PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विष्णु पौडेलको बचाउमा प्रधानमन्त्री ओली : बालुवाटारको जग्गा राजाको शासनका बेला किनेको हो, हडपेको होइन



विष्णु पौडेलको बचाउमा प्रधानमन्त्री ओली : बालुवाटारको जग्गा राजाको शासनका बेला किनेको हो, हडपेको होइन
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको जग्गालाई लिएर सिंगो पार्टी विरुद्ध भ्रम फैलाउने काम भएको बताएका छन्। 

मंगलबार संघीय संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दे नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले धेरैले किनबेच गरिसकेपछि किनेका महासचिव विष्णु पौडेलले बालुवाटारको जग्गा नहडपेको दाबी गरे। 

प्रधानामन्त्री ओलीले बालुवाटारको जग्गा किन्नका लागि महासचिव पौडेलले पदीय दुरुपयोग नगरेको भन्दै बचाउ गरे। ओलीले भने, '२०६१ सालमा राजाको शासनका बेला, सरकारको बेला होइन, जमिन किन्नुभएको रहेछ। धेरैले किनबेच गरिसकेपछि थाहा नपाएर अरुले गरेको किनबेच त्यो हडपेको होइन। त्यस सम्बन्धमा अहिले मैले केही भनिहाल्नु आवश्यक छैन।'

ओलीले सरकारी सम्पत्ति जुसुकैले हडपेको भएपनि सरकारले त्यो फिर्ता गर्ने प्रतिवद्धता जाहेर गरे। बालुवाटारको जग्गा सरकारी पर्छ कि पर्दैन भन्ने समयक्रमले देखाउने भन्दै ओलीले सरकारले हडप भएका सबै सार्वजनिक जग्गा फिर्ता ल्याउने दाबी गरे। प्रम ओलीले भने 'ललिता निवासको बेचिएको भनिएको जग्गाको तथ्य हाम्रो सरकारले बाहिर ल्याएको हो। अहिले सरकारविरुद्ध उल्टै प्रतिपक्षीहरु बोलिरहेका छन्। सरकारी सम्पत्ति जहाँसुकै जोसुकैले हडप गरेको होस्। त्यो जमिन दृढतापूर्वक, कडाईका साथ फिर्ता ल्याईने छ। र फिर्ता ल्याउँदा कसलाई मर्का पर्छ हेरिने छैन।'

प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्ध सरकार अझै कडा रुपले प्रस्तुत हुने बताए। ओलीले वाईडबडी प्रकरणलगायत भ्रष्टाचारका काण्डहरुको सरकारले छानविन गर्ने र दोषीलाई अनुहार नहेरी कारवाही गर्ने बताए। सरकारी र सार्वजनिक जग्गा हडप्न नदिने अभियानमा लागेको सरकारले खुला मञ्चको टहरा भत्काएको दाबी गरे। भने, “भृकुटीमण्डप हामीले बेचेको हो? रत्नपार्कमा हामीले टहरा ठड्याएको हो? हामीले त्यहाँका टहरा भत्काएका छौ। सरकारी जमिन फिर्ता पनि ल्याएका छौ।”


प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा तथा अमनचैनमा खलल पर्ने गरी बम पड्काउने तथा आतंक फैलाउने कुनै पनि काम हुन नदिने भन्दै घुमाउरो शैलीमा नेत्र विक्रम चन्द विप्लब समूहमाथि लगाएको प्रतिबन्ध फिर्ता नहुने संकेत गरे।

उनले सरकार गठनको एक बर्षमा विकास र सम्मृद्धिका लागि आधार तय गरिसकेकाले मुलुक अब सम्मृद्धिको बाटोमा अघि बढ्ने बताए।

विगतको सरकारको समयमा भन्दा आफ्नो नेतृत्वको सरकारको समयमा मुलुकमा शान्ति सुरुक्षाको अवस्था मजबुत भएको दाबी पनि गरे। प्रधानमन्त्री ओलीले अधिकारकर्मीहरुले निर्मला पन्तका परिवारलाई अनावश्यक दबाब दिने काम गरेको टिप्पणी गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell