PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

प्रधानमन्त्री कप क्रिकेट, प्रदेश ३ लाई हराउँदै आर्मी फाइनलमा : प्रतिस्पर्धा पुलिस या एपीएफसँग

प्रधानमन्त्री कप क्रिकेट, प्रदेश ३ लाई हराउँदै आर्मी फाइनलमा : प्रतिस्पर्धा पुलिस या एपीएफसँग


काठमाडौँ:  त्रिभुवन आर्मी क्लब तेस्रो प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधवार भएको पहिलो सेमिफाइनलमा प्रदेश नम्बर ३ लाई ११७ रनले पराजित गर्दै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो।

पहिलो सिजनमा नेपाल पुलिससँग संयुक्त रुपमा विजेता बनेको आर्मी लगातार तेस्रो पटक फाइनल पुगेको हो। दोस्रो संस्करणमा भने आर्मी एपीएफसँग फाइनलमा पराजित भएको थियो।

आर्मीले अब उपाधिका लागि भोलि हुने नेपाल पुलिस र एपीएफबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

आर्मीको जितमा कप्तान विनोद भण्डारी र राजु रिजालले अर्धशतक प्रहार गर्दा बलिङमा बहाब आलमले ३ विकेट लिए।

समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेको आर्मीले प्रदेश ३ लाई सहजै हराउने क्रममा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्यो। कीर्तिपुरस्थित टीयू मैदानमा टस हारे पहिले ब्याटिङ गरेको आर्मीले सुस्त सुरुवात गरेपनि कप्तान विनोद भण्डारीको विष्फोटक ब्याटिङको मद्दतमा ५० ओभर खेल्दै ९ विकेट गुमाएर ३०९ रन बनाएको थियो। यस सिजन यो कुनै पनि टिमले बनाएको उच्च स्कोर हो।

यसअघि ओपनिङ गर्दै आएका कप्तान विनोदले प्रदेश ३ विरुद्ध छैटौँ नम्बरमा ब्याटिङ गरेपनि नटआउट ७५ रन बनाए। उनले ४२ बल खेल्दै ५ चौका र ५ छक्का प्रहार गरे। यस्तै ओपनर राजु रिजालले अर्धशतक प्रहार गरे। ओपनिङ गर्दै २८औँ ओभरसम्म क्रिजमा टिके पनि राजुले ८६ बल खेल्दै ४ चौका र २ छक्काको मद्दतमा ५१ रन मात्र बनाएका हुन्। यसैगरी रोहित कुमार पौडेलले ४३, हरिबहादुर चौहानले ३८, राजेश पुलामी मगरले २९ र करण केसीले २१ रन बनाए। कुशल मल्लले नटआउट २६ रन योगदान गरे। 

४७औँ ओभरमा आर्मीका विनोद र कुशलले प्रदेश ३ का बलर सूर्य तामाङलाई २७ रन प्रहार गरेका थिए।

बलिङमा प्रदेश ३ का नन्दन यादव र जितेन्द्र सिंह ठकुरीले २-२ विकेट लिए। १० ओभर स्पेलमा स्पीनर सूर्य तामाङले ९१ रन खर्चिए पनि विकेट लिन सकेनन्।

जवाफमा ३१० रनको उच्य लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको प्रदेश ३ ले पूरै ५० ओभर ब्याटिङ गरेपछि ९ विकेट गुमाएर १९२ रन बनायो। आर्मीको बलिङसामु प्रदेश ३ का खेलाडीले खुलेर ब्याटिङ गर्न सकेनन्। प्रदेश ३ का लागि तेस्रो नम्बरमा ब्याटिङ गरेका इशान पाण्डेले अर्धशतक प्रहार गरेपनि उनलाई अन्य खेलाडीले गतिलो साथ दिन सकेनन्। इशानले ११७ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा ७९ रन बनाए। यस्तै ज्ञानेन्द्र मल्लले २६, कप्तान पारस खड्काले १९ र आदिल खानले १९ रन जोडे। नन्दन यादवले नटआउट १८ रन जोडे। 

बलिङमा आर्मीका शहाब आलमले १० ओरभमा १ मेडन राख्दै ३० रन खर्चेर ३ विकेट लिए। करण केसीले २ विकेट लिए। यस्तै सुशन भारी, कुशल मल्ल र रोहित कुमार पौडेलले १-१ विकेट लिए।



ट्रेन्डिङ पोस्ट

Ncell