PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

राष्ट्रपतिको हातबाट बाडिएको ताम्रपत्र नक्कली रहेको कवि सिन्धुलीयको खुलासा, एकेडेमीको चर्को आलोचना



स्वेच्छा राउत

राष्ट्रपतिको हातबाट बाडिएको ताम्रपत्र नक्कली रहेको कवि सिन्धुलीयको खुलासा, एकेडेमीको चर्को आलोचना

कवि प्रोल्लास सिन्धुलीयले मङ्गलबार राष्ट्रपति कार्यालयमा प्राप्त गरेको ताम्रपत्र नक्कली भएको बताएका छन्। उनले फेसबुकमार्फत् ताम्रपत्रको नाममा कागजको स्टिकर टाँसेर दिएको आरोप लगाए।

२०७२ सालको माघमा आयोजित राष्ट्रिय कविता महोत्सवमा जितेको पुरस्‍कार मुद्दामामिला गर्दै बल्लतल्ब २०७६ सालमा पाउँदा पनि नक्कली परेकाले उनले आक्रोश प्रकट गरेका हुन्। हिजोमात्र राष्ट्रपतिको हातबाट पुरस्कार थापेका उनलाई सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिने ह्वात्तै बढे। तर, उनले भने प्रतियोगिता आयोजक नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले गरेको लापरवाहीमाथि कटाक्ष गर्नपर्‍यो।

उनले लेखेका छन् - 'ताम्रपत्रको डुब्लिकेटिङ गरी प्लास्टिकको स्टिकर टाँसेर सम्माननीय राष्ट्रपति, प्रज्ञा प्रतिष्ठान र कविहरूलाई समेत एकसाथ झुक्याउन र कविता महोत्सवकै खिल्ली उडाउन सफल हुनुभएकोमा सम्बन्धित पदाधिकारीहरूप्रति हार्दिक बधाई अर्पण गर्दछु।'

२०७२ सालको माघमा आयोजित कविता महोत्‍सवमा 'गाउँको वृद्धालय' कविता पहिलो भएको थियो। पुरस्कार राशी थियो तोकिएको थियो, बीस हजार रुपैयाँ र स्वर्ण पदक।

तर, पुरस्कार वितरण हुनुअघि नै कविता प्रकाशित भएका कारण आयोजकले पुरस्कार नदिने घोषणा गरे। उनको कविता २०७२ सालको कार्तिक महिनामा मधुपर्कमा प्रकाशन भएको थियो।

तर, एकेडेमीको पुरस्कार नदिने निर्णयलाई चुनौती दिए सिन्धुलीयले। प्रज्ञा प्रतिष्ठानको निर्णयविरुद्ध जिल्ला अदालत मुद्धा हाले। प्रतियोगितामा कविता बुझाएपछि महोत्सव हुने मितिसम्ममा कतै प्रकाशित गर्न हुने/नहुनेबारे केही उल्लेख थिएन। उनको प्रश्न थियो- 'नियमबिना कसैमाथि ठाडो निर्णय लाद्न मिल्छ?'

२०७४ को पुसमा जिल्ला अदालतले उनको पक्षमा फैसला सुनायो। विपक्षी रहेको नेपाल प्रज्ञा प्रतिष्ठानले उच्च अदालत पाटनमा फैसलाविरुद्ध पुनरावेदन गर्‍यो।

उच्च अदालतले पनि जिल्ला अदालतकै फैसला सदर गर्‍यो। फैसला सिन्धुलीयकै पक्षमा गयो।

पुरस्कारका लागि नभई संस्थामा व्याप्त बेथितिविरुद्ध लडेको बताउने उनले झण्डै चार वर्षपछि पुरस्कार पाए, राष्ट्रपतिको हातबाट। तर, नगद राशीसहित प्राप्त ताम्रपत्र भने नक्कली रहेछ, काठमा कागज टाँसिएको।

उनले फेसबुकमा एकेडेमीका पदाधिकारीलाई व्यङ्ग्य गर्दै लेखेको पोस्टमा उस्तैखाले व्यङ्ग्यात्मक जवाफहरु आइरहेका छन्।

डम्बर भारती लेख्छन्, 'कत्तिसम्म कञ्जुस्याइँ गर्न सक्या हो, यसले त सबैको बेइज्जत नै गरेको छ। मेटल इचिङ गरेको भए भइहाल्थ्यो, धेरै खर्चिलो पनि त होइन। खासमा मानसिकता नै दरिद्र भएपछि कसैको केही नलाग्ने रहेछ कविजी।'

त्यस्तै राजेन्द्र थापाले कमेन्ट गरेका छन्, 'जिन्दगीमा नामै नसुनेका नाम सुनेँ, सदस्य सचिवमा। सायद्, कसैका कोटामा आएका शिक्षक या पार्टी कार्यकर्ता या अन्य कोही होलान्। जे गरे जानेकै गरे। खर्च फारो पनि त गर्नु परेन र कुस्त उडाउन।'

त्यस्तै प्रतियोगितामा दोस्रो घोषित भएकी पाँचथरकी सरस्वती दुमी राईको ‘आमा, जाँतो र मेरो जिन्दगी’ कवितालाई पनि पुरस्कार नदिने घोषणा गरेको थियो। उनको कविता भने व्यक्तिगत संग्रहमा छापिएका कारण विवादमा तानियो। उनी पनि मङ्गलबार पुरस्कृत भइन्।

महोत्सवमा २०७५ मा आयोजित कविता महोत्सवका शीर्ष विजेताहरुलाई पनि पुरस्कृत गरियो। पहिलो भएका कवि फूलमान बललाई राष्ट्रपति भण्डारीले स्वर्ण पदकसहित ३० हजार रुपैयाँ, दोस्रो हुने सुनिता खनाललाई कास्य पदकसहित २५ हजार रुपैयाँ र तेस्रो हुने मेनुका चापागाईं र एलिना दुलाललाई २० हजार रुपैयाँसहित रजत पदक दिइयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell