PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

बाउन्सर गर्लको सोचलाई यू टर्न गराउने बिजुलीबजारको त्यो 'एक्सिडेन्ट'



स्वेच्छा राउत

बाउन्सर गर्लको सोचलाई यू टर्न गराउने बिजुलीबजारको त्यो 'एक्सिडेन्ट'

बिहानको साढे चार हुन लागेको थियो।  सडकमा ल्याम्प पोस्टको उज्यालो। दूधको क्रेट पसल पसल पुर्‍याउन हिँडेका गाडीबाहेक अरु सवारी साधन गुड्ने समय भएकै थिएन। माइतीघरबाट बिजुली बजारतिर लाग्ने बाटोमा फाट्टफुट्ट कुकुर भुकेको आवाजमात्र सुनिन्थ्यो।  

अचानक त्यो सन्नटा चिर्दै भयावह आवाज निस्कियो। बिजुलीबजारस्थित पुलमा बा ४१ प ५३५ नम्बरको बाइक बेजोडले ठोक्कियो र केही परसम्म घिस्रियो।

नाइट ड्युटी सकेर घर फर्कने, थकाइ मार्ने हतारोमा थिए अमरराज ताम्राकार र नीमा तामाङ। त्यसैले खाली सडकमा बाइक निस्फिक्री हुँइक्याएका थिए अमरले।

तर, उनीहरु घर होइन अस्पताल पुगे।  

बिहान ६ बजे। होसमा आउँदा ट्रमा सेन्टरमा थिइन् नीमा। वरपर बुबा, साथी र आफन्तहरु। उनको आँखा र ओठ चल्मलाउँदा सबैजना आ-आफ्नो ठाउँबाट जार्‍याक जुरुक उठे। उनको नजिक आए। सोधे- कस्तो छ? उनले जवाफ दिइनन्। सोध्न खोजिन् - अमर दाइ कहाँ हुनुन्छ?

बोली लर्बरायो। जिब्रो काटिएछ। उठ्न खोजिन्। टाउको भारी भयो। ज्यानलाई थकान र दुखाइले थिचेको थियो।

संकेत र अस्पष्ट बोलेरै पटकपटक अमर बारे सोधिन्। बुबा टंकलाल तामाङले भने -  केएमसी अस्पतालमा हुनुहुन्छ। उपचार भइरहेको छ।

‘त्यति सुनेपछि मेरो मन हल्का भयो। शरीर चाहिँ दुखिराखेकै थियो। अनुहार सुन्निएर होला मलाई निकै असहज भइरहेको थियो,' उनी त्यस क्षण सम्झन्छिन्।

भेट्न आउने सबैको आँखामा आँशु देखिन्। मन थाम्न सकिनन्। त्यसैले आँखा चिम्लिएर कोल्टे फेरिन्। आँखामा दुर्घटना हुनुअघिको क्षण झल्झल्ती भए।

अमरराज ताम्राकार र नीमा तामाङ ठमेलस्थित एउटै क्लबका बाउन्सर। यी दुई हरेक बिहान ड्युटी सकिएपछि एकसाथ घर फर्कने गरेका छन्। बिहान सडक खाली नै हुन्छ। त्यसैले बाइकको स्पिड घर पुग्ने हतारो जतिकै गतिमा हुन्थ्यो, सधैं।

गत बिहीवार पनि त्यस्तै भयो।  अमरराजले बाइक चलाएका थिए। पछाडि बसेकी थिइन् नीमा। क्लबको ब्लेजर र ब्याग निकालेर आफू र अमरको बीचमा राखेकी थिइन्। जमल, सिंहदरबार हुँदै फर्किरहेका थिए उनीहरु। हावाले आँखामा हान्दा आँशु आउन थाल्यो। त्यसैले आँखा चिम्म गरिन्। सुरक्षित महसुस गर्न अमरको ब्यागको फिता समाएकी पनि थिइन्। तर, उनको सुरक्षा विधिले काम गरेन।

एक्कासी झ्याप्पै ब्रेक लाग्यो। आँखा खोलिसक्नु अघि बाइक घिस्रिएर पर पुगिसकेको थियो। नीमा आफै पनि बाइकसँगै पर पुगिन्।

सन्नाटामा भएको दुर्घटना। कसले देख्यो अनि कसले प्रहरी बोलायो उनले पत्तो पाइनन्। 'मलाई पुलिसले मोबाइल अनलक गर्न लगाए। सेक्युरिटी कोड दाबेको धमिलो याद छ। अरु केही पनि सम्झिन,' उनी घटना हुँदाको अवस्था सम्झन कोसिस गर्छिन्।

होस आउँदा ट्रमा सेन्टरमा थिइन्।

टाउकोमा टाँका लगाइएको थियो। हात खुट्टामा चाहिँ घाउ। जिब्रो आफ्नै दाँतले काँटिएछ। सोही दिन सिटी स्क्यानको रिपोर्ट आयो, इन्टरनल इन्जुरी रहेनछ। डाक्टरले घरमै गएर आराम गर्न सुझाव दिए। उनी फर्किइन्।

घर फर्किइन् तर, चाहेको आराम पाइनन्। उनको दिमागमा एउटै कुरा सल्बलाइ रह्यो - अमर दाइलाई कस्तो छ होला?

उनको छट्पटाहटको पछाडि कारण छ।

उनीहरु काम गर्ने प्लेब्वाइ क्लब नयाँ हो। जेठ ६ गते स्थापना भएको। त्यसैले स्टाफ गाडी राखिसकेको छैन। त्यहाँका कर्मचारी प्राय सबै माछापोखरी, गोंगबु, मैतिदेवी बस्ने। नीमा भने कोटेश्वर बस्छिन्। उनीसँग सवारीसाधन छैन। बिहान चार, पाँच बजे सार्वजनिक सवारीसाधन पनि पाइँदैन। त्यसैले पाटन, मंगलबजार घर भएका अर्का बाउन्सर अमरराज ताम्राकारसँग फर्कने गरेकी थिइन् उनी। नीमाकै आग्रहमा कोटेश्वर हुँदै पाटन जान्थे।

अमरसँग पाटन पुग्ने दुई बाटा थिए। एउटा थापाथली हुँदै जाने र अर्को कोटेश्वर हुँदै। पहिलो बाटो छोटो पर्थ्‍यो। तर, नीमाको अप्ठ्यारोलाई बुझिदिए, आग्रह अस्वीकार गरेनन्।

‘मलाई पनि समस्यै भएर मात्र त्यसरी पुर्‍याउन लगाएँ। उहाँलाई नि मर्का नपरोस् भनेर केही दिनअघि बाइकमा पेट्रोल ट्याङ्क फुल गरिदिएको थिएँ,’ जिब्रोलाई आराम दिन केही बेर रोक्किइन्। र, अगाडि भनिन्, 'हस्पिटलबाट फर्किएपछि चाहिँ निकै नरमाइलो लाग्यो। मेरै कारण त्यो बाटो हिँड्न परेजस्तो। त्यही बाटोको कारण दुर्घटना भएजस्तो।‘

अमरसँग माफी माग्न मन लाग्यो उनलाई। आराम गर्नपर्ने भएकाले अस्पतालसम्म पुग्ने आँट थिएन। त्यसैले कोठा बाहिरसमेत निस्किनन्। घाउमा धुलोको संक्रमण होला भन्ने डर पनि थियो। डाक्टरले ननिस्कन सुझाएका थिए। 

दुर्घटनाको भोलिपल्ट मन थाम्नै सकिनन्। र, साथीलाई फोन डायल गरिन्। अमर दाइको खबर सोध्न फोन गर्दा साथीले दिएको खबर चाहिँ अनपेक्षित।

हो, अमर बितिसकेछन्। दुर्घटना भएकै दिन।

कोटेश्वरको फराकिलो सडक। वारि पारी छुट्याउने डिभाइडरबाट हाम्फालेर पारी (घर छिर्ने गल्ली) जाने गर्थिन् नीमा। उनको यस्तो पारा देखेर अमर भन्ने गर्थे – सडक खाली छ भन्दैमा यस्तो हेल्चक्र्याइ गर्नुहुन्न।

उनी जवाफ फर्काउँथिन् - मलाई केही हुन्न।

हुन पनि नीमाले भनेजस्तै भयो। उनलाई केही भएन। दुर्भाग्य त अमरको रहेछ।

भाग्य या दुर्भाग्य यस्ता विषयमा उनलाई विश्वास थिएन। आमा भन्थिन्, 'लेखेको हुन्छ।‘

नीमा जवाफ दिन्थिन्, 'आफ्नो भाग्य आफै लेख्नु पर्छ आमा।‘

अहिले आमा सही लाग्छिन् उनलाई। भन्छिन्, 'धेरै कुरा आफ्नो बसमा नहुँदो रहेछ। न भाग्य लेख्ने कलम न समय चलाउने रिमोट। अनि आफ्नो हातमा नभएको चिज सम्हाल्न कुनै शारीरिक बल काम नलाग्दो रहेछ।'

अमर र नीमा दुर्घटनामा परेको खबर केही मिडियामा आए। ती समाचारमा बाइक साइकलसँग ठोक्किएको जनाइयो।

तर, यथार्थमा बाइक साइकलमा होइन, साइकलमा बाँधिएको फलामे रडसँग ठोक्किएको थियो। महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी गोविन्द काफ्लेका अनुसार रडले अमरको छाती छेड्यो। तत्काल एभरेस्ट अस्पताल पुर्‍याएको पनि हो। तर, अस्पताल पुर्‍याएको केही बेरमै अर्थात् बिहान ४ बजेर ४५ मिनट जाँदा उनको निधन भयो।

साइकलमा निर्माणाधिन पुलबाट चोरिएको फलाम थिए। डिएसपीले भने, 'घटनामा संलग्न दुईजनाको चोरी र ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।'

नयाँ काम। जोश बेग्लै थियो। कालो ब्लेजर, कलो सर्ट र कालै पाइन्टमा उभिएर युवाहरुको नाइट लाइफ नियाल्नुमा रमाएकी थिइन्। आफू कस्टुमर भएर पुग्दा र बाउन्सर भएर उभिँदाको भिन्नता देखेर छक्क परेकी थिइन्। जिम्मेवारीले आफूमा गराएको सानो सानो परिवर्तनहरुले दङ्ग बनाएका थिए। सहने शक्ति पनि बढ्दै गएको महसुस गरेकी थिइन्।

त्यसअघि ललितपुर युनाइटेड कलेजमा डिसिप्लिन इन्चार्ज थिइन्। कराँतेको ब्ल्याक बेल्ट खेलाडी पनि हुन्। चौथो डन। सिनामंगलस्थित हिमन्यु क्लबमा कराँते सिकाउँछिन्, साताको दुई दिन। कलेजमा दिनभर समय दिनु परेकाले क्लबको काम भ्याउन गाह्रो भइरहेको थियो। त्यस्तैमा बाउन्सरको प्रस्ताव राखे कराँतेकै साथी धुव्र थापाले।

आफू क्लब जाँदा देख्थिन् - महिला बाउन्सर। हरेक खालका मान्छेसँग ठोक्किन पर्ने ठाउँ। जिम्मेवारी लिएपछि सक्दिन भन्न नमिल्ने। रक्सी पिएकादेखि हरेकलाई सम्झाउने, बुझाउने काम। त्यस्तोमा पनि उनीहरुको प्रस्तुत हुने शैली, स्वभाव र आँटले आकर्षित गर्‍थ्यो उनलाई।

‘समाजमा छोरी मान्छे राति घर निस्कनु। बाहिर बसेर काम गर्नुलाई कसरी हेरिन्छ थाहै छ। त्यसमाथि क्लबमा। ती महिला बाउन्सर देख्दा सम्मान जाग्थ्यो। यी घरमा, समाजमा लडेरै यहाँ छन् भन्ने लाग्थ्यो। त्यही कामको अफर मलाई आउँदा किन नगर्ने? भन्ने भयो,’ उनी उक्त पेशामा आकर्षित हुनुको कारण सुनाउँछिन्।

उनलाई आत्मनिर्भर महिला देख्दा खुशी लाग्छ। भर्खर २४ वर्षकी भइन्। तर, हरेक काम आँट्छिन्। काभ्रेकी उनी काठमाडौंमा फुटबलर बहिनी र आफ्ना  लागि पढ्न, बस्न, खान पुग्दो कमाउँछिन्। ताल पर्दा आमालाई पनि पठाउँछिन्। उनको आत्मविश्वास देखेर काम गर्ने कलेजदेखि कराँतेका डोजोहरुमा पनि सबैको विश्वासकी पात्र बनेकी थिइन्। तर, बाउन्सर बन्न सहज भने थिएन। 

‘मलाई कहिले केही सक्दिनँ भन्ने फिलिङ्स नै आउँदैन। आँटे सकिन्छ। आँट्दा पनि भएन भने केही बिग्रिन त बिग्रिदैन नि हैन? त्यसैले बाउन्सर बन्न आँटे,’ उनले सुनाइन्।

सुरुमा उनकी आमा चमेलीलाई उनको नयाँ काम चित्त बुझेकै थिएन। बुबाले भने साथ दिए। बुबाकै जबरजस्तीका कारण कराँते थालेकी थिइन्। कराँतेले उनलाई आत्मविश्वासी बनायो। र, आत्मविश्वासले आज आराम गरेर बसिरहँदा पनि खाली बस्नुको थकथकी महसुस गर्ने बनायो। मान्छेको शरीर आफूले जस्तो बनायो त्यस्तै बन्ने उनको कथन छ। भन्छिन्, 'दुई दिन सुतेर बसे तेस्रो दिन पनि शरीरले रेस्ट नै खोज्छ। त्यसैले पनि म बस्न नसकेको हुँ।‘

कोठामा पनि उनी चुप बस्दिनन्, सफा गर्छिन्। सामान यताउता मिलाउँछिन्। दुर्घटना पछाडि देश विदेशबाट साथीहरुको फोन आइरहेका छन्। उठाउँछिन्, धेरै बोल्दिनन्। बोल्दा सकेसम्म आफूलाई धेरै पीडा नभएको र चाँडै ठीक हुने बताउँछिन्।

आफूलाई भन्दा बढी पीडा अमरराजको परिवारलाई भएको बुझाइ छ उनको। ‘कसैले मलाई उहाँको परिवार भेट्न लगिदिए पनि हुन्थ्यो नि,’ उनी आफैसँग बोल्छिन्। अमरको कुरा निस्कदाँ उनका आँखा रसाउँछन्। उनी नगरेको गल्तीका लागि ग्लानी महसुस गर्छिन्। त्यसैले आँशु झर्नुअघि बोल्छिन्, 'दाइको आत्माले शान्ति पाओस्।'

टाउकोको पछाडि भागमा लगाएको टाँका काँट्ने बित्तिकै पुन: काममा फर्कने योजना छ नीमाको। किनकि उनको सधैं केही न केही गर्नै पर्ने स्वभाव छ। पीडा भुल्न पनि कामको खाँचो अनुभूति गरेकी छिन्। त्यसैले कोठामा गुम्सिएर बस्न सकस मानेकी छिन्।

‘दुख्न त कम होस्। म काममा कुदिहाल्छु,’ जिब्रोको घाउका कारण बोली अझै अस्पष्ट छ। तर, जोस अहिले नै काममा कुदिहाल्छु भने सरह।

जिब्रोको काँटिनुले एक साता बित्दापनि जुस र चिसो बनाइएको सुप मात्र पिउन बाध्य छिन्।

दुर्घटना उनको लागि पाठ बनेको छ।

एकपटक उनकी बहिनी भाँडा माझ्दै थिइन्। अचानक हातबाट कप चिप्लियो। र, फुट्यो। नीमालाई मनपर्ने कप थियो त्यो। सहन सकिनन्। रिसाइन्। बहिनीलाई गाली गरिन्, पिटिन् पनि। झनक्क रिसाउने, सानो तिनो घटनामा आत्तिने र रिसमा हात उठाउने बानी थियो उनको।

‘तर म गलत रहेछु’, उनको बुझाइ फेरिएको छ। सामान फुट्नु केही होइन रहेछ। त्यो फेरि किनिन्छ। तर, मान्छेको ज्यान गएपछि सकियो।

त्यसैले, पनि बाइक, स्कूटर चढेर आफूलाई भेट्न आउने हरेकलाई बिस्तारै हुइँक्याउँन सुझाउँछिन्। बिदा गर्न ढोकासम्म निस्कन्छिन् र भन्छिन्, ‘बिस्तारै जानुस् है। बरु ढिला पुगौं, धेरै टाढा नपुगौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell