PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलको लागि नेपालको प्रशिक्षण सुरु, विदेशी प्रशिक्षक एक सातापछि आउने



गोविन्दराज नेपाल

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलको लागि नेपालको प्रशिक्षण सुरु, विदेशी प्रशिक्षक एक सातापछि आउने

काठमाडौं : नेपालमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष सिनियर भलिबल च्याम्पियनसीपका लागि नेपाली भलिबल टिमको बन्द प्रशिक्षण सुरु भएको छ।

आगामी साउन ३२ देखि भदौ ८ गतेसम्म नेपालमा पाँचौँ एभिसी सेन्ट्रल जोन आयोजना हुँदैछ। त्यसैका लागि नेपाल भलिबल संघ एनभीएले आठौँ राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनको आधारमा २५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा सामेल गराएको हो।

एनभीएको सेलेक्सन कमिटीले आठौँ खेलकुदपछि २५ सदस्यीय प्रारम्भीक सूची तयार पारेको हो। आठौँ राष्ट्रिय खेलकुद नखेलेका कारण राष्ट्रिय टिमका नियमित सदस्य तथा ओपन स्पाइकर मान बहादुर श्रेष्ठ भने प्रशिक्षणमा सहभागी छैनन्।

लगनखेलस्थित शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु भएको प्रशिक्षणको पहिलो दिन सोमवार खेलाडीहरुको परिचयात्मक कार्यक्रममात्र भयो।

'आजदेखि औपचारिक रुपमा बन्द प्रशिक्षण भएको छ। भोलिदेखि खेलाडीले प्रशिक्षण सुरु गर्नेछन्,' एनभीएका महासचिव जितेन्द्रबहादुर चन्दले भने।

सोमबार चौथो प्रधान सेनापति पुरुष भलिबल प्रतियोगिता सकिएकाले आजदेखि राष्ट्रिय टिमको लागि बन्द प्रशिक्षण सुरु भएको हो।

नेपालमा पहिलो पटक हुन लागेको यस प्रतियोगिताबाट एनभीए पदाधिकारी, खेलाडी सबै जना उत्साहित छन्।

'यसअघि हामीले सबै प्रतियोगिता बाहिर खेलेका थियौं। यस पटक घरेलु कोर्ट र दर्शकका खेलाडी खेल्ने मौका छ। प्रशिक्षण पनि लामो समयदेखि गर्न पाउँदैछौं। विदेशी प्रशिक्षक पनि आउँदैछन्। राम्रो नतिजा ल्याउने विश्वास छ,' यसअघिका सबै चार वटा एभिसी सेन्ट्रल जोन च्याम्पियनसीप खेलेका कप्तान इमबहादुर मगरले भने, 'सबै विपक्षीसँग हामीले यसअघि कुनै न कुनै प्रतियोगितामा खेलिसकेका छौँ। बंगलादेश, माल्दिभ्स र अफगानिस्तान हामी समान हुन्। उज्वेकिस्तान र तुर्कमिनेस्तान चाहिँ अलि राम्रो जस्तो छ। तर हाम्रो लक्ष्य यो पटक फाइनल खेल्ने हो।'

उनले नेपालको बलियो पक्षमा स्पाइक रहेको बताए। 'रिसिभ र ब्लक हाम्रो पहिल्यैदेखि समस्या छ। त्यसमा सुधार गर्नुपर्छ,' उनले भने।

बन्द प्रशिक्षणका लागि विदेशी प्रशिक्षक पनि आउँदैछन्। एफआइभिबीको सहयोगमा नेदरल्याण्ड्सको प्रशिक्षण हान अबिङ असार ४ गते नेपाल आइपुग्नेछन्।

'उनले ५ गतेदेखि नेपाली टिमको प्रशिक्षण सम्हाल्नेछन्,' एनभीएका महासचिव जितेन्द्र चन्दले भने। प्रशिक्षक अबिङको सम्पूर्ण खर्च एफआइभिबीले नै बेहोर्नेछ।

बन्द प्रशिक्षणमा २५ खेलाडी रहेकाले यस पटक नयाँ खेलाडीहरु पनि धेरै छन्। त्यसबाट राष्ट्रिय टिमको लागि १२ जनाको अन्तिम टोली तया पारिनेछ।

'क्याम्पमा रहेका २५ जनै खेलाडी उस्तै छन्। एक दशकअघि टिममा उस्तै खेलाडी थिए। बीचमा केही तलमाथि भएको थियो। अहिले नयाँ आएका केटाहरु राम्रो छन्। हामीलाई प्लस प्वाइन्ट भनेको उनीहरुको हाइट हो,' कप्तान इमले भने।

पाँचौ संस्करणको एभिसी सेन्ट्रल जोन च्याम्पियनसीपमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान, उज्वेकिस्तान र तुर्कमिनेस्तानले प्रतिस्पर्धा गर्नेछन्।

बन्द प्रशिक्षकका लागि प्रारम्भीक चरणमा छानिएका २५ खेलाडी

इमबहादुर मगर (कप्तान)

धनबहादुर भट्ट

विशाल विक

कुलबहादुर थापा

राजेन्द्र विष्ट

योगेन्द्र गुरुङ

टेकराज अवस्थी

दुर्गाबहादुर सुनार

सारान समरी

हरिबहादुर अधिकारी

दुर्गा खड्का

द्वारिका थापा

दिपक राज जोशी

भैरव बम

सुरेन्द्र बम

नरेन्द्र गिरी

राजु शेरचन

राजकुमार निरौला

रविन चन्द

हरिहजुर थापा

दुर्गा महतो

सुजन चोखाल

विनोद बहादुर चन्द

भिम गाहा मगर

ईश्वर थापा मगर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell