ गरिएको छ। भित्ताहरुमा रड प्रष्ट देखिन्छ। तारहरु असरल्ल। ठाउँठाउँका सिलिङमा प्वाल देखिन्छ।

‘खतरा’को संकेत अंकित बोर्डहरुमा हेलमेट, चहकिलो लुगा अनिवार्य लेखिएको छ। दृश्यमा उक्त नियम मर्मतमा संलग्न कामदारका लागि मात्र हो जस्तो लाग्छ। किनकि प्राधिकरणका कर्मचारी हेलमेट र चहकिलो लुगा नलगाइ नै ओहोर दोहोर गरिरहेको भेटिन्छन्।

फलामे रड र तारहरु जडित भित्ताबीच केही ढोकामा पर्दा र 'नेम बोर्ड' देखिन्छ। यहाँ पुनर्निर्माण प्राधिकरणका सिइओ, सचिवको कार्यालयदेखि अन्य प्रमुख महाशाखाहरु छ।

गत जेठदेखि बल्ल उक्त भवनको पुनर्निर्माण सुरु भयो। तर काम भइरहँदा पनि कार्यालय हटाइएन। बरु दैनिक मर्मत सम्भारको कामबीच प्राधिकरणको काम पनि भयो।

२०७६ वैसाख ११ गते। बिहानै दुईपटक जमिन हल्लियो। धेरैले चार वर्षअघि गएको विनाशकारी भूकम्प सम्झिए। धेरैले त्रसित भएको जनाउँदै सामाजिक सञ्जालमा लेखे।

‘भूकम्प जाँदा सुरुमा त अफिस पो सम्झिएँ। सानो फलाम वा केही सामान खसेर चोट लाग्यो भने?’, प्राधिकरणमै कार्यरत एक कर्मचारीले सुनाए, 'तर फेरि त्यत्रो परकम्प जाँदा पनि त्यहीँ बसेको सम्झिएँ। चित्त बुझाउने बाटो न हो।’

यस्तै अनुभव सुनाउँछिन् एक अर्का कर्मचारी। कार्यालय समयमा सुनिने अस्वभाविक आवाज र हल्लाले पनि यहाँको वातावरण प्रभावित पारेको उनको कथन छ। भन्छिन्, 'खतरा! लेखेको बोर्डकै छेउमा दिनभर बस्नुपर्दा कसलाई डर नलाग्ला?’

यही भवनमा रहेको आपूर्ति मन्त्रालय भने हाल उद्योग वाणिज्यसँग 'मर्ज' भएपछि सारिएको छ।

प्राधिकरणका उप सचिव मनोहर घिमिरे भने गैर जिम्मेवारीपूर्वक जवाफ दिन्छन्, 'काम भइरहँदा डिस्टर्ब हुनु स्वभाविक हो। हाम्रो कर्मचारीलाई यस्तैमा काम गर्ने बानी लागेको छ।’

उनले गृह मन्त्रालयको छेउमा नयाँ ‘प्रिफ्याब’ भवन बन्दै गरेको र चाँडै सो भवनमा कार्यालय सार्ने जानकारी दिए।

दुई वर्षमा सक्काउने उद्देश्यले सुरु भएको सिंहदरबार प्रवलीकरणको ११ महिना बितेको छ। शर्मा न्यू टेक्निकल जेभीले मर्मत सम्भारको ठेक्का पाएर काम गरिरहेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell