PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

असार मसान्तभित्र देशभरका हलमा इ-टिकेटिङ, लागू नगरे चर्को जरिवाना



स्वेच्छा राउत

असार मसान्तभित्र देशभरका हलमा इ-टिकेटिङ, लागू नगरे चर्को जरिवाना

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई यति बेला देश दौडहामा छन्। औपचारिक रुपमा सुरु भए पनि व्यवहारिक रुपमा लागू हुन नसकेको बक्स अफिसमा देशभरिका सिनेमाघरलाई जोड्न उनी आफैँ दौडाहमा लागेका हुन्।

'देशभरका हलहरुमा इ-टिकेटिङ लागू गराउन हामी मोफसलमा आएका हौं,' प्रदेश नम्बर २ बाट टेलिफोनमा पहिलोपोस्टसँग उनले भने, 'सबै सिनेमा घरमा इ - टिकेटिङ लागू भएपछि बल्ल बक्स अफिसको सफल कार्यान्वयन हुनेछ।'

काठमाडौं बाहिर २०७५ माघ १ गतेसम्ममा बक्स अफिस नै कार्यान्वयन हुने भनिए पनि हालसम्म इ - टिकेटिङ समेत सुरु भएको छैन।

देशभरका सिनेमा घरहरुले इटिकेटिङ सिस्टम लागू गर्न सरकारले अर्को महिना अर्थात् असार मसान्तसम्मको म्याद दिएको छ।

आर्थिक विधेयकमा केन्द्रीय चलचित्र व्यवस्थापन (सेन्ट्रल सिनेमा म्यानेजमेन्ट)मा लिंक नगरी टिकट जारी गर्ने सिनेमा घरहरुलाई पहिलोपटकका लागि उठेको सम्पूर्ण रकम जरिवाना लिने उल्लेख छ। त्यस्तै दुईपटकभन्दा बढी टिकट जारी गर्ने हलहरुसँग दुई सय प्रतिशतसम्म जरिवाना लगाइनेछ।

अबको डेढ महिनाभित्र देशभरका सिनेमा घरमा इटिकेटिङ लागू हुन्छ त?

'असार मसान्त होइन १५ गतेसम्ममा सबैतिर इ- टिकेटिङ लागु हुन्छ। त्यसपछि केन्द्रीय सर्भरमा लिंक हुनेछन्', विकास बोर्डका अध्यक्ष भट्टराईले भने,'बक्स अफिसको प्रयोग सफल तुल्याउन हामी लागि परेका छौं।'

उनले आउँदो साउन १ गतेदेखि बक्स अफिस कुनैपनि हालतमा देशभर लागू हुने दाबी गरे। उनका अनुसार देशभरको जानकारी संकलनका लागि केन्द्रीय सर्भर यसै साता परिस्कृत गरिएको छ।

झण्डै पाँच वर्ष लामो विवाद र छलफलपछि २०७५ को माघ महिनामाचलचित्र विकास बोर्ड, चलचित्र संघ, निर्माता संघ लगायत सम्बन्धित सबै निकाय बक्सअफिस लागू गर्ने निस्कर्षमा पुगेको थियो।

चलचित्र विकास बोर्डले मोफसलका हलहरुलाई कम्प्युटर, प्रिन्टर, राउटरलगायत आवश्यक उपकरण अनुदान दिएको छ। जसको प्रमुख लक्ष्य इ- टिकेटिङमार्फत टिकट जारी गर्नु हो। बक्स अफिस सर्भर र उपकरण जडानका लागि हाल प्रदेश २ मा सातवटा टोलीले काम गरिरहेको छ। विकास बोर्डबाट इ टिकेटिङ लागु गराउन हिँडेको टोली यसपछि पूर्वाञ्चल जानेछ।

मोफसलका ८० वटा हलहरुमा चलचित्र विकास बोर्डले अनुदान दिंदैछ। हरेक हलका लागि डेढ लाखदेखि दुई लाखसम्म खर्च हुनेछ।

यसअघि २०७५ साउन १ गतेबाट उपत्यकाभित्रका हलहरुमा बक्स अफिस लागू भएको थियो। तर सफल भएको छैन। निर्माताले आफ्नो फिल्मको व्यापारबारे यकिन जानकारी पाएका छैनन्। रियल टाइम कमाइ अपडेट हुन सकेको छैन। र फिल्म युनिटले कमाइ भएको भन्दा ज्यादा रकम बोलेर प्रचार गर्ने क्रम रोकिएको छैन।

बक्स अफिस लागू गर्दा समेत फिल्मको कमाइ बारे यकिन जानकारी प्रवाह नहुनुमा फिल्म निर्माता, विक्रेता एवं हल सञ्चालकको मिलेमतो रहेको बताउँछन् अध्यक्ष भट्टराई।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell