PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

अष्ट्रेलियालाई सपोर्ट गर्ने पारसको विश्वकप नजर : 'यी टिम पुग्छन् सेमिफाइनल'



गोविन्दराज नेपाल

अष्ट्रेलियालाई सपोर्ट गर्ने पारसको विश्वकप नजर : 'यी टिम पुग्छन् सेमिफाइनल'

काठमाडौँ: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको आयोजनामा १२औँ संस्करणको आइसीसी क्रिकेट विश्वकप यही मे ३० (बिहीवार) देखि इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा शुरु हुँदैछ।

नेपालमा भने अहिले राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट भइरहेको छ।

अहिले करिब डेढ सय नेपाली खेलाडी २० लाख पुरस्कार रहेको यस प्रतियोगिता प्रतिस्पर्धा गरिरहेका छन्। राष्ट्रिय टिमका कप्तान पारस खड्का पहिलो पटक प्रधानमन्त्री कप खेलिरहेका छन्। यस अघिको दुई संस्करण विदेशमा रहेका कारण नखेलेका पारसले यस पटक प्रदेश नम्बर ३ को कप्तानीसमेत गरिरहेका छन्।

विश्वभरका क्रिकेट खेलाडी, दर्शक र समर्थकले प्रतिक्षा गर्ने एकदिवसीय विश्वकपको १२औँ संस्करण शुरु हुन लाग्दा त्यसले सारा विश्वलाई इंग्ल्याण्ड र वेल्सतिर तानेको छ।

नेपाली खेलाडी र दर्शक पनि त्यसबाट अछुतो छैनन्। कप्तान पारस पनि विश्वकप हेर्नका लागि तयार छन्।

उनको मन पर्ने टिम अष्ट्रेलिया हो। पारस पहिल्यैदेखि अष्ट्रेलियाको सपोर्ट गर्दै आएका छन्। यस पटक पनि उनको मन पर्ने टिमको रुपमा अष्ट्रेलिया नै छ।

तर पारस सबैको खेल हेर्न उत्साहित छन्। 'विश्वकप भन्ने बित्तिकै सबैको आँखा पर्नु स्वभाविक हो। तर अहिले १० टिमले मात्र खेल्दैछन्,' पारसले भने।

'मेरो मन पर्ने टिम अष्ट्रेलिया नै हो। दक्षिण अफ्रिकाले पनि राम्रो खेलोस् भन्ने छ तर विश्वकपमा त्यसो हुन सकिरहेको छैन।' उनले भने।

'अष्ट्रेलियासँगै आयोजक इंग्ल्याण्ड र भारत सेमिफाइनल पुग्छन् जस्तो लाग्छ।'

यसैगरी पारस खेलाडीहरुको प्रदर्शन हेर्न पनि प्रतिक्षारत छन्। 'मेरो कुनै स्पेशियल प्लेअर भन्ने त छैन। तर डेविड वार्नर स्टिभ स्मिथ एक वर्षको सस्पेन्स पछि फर्केका छन्। उनीहरुको लागि धेरै कुरा प्रमाणित गर्नुपर्ने छ। यस्तै विराट कोहलीको ब्याटिङ हेर्न हामी सबै उत्सुक छौँ।'

विश्वका उत्कृष्ट राष्ट्रहरु विश्वकप खेलिरहँदा नेपाली टिमका खेलाडीहरु भने घरेलु राष्ट्रिय प्रतियोगिता व्यस्त छन्। सबै खेलाडीको चाहना विश्वकप खेल्ने भएपनि सबैको त्यो चाहना पूरा हुँदैन। कप्तान पारसले पनि विश्वकपको फर्म्याट, सीमित साधन स्रोतले गर्दा नेपाल विश्वकपमा पुग्न नसकेको बताए।

१२औँ संस्करणको एकदिवसीय क्रिकेट विश्वकपमा १० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। यस पटक १० वटै टोलीले राउण्ड रोविन लिगको आधारमा एक अर्कासँग खेल्नेछन् र ९-९ खेल खेल्न पाउनेछन्। लिग चरणपछि अंक तालिकामा शीर्ष चारमा रहने चार राष्ट्र सेमिफाइनल पुग्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell