PahiloPost

Nov 15, 2019 | २९ कात्तिक २०७६

एक खुट्टा गुमाएका युवकको साइकल जिन्दगी: चलायमानमात्र होइन, लिड गर्नेगरी रफ्तारमा यात्रा



स्वेच्छा राउत

एक खुट्टा गुमाएका युवकको साइकल जिन्दगी: चलायमानमात्र होइन, लिड गर्नेगरी रफ्तारमा यात्रा

यो कथा हो एउटा असाधरण 'युवक'को।

कक्षा ११ को परीक्षा चल्दैछ। तयारीका लागि कामबाट छुट्टी लिएका छन्, उनले। त्यसैले भेट्न ललितपुरको हात्तीवन पुग्यौं।

पढ्नका लागि कामबाट छुट्टी लिएका उनी सोमबार दिउँसो भने छिमेकीको कोठामा थिए, लुडो खेल्दै पो रहेछन्।

छिमेकको घरको साँघुरो कोठा। ढोकामा उभिएर हेर्दामात्र खेल प्रष्ट देखिने।

पोट आए युवकले बाजी मार्ने पक्का रहेछ। उनको उत्साह उत्कर्षमा थियो। भेट्न पुगेका हामीलाई समेत वास्ता गरेनन्। यसो एक पटक पुलुक्क ढोकातिर त हेरे तर लगत्तै लुडो बोर्डतिरै घोप्टिहाले। गोटी फाल्ने पालो उनको रहेछ। गोटी समाते, आँखा चिम्म गरेर निहुरिए। छाती र निधारमा पालैपालो छुवाए र बेस्कन हल्लाएर भुईँमा फाले। गोटी कोल्टियो। केही नसोची उठाएर उही प्रक्रिया दोहोर्‍याए। खेल्ने र हेर्ने सबैजना एकसाथ चिच्याए - पोट।

भुईंमै राखेको चारवटा पचासको नोट उठाए, जितको सान उनको अनुहारमा देखियो। अनिमात्र हामीतर्फ हेरे र सोधे – ‘तपाईँहरुलाई ड्यु मनपर्छ कि स्प्राइट?’

जवाफ पर्खेनन्। छेउमा रहेकी एक महिलालाई पैसा दिँदै केही फुस्फुसाए र सरासर हामीलाई संकेत गर्दै आफ्नो कोठातिर हिँडे। हामी पछिपछि लाग्यौं।

टिनले बारेको कोठा, टिनकै छानो। मान्छे छिर्न ढोका भए पनि हावा र उज्यालो छिर्ने झ्‍याल छैन।

कोठालाई अपुग कार्पेट बाहिरको भुईं हेर्दा थाहा हुन्छ- त्यहाँ इँटासमेत छापिएको छैन। त्यहीँ मिलाएर राखिएका छन् जुत्ताहरु। तर, सबै दाहिने खुट्टाको मात्र। मतलब, युवकको देब्रे खुट्टा छैन।

सानो किचन र्‍याकको सिसा भित्र मिलाएर राखिएका कप र कचौराहरु। देब्रे भित्तामा ठूला भाडा राख्ने र्‍याक। अनि दाहिने भित्तामा थोत्रिएको साइकल।

यी युवक साइकलिस्ट हुन्।

यो पढिरहँदा तपाईँलाई अनौठो लाग्ला, 'एउटा खुट्टा छैन तर साइकलिस्ट?'

हो।

कोठामा पस्दै गर्दा सोधेका थियौं, 'पढ्न डिस्टर्ब त हुँदैन?'

जस्ताले बारेर बनाइएको दोस्रो कोठामा खाट, बेन्च, सानो टेबल र एउटा ह्याङ्गर छ। सोफामा बस्न संकेत गर्दै खाटमा पल्टिए र बोले, 'हपहप् गर्मी छ। कसरी पढेर बस्न सक्नु? बेलुका शितल फर्किएपछि पढ्न थाल्ने हो।'

त्यही साँघुरो कोठा उनको दुनियाँ हो। एक्लै बस्छन्। सामान सबै आफै जोडेका हुन्। यसमै पनि महिनाको ३ हजार २ सय तिर्छन्। यही अवस्थामा गुजारा गर्नेहरु धेरै भएकाल सुन्दा सामान्य लाग्ला। तर, युवकको जीवन असमान्य छ।

***

नाम : युवक लामा

उमेर : १९ वर्ष

घर : धादिङ, गल्छी

हाल : ललितपुर

१२ वर्षको उमेरमा पढ्न पाउने लोभमा काठमाडौं ल्याइए युवक। पढाउनेको सर्त थियो – बसेको घरमा काम गर्नुपर्ने। दिदीले सहमती जनाएपछि उनी चुपचाप बाफलस्थित सिल्पकार परिवारकहाँ बस्न थाले। वचन अनुसार नजिकैको जनपथ स्कूलमा भर्ना पनि हुन पाए। तर, काठमाडौं बसेर पढ्नुको खुशी महसुस गरेनन्। केही दिनमै उनी न्यास्रिए। कामबाट फूर्सद पाउँदा एकान्त खोजेर परिवार सम्झेर रुनु सामान्य बन्यो।

तर, यहाँ बसिरहनुको विकल्प थिएन। दैनिकी सिल्पकार परिवारको इशारामा चल्थ्यो- बिहान सबेरै उठ्। घर माथिदेखि तलसम्म सफा गर् र साहुले अह्राएको सबै काम सकेर स्कूल जा।

२०६९ सालको दशैं। काठमाडौं दशैंको माहोलले छपक्कै हुँदा उनी भने घरबाट टाढा थिए। साहुको छोराछोरी किनमेल र घुमघाममा रमाउँदा उनी भुईं पुस्दै हुन्थे नभए कोठा सफा गर्दै। गाउँको याद आकाशियो। स्कूल त उनको पनि बिदा भइसकेको थियो। तर, कामबाट बिदा दिएनन्। मुखै फोरेर बिदा माग्दा साहुले भने - दशैंमा झन् धेरै काम हुन्छ।

उनको हंशले ठाउँ छोड्यो। गाउँको सम्झनाले पिरोल्यो। चङ्गा उडाउन डाँडा उक्लेको, लङ्गुर बुर्जा खेलेको, पिङ मच्चाएको, टीका लगाएर दक्षिणा थापेको सम्झिएर भक्कानिए। तर, न घरमा जसरी जिद्दी गर्न सके न घुर्की देखाउन नै।

फुलपाती नजिकिँदै थियो। आमा ठूलीकान्छीले फोन गरिन्। दशैंका लागि किनमेल गर्न काठमाडौं आएकी रहिछिन्। युवकलाई बाफलमै बस्ने दाइको कोठामा भेट्न बोलाइन्। उनी फुरुङ्ग परे। कसैलाई केही नभनी लुसुक्क साहुको घरबाट निस्किए। र, त्यसपछि कहिल्यै पनि फर्किएनन्।

ठूलीकान्छीले छोरा भागेर आएको पत्तो पाइनन्। युवकले आफू पनि उनीसँगै घर फर्कने सुनाउँदा आमा आत्तिइन्। केहीबेर सम्झाइन् पनि। तर, छोराको हठको अघिल्तिर उनको केही लागेन। आफूसँगै डोहोर्‍याइन्।

दशैंको समय, कलङ्की चोकमा रोकेको बस केहीबेरमै ‘प्याक’ भयो। छतमा पनि मान्छे भरिए। गाडी स्टार्ट भयो, युवक चङ्गा भए। थानकोटको ओरालो कटेपछि साहुको घरबाट भाग्नुको डर हरायो। धुम्ती घट्दै जाँदा घर पुग्ने हतारो बढ्दै गयो। पुराना साथीहरुसँग भेट्ने, खेल्ने, कुद्ने कल्पनाले दिएको खुशी असिम थियो।

धादिङको गल्छी टेकिसकेका थिए। घर पुग्न अब सात किलोमिटर मात्र बाँकी। उनी चडेको बस एक्कासी खोल्सोतिर झर्‍यो।

ब्युझदा आँखा अगाडि आमा थिइन्। अपरिचित ठाउँलाई एकछिन नियाले। कुनै अस्पतालको बेडमा आफैलाई पाउँदा झसङ्ग भए।

'होसमा आउँदा हस्पिटलमा थिएँ। किन त्यहाँ थिएँ चाहिँ पत्तो भएन। पछि सिरक हटाएर हेर्दा त एउटा खुट्टा नै थिएन,' उनले त्यतिखेरको अनुभव सुनाए, 'मलाई त म जन्मेदेखि यस्तै हुँ जस्तो लाग्यो। किनकि न मैले एक्सिडेन्ट सम्झें न काटेर फालेको खुट्टा नै।'

भाग्यबस् दुर्घटनामा कसैले पनि ज्यान गुमाएनन्। युवकले एउटा खुट्टासँगै यादहरु पनि गुमाए।

महिना दिनपछि उनको होस फर्कियो। बल्ल उनलाई साहुको घर छोडेर भाग्नुको ग्लानीले पोल्यो। आमा रोएको देख्दा गाह्रो हुन थाल्यो। धन्न आमाले गाह्रो मानिनन्। तीन महिना उनको वैसाखी बनिन्। उपचार गराइन्। र, गाउँ गल्छी नै लिएर फर्किइन्। यस पटक चढेको बस प्याक थिएन।

कान्लै कान्ला कुद्ने रहरलाई दुई काखी मुनी वैसाखीले थिच्यो। आँगनमा बसेर साथीहरु खेलेको हेर्थे। भाइले आमालाई काम सघाएको देख्थे। आफू केही गर्न सक्दिन भन्ने सोचले गाँज्थ्यो। ड्रेस लगाएर स्कूल हिँडेका साथीहरु देख्दा मन थाम्न सक्थेनन्। किनकि उनको सपना थियो धेरै पढेर बैंकमा जागिर खाने। पैसा कमाउने।

आमाले कक्षा ६ मा भर्ना गरिदिइन्। स्कूल नजिकै थियो। सबेरको धन्दा सकेर आमाले नै तयार पारिदिन्थिन्। खाना खाइसकेपछि आफूभन्दा दुई वर्ष कान्छो भाइ सञ्जिवले ब्याग बोकिदिन्थे। उनी पछि लाग्थे। स्कूलमा साथीहरुको साथ र मायाले गर्दा उनी घरमा भन्दा बढी स्कूलमा रत्तिन थालेका थिए।

एक सातापछिको बिहान। सिमसिम पानी परिरहेको थियो। स्कूल जाने बेला भयो तर, घाँस काट्न हिँडेकी आमा फर्किनन्। सोचे, कतै ओत लागिन्।

आमाभन्दा अघि नै उनको मृत्युको खबर पो आयो- 'स्याउला काट्न रुख चढेकी ठूलीकान्छी खसेर मरी।'

उनले विश्वास नै गरेनन्। अरु कसैको शव होला भन्ने सोचे। त्यो कहाली लाग्दो क्षण सम्झन्छन्, ‘सबैभन्दा पहिले म पुगुँ। अनि देखिस् मेरो आमा होइन भनुँजस्तो लागेको थियो।‘

तर, भर्खर त वैसाखीसँग पाइला मिलाउन सिक्दै थिए। उकालो ओरालो छिचोल्ने साहस केले दिनु? पानीमा भिज्दै बाटो हेरिरहे। परबाट भाइ रुँदै फर्किएको देखेपछि निश्चित भयो, उनको सबैभन्दा बलियो वैसाखी भाँचियो। अन्तिम पटक आँगनमा आमाको मृत शरीर देख्दा पनि उनलाई लागि रह्यो, आमा उठिहाल्छिन् कि।

‘खुट्टा काटेर फालेको थाहा पाउँदा अब जिन्दगीमा केही गर्न सक्दिन भन्ने लागेको थियो। आमाको लास देखेपछि लाग्यो अब बाँच्न नै सक्दिन,' बोली सकेर आँशु पुसे र थपे, ‘मेरो मुटु कमजोर हुने आमालाई सम्झँदा मात्र हो। नत्र त यी (खुट्टा काटेर बाँकी रहेको भाग देखाउँदै) यहीँको मासुजस्तै जब्बर भइसकेँ।‘

आमा बितेपछि दैनिकी निकै कष्टकर रह्यो। घरमा रोगी बुबा र दश वर्षीय भाइमात्र। उनीहरुका लागि युवकलाई समय दिनु अरु काम थाँती राख्नुसरह। त्यसो गरे न अन्न जोहो हुन्थ्यो न खाना पाक्थ्यो। युवकलाई त आफ्नै शरीरको सन्तुलन मिलाउन अप्ठ्यारो थियो। कतिपटक हिँड्दा हिँड्दै लड्थे। कतिपटक चार पाइला उफ्रिएपछि थाक्थे। घाउ आलै भएकाले काम सघाउन सक्थेनन्।

'केही गर्न नसक्दा छट्पटी हुने रहेछ। रोगी बुबालाई भार भएजस्तो लाग्थ्यो,' उनी सुनाउँछन्, 'आफ्नो मात्र खुट्टा छैन। आफू मात्र एक्लो छु जस्तो लाग्थ्यो। सोच्दा सोच्दै कतिपटक त बरु मर्‍यो भने सबै समस्या समाधान हुन्छ जस्तो लाग्थ्यो।'

घरमा धेरै गाह्रो भयो। त्यसैले २०७० मा कान्छी दिदीले काठमाडौं ल्याइन्, पढाउनका लागि। उनी जहाँबाट भागेका थिए त्यही आइपुगे, बिरानो शहरमा। धन्न यस पटक दिदीको कोठामा थिए। न्यास्रो मेट्ने दिदी भिनाजु, भान्जा भान्जी थिए।

खगेन्द्र नव जीवन केन्द्र विशेष शिक्षा विद्यालयमा कक्षा ७ मा भर्ना भए। उनले आफ्नो ठाउँ पाए। आफूजस्तै साथीहरु पाए। कसैको खुट्टा थिएन, कसैको हात। कसैलको औंलाहरु थिएनन् अनि कसैको भने कम्मर मूनीको भाग थिएन। केही सपाङ्ग पनि थिए।

बिस्तारै उनले महसुस गर्ने एक्लोपन मेटियो।

हरेक बिहान स्कूल बस लिन आउँथ्यो, दिनभर स्कूल र बेलुकी फेरी दिदीको कोठा सानेपा फर्कन्थे। गृहकार्य गर्नु, भान्जा भान्जी पढाउनु, भान्साको काम सघाउनु उनको दैनिकी बनेको थियो।

कक्षा नौ देखि भने स्कूलले बस सेवा नदिने भयो। उनी हरेक दिन सानेपादेखि रत्नपार्कसम्म एउटा र रत्नपार्कदेखि जोरपाटीस्थित स्कूलसम्म अर्को गाडीमा यात्रा गर्थे।

'खुट्टा गुमाएको त्यत्रो वर्षपछि बल्ल हेपिनुको पीडा महसुस गरेँ। सार्वजनिक सवारी साधन त हामीजस्तो हात खुट्टा नभएकाका लागि होइन रै’छ भन्ने लाग्थ्यो। तर, के गर्नु चड्नै पर्थ्‍यो,' पीडा सुनाउँदा पनि मुस्काउँछन् उनी।

एक त झोला र वैसाखी एकसाथ सम्हाल्न गाह्रो। अर्को सवारी साधनमा चड्नै नदिने, गाडी नरोक्ने। कतिले त पैसा फिर्ता दिँदैनथे।

'अपाङ्ग सिट लेखेको सिट समातेर उभिनु पर्थ्यो तपाईं आफै सोच्नुस् कस्तो हुन्थ्यो होला?', उनको बोलीमा असन्तुष्टि झल्कियो, 'यो ठाउँमा मान्छेको मन नै हुँदैन जस्तो लाग्थ्यो। तर, फेरि स्कूल पुग्थेँ। त्यहाँ सर मिस र साथीहरु भेट्थे। सबैभन्दा ठूलो मन भएका मान्छेहरु भेट्थेँ। गाडीमा हुँदा उठेको रीस मर्थ्यो।'

एकदिन रत्नपार्कदेखि उभिएर जोरपाटी पुगे। थाकेका थिए, स्कूल नपुग्दै चौरमा थचक्क बसे। परबाट आफूसँगै पढ्ने साथी सुरज कार्की साइकलमा आइरहेको देखे। साइकल आफूले चलाएको कल्पना गरे। खुट्टा सम्झिए। उनको आँखा टल्पलाउँदा साथी नजिक आइसकेका थिए।

'खोइ देउ त म पनि साइकल चलाउँछु,' आफू रोएको थाहा नदिन बोले, 'अब म पनि साइकल सिक्छु। बसमा साह्रै गाह्रो भयो।'

साथी छक्क परेर हेरिरहे। युवकले वैसाखी साथीलाई थमाए र साइकल आफूले समाए। सिटमा बसेर दाहिने खुट्टा प्याडलमा के राखेका थिए, साइकल पल्टियो। साथी आत्तिएर कराए, हत्तपत्त आएर साइकल उठाए।

त्यसपछि युवकलाई तान्न हात दिँदै भने, 'आउ म सिकाउँछु।'

त्यसपछि सुरु भयो उनको साइकल यात्रा।

सुरजले साइकल दिएर, युवकको पछिपछि कुदेर गुण लगाएका छन्। लड्न लाग्दा थामिदिए। लडी हाले उठाइ दिए। बिस्तारै युवक फूच्चे साइकलको प्याडल र ह्यान्डल सम्हाल्न सक्ने भए। स्कूलमा साथीको साइकल पाएसम्म छोडेडन्। घरमा भान्जाको।

दिदीले गाली गर्थिन् माया र डर दुवैका कारण। घरबेटीलाई घर फोहोर हुनुको चिन्ता। स्कूलमा सर मिस पनि सुरुमा त आत्तिएका थिए। तर, जब युवक साइकल लिएर सडकमा उत्रिए तब डर वा चिन्ताभन्दा आश्चर्यको आँखाले हेर्नेहरु धेरै भए। भान्जाको पुन्टे साइकल लिएर सानेपादेखि जोरपाटीको बाटो हिँड्दाको अनुभव सुनाउँछन्, ‘फर्की फर्की हेर्नेहरु देखेर गर्वले छाती ढक्क फूल्थ्यो। मलाई त संसार जिते सरह हुन्थ्यो।‘

सजिलो चाहिँ थिएन। बाटोको खाल्डाखुल्डी, ट्राफिक जाम, ठूला गाडीको पेलान। उनले साइकल मात्र होइन झोला र वैसाखी पनि सम्हालेर यात्रा गर्नु पर्थ्यो। त्यसैमा रमाउँथे किनकि भान्जाको साइकल कहिले काही मात्र हात पर्थ्‍यो।

२०७४ को जेठ महिना। घाम चर्किएको थियो। भृकुटी मण्डपमा 'वातावरण बचाऔं' लेखेको प्याम्प्लेट बोकेर बसेका थिए मानिसहरु। त्यही भिडमा थिए युवक पनि। साइकल चडेर पुगेका उनमा धेरैको आँखा पर्‍यो। त्यही भेटिए अर्जुन राना जसले उनलाई साइकल र साइकलिङसँग झन् नजिक पुर्‍याए। युवकको जोश, आत्मबल र साहस देख्नेर छक्क परेका उनले हार्टबीट नामक संस्थामार्फत् साइकल उपलब्ध गराउने भए।

'साइकल किन्ने पैसा थिएन। जब अर्जुन सरले साइकल दिने कुरा गर्नु भयो तब साइकलको रङ, साइज, डिजाइन अनुमान गर्न थालें। त्यो बेला मलाई साइकलको ब्रान्डहरु बारे त पत्तै थेन नि,' उनी खुशी सुनिन्छन्।

उनले कल्पना बाहिरको साइकल पाए- मोटाजी ब्रान्डको। करीब ४५ हजार बराबरको मूल्य पर्ने। 'सुरुमा त विश्वास नै लागेको थिएन। हातमै थमाएपछि चाहिँ दिदीले चलाउन दिनुहुन्न कि भन्ने डर थियो,' उनले भने। तर, त्यो डर धेरै दिन बाँकी रहेन।

घरदेखि स्कूल स्कूलदेखि घर मात्र होइन विभिन्न र्‍यालीदेखि राइडसम्म सहभागी हुन थाले उनी। दुवै खुट्टा भएकाका लागि झन्झटिलो सडक उनका लागि रेसको ट्र्याक बन्यो। जहाँ उनी आफैभन्दा अघि पुग्न साइकल दौडाउँथे। हिजोको भन्दा द्रुतगती। हिजोको भन्दा सन्तुलित। र, हिजोको तुलनामा बढी उत्साह।

बिस्तारै साइकलिस्टहरु उनलाई भेट्न घरमै पुग्न थाले। वाहवाही गर्न थाले। दिदी भिनाजुका लागि युवक र साइकल त्रास होइन गर्वको विषय बने।

राइडकै क्रममा उनको चिनजान भयो यमलाल रसाइलीसँग। यमलाल एउटा खुट्टा बिनै साइकलिस्ट भएका पहिलो व्यक्ति हुन्। उनीसँगको चिनजान र सामिप्यताले युवकको आत्मबल मात्र बुस्ट गरेन, यमलालले प्याडल चाल्ने सहज टेक्निक पनि सिकाए। खुट्टा नभएतिरको प्याडलमा फलाम फिट गर्ने आइडिया उनैले दिए। त्यसले तौल संतुलित भयो। एकापट्टी ढल्कने, लड्ने क्रम बन्द भयो।

यमलालको साइकल उनलाई खुब मन परेको थियो। जुन प्याङ्क बाइकले स्पोन्सर गरेको थाहा पाए। र, आँट गरेर फोन गरे प्याङ्क बाइक सञ्चालक तिरक मानन्धरलाई। मानन्धरले पसलमै भेट्न बोलाए। उनी हौसिँदै गए।

युवकले आफूलाई पनि बाइक स्पोन्सर गर्न आग्रह गरे। एक्कासी साइकल स्पोन्सरको अफर सुनेर छक्क परेर तिरक।

'भाइ तिमीलाई स्पोन्सर भनेको के हो थाहा छ?,’ तिरकले सोधे।

‘मैले तिमीलाई केही दिए बापत् तिमीले पनि केही दिनुपर्छ भन्नुभयो,' युवकले सुनाए।

तर, उनीसँग अरुलाई दिनका लागि केही पनि थिएन। तिरकले एक हप्ताको समय दिए, सोच्नका लागि।

ठीक एक सातापछि युवक फेरी प्याङ्क बाइकको सोरुममा पुगे। भने, 'मलाई साइकल स्पोन्सर गर्नुभयो भने म तपाईंको पसलको प्रचारप्रसार गरिदिन्छु।'

तिरक फिस्स हाँसे। त्यो हाँसो युवकको जीवनको अर्को टर्निङ प्वाइन्ट बन्यो। एसइइ दिएर बसेका युवकलाई ट्रिङ्स साइकल र पार्ट्स त उपलब्ध गराए नै। साथै उनलाई स्वरुम मै काम समेत दिने भए। युवकले त्यति सजिलै कामको अवसर आउँछ भन्ने सोचेका थिएनन्।

'एउटै सही आफ्नै खुट्टामा उभिने भएँ। कमाउने भएँ। कहिले काही दिदीलाई खर्च दिने भएँ। चाहेको लुगा किनेर लगाउन सक्ने भएँ,' उनको बोली गर्विलो सुनिन्छ।

आत्मनिर्भर त भए नै। आत्मबल पनि ह्वात्तै बढ्यो। हिमालयन आउट डोर अन्तर्गत् हात्तीवनमा भएको क्रस कन्ट्री रेसमा दोस्रो भए, एउटा खुट्टा नहुँदा पनि। र, चर्चा चुलियो। उनको साइकलिङप्रतिको मोह झन् गाढा भयो। यतिसम्म कि साइकलका लागि दुई खुट्टा टेकेर हिँड्ने रहर त्यागे। दिदीको छिमेकीले झण्डै दुई लाख खर्च जुटाइदिएको कृत्रिम खुट्टा उनको कोठामा थन्किएको छ। किनकि त्यो लगाएर साइकल चलाउन मिल्दैन।

'कम्मरदेखि नै फिट गर्नुपर्छ। लगाएपछि गर्मी र पसिना सहन गाह्रो हुन्छ। त्यसैले प्राय जाडो महिनामा र घरमा यता उता गर्दा लगाउँछु,' उनले छेउमा राखेको कृत्रिम खुट्टामा लागेको चोट देखाउँदै भने, 'अस्ति लगाएर कुकुर चराउन गएको थिएँ। अर्को पालुवा कुकुरसँग झगडा गर्‍यो। त्यही कुकुरले टोकेको हो। विचरा कुकुर प्र्याङ्कमा पर्‍यो।'

यति भनिसकेर उनी मज्जाले हाँसे। जति बाहिर खुशी देखिन्छन् त्यति नै पीडा बोकेका छन् मनमा। एक्लो छन्। आफूले कमाउन थालेको केही महिनामै दिदी भिनाजुको बोझ नबन्ने निर्णय गरे र आइपुगे हात्तीवन नमुना बस्ती छेउको टहरोमा। जहाँ उनी एक्नै बस्दैनन् मात्र, एक्लै रुन्छन्, एक्लै हाँस्छन्।

बिहानै उठ्छन्। स्वयम्भूस्थित गीतामाता कलेज जान्छन्। उनका भाइ पनि सोही कलेजमा पढ्छन्। घरको कमजोर आर्थिक स्थितिका कारण भाइ पनि घरायसी काममा लागेका छन्। दिउँसो खाना बनाउने, राती गेटमा बस्ने। एउटै कलेजमा पढे पनि दुवैको कक्षा फरक, बस्ने ठाउँ फरक। त्यसैले गेटबाट छुटिन्छन्।

कोठा फर्कन्छन्, खाना बनाएर खान्छन्। बाह्र बजेतिर जमलस्थित प्याङ्क बाइकको सोरुम पुग्छन्। त्यहाँ दिनभर कस्ट्युमर सर्भिसमा खटिनु उनको जिम्मेवारी हो। सोरुम मै आउनेदेखि सामाजिक सञ्जालमा जोडिएका कस्ट्युमरसँग कुरा गर्छन्। सिस्टममार्फत साइकल सर्भिसिङको रिमाइन्डर दिनेदेखि एउटा सोरुमबाट अर्कोमा साइकल पुर्‍याउने काम गर्छन्।

नेपालमा साइकल चलाउनेको सर्कल सानो छ। सर्कलमा उनलाई नचिन्ने कमै होलान्। बाटोमा भेट्दा बोलाउनेदेखि साइकलबाटै हात हल्लाउनेहरुसँग हरेक साता राइडमा निस्कन्छन्। युवक अघि लागेर ठूलो झुण्डलाई लिड गर्छन्। ‘यही हिसाबले उसले काम गरिरहने हो भने उसले छिट्टै नै साइक्लिङमा लिड गर्न सक्छ,’ प्याङ्क बाइकका संचालक तिरेकले भने।

उनले साइकलबाटै लुम्बिनीसम्म, नेपालगञ्ज, कोशी टापुसम्मको यात्रा गरिसकेका छन्।

'हेर्नुस् यो संसारमा असम्भव भन्ने चाहिँ केही हुँदैन रै’छ। सम्भव बनाउन आफैमाथि विश्वास चाहिँ हुनुपर्‍यो। हाम्रो क्षमतालाई आफूले जति अरुले पत्याउन सक्दैनन्,' युवक भन्छन्।

अब प्यारा ओलम्पिकमा सहभागी हुने सपना देखेका छन् उनले। जसका लागि टन्नै टेक्निक प्राक्टिस, डाइट, साइकल र अरु सामाग्री चाहिन्छ। ती महङ्गा हुन्छन्, मासिक तलवले थाम्न नसक्नेगरी। 'मेरो लागि मात्र होइन मजस्ता धेरै छन् प्यारा ओलम्पिकमा देशको प्रतिनिधि गर्ने लक्ष्य लिएका। यस्तोमा सरकार सहयोग नभइ सबैको रहर रहरमै सीमित हुन्छ,' उनले भने।

शहरको भिडसँग बसको सिटका लागि लड्न सकेनन्। बाध्यताले साइकलको ह्यान्डल समाए। अब भने साइकल नै उनको सोचदेखि गुजाराको माध्यम बनेको छ। एउटा खुट्टा छैन तर उनको जीवन गजबले चलायमान बनेको छ। साइकल उनको सारथी भइसकेको छ।

उनी सम्हालिँदै बोल्छन्, 'यात्रा यहीँसम्मको मात्र चाहिँ होइन। लिड गर्ने हतार छैन। राइडको अन्तिममा रहे पनि परसम्म पुगुँ, त्यति भए पुग्छ।'



एक खुट्टा गुमाएका युवकको साइकल जिन्दगी: चलायमानमात्र होइन, लिड गर्नेगरी रफ्तारमा यात्रा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell