- सञ्जिया श्रेष्ठ -
पुराना दिनहरु सम्झिँदा 'नोस्टाल्जिक' हुन्छु। ती दिनको सम्झनाले मनमा अर्कै आनन्द आउँछ। उत्साहित हुन्छु। मन उडेर कहाँकहाँ पुग्छ। तर, 'फ्लासब्याक' त 'फ्लासब्याक' नै हो। जब वर्तमानमा हुन्छु नि, आफु 'ब्लाइण्ड' भन्ने थाहा हुन्छ।
सञ्जिया श्रेष्ठ - मेरो नाम। नेपालको पहिलो ब्लाइण्ड मोडलमध्ये म पनि एक। यही मेरो परिचय। ब्लाइण्डहरुले पहिलो पटक र्यम्पमा वाक गरेका थिए। म पनि छानिएँ। अनि बेस्ट क्याप्सनको अवार्ड जितेँ।
सानैदेखि एकदमै धेरै टिभी हेर्थँ। टिभी नजिकै बसेर नहेरी चित्तै बुझ्दैनथ्यो। टिभी हेर्दा सानैदेखि क्यामेराको एंगलहरुमा ध्यान दिन्थेँ। कसरी खिचेको छ भन्नेमा चासो हुन्थ्यो। अरु टिभीको कार्यक्रम हेरेर रमाउँथे तर म भने कसरी खिचेको होला भनेर दिमाग खियाउँथेँ।
म सानोमा नाच्थेँ। गाउँथे। खेल्थेँ। टिभी हेर्दै विभिन्न क्राउन बनाएर लगाउँथे। अरुको नक्कल गर्न सक्थेँ। खाना पकाउन सक्थेँ। मामाघरको ठूली ममीको छोरी खेल्ने साथी थिइ।
कक्षा तीन पढेपछि थाह भयो - म त ब्लाइन्ड रहेछु। ब्लाइण्ड भएको थाहा भएपछि ल्याबरोटरी स्कुल कीर्तिपुर भर्ना भएँ। ब्लाइण्ड भनेको पूरै अँध्यारो हो। केही देखिन्न भन्ने लाग्थ्यो। तर, मैले गलत बुझेको रहेछु। ब्लाइण्डले पनि घामछाया छुट्याउन सक्दो रहेछन्। मान्छेको आकृति ठम्याउन सक्दो रहेछन्।
+++
सुरुमा त ब्लाइण्ड साथीहरुसँग घुलमिल हुन सकिनँ। नदेखे पनि नर्मल साथीहरुसँग नै रमाइलो हुन्थ्यो। म्यामहरु सधैँ ममीलाई कम्प्लेन गर्थे - 'सञ्जिया पढ्नमा राम्रो छ तर साथीहरुसँग घुलमिल हुँदिन। ब्रेल सिक्दै सिक्दिनँ।'
मैले सुरुमा ब्रेल लिपी सिक्नै सकिनँ। अहिले लेख्न सक्छु तर छामेर पढ्न सक्दिनँ। अहिले सुनेर पढ्ने गरेको छु। ममीले किताब पढेर सुनाउनुहुन्छ। त्यही सम्झेर याद गर्छु। क्लासमा सरहरुले पढाएको रेकर्ड गर्छु। त्यसरी नै पढ्दै आएको छु।
कक्षा ९ मा म्युजिक पढ्नुपर्ने भयो। म्युजिक टिचर ब्लाइण्ड हुनुहुन्थ्यो। त्यसपछि बल्लबल्ल ब्लाइण्डहरु सँग घुलमिल हुन सकेँ।
यसरी नै मैले एसएलसी दिए। पढाई राम्रै थियो। साथीहरुसँग खेल्थेँ। पढ्थेँ। पढ्न त्यतिबेला एकदम गाह्रो भयो। म धेरै रोएको छु त्यो बेला। पढ्न मन भए पनि आँखाकै कारण गाह्रो हुन्थ्यो। अरुको सहरा चाहिन्थ्यो। धेरै दु:खी भएँ त्यो बेला। तर, जति 'नेगेटिभ फिलिङ्स' आए पनि आफूलाई कन्ट्रोल गरेँ।
एसएलसीपछि एङ्करिङ सिकेँ। कम्युटर सिकेँ। कम्प्युटर सिकेपछि पढ्न सजिलो भयो। प्लस टू नेसनल इन्टिग्रेटेड कलेजमा पढेँ। त्यता पनि अफ्ठ्यारो महसुस भएन।
***
मेरो ममी बिना श्रेष्ठ फूटबलका अन्तर्राष्ट्रिय खेलाडी। अहिले फिफाको असिस्टेन्ट र एएफसीको इलिट रेफ्री। ममी जति नै व्यस्त भए पनि मेरा लागि समय दिनुहुन्थ्यो। 'मेरो छोरी कोहीभन्दा कम छैन' भन्ने आत्मविश्वास थियो उहाँमा। त्यो आत्मविश्वासको प्रभाव ममा पर्यो। म निराश भए पनि उहाँकै कारणले आफू कमजोर छु भन्ने फिल हुन दिनु भएन।
ममीले जहाँ गए पनि मलाई लिएर जानुहन्थ्यो। त्यसैले पनि 'ब्लाइण्ड' भन्दा अरुसँग घुलमिल भएँ। रंगशालामा ट्रेनिङ गर्न जाँदा पनि लैजानु हुन्थ्यो। म ममीको साथीहरुसँग गफ गरेर बस्थेँ।
उहाँले सधै राम्रो लुगा लगाएर चिटिक्क पारिदिनु हुन्थ्यो। मेकअप गरिदिनु हुन्थ्यो। म जहाँ जाँदा पनि टिपटप भएर जान्थेँ। यही कारण पनि हुनुपर्छ मान्छेहरुले झट्ट हेर्दा मलाई ब्लाइण्ड जस्तो देखिन्न भन्छन्।
यसरी नै दिनहरु बितिरहेको थियो। म कलेज पढ्दै थिएँ। त्यही बेला 'ब्लाइण्ड रक्स'की सृष्टि केसी दिदीलाई भेटेँ। भृकुटीमण्डपमा उहाँसँग भेट भएको थियो। सृष्टि दिदीले 'संस्थामा बस्न कत्तिको इन्ट्रेस्ट छ?' भनेर सोध्नुभयो। मैलै अलिअलि छ भने। ब्लाइण्ड रक्स संस्था नाच्ने गाउने फेसनसँग सम्बन्धित रहेछ। मेरो बच्चा छँदा मनमा भएको 'प्यासन' उहाँसँग भेटेपछि बाहिर आयो।
उहासँग भेटेपछि अवसरहरु आउन थाले। के गर्न सकिन्छ भनेर छलफल हुन्थ्यो। हामी ब्लाइण्डहरु मिलेर केही गर्न चाहन्थ्यौं। शुरुमा उहाँले हामीहरुलाई मेक अप आफैँ गर्न सिकाउनुभयो। कपाल बनाउने तरिका सिकाउनुभयो। ड्रेस सेन्सहरु सिकाउनुभयो। तर, ती सबै कुराहरु म आफैमा रहेछ। ममीले मलाई सबै कुराहरु सिकाउनु भएको थियो। त्यही भएर यस्ता कुराहरु सिक्न गाह्रो भएन।
+++
त्यसपछि सृष्टि दिदीले हामीलाई डान्स गर्ने योजना सुनाउनुभयो। ब्लाइण्डहरुले आवाज सुनेर कसरी डान्स गर्छन् भन्ने 'कन्सेप्ट' थियो। १५ दिन वर्कसप भयो। त्यतिबेला हामीले कप डान्स सिक्यौँ। पार्टी डान्स सिक्यौँ। म्युजिक सुनेर कसरी 'फ्रि स्टाइल'मा डान्स गर्ने भन्ने वर्कसप थियो त्यो।
आँखा नदेख्नेहरुलाई डान्स गर्न चुनौती नै हुन्छ किनकि, हामी अरुको हेरेर नक्कल गर्न सक्दैनौं। एक्स्प्रेसन दिन आवाजमा डुब्नुपर्छ।
त्यहाँ हामीले आवाजको माध्यमबाट जुनसुकै गीतमा कसरी डान्स गर्ने भन्ने सिकेका थियौँ। हामी आफैले कोरियोग्राफी गर्यौं। ह्वाइट केनलाई प्रयोग गरेर डान्स गर्न पनि सिक्यौं। त्यसपछि हामीले पद्मकन्या क्याम्पसमा कार्यक्रम गर्यौं। त्यो कार्यक्रमबाट हामीमा आत्मविश्वास बढ्दै गयो।
त्यसपछि सृष्टि दिदीले भन्नुभयो— 'ब्लाइण्ड रक्सले ब्युटी प्याजेन्ट गर्दैछ। तिमी पनि भाग लिनु।'
त्यो नेपालको फस्ट ब्लाइण्ड ब्युटी प्याजेन्ट थियो। प्याजेण्टको नाम—ब्लाइण्ड रक्स मिस्टर एण्ड मिस फेसन आइकन। फोटो खिचेर पठाउनु पर्थ्यो। ममी भुटान जानु पर्ने भएकाले फोटो सुट गर्न हामीसँग धेरै समय थिएन। अनि हतारमा आफ्नै ड्रेस, अर्नामेन्ट्स लगाएर फोटो सुट गरियो।
फोटो सुट गराएपछि क्याम्प्सन लेख्नुपर्ने थियो।
'ह्वाइट केन डिनोट्स आइ क्यान्ट सि बट माइ हर्ट टेल्स मि आइ एम एज अ ब्युटिफुल एज अ बार्बी'— फोटोको क्याप्सन यस्तै लेखेको थिए।
फाइनलको दिन कार्यक्रममा गएँ। सुरुमै बेस्ट क्याप्सनको टाइटल घोषणा थियो। उद्घोषकले विजेताको नाम अनुमान गर्न लगाए। सबैले अरुको नाम लिए। मेरो नाम लिने एक जना मेरो साथीमात्र। किन नाम लिएको होला जस्तो लागेको थियो। उद्घोषकले मेरो नाम घोषणा गरे।
म त खुशीले उफ्रिएँ। धेरै उत्साहित भएँ। त्यो फोटोले बेस्ट क्याप्सनको टाइटल जित्ला भनेर मैलै कल्पना गरेको थिइन।
त्यसपछि ब्लाइण्ड रक्सले र्याम्प वाक आयोजना गर्यो। हामी टाइटल जितेकाहरु ५ जना सोझै सेलेक्ट भयौं। ५ दिन हामीलाई मिस नेपाल निकिता चन्दकले र्याम्पमा हिँड्न सिकाउनुभयो। र्याम्पमा हिँड्नु चुनौती नै थियो। तर, निकिता म्यामले शब्दहरु यस्तो वर्णन गर्नुहुन्थ्यो कि दिमागमा आफै पिक्चर आउँथ्यो। हाम्रो खुट्टा समाएर मज्जाले हिँड्न सिकाउनु भयो।
'ड्रिम इट पोसिबल' भन्ने गीतमा हामीले वाक गरेका थियौं।
+++
मेकअप ट्रेनिङको जर्नीदेखि यहाँसम्म आइपुग्दा मोडलिङ गर्न सक्छु भन्ने आत्मविश्वास आएको छ। मेरो प्यासन पनि यस्तै फिल्डमा थियो। अब फेरि डान्स वर्कसप र ड्रामा वर्कसप हुँदैछ। त्यहाँ पनि म भाग लिन्छु। बच्चा हुँदा देखेको सपनाले बिस्तारै आकार लिँदै छ।
मलाई मनमा सधैँ लागिरहन्छ - हामी सधैँ ब्लाइण्ड ब्लाण्डमात्रै किन डान्स गर्ने? किन ब्लाइण्ड र देख्नेहरुको जोडी बनेर डान्स नगर्ने?
यो सपना पनि पूरा हुन्छ कुनै दिन।
मलाई मानिसहरुले कैहिले काहीँ दिक्क लगाउँछन्। एकजना फेसबुक फ्रेण्डले पटक पटक सोधेँ— 'ह्वाइट केन बोकेको फोटो छ त। आर यू ब्लाइण्ड? यु आर नट लुक्स लाइक ब्लाइण्ड।'
एकपटक सोधेको भए नराम्रो लाग्दैनथ्यो। उनले पटक पटक एउटै कुरा दोहोर्याए।
मलाई यसरी कसैले सोध्दैनथ्यो।
उनी भन्थे— 'म डाक्टर हो। प्लिज भिडियो कल एसेप्ट गर। आइ वान्ट सी योर आइज।'
उनले त्यस्तो भन्दा मलाई अचम्म लाग्यो। उनी साँच्चिकै डाक्टर भएको भए मेडिकल रिपोर्ट माग्थे होलान्। अरु क्लिनिकल कुराहरु सोध्थेँ होलान्। तर, उनले सिधै भिडियो कल 'एसेप्ट' गर्नु भने। मैले उनलाई थर्काइदिएँ र ब्लक गरिदिएँ।
मलाई सुन्दरता भनेको नजरीया हो जस्तो लाग्छ। हामी ब्लाइण्डहरुको अरुभन्दा नन भर्बल बिह्याभियर फरक हुन्छ। हामी कसैलै बोलाउँदा कान नजिक लैजान्छौं। अरु भन्दा यसरी नै फरक हो हामी। त्यही भएर अरुले हामीलाई राम्री छैन भन्छन्।
मेरो दैनिकी सामान्य छ। घरमा धेरै काम गर्नु पर्दैन। कलेज भएको बेला कलेज जान्छु। नभएको बेला यत्तिकै बस्छु। राम्रोसँग खाना पकाउन सक्छु।
+++
बच्चाहरु 'इनोसेन्ट' हुँदाहुँदै हामीभन्दा ज्ञानी छन्। मैले बच्चाहरुबाट धेरै कुरा सिकेको छु। मलाई मिलीजुली भन्ने संस्थामा काम गर्दा एकजना म्यामले भन्नुभयो - 'सञ्जिया तिमी देख्दिनौँ थाहा छ। तिमीले सुरुमा आफ्नो समस्या बच्चाहरुसँग लुकाउनु हुन्न। बच्चाहरुलाई आफ्नो समस्या सुनाउँ अनि थाहा हुन्छ तिमीलाई बच्चाहरु कति ज्ञानी हुन्छन् भन्ने कुरा।'
मैले बच्चाहरुलाई आफ्नो समस्या सुनाएँ।
त्यसपछि थाहा भयो हामीले आफ्नो समस्या कहिल्यै लुकाउनुहुन्न। हामी बुझेर बुझ पचाउँछौँ। बुझ्नै चाहन्नौं तर बच्चाहरु धेरै कुरा नभनी बुझ्छन्।
म सोसल वर्कको विद्यार्थी भएकाले फिल्ड वर्क धेरै जान्छु। बच्चाहरुसँग काम गर्दा रमाइलो लाग्छ। बच्चाहरु कहिल्लै 'सुपर कन्सियस' हुन्नन्। उनीहरुले हामीलाई धेरै कुरा सिकाइरहेका हुन्छन्। कत्ति मज्जाले सोध्छन्,— 'म्याम तपाईँ देख्न सक्नुहुन्न हो?'
उनीहरुले 'डाइरेक्सन' दिने तरिका पनि अरु भन्दा फरक हुन्छ। 'एक स्टेप राइट, एक स्टेप लेफ्ट' हिँड्नु भन्छन्। त्यस्तै एक स्टेप अगाडि बढेर दायाँ/बायाँ जानु भनेर सिकाउँछन्। तर, अरुले 'डाइरेक्सन' दिँदा अलिकति अगाडि, पछाडि र दायाँ, बायाँ भन्छन्। हामीलाई कसरी थाहा हुन्छ अलिकति भनेको?
+++
मैलै अहिले आफ्नो संस्था पनि खोलेको छु। 'परिवर्तनको लागि सञ्जाल'। यसबाट आफू जस्तै मानिसहरुका लागि काम गर्छु। म यो ठाउँसम्म आइपुग्न म पढेको सेन्ट जेभियर्स कलेजले धेरै सहयोग गरेको छ। सुरुमा कुनै कलेजले भर्ना नलिँदा सेन्ट जेभियर्सले मलाई भर्ना गरेको थियो। मलाई कलेजका सबै जनाले 'वेलकम' गरेका थिए।
मैले सुरुमै सबैलाई आफ्नो समस्या सुनाएँ। शिक्षकहरुले राम्रोसँग बुझाएर पढाउनुभयो। मलाई कहिल्यै अफ्ठ्यारो फिल भएन। मैलै अहिले एउटा डकुमेण्ट्रीको निर्देशन पनि गरेको छु। त्यो काम गर्न पनि कलेजबाट सहयोग मिल्यो। यस्ता सानासाना सहयोगबाट नै आत्मविश्वास आउने रहेछ। काम गर्न प्रेरणा मिल्ने रहेछ।
हामीलाई परीक्षा दिने बेला 'राइटर' राख्नुपर्छ। राइटर भेट्न गाह्रो हुन्छ। फेरि हामीले भनेको कुरा बुझ्ने कम हुन्छन्। उनीहरुको हेण्ड राइटिङ पनि नराम्रो हुन सक्छ। यस्तो बेला एकदम पीडा हुन्छ। हामीले राइटर राख्ने प्रोसेस गर्न पनि झन्झटिलो छ। परीक्षा दिनुअघि टियू पुग्नुपर्छ। इक्जाम सेन्टरमा जानकारी गराउनुपर्छ। कतिपय कलेजले हामीलाई इक्जाम दिन क्यान्टिनमा राखिदिन्छन्। बाहिर हल्ला हुने ठाउँमा राखिदिन्छन्। फोहोर गनाउने क्लासमा राख्दा एकदम नराम्रो लाग्छ।
जेभियरमा कलेजमा चाहिँ यस्तो कुराको केही टेन्सन भएन। कलेजका नेपाली टिचरहरुले नै राम्रो राइटर खोजिदिए। जेभिएर गएदेखि इक्जाम दिन नि आत्मविश्वास आयो।
राइटरहरुलाई म्याथ साइन्स बुझाउन एकदम गाह्रो हुने। अलजेब्रा, स्पेलिङ, जस्ता कुराहरुमा को अर्डिनेसन नमिल्ने। गाह्रो भए पनि जसोतसो म्यानेज भयो।
हरेक मान्छे निराश हुन्छ। फ्रस्टेड नहुने को छ र? नर्मल मानिस पनि निराश हुन्छन्। म पनि त्यस्तै हो। तर, रोएर तकिया भिजाएर बस्ने दिन मेरो जिन्दगीमा कहिल्यै आएन। एकछिन चित्त दुख्थ्यो। रुन्थेँ तर एकछिन पछि म नर्मल लाइफमा फर्किन्थेँ। रिस्क लिएर काम गर्न मजा आउँछ। त्यसैले म जता पनि नडराइ हिँड्छु। लडे उठ्छु। यस्ता कुरा मलाई सामान्य लाग्छ।
गाडीहहरुमा हिँड्दा खलासीहरुले 'इल ट्रिटमेन्ट' गर्ने गरेको साथीहरुले सुनाउँछन्। हामी ब्लाइण्ड भएको थाहा हुदाँहुँदै पनि कतिपय मानिसहरुले हामीलाई जिस्काउँछन्। म कलेजबाट आउँदा माइतीघर नजिकै एक जना मानिसले मलाई दिक्क पारे। तीन वर्षमा उनले मलाई तीन पटक भेटे। हरेक पटक भेट्दा सोध्थेँ— तपाईँ देख्नुहुन्न?
'देख्दिन्' भनेर म जवाफ दिन्थेँ। तर उनले एउटै प्रश्न सोधेर दिक्क पार्थे।
तर, पनि म निराश भइन। मेरो अवस्था देखेर ममीहरु चिन्तित हुनुहुन्छ। धेरै केयर गर्नुहुन्छ। तर, म उहाँहरुलाई तनाव नहोस् भनेर धेरै कुरा लुकाउँछु।
अहिलेसम्म जिन्दगी राम्रोसँग चलेकै छ। कामहरु गरिरहेको छु। सपनाहरु पूरा हुँदैछन्। साइकोलोजी पढिरहेको छु। भविष्यमा मोडलिङको साथसाथै साइकोलोजिस्ट बन्छु होला। एक्टिङ गर्ने बच्चैदेखिको सपना हो। भविष्यमा मलाई चलचित्रको पर्दामा देख्नु भयो भने अनौठो मान्नु पर्दैन। 'सोसल इन्टर्पेनर' बन्ने मेरो अबको अर्को सपना हो।
हामीलाई कसैलाई विचरा नभनोस् जस्तो लाग्छ। बिरामीको नजरले नहेरोस् जस्तो लाग्छ। हामी विचरा होइनौं। हामीसँग पनि क्षमता छ। हरेक व्याक्तिसँग एउटा न एउटा क्षमता हुन्छ। हामी पनि त्यस्तै हौं। हामीले कसैले फरक नजरियाले नहेरोस्। मलाई अरु देख्नेहरुमा भन्दा आफू फरक र कमजोर छु जस्तो लाग्दैन। हामी सबै युनिक छौं। हामी सबै समान छौं। हामी सबै फरक छौं।