PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रधानमन्त्री कप क्रिकेट : आर्मीलाई ५० रनले हराउँदै पुलिस सेमिफाइनल नजिक



गोविन्दराज नेपाल

प्रधानमन्त्री कप क्रिकेट : आर्मीलाई ५० रनले हराउँदै पुलिस सेमिफाइनल नजिक

काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट अन्तर्गत आज भएको विभागीय डर्बी खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई पराजित गरेको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको समूह बी को खेलमा पुलिसले आर्मीलाई ५० रनले हरायो। यसअघि लगातार तीन खेल जितेको आर्मीको यो पहिलो हार हो। यो हारसँगै ५४ खेलबाट ६ अंक जोडेको आर्मी समूह बी बाट सेमिफाइनल प्रवेश गरेको छ।

उता लगातार तीन खेल जित्दै आर्मी समान ६ अंक जोडेको पुलिसले भने सेमिफाइनल पुग्न अन्तिम खेल कुर्नुपर्नेछ।

आजै भएको यस समूहको अर्को खेलमा प्रदेश २ ले प्रदेश १ लाई १६१ रनले पराजित गरेपछि पुलिसले कुर्नुपर्ने भएको हो। दोस्रो जितपछि प्रदेश २ ले ३ खेलबाट ४ अंक जोडेको छ।

अब पुलिस र प्रदेश २ बीच खेल हुनेछ। उक्त खेल जितेमा पुलिस समूह विजेताको रुपमा सेमिफाइनल पुग्नेछ। यदि प्रदेश २ ले राम्रो रनरेटमा पुलिसलाई पराजित गरेमा पुलिसलाई पछि पार्दै सेमिफाइनल पुग्न सक्नेछ।

 

ब्याटिङमा संघर्ष, बलिङ उत्कृष्ट

विभागीय डर्बीमा दुवै टिमले ब्याटिङ राम्रो गर्न सकेनन्। तर बलिङमा भने दुवैले राम्रो प्रदर्शन गरे। बलिङमा पनि पुलिस अब्बल रह्यो।

१६२ रनको लक्ष्य पछ्याएको आर्मीलाई पुलिसले १११ रनमा अलआउट गर्यो। पुलिसको बलिङ सामु आर्मी ४२.३ ओभर मात्र टिक्न सक्यो।

आर्मीका लागि हरिबहादुर चौहानले सर्वाधिक ३४ रन बनाउँदा राजु रिजाल र रोहित पौडेलले समान १६ रन जोडे।

आर्मीलाई अलआउट गर्न पुलिसका ललित राजवंशीले ३ विकेट लिए। आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले २-२ तथा सागर ढकाल र पवन सर्राफले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४८.४ ओभरमा सबै विकेट गुमाएर १६१ रन बनाएको थियो। ९४ रन हुँदा ७ विकेट गुमाएको पुलिसको इनिङ्स कप्तान मन्जित श्रेष्ठ र आरिफ शेखले सम्हालेका थिए। यी दुईले आठौँ विकेटका लागि ६० रनको साझेदारी गरे। मन्जितले नटआउट ३६ रन बनाउँदा आरिफले ३४ रन जोडे। दिपेन्द्र सिंह ऐरीले २९ रन योगदान गरे।

बलिङमा आर्मीका शहाब  आलमले १० ओभरमा २ मेडन राख्दै ३० रन खर्चेर ४ विकेट लिए। करण केसीले २ विकेट लिए।

 

कुमार थापाको ७ विकेट, प्रदेश २ को फराकिलो जित

कुमार थापाले उत्कृष्ट बलिङ गर्दै ७ विकेट लिएपछि प्रदेश २ ले प्रदेश १ लाई १६१ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले सुरज पटेलको अर्धशतक र रसिद खानको आक्रमक ब्याटिङ मद्दतमा ५० ओभर खेल्दै ९ विकेट गुमाएर २६५ रन बनाएको थियो। सुरजले ७० बल खेल्दै ६ चौका र ३ छक्काको मद्दतमा नटआउट ७८ रन बनाए। यस्तै रसिदले ३१ बल खेल्दै २ चौका र ५ छक्काको मद्दतमा ४७ रन जोडे। हरिशंकर शाहले ३१ रन जोडे।

बलिङमा प्रदेश १ का कप्तान पुष्प थापाले ३ र सरोज बस्नेतले २ विकेट लिए।

२६६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको प्रदेश १ कुमार थापाको घातक बलिङ सामु टिक्न नसक्दा १०४ रनमा अलआउट भयो। प्रदेश १ का लागि मिनास थापाले ३६ र सन्नी पुनले २९ रन बनाउनु बाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

प्रदेश १ लाई अलआउट गर्न कुमार थापाले ८ ओभरमा २ मेडन राख्दै २२ रन खर्चेर ८ विकेट लिए। यस्तै दिव्यांशु मल्लिकले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell