घटना १
महर्षि वाल्मिकीले लेखेको ग्रन्थ रामायणबाट:
महर्षि वाल्मिकीले लेखेको ग्रन्थ रामायणमा राम र रावणको युद्ध छ। देवता मानिएकाहरूको पनि अहंकार, क्रोध, बदलाको पाटो चित्रित छ। त्यो बदल र क्रोधले निम्त्याएको युद्ध र युद्धको अन्तिम विन्दु नरसंहार बारे अनेक लेख लेखिएका छन्। फिल्म, टेलिफिल्म बनेका छन्।
रामले युद्ध नीति अनुरूप लंका प्रहार गरे या गरेनन्? रावणले किन युद्ध जित्न छलको सहारा लिएनन्? राम सत्य कि असत्य? यी तमाम प्रश्नहरू रामायणले खडा गरेका छन्। ती प्रश्नहरूका बाबजुद रामायणले एउटा सरल कथा भनेको छ।
राम, सीता र लक्ष्मण वनवासमा थिए। जङ्गलमा रहेका उनीहरूको कुटीमा एक दिन रावणकी बहिनी सुर्पनखा पुग्छिन् र राम लक्ष्मणसँग विवाहको प्रस्ताव राख्छिन्। उनको प्रस्ताव सुनेर क्रोधित लक्ष्मणले सुर्पनखाको नाक काटी दिन्छन्। घटना रावणलाई सह्य हुँदैन।
बदलामा राम र लक्ष्मणका विरुद्ध युद्ध हुन्छ। रावणका सेना हार्छन्। तर, चुप बस्दैनन्। एक दिन राम र लक्ष्मण सिकार गर्न निस्कन्छन्। योजना अनुरूप रावण महात्माको भेष धारण गरेर कुटीमा पुग्छन्। र, सीता हरण गर्छन्। आफ्नी बहिनीको नाक काटिएको बदला लिनका लागि।
सीतालाई फर्काउने खेलमा लंका युद्ध हुन्छ। त्यसपछि भएका ठुलो नरसंहारको व्याख्या रामायणमा छ।
घटना २
जेठ ६ गते पाँचथरमा भएको सामूहिक हत्या बारे खबरहरूबाट:
जेठ ६ गते राति पाँचथरको मिक्लाजुङमा एकै पटक दुई परिवारको हत्या भयो। धनराज शेर्मा र बमबहादुर फियाकका परिवारका नौजना एक चिहान भए। प्रहरी अनुसन्धानले हत्यामा मनबहादुर माखिमको संलग्नता रहेको इंकित गर्योह। माखिम हत्या भएका बमबहादुरका ज्वाइँ थिए। छोरी र ज्वाइँ छुट्टिएका थिए।
श्रीमतीसँगको वैवाहिक सम्बन्धको फाटो क्रोधमा परिणत भयो। र, क्रोध हत्यामा।
ससुराली खलकको हत्याले उनको क्रोध साम्य भने भएन। बरु उनी स्वयंले आत्महत्याको बाटो रोजे।
घटना ३
मण्डला नाटकघरमा प्रदर्शनरत नाटक 'क्लेशा'बाट।
प्रधानपञ्चको भाइ अनुज र गाउँकै रुद्रकी बहिनी कान्छी सम्बन्धमा हुन्छन्। जब अनुजले कान्छीसँग छल गर्छ तब न्याय माग्दै प्रधानपञ्चको घर पुग्छ रुद्र। तर, न्याय पाउँदैन। बरु गाउँबाट बसाई सर्ने अवस्थामा पुग्छ।
पहाडबाट तराई झरे पनि रुद्र चुप भने बस्दैन। क्रोध र बदला भावले ग्रस्त उसले प्रधानपञ्चकी श्रीमती भूमिको अपहरण गर्छ। आफ्नै घरमा बन्धक बनाएर राखिएकी भूमिलाई कुनै पनि किसिमको दुर्व्यवहार भने गर्दैन। बरु प्रधानपञ्च र आफ्नी बहिनीलाई धोका दिने अनुज वार्तामा आउन्, कुरा गरुन्, माफी मागुन् र बहिनीलाई न्याय दिउन् भन्ने चाहन्छ।
यो घटनाक्रम पहिलो घटनाक्रमसँग मिल्दो लाग्छ। राम लक्ष्मणले रावणकी बहिनीको नाक काँटी पठाउनु। रावणले बदलामा सीताको अपहरण गर्नु। बन्धक बनाएर राखिए पनि सीतालाई दु:ख नदिनु, दुर्व्यवहार नगर्नु।
मिल्दो यस कारण छ, प्रतीक्षा कट्टेलले रामायणकै कथालाई पुनर्पाठ गरिन् र नेपाली परिवेशसँग मिल्दो नाटक 'क्लेशा' लेखिन्।
***
त्रेता युग, पञ्चायत काल र आजको समय। तीन वटा फरक कालखण्ड, तर मानवीय प्रवृत्ति र घटनाहरूका प्रकृतिहरू मिल्दो। मतलब समय बदलियो, स्वभाव बदलिएन। केही यस्ता स्वभाव जसले हरेक काल वा समयमा देव मानिएकादेखि सत्ताधारी या आम मानिसलाई एउटै परिणामसम्म पुर्या उँदै आएका छन्। त्यो परिणाम कि त शान्तिय र प्रेमसँग जोडिएको हुन्छ या युद्ध र घृणासँग।
माथि उल्लिखित घटनाहरू मुख्यतः: घृणा र युद्धसँग जोडिएका छन्। जसका मुख्य कारण मानिस भित्रको 'क्लेश'लाई सङ्केत गर्छिन् नाटककार कट्टेल। क्लेश अर्थात् राग, द्वेष, अशिक्षा, अस्मिता र अभिनिवेश। जब क्लेश हाबी हुन्छ तब संयमताले हार्छ। जब संयमता हार्छ तब विनाश निश्चित छ।
उनको निचोड प्रस्ट्याउने थुप्रै घटना हिजो लेखिएका ग्रन्थहरूमा पढ्न पाइन्छ। आज बाँचिरहेको यथार्थमा देख्न, सुन्न, भोग्न पर्छ।
क्लेश नहुँदो हो त रावणले सीता अपहरण गर्दैन थिए। वा, लंकाको युद्ध नै हुँदैन थियो। पाँचथरका मनबहादुर माखिमले ससुराली खलक र आफैलाई सखाप पार्दैन थिए। सायद, नाटकको अन्त्य पनि केही सुखद हुन्थ्यो।
मानवीय स्वभावलाई प्रत्यक्ष प्रभाव पार्ने सामाजिक संरचना र राजनीतिक व्यवस्था बारे पनि विवेचना गरेको छ नाटक क्लेशाले। जो पदमा हुन्छ सारा शक्ति उसँग रहन्छ। प्रतिनिधि घटनाको रूपमा उभ्याइएको छ, तत्कालीन प्रधानपञ्चको परिवारले गाउँले माथि गरेको ज्यादतीलाई।
उसले शक्तिको दुरुपयोग, दमन र अत्याचार गर्दा सजायको भागीदार हुँदैन बरु पीडित भाग्नु पर्छ, लुक्नु पर्छ, डराउनु पर्छ।
भाग्न बाध्य पारिएकाहरू सधैं निरीह हुन्छन् वा चुप रहन्छन् भन्ने चाहिँ होइन। पीडितसँग पनि आवाज हुन्छ, शक्ति हुन्छ भन्ने देखाउँछ रुद्र पात्रले। उ छल होइन छलफल गरेर आफ्नो अधिकार पाउन खोज्छ। उ सत्यको पक्षमा छ र उसको पक्षमा इमानदार गाउँले छन्, जो उसँगै पहाडबाट तराई झर्छन्। नयाँ बस्ती बसाउन लागि पर्छन्।
नाटकका मुख्य पात्रहरूको संवाद बेतिथिविरुद्धको आवाज मान्न सकिन्छ।
रुद्र र गाउँले अन्यायको विरुद्ध बोलिरहँदा अपहरणमा परेकी भूमि क्लेश र बन्धनको विरुद्ध बोल्छिन्। स्वतन्त्र रहने अधिकार बारे कुरा गर्छिन्। आफ्नो मित्र र शत्रु आफै छुट्याउने निर्णय गर्छिन्।
भलै केही दृश्यमा उनका हाउभाउ क्लिसे लाग्छन्। पतिसँग चञ्चल उनी रुद्रसँगको कुराकानीमा गम्भीर सुनिन्छिन्। पात्रको पृष्ठभूमि प्रस्ट नपार्नुले उनीमा देखिने परिवर्तन अस्वाभाविक भान हुन्छ।
तर, प्रधानपञ्चको घरमा बुहारी भएर थुनिएकी उनी गाउँलेसँगको घुलमिलपछि मात्र निर्णय लिन सक्ने हुन्छिन्। मतलब जब मान्छे स्वतन्त्र हुन्छ तब सामाजिक हुन्छ। जब सामाजिक हुन्छ तब आफ्नो विचारमा स्पष्ट हुन्छ।
चञ्चल स्वभावकी उनको अपहरणपछि व्यवहार साथै विचारमा परिपक्व लाग्छ। त्यसपछि उनी बोल्दा पितृसत्ता विरुद्धको आवाज सुनिन्छ।
श्रृङ्गार र गहना त्यागेर बसेकी उनलाई श्रीमानले भेट्दा हाल खबरभन्दा अगाडि गहना बारे सोध्छन्। उनी निर्धक्क भन्छिन्,'मलाई सबै बन्धनबाट मुक्त भएर, आफू भएर संसार हेर्नुछ। गहना लगाएर
हेरेको भए सायद तिम्रो आँखाबाट हेर्थेँ।'
उनी स्वतन्त्र रहन, आफ्नो दृष्टिकोण बनाउन चाहन्छिन्। यदि प्रधानपञ्चको श्रीमती भएर हेरेको भए रुद्र पात्र क्रूर भएको बुझ्थिन् र एक असल साथी बनाउनबाट वञ्चित रहन्थिन्।
पात्रहरूलाई फ्ल्यास ब्याकमा लाँदै वर्तमानको कथा भन्नु निर्देशकीय कुशलता हो। विजया कार्कीको पहिलो निर्देशन हो यो। तर, लेखकको कल्पनालाई दुरुस्त उतार्न गरेको जमर्को कथा भन्ने शैलीमा झल्कन्छ।
विभिन्न परिवेशमा घट्ने घटनाहरू देखाउँदा सेट भने न्युट्रल रहन्छ। जसले गर्दा मञ्चन भइरहेको दृश्यको पृष्ठभूमि के हो? भन्ने अन्यौलता सिर्जना गर्छ। घटनाक्रमसँगै सेटमा परिवर्तन आवश्यक लाग्छ।
प्रमुख पात्रहरूभन्दा सहायक पात्रहरू शान्ता काकी, दुर्गा, बलराम लगायतको अभिनयले दर्शकलाई मञ्चमा बाँधी राख्छ। फिल्मी पर्दामा जमेकी सुरक्षा पन्त (भूमि)ले आफ्नो चरित्रलाई भरपुर निभाएकी छिन्।
प्रमुख पात्रहरूले संवादलाई जिवन्तता दिन सकेको भए दर्शक पात्रको संवेदनासँग जोडिने प्रशस्त ठाउँ थियो। विशेषत: कान्छी पात्र, जो थोरै बोल्छिन्। जति बोल्छिन् त्यति पढेको सरह सुनिन्छ। कारुणिक संवादमा पनि कुनै पीडा झल्कँदैन।
प्रकाशको प्रयोग सशक्त छ। सेटमा प्रयोग गरिएका प्रकाशले पात्रहरूको अवस्था र मनोदशा झल्काउँछ। नयाँ बस्तीमा पहिलो घर बन्दाको रमझममा हुने उज्यालो र प्रेमिल दृश्यमा प्रयोग मधुर रङको प्रकाश उदाहरण हुन्। उमेश तामाङको प्रकाश परिकल्पना कथावस्तुलाई न्याय दिएको छ।
प्रकाशसँगै प्रत्यक्ष सङ्गीत र दृश्य मिल्दो गीतहरूले नाटकलाई थप जिवन्तता दिएका छन्। जसको लागि प्रशंसनीय छन् उत्सव बुढाथोकी टोली।
पृष्ठ ध्वनि संयोजन भने मिल्दो लाग्दैन। पात्रहरू क्रोधमा हुँदा र पीडामा हुँदा एउटै धुन सुनिन्छ। दृश्यसँगै पृष्ठभूमिमा सुनिने धुनमा आरोह अवरोह खट्कन्छ।
नाटकमा सृजना अधिकारी, रुजु शर्मा, कुशल पाण्डे, सविना थापा, राज खड्का, सुदिप खतिवडा, तुफान थापा, सविन भट्टराई, अमृत काउचा, स्वप्निल घिमिरे लगायतको अभिनय रहेको छ।
यी कलाकारले देखाएको परिवेश, प्रवृत्ति र परिदृश्यहरू नै हिंसाको कारण हुन् भन्ने सन्देश प्रवाह हुन्छ। त्यसैले नाटकलाई हिंसा, द्वेष, कलहविरुद्धको कलात्मक प्रस्तुति मान्न सकिन्छ।
नाटकमा देखाइएको पञ्चायती व्यवस्था देशमा रहेन। राजतन्त्र हुँदै लोकतान्त्रिक गणतन्त्र संविधानसभाबाट संविधान निर्माण हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युगसम्म आइपुग्दा राजनीतिक उथल पुथल भए, सामाजिक संरचना फेरियो, चेतना स्तर विकास भयो।
तर, किन अझै पनि सामूहिक हत्या, बलात्कार, एसिड प्रहार, हिंसा, द्वन्द्व रोकिँदैन? के मानव स्वभावका अघि बाह्य विकास र परिवर्तन सधैँ गौण रहन्छन्?
प्रश्न तथा आत्म समीक्षाका लागि ठाउँ छोडेको छ ‘क्लेशा’ले।