PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

जता गयो, त्यतै जित: दुई फरक टिमबाट दुई फरक उपाधि पाउने भाग्यमानी क्रिकेटर



गोविन्दराज नेपाल

जता गयो, त्यतै जित: दुई फरक टिमबाट दुई फरक उपाधि पाउने भाग्यमानी क्रिकेटर

काठमाडौं : तेस्रो प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसले जित्दा अनिल शाह र पवन सर्राफको भागमा भने दोहोरो उपलब्धि हात लाग्यो।

यी दुबै खेलाडी यसै सिजनका लागि अर्को विभागीय टोली एपीएफबाट पुलिसमा अनुबन्धित भएका थिए। विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेर उपाधि हात पर्दा यिनीहरु दुबै टिमको महत्वपूर्ण हिस्सेदार बने।

अनिल र पवन त्यस्ता भाग्यमानी खेलाडी बने जसले दुई फरक टोलीबाट लगातार उपाधि जित्ने कीर्तिमानी बनाए। गत वर्ष एपीएफले आर्मीलाई पराजित गर्दा यी दुई खेलाडी एपीएफमै थिए।

यसपटक पुलिसबाट खेल्दै लगातार दोस्रो पटक ट्रफी उचाल्ने मौका पाए यी दुईले। फरक-फरक टिमसँग जोडिएर लगातार जित हासिल हुने विषय भने विरलै हुने गर्छ।

नयाँ टिमबाट खेल्दा चुनौती भए पनि सबैको मेहेनत र एकताले गर्दा उपाधि जित्न सफल भएको अनिलले बताए।

'फाइनल जितेपछि सधैं खुशी लाग्छ। पुलिस टिम नयाँ टिम थियो। चुनौती पनि थियो। नयाँ हुँदा वातावरण पनि नयाँ हुन्छ। ड्रेसिङ रुम नै चेन्ज हुन्छ। तर पनि यो टिममा खेलाडीहरुमा युनिटी थियो र मिहेनत पनि,' जितको राज खोले अनिलले।

योजना अनुसार खेल हुन नसके पनि कुनै पनि टिमको उद्देश्य जित्नुपर्छ भन्ने नै हुन्छ। त्यसमा काम गर्छ रणनीति। टिमको रणनीति सफल भएकोमा उनी खुशी छन्।

'इन्डिभिजुअल प्रदर्शन भन्दा पनि टिमलाई कसरी मिलाएर अगाडि बढाउन सकिन्छ भन्ने सोच थियो र त्यही सोचले नै जिततर्फ ल्यायो,' उनले सुनाए, 'कति खेलाडीसँग पहिलो पटक ड्रेसिङ रुम सेयर भयो। तर पनि हाम्रो टिमवर्क राम्रो हुँदा जित्यौं।'

दुई फरकम टिमबाट खेल्दा अनिललाई सुरुमा केही चुनौती नभएको भने होइन। तर, फरक टिमसँग खेल्दा उनले अनुभुति पाए जसलाई उपलब्धी नै मान्छन् उनी।

'सबै टिममा क्याप्टेन र म्यानेजमेन्ट अनुसार अलि फरक फरक हुने रहेछ। गत वर्ष एपीएफबाट खेल्दा बसन्त दाइ कप्तान हुनुहुन्थ्यो। बसन्त दाइसँग खेल्दा र अहिले पुलिसको कप्तान मन्जित दाइसँग खेल्दा अलिकति फरक त हुने नै भयो। सुरुमा एड्जस्ट गर्न गाह्रो हुने रहेछ,' उनले भने।

टिमको प्लान जस्तो सुकै भए पनि सबैको ध्येय कसरी जिताउने भन्ने नै हुने भएकाले त्यही अनुसार टिम मुभ भएको उनले बताए।

अनिलले लगातार दुवै पटक एउटै प्रतिद्वन्द्वीसँग फाइनल खेले र दुवै पटक आफू च्याम्पियन टिममा रहे। त्यसैले उनी विपक्षीलाई भन्दा पनि आफ्नोलाई ध्यानमा राख्छन्।

'खासमा अर्को टिमभन्दा पनि आफ्नो टिमलाई नै हेर्ने गरिन्छ। अर्को टिमले के गरिरहेछ भन्दा पनि आफ्नो टिममा धेरै फोकस हुन्छ। किनकि आफूले राम्रो प्रदर्शन गरेपछि अर्को टिमलाई स्वत: प्रेसर हुन्छ,' उनले रणनीति सेयर गरे।

गएको सिजनमा आर्मीसँगै फाइनल खेलेका अनिलका लागि यसपटक पनि उस्तै भयो। यसपाला आर्मीको भन्दा पुलिसको बलिङ राम्रो भएको उनले बताए।

'हाम्रो टिमले बलिङ चाहिँ राम्रो गरेको थियो। ब्याटिङ लाइनअप पनि डिप थियो। तर, ब्याटिङ नचल्दा मनमा अलि डाउट थियो। आर्मीको पेस बलरमा सोमपाल र करण थियो भने स्पीनमा भारी र शहाब थियो। तै पनि उनीहरुको एउटा बलर सर्ट भएको जस्तो थियो,' उनले खेलको सर्टकर्ट रिभ्यू सुनाए।

गत वर्ष आर्मीको टिमबाट सागर पुनले खेलेका थिए। उनी पहिलो र दोस्रो संस्करणमा म्यान अफ दि सिरिज पनि बनेका थिए। यसपटक भने चोटका कारण टिममा थिएनन्। ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गरेका सागरको अभाव यसपाला आर्मीमा खड्कियो। तर, पवन र आफ्नो आगमनपछि पुलिस भने बलियो भएको उनको ठम्याइ छ।

अनिल पनि आर्मीको टिममा परिवर्तन आएको देख्छन्।

'लास्ट टाइम भन्दा आर्मी अलि कमजोर जस्तो थियो। पुलिस चाहिँ स्ट्रङ्ग बनेको थियो। पवन र म आयौँ। ब्याटिङमा पनि चेन्ज गरेर डिपसम्म राखेर अलिकित सन्तुलित बनाएका थियौँ,' अनिलले भने, 'आर्मीलाई कसरी हराउने भन्दा पनि हामी कसरी राम्रो खेल्ने भनेर तयारी गरेको थियौँ। सफल भयौँ।'

यसपटक प्रतियोगितामा सबै टिमले रन बनाउन संघर्ष नै गरे। सेमिफाइनलमा आर्मीले प्रदेश ३ विरुद्धको खेलमा मात्र ३ सय रनको स्कोर कटाएको थियो। तर, पुलिसविरुद्धको दुवै खेलमा आर्मीले ब्याटिङमा संघर्ष गर्नुपर्‍यो।

पुलिसले पनि थोरै लक्ष्य पछ्याउँदा पनि ब्याटिङमा संघर्ष नै गर्‍यो। सेमिफाइनलमा एपीएफलाई ४१ रनमा अलआउट गरेको पुलिसले त्यहीअनुसारको लक्ष्य पूरा गर्न ५ विकेट गुमाएको थियो।

फाइनलमा पनि आर्मीले दिएको १२६ रनको लक्ष्य पुलिसले ४१ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको थियो।

यस पटक सबै खेलाडीले नै ब्याटिङ गर्न संघर्ष गरेको अनिलको बुझाइ छ।

'ब्याटिङमा स्ट्रगल सबैले गरेको छ। टप अर्डरदेखि लोअर अर्डरसम्म सबैले,' उनले भने, 'कुनै-कुनै गेममा एकदुई जनाको कन्ट्रिब्युसनले गर्दा हामी यहाँसम्म आइपुगेका हौं। त्यही भएर इन्डिभिजुएल प्रदर्शनभन्दा पनि टिम प्रदर्शनले जितेका हौँ।'

अनिलले पनि यसपटक सोचेजस्तो प्रदर्शन गर्न सकेनन्। उनले ६ खेल खेल्दा जम्मा ५६ रन मात्र बनाउन सके। फाइनल खेलमा पुलिसले नियमित विकेटकिपर दिलीप नाथलाई ड्रप गरेपछि अनिलले आर्मी विरुद्ध विकेट किपिङ पनि सम्हाले। तर, यस संस्करणको प्रदर्शनबाट अनिल सन्तुष्ट भने छैनन्।

'योपालि गत वर्षको जस्तो भएन। एक्स्पेक्टेसन धेरै थियो यसपाला। तर, नसोचेको प्रदर्शन भयो। यसलाई यहीँ छाडेर अब अगाडि कसरी बढ्ने भन्ने सोच्नुपर्छ,' उनले बताए।

राष्ट्रिय टिममा पुनरागमनको आशा

नेपालले गत वर्ष फेब्रुअरीमा नामिबियामा खेलेको डिभिजन टूबाट अनिलले राष्ट्रिय टिममा डेब्यु गरेका थिए। त्यसपछि उनले नेपालले पहिलो पटक ओडिआई स्ट्याटस पाउँदादेखि नेपालले नेदरल्याण्ड्ससँग खेलेको पहिलो ओडिआई सिरिजसम्म टिममा स्थान बनाए।

तर, पछिल्लो पटक नेपालले युएई विरुद्धको ओडिआई र टी २० आई सिरिजभन्दा बाहिर अनिल टिममा अटाउन सकेनन्।

यस पटक ५० ओभरको क्रिकेटबाट अनिललाई पुनरागमन गर्ने मौका पनि थियो। तर, राम्रो गर्न सकेनन्। तै पनि यस्तो किसिमको प्रतियोगिताले राष्ट्रिय टिममा पुनरागमन गर्ने आधार तयार हुने उनको बुझाइ छ।

'यस्तो खालको टुर्नामेन्टले धेरै सहयोग गर्छ। नेपालमा डोमेस्टिकमा टी २० टुर्ननामेन्टहरु धेरै छन्। ५० ओभरको एउटा मात्र टुर्नामेन्ट छ। यसमा सबैको नजर हुन्छ,' उनले भने, 'यसमा प्रदर्शन गरेपछि टिममा परिन्छ भन्ने हुन्छ।'

नेपाल क्रिकेट संघ (क्यान) आइसीसीको निलम्वनमा रहेका कारण राष्ट्रिय खेलकुद परिषदले नै यो प्रतियोगिता आयोजना गरेको हो।

व्यक्तिगत प्रदर्शन राम्रो हुन नसके पनि अनिल पछि हट्ने सुरमा भने छैनन्। आफूलाई सँधै तयार राख्ने बताउँछन्। अलिकति नराम्रो हुँदै नआत्तिने उनको स्वभाव छ।

'खासमा म चाहिँ यस पटक टुर्नामेन्टमा राम्रो हुन सकिनँ। अब म यहाँबाट नेगेटिभ भएँ भने आफूमाथि नै प्रेसर हुन्छ। र, म झन् डाउन हुनसक्छु त्यही भएर म यसलाई अलि साइडमा राखेर रिजल्टभन्दा पनि आफ्नो प्रोसेसमा फोकस गर्छु।'

अब नेपालले डेढ महिनापछि आइसीसी टी २० वर्ल्ड कपको लागि एसियन रिजन क्वालिफायर खेल्दैछ। त्यसमा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् र विजेता टिम युएईमा हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ।

अनिलले राष्ट्रिय टिममा पुनरागमनका लागि आफूलाई सबै पक्षमा तयार राख्ने बताए।

'राष्ट्रिय टिमको लागि के रिक्वायरमेन्ट छ त्यो गरिराछु। अनलक्किली मैले प्रदर्शन गर्न सकिन। तर पनि जुन प्रोसेसहरु छ त्यसमा तयारी गर्नेछु। ट्रेनिङ र फिटनेसमा फोकस गर्छु र अगाडि बढ्छु,' उनले आफ्नो योजना सुनाए, 'अब अन द फिल्ड भन्दा पनि अब चाहिँ आउने दिनमा अफ दि फिल्ड पनि कसरी ग्रुम गर्ने, कसरी पर्सनको रुपमा आफूलाई म्याचुरिटी देखाउने, टिममा मैले कसरी कन्ट्रिब्युट गर्न सक्छु भन्नेबारे ध्यान दिनेछु। रन लिने र विकेट लिनेमात्र ठूलो कुरा हुँदैन। कसरी कन्ट्रिब्युट गर्न सकिन्छ र टिमलाई कसरी हेल्प गर्न सकिन्छ भनेर सोचेर अगाडि बढ्नेछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell