PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

आर्मीलाई हराउँदै एपीएफ च्याम्पियन

आर्मीलाई हराउँदै एपीएफ च्याम्पियन

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौँ : शसस्त्र प्रहरी बलको एपीएफ घरेलु महिला भलिबलको नम्वर वान टिम हो। अनी त्रिभुवन आर्मी महिला भलिबलको कान्छो विभागीय टिम हो।

त्यही आर्मीलाई उसैको घरेलु कोर्टमा पराजित गर्दै एपीएफले पाँचौ केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ।

मंगलवार लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको फाइनलमा एपीएफले आर्मीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन एपीएफले नगद २ लाख र च्याम्पियन ट्रफी हात पार्‍यो। यस्तै उपविजेता आर्मीले १ लाख र तेस्रो भएको न्यू डायमण्डले ५० हजार पुरस्कार प्राप्त गरे।

मंगलवारै तेस्रो स्थानको लागि भएको खेलमा डायमण्डले नेपाल पुलिसलाई २५-२२, २५-१८, २५-२२ ले पराजित गर्‍यो।

समूह चरणमा आर्मीले एपीएफलाई कडा चुनौती दिँदा प्रतिस्पर्धात्मक खेल एपीएफले ३-२ ले जितेको थियो।

फाइनलमा भने आर्मीले एपीएफलाई कुनै चुनौती दिन सकेन। खेल एपीएफले २५-१४, २५-९, २५-१५ ले सहजै जित्यो।

'यो कोर्टमा पहिलो खेल खेलेको भएर समूह चरणमा हामीलाई अली गाह्रो भएको थियो। बाहिर खेलिरहेको हामीलाई यस्तो कोर्टमा खेल्ने अनुभव कम थियो। तर फाइनलमा हामी सोझो सेटमै हराउँछौँ भनेर खेलेका थियौँ त्यसमा सफल भयौँ।' उपाधि जितेपछि एपीएफकी प्रशिक्षक विनिता बुढाथोकीले भनिन्।

उनले पहिलो पटक फरक टोलीसँग फाइनल खेल्दा केही भिन्न अनुभव भएको समेत बताइन्।

उता आर्मीको महिला टिमलाई पहिलो पटक फाइनल पुर्‍याएका प्रशिक्षक कपिल किशोर श्रेष्ठले फाइनल खेल्नु नै ठूलो सफलता भएको बताए।

'हाम्रो लागि यो नै ठूलो सफलता हो। १६ महिनाम हामीले यो स्थान हात पारेका छौँ। तर फाइनल खेल्ने अझै बेला नभएको जस्तो लाग्यो।' श्रेष्ठले भने।

'पहिलो पटक फाइनल पुग्दा खेलाडीहरु अली उत्साहित भएका थिए। तर फाइनलमा सुरुवातदेखि नै केही नर्भस हुँदा हामीले नेगेटिभ अंक बढि दियौँ। हाम्रो अट्याकले राम्रो गर्न सकेन।'

उनले टिममा नयाँ खेलाडीको आगमन नहुँदा सँधै एक सेटकै खेलाडीले खेल्नुपरेको बताए। महिला भलिबलमा नयाँ खेलाडी पाउन गाह्रो भएको उनको भनाई छ।

 

सरस्वती सर्वोत्कृष्ट, निरुतालाई स्पेशल अवार्ड

च्याम्पियन एपीएफकी स्पाइकर सरस्वती चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले नगद १५ हजार ट्रफी प्राप्त गरिन्।

यसैगरी आयोजकको तर्फबाट प्रदान गरिने शेरबहादुर खड्का स्पेशियल अवार्ड आर्मीकी निरुता ठगुन्नाले हात पारिन्। आर्मीलाई उपविजेता सम्म बनाउन उनले उत्कृष्ट प्रदर्न गरेकी थिइन्।

निरुताले पनि नगद १५ हजार र ट्रफी हात पारिन्।

यस्तै विधागत अवार्डमा पनि एपीएफकै वर्चस्व रह्यो। एपीएफले ७ मध्ये ४ अवार्ड जित्यो। एपीएफकी कप्तान विनिता बुढाथोकी बेस्ट लिफ्टर, हिरा केसी बेस्ट ब्लकर र मनिता तामाङ बेस्ट डिफेन्स घोषित भए। बेस्ट प्रशिक्षक पनि एपीएफकै पुष्प मल्ल घोषित भए।

आर्मीकी सुनिता खड्का बेस्ट क्वीकर र सोफिया पुन बेस्ट सर्भ चुनिए। तेस्रो भएको न्यु डायमण्डकी प्रतिभा मालीले बेस्ट स्पाइकरको अवार्ड पाइन्।

 

सर्वोत्कृष्ट खेलाडी : सरस्वती चौधरी
स्पेशल अवार्ड पाएकी आर्मीकी निरुता ठगुन्ना
दोस्रो भएको आर्मी
तेस्रो भएको न्यू डायमण्ड
बेस्ट लिफ्टर एपीएफकी कप्तान विनिता बुढाथोकी


ट्रेन्डिङ पोस्ट

Ncell