PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

यी हुन् लगातार दुई पटक प्रधानमन्त्री कप क्रिकेट जित्ने दुई खेलाडी



यी हुन् लगातार दुई पटक प्रधानमन्त्री कप क्रिकेट जित्ने दुई खेलाडी

काठमाडौं : तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि शनिवार नेपाल पुलिसले जित्दा दुई खेलाडीले फरक कीर्तिमान बनाए। गत संस्करण एपीएफबाट खेल्दै उपाधि जितेका दुई खेलाडीले भने यस पटक नेपाल पुलिसबाट ट्रफी जिते।

राष्ट्रिय टिमबाट खेलिसकेका दुई खेलाडी अनिल कुमार शाह र पवन सर्राफले लगातार दुई पटक प्रधानमन्त्री कप क्रिकेटको उपाधि जितेका हुन्। उनीहरु दुई फरक टोलीबाट प्रधानमन्त्री कप जित्ने खेलाडी समेत बनेका छन्। गत वर्ष एपीएफबाटै उपाधि जितेका करण केसी र रोहित कुमार पौडेलले यस सिजन आर्मीबाट खेलेका थिए। आर्मीले फाइनल खेलेपनि रोहित र करण भने उपविजेतामै चित्त बुझाउन बाध्य भए।

अनिल र पवनको आगमनले यस पटक पुलिस केही बलियो बनेको थियो। तर यी दुवै खेलाडीले प्रतियोगितामा भने सोचे जस्तै प्रदर्शन गर्न सकेनन्। विकेटकिपङ समेत गर्ने अनिलले ६ खेल खेल्दा ५६ रन मात्र बनाउन सके। उनले फाइनलमा आर्मी विरुद्ध विकेटकिपङ पनि सम्हालेका थिए।

अनिलले यस पटक सोचेजस्तो प्रदर्शन गर्न नसकेको स्वीाकारे। गत वर्ष नामिबायामा भएको डिभिजन टू मा केन्या विरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यु गरेका अनिल पछिल्लो पटक नेपालले ओडिआई सिरिज जित्दा भने टिममा परेका थिएनन्। उनले नेपालले नेदरल्याण्ड्स विरुद्ध खेलेको पहिलो ओडिआई सिरिजको भने दुवै खेल खेलेका थिए।

'अब राष्ट्रिय टिममा पुनरागमन गर्नको लागि मैदान भित्र र बाहिर अझ महेनत गर्नेछु। आफूलाई तयार पार्नेछु।' अनिलले भने।

यस्तै ब्याटिङ अलरउण्डरको रुपमा खेलेका पवनले पनि राम्रो प्रदर्शन गर्न सकेनन्। पवनले ६ खेल खेल्दा ५५ रन मात्र बनाउन सके।

यस्तै ५ इनिङ्स बलिङ गरेका पवनले ६ विकेट लिए। उनको उत्कृष्ट प्रदर्शन भने फाइनलमा थियो। उनले आर्मी विरुद्ध ७ ओभर बलिङ गर्दा ४ ओभर मेडन राख्दै १२ रन मात्र खर्चेर ४ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell