PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भलिबलमा मानबहादुरको कमब्याक, राष्ट्रिय टिममा नपर्दा गुनासो



गोविन्दराज नेपाल

भलिबलमा मानबहादुरको कमब्याक, राष्ट्रिय टिममा नपर्दा गुनासो

काठमाडौँ: आठौँ राष्ट्रिय खेलकुद र ताप्लेजुङमा भएको पाथीभरा पुरुष भलिबल प्रतियोगितापछि मानबहादुर श्रेष्ठले घरेलु भलिबलमा कमब्याक गरेका छन्। गत बैशाख पहिलो साता नेपालगन्जमा भएको आठौँ अन्तर्गतको भलिबल मानबहादुरले खेलेका थिएनन्।

आठौँ राष्ट्रिय खेलकुद छाडेर जापानमा खेल्न गएका कारण विभागले मानबहादुरलाई कारवाही गर्‍यो। ६ दिनपछि फर्केर आएका उनले त्यही कारणले ताप्लेजुङमा पनि खेल्न पाएनन्।

'म जापानमा खेल्न गएकाले विभागले सामान्य कागजी कारवाही गरेको थियो। जसले गर्दा मैले दुई वटा टुर्नामेन्ट खेल्न पाइनँ। मेरो फ्यानहरुले पनि कहिले खेल्नुहुन्छ भनेर सोध्नुहुन्थ्यो। अहिले कमब्याक गर्न पाउँदा खुसी लागिरहेको छ,' श्रेष्ठले भने।

अहिले नेपाली सेनाकै आयोजनामा भइरहेको चौथो प्रधानसेनापति भलिबलमार्फत मानबहादुरले घरेलु भलिबलमा कमब्याक गरेका छन्।

झण्डै डेढ महिनापछि घरेलु भलिबलमा कमब्याक गर्दै उनले ३ खेल खेलिसके।

जापानमा बैशाख ४ गते भएको टुर्नामेन्ट खेल्न बैशाख १ गते त्यसतर्फ गएका उनी ६ गते फर्के। राष्ट्रिय खेलकुद सुरु भइसकेको दुई दिन भए पनि उनले खेल्नको लागि आग्रह गर्दा टिम नाम नै नरहेको जानकारी पाए।

उनलाई आफ्नै गणले कारवाही गर्दै जापान जाँदाको ६ दिनको तलब काटिदियो। यस्तै आठौँसहित ताप्लेजुङमा पनि खेल्न नपाउने कारवाही भयो। मानबहादुरले यसलाई सहर्ष स्वीकारे।

'म आफैँ विभागले भनेको नमानेर नै जापान गएको थिएँ। यसमा मेरो कुनै गुनासो छैन।'

तर उनलाई के कुरामा गुनासो छ भने नेपालमै आयोजना हुने एभिसी सेन्ट्रल जोन टुर्नामेन्टको लागि छनोट गरेको प्रारम्भिक सूचीमै आफ्नो नाम नदेख्दा दु:खी छन्।

आगामी साउनमा हुने उक्त प्रतियोगिताको लागि नेपाल भलिबल संघले आठौँलाई आधार मान्दै २५ जनाको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ। यसमा मानबहादुरको नाम छैन।

'संघले पहिल्यै राष्ट्रिय टिमको लागि आठौँबाट सेलेक्सन हुन्छ भनेको थियो। मैले त्यो खेलिन त्यसैले सेलेक्सनमा म नपरेको हो,' मानबहादुरले भने, 'तर मलाई के लाग्छ भने नेपालको राष्ट्रिय खेल भलिबल बनाउन हाम्रो पनि योगदान छ जस्तो लाग्छ। हामीले मालदिभ्समा मेडल ल्याएका थियौँ। डेनमार्कमा गएर पनि खेल्यौँ।'

'अहिले राष्ट्रिय टिमको लागि सेलेक्ट गरेको २५ जनामा नाम छैन। उहाँहरुले आठौँबाट मात्र हेरेर सेलेक्सन गर्दा अलिकति दु:ख लागेको छ।'

'अहिले संघले प्रधानसेनापति कप र एनभीएन कपबाट छुटेका खेलाडीलाई इन गराउने भन्ने कुरा गर्नुभाछ। त्यसबाट के हुन्छ हेर्न बाँकी इन्टरनेसनल गेम र यहाँको अन्य लोकल टुर्नामेन्टहरुलाई पनि समावेश गर्नुपर्छ जस्तो लाग्छ।'

आफ्नो नाम अहिले राष्ट्रिय टिमको सूचीमा नरहे पनि एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता नेपालको लागि महत्वपूर्ण रहेको मानबहादुरले बताए। '४-५ वर्षअघि हामी श्रीलंकासँग सहजै पराजित हुनुथ्यो। तर अहिले अवस्था फरक छ। हामीले एसियन गेम्समा राम्रो प्रदर्शन गर्‍यौँ। त्यसबाट श्रीलंकालाई पनि नेपालसँग खेल्दा एकपटक सोच्नुपर्ने अवस्था आइसकेको छ।'

'सेन्ट्रल जोनको लागि विदेशी कोच पनि आउने भनेको छ। होम कोर्ट छ बन्द प्रशिक्षण पनि लामो समय हुने कुरा छ। यस पटक सेन्ट्रल जोनमा नेपालले राम्रो गर्छ जस्तो लागेको छ।'

उनले अन्तर्राष्ट्रिय स्तरमा खेल्न फ्रेण्ड्ली म्याचसमेत खेल्नुपर्ने बताए। 'यो भन्दा राम्रो गर्न अझै इन्टरनेसनल फ्रेण्डली म्याचहरु हुनुपर्छ जस्तो लाग्छ।'

यस्तै अहिले आएको नयाँ खेलाडीहरु पनि राम्रो रहेको उनको बुझाई छ। नयाँ केटाहरु एकदमै मोटिभेसनल भाछन्। खेलाडीहरुको उचाई पनि छ। उनीहरुलाई अलि राम्रो प्रशिक्षण दिने हो भने  नेपाली भलिबलमा पछि राम्रो खेलाडी बन्नेछन्।'

 

पुरानै लयमा फर्कने तयारी

गत वर्ष पुरुष भलिबलमा आर्मी उत्कृष्ट टिम थियो। त्यसमा मानबहादुरलगायत खेलाडीको पनि योगदान थियो। आठौँ राष्ट्रिय खेलकुदपछि भने आर्मीको टिमको प्रदर्शनमा केही कमजोर बनेको छ। आठौँ भन्दा अघि चितवनमा भएको मेयर कपमा आर्मी पुलिससँग फाइनलमा पराजित भएको थियो। त्यसपछि आठौँ र ताप्लेजुङमा भएको प्रतियोगितामा पनि फाइनलमा पुलिसले नै आर्मीलाई हराएर उपाधि जित्यो।

पछिल्लो समय आर्मी कमजोर बनेको मानबहादुर पनि स्वीकार्छन्। 'म खेल्दा पनि दुई वटा टुर्नामेन्टमा हामी पुलिससँग हारेको थियौँ। बाँकी दुई वटामा म नखेल्दा पनि आर्मी हार्‍यो। टिम पहिलाको जस्तो अलि नभएको हो कि भन्ने मलाई नि फिल भइरहेको छ।'

'हामी फिजिकलमा सबै फिट छौँ। नयाँ खेलाडीहरुले थोरै खेलमात्र खेलेकोले म्याच एक्सपिरिएन्सको कमी भएको जस्तो लाग्छ।' यस्तै सिनियर प्लेअरहरुको पनि कहिले गणमा कहिले पृतनामा गएर खेल्नुपर्ने भएकोले स्तर अलि कम भएको उनले बताए।

 

गनर्स सेलेब्रेसन गर्ने धोको

मान बहादुरले खेलसँगै उनको सलेब्रेसनका कारण पनि चर्चामा रहन्छन्। उनी विपक्षीविरुद्ध स्पाइक प्रहार गर्दै अंक जोडेपछि आफ्नै शैलीमा गनर्स सेलेब्रेसन गर्छन्। धेरैले यसलाई प्रभावित समेत गरेको छ। मानबहादुर आफैँलाई पनि यो निकै मन पर्छ।

तर पछिल्लो समयमा धेरै खेल्न नपाएकोले उनको यो सेलेब्रेसनले दर्शकले हेर्न पाएका छैनन्। यस्तै राष्ट्रिय टिममा अहिले नरहेको र राष्ट्रिय टिमको खेलहरु पनि नरहेकाले उनले यस्तो देखाउन पाएका छैनन्।

'म पनि त्यो सेलेब्रेसनको प्रतीक्षामा एकदमै छु। जुन दिन हामीले सेम लेभलको टिमसँग खेल्छौँ। त्यस दिन राम्रो खेल्दै दर्शकहरुलाई सेलेब्रेसन देखाउन चाहन्छु।'

'मलाई मानबहादुर भनेर मात्र होइन। त्यो मेरो एक्सनले पनि चिन्ने धेरै छन्। धेरैले त्यो एक्सन मन पर्छ भनेर कुरा पनि गर्छन्। त्यो देखाउन म एकदम आतुरमा छु। चाँडै नै देखाउँछु भन्ने मलाई लागिराछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell