PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

ओडिशामा राजस्थानी रक्की जसलाई 'फानी'बाट जोगाउन राजुको जाग्राम



स्वेच्छा राउत

ओडिशामा राजस्थानी रक्की जसलाई 'फानी'बाट जोगाउन राजुको जाग्राम

शनिबार, ४ मे २०१९। सरकारी निकायले आँधीको चेतावनी दिएको थियो।

त्यसैले बिहानैदेखि भिड लाग्ने ओडिशाको समुद्री तट खाली। मानिस सबै त्रासमा। सबैका लागि घर सबैभन्दा सुरक्षित ठाउँ।

राजु साहु पनि फुर्सदिला भए। त्यसदिन उनले उँट फुकाएनन्। गोठमै पराल र पिठोबाट भुसा बनाएर खुवाए। अनि पानी दिए। आकाश धुम्मिएको थियो। कुनै पनि बेला आँधी आइहाल्छ भन्ने डर उनमा पनि थियो। हतारहतार उँटलाई पेटपूजा गराएपछि आफ्नो घरभित्र पसे।

बिहानको दश बज्यो। समुद्री तटमा फानी नामको आँधी बज्रियो। तीब्र आँधीसँगै मुसलधारे पानी पनि। घण्टौसम्मको अवस्था यस्तै।

दिउँसो करीब दुई बज्दा भने अवस्था केही साम्य भयो।

राजु फेरि गोठमा पुगे। देखे, झ्याल कोल्टिएछ। पानी छिर्‍यो कि भन्ने डरले झसङ्ग पनि भए। उनलाई थाहा छ - पानी सहन सक्दैन उँटले। वर्षाको पानीले भिज्दा उँटलाई ज्वरो आउँछ, दुईतीन दिन त उठ्न सक्दैन।

झ्याल सोझ्याउन कोसिस गर्दै थिए। अचानक लक्की मल्लिकको घरबाट कोही रोएको आवाज आयो। लक्की पनि उँट चालक हुन्। साथीको घरबाट लगातार आवाज आएपछि उनी हुत्तिँदै त्यतातिर लागे।

घर अगाडि अग्लो रुख थियो। आँधीले ढालेछ। रुख तेर्सिएतिर हेरे। उँटको गोठ छेडेछ। गोठ भित्र उँट लम्पसार। भेट्नरी डाक्टर आइ पुग्दानपुग्दै लक्कीको उँट मर्‍यो।

'मेरो मन कति रोयो भन्न सक्दिनँ। म त्यति कमलो मान्छे थिइँन। घरमा उँट ल्याएपछि नै हो म यति कमलो भएको,' त्यो घटनाको बेलिविस्तार लगाइराख्दा उनको आँखामा पनि आँशु छचल्कियो।

फानीका कारण तीन, छ, नौ, बाह्र गर्दै मर्ने मान्छेको सङ्ख्या पनि बढ्दै थियो। त्यसपछि सबै आफू जिउँदै हुनुमा धन्य मान्न थाले- भाग्यले बाँचियो।

राजु लक्कीको परिवारलाई सम्झाएर उनी फर्किए। तर, घर छिर्न सकेनन्। गोठको कोल्टिएको झ्याल समाएर बसे, पानी दर्किँरहँदा। हुरी बढ्दा जगन्नाथ बाबा पुकारे। रात परेपछि डर बढ्यो। निदाउन सकेनन्। छिनछिनमै गोठतिर पुगिरहे।

'उँटले एकटक आफैलाई हेरेजस्तो लाग्यो। उसलाई केही भएको थिएन। तर म रोएँ। मैले त्यसमाथि चढाउने मान्छेको याद आयो। त्यही रात हो अबदेखि उँटलाई धेरै भार पार्दिन भन्ने सोचेको,' उनले आफ्नो कुरा एक सासमा सके। नजिकै रहेको उँट सुम्सुमाए।

***

'बडेका सौं बच्चेका पचास। आइए म्याडम, क्यामेल सफारी किजिए।'

मुल सडकबाट समुद्री तटतिर आउँदै गरेकालाई आग्रह गरिरहेका छन्, राजु। करिब ५० मिटर परसम्म पच्छ्याउँछन् उनी। एउटा हातमा उँट बाँधेको डोरी छ अनि अर्कोमा लाठी। कोही उँट चढ्न राजी हुन्छन् तर भाउ मिल्दैन। कोही बार्गेनिङ गरेर छाडिदिन्छन्। राजुको आग्रह सुन्दै नसुने सरह आफ्नो बाटो लाग्नेहरुको लस्कर पनि उत्तिकै छ।

तर, राजु चुप बस्दैनन्। तटमा नयाँ अनुहार देखिन्छ। उनी उँट घिच्याउँदै त्यतै पुग्छन्। विदेशी जस्तो लागे कनिकुथी अङ्ग्रेजीमा भट्ट्याउँछन् 'सर टु हन्ड्रेड रुपिज अन्ली। फोर हन्ड्रेड मिटर सफारी सर। सर कम।'

जब कोही उनको उँटमा चढ्छ तब चक्लेट पाएर खुशी भएको बालक जस्तो देखिन्छन्। दङ्ग पर्छन्। पर रहेका अन्‍य उँट मालिकलाई ओरिया भाषामा चिच्याएर केही भन्छन्। र, पर्यटक लिएर निस्कन्छन्- सफारीमा।

***

राजु साहु।

आफैँ उँट मालिक।

उमेर २५ वर्ष।

उनको उँटको नाम रक्की। रक्की ४ वर्षको भयो।

रक्कीको रेखदेख राजु आफैँ गर्छन्। राजुको घरमा भित्रने रासनको तौल रक्कीले बोकेको पर्यटकको सङ्ख्याले निर्धारण गर्छ। कुनै महिना कम, कुनै महिना बढी।

रक्की आएदेखि राजु काम खोज्दै भौतारिनु परेको छैन। कमाइ भएको छ। साँझको तिहुनका लागि सस्तोमस्तोमात्र खोज्नु परेको छैन।

बिहानै नास्ता खान्छन्। उँटलाई परालमा पिठो, तेल मिसाएर खुवाउँछन्। मान्छेको चहल पहल सुरु हुनुअघि राजु र रक्की दुवै पुग्छन् समुद्री तट।

पुरीको व्यस्त तटमा सफारीका लागि ४२ उँट तैनाथ छन्। सबैलाई कोभन्दा को कम भने सरह सजाइएको छ। माला, मोती र चित्र भरिएको कपडा, झिलमिल देखिन्छन्। आकर्षक बनाउँन सजाइएका उँट आफैँमा विवाहको मण्डपजस्तो लाग्छन्। सजावटको बीचमा मान्छे चढ्न राखिएको लिस्नो छ। अनि मान्छे बस्न राखिएको फलामे सिट पनि।

अफ सिजनमा दैनिक १२ देखि १५ जनासम्म र सिजन अर्थात् नोभेम्बर, डिसेम्बरताका २० देखि २५ जनासम्म बोक्छन्, यी उँटहरुले। एक पटकमा चारजनासम्म मानिसको भारी थेग्छन्। हरेकपटक तीन सयदेखि चार सय मिटरसम्मको दुरी हिडेर पुन: जहाँबाट बोक्यो त्यही लगेर छाडिदिन्छन्।

समुद्री तटको चहलपहल। किनार छुने छालहरुसँग कबड्डी खेल्नेहरु, नरिवल पानी पिउनेहरु, मोतीका माला बेच्नेहरु भन्दा पर समुद्रको बीचमा उर्लने छालहरु सफारीको रोमाञ्चकता हो।

चढिसकेपछि 'अझै पर जाउँ', 'अलि अगाडिसम्म लग। पैसा थप्दिन्छु' भन्नेहरु धेरै हुन्छन्।केहीले भने जति घुमाइ दिन्छन् पनि। तर, राजु भने मान्दैनन्। उनको मन मान्दैन।

'जति घुमाउँछु भनेर पैसा लिन्छु, त्यति नै घुमाउँछु। अलि परसम्म लैजाँदा पैसा राम्रो पाइएला तर रक्कीको माया लाग्छ', राजु संवेदनशील सुनिन्छन्।

भावनात्मक रुपमा जोडिएका छन् यो उँटसँग। १३ वर्ष भयो उनले समुद्र छेउमा उँट डोहोर्‍याउन थालेको। धेरै साहुहरुको उँट सफारी गराए। धेरैको स्याहार सुसार पनि गरे। तर, रक्कीको जस्तो माया अरुको लागेन। रक्की उसको आफ्नो उँट हो।

***

राजु साहुले तीन कक्षा भन्दा बढी पढ्न पाएनन्। बुबाको पान दुकान सानै थियो। दुकानको कमाइ छाक टार्न ठिक्क। आमाले काम गर्ने चलन नै थिएन। बुबाको व्यापारले घर धान्नै धौंधौं परेपछि उनले स्कूल छोडे। त्यतिखेर १२ वर्षका थिए राजु। त्यही उमेरमा काम खोज्न निस्किए।

ओडिशा राज्यको पुरीमा जगन्नाथको मन्दिर। समुद्री तटका कारण देश विदेशका पर्यटक आउने ठाउँ। पर्यटकलाई पानी, मोतीका माला, सजावटका सामाग्री बेच्ने काम सजिलो थियो, उमेरअनुसार। उनी ग्राहक खोज्दै समुद्र किनार धाउन थाले। त्यहाँ उनको आँखा ठोक्किन्थ्यो - आफूभन्दा करिब चार फिट अग्लो उँटतिर।

एकदिन उनले उँट हेर्दै गर्दा आफूले बेच्न राखेको सामान हराएको पत्तै पाएनन्। रुँदै थिए उनी। ठीक त्यही बेला उँटको मालिक बिट्टु मल्लिकसँग उनको भेट भयो। मल्लिकले उनलाई उँट डोहोर्‍याउने काम दिए। सुरुमा उँट नजिक जानसमेत डराउँथे राजु। जब आफू नै उँटमाथि चढे तब डर बाँकी रहेन। त्यसपछि उनी उँट राइडर भए। उँट राइडर राजु रक्की।

फिल्मको नाम याद छैन। तर, फिल्म हेरेपछि हिरोको नाम खुब मनपर्‍यो उनलाई। र, राजु पछाडि साहुको सट्टा रक्की लेख्न थाले।

त्यसयता तीन जना फरक फरक साहुहरुको उँट डोहोर्‍याउने काम गरे। उँटलाई कति खान दिने? बुझे। के खान्छ? थाहा पाए। कसरी पाल्ने र स्याहार्ने, सिके। सुरुवाती दिनमा त होचो कदका उनलाई धेरैले पत्याउँदैन थिए। 'फूच्चे' भनेर होच्याउनेदेखि पर्यटक भड्काउनेसम्म गरे प्रतिस्पर्धीले। पछि ती अरु उँट चालकहरुको एरिया उनको पनि प्रभाव क्षेत्र बन्यो। काम गरेरै उँट साहुहरुको विश्वास पनि जित्दै गए।

कमाइ राम्रो हुने। दैनिक दुई हजारदेखि तीन हजारसम्म। उँटको मासिक खर्च पाँचदेखि ६ हजार। केही रकम संगठनलाई पनि बुझाउनुपर्ने। ४२ वटा उँट चालकको दैनिकी यसैगरी चल्छ।

त्यसैले, हरेक वर्ष राजस्थानदेखि उँट ल्याउँदै सफारीमा लगाउनेहरु बढेका छन्। त्यही होडमा मिसिए राजु पनि। उँट आफ्नै भए समय, कमाइ सबै आफ्नै हुने लोभ उनमा पनि पलायो।

एकदिन आँट गरेर आमासँग उँट किन्ने योजना सुनाए। रहर थियो, पैसा थिएन। आमाले लोन निकाल्दिने भइन्। ६ महिनामा ऋण तिर्ने शर्त थियो। र, ६ महिना अघि लागे जयपुर- ओडिशाबाट सत्र सय पचास किलोमिटर टाढा।

ओडिशामा प्राय उँट राजस्थानबाट ल्याइन्छ। राजस्थान उँट 'एनिमल अफ स्टेट' हो। जयपुरमा ठूलो बजार छ जहाँ उँट किनबेच हुन्छ। मोल चालिस हजारदेखि सुरु। उँटको उमेर र शारीरिक अवस्था हेरेर एक लाखसम्म तिर्नेहरुको भिड लाग्छ यहाँ।

उँट बजारमा राजुको आँखा पर्‍यो खैरो रङ्को हट्टाकट्टा उँटमा। भर्खर चार वर्ष पुग्यो भनिएको त्यही उँटको लागि घण्टौ मोलमोलाइ भयो। अन्तत: ६२ हजार तिरे। र, खैरो उँटलाई आफ्नो बनाए।

'त्यही आफ्नो नामको रक्की उसको बनाइदिएँ। अहिले कसैले रक्की भनेर बोलाउँदा म र उँट एकैचोटी चनाखो हुने गरेका छौं,' उनले मुस्काउँदै सुनाए।

उँट किन्न एक पटकमा चारजना जान्छन्। एउटै ट्रकमा सबैको उँट ल्याउँछन्। ओडिशाबाट राजस्थान पुगेर, उँट हालेर ल्याएको एक लाख बीस हजार भाडामात्रै लाग्छ। चारजना मिलेर तिर्छन्। महङ्गो गाडी भाडा, तनावपूर्ण यात्राका बाबजुद् आफू उँट साहु हुनुको खुशी ज्यादा छ उनमा।

'मैले आफै उँट नकिनेको भए थाहा पाउँदिन थिएँ मालिकहरुको दु:ख। यो धन्दामा पैसा, रमाइलोसँगै अप्ठ्याराहरु पनि ज्यादा छन्,' उनले समस्या सुनाए।

सन् २०१४ मा उँटलाई राजस्थानको 'एनिमल अफ स्टेट' घोषणा गरिएको हो। त्यसयता, उँटको गैरकानुनी कारोबार र तस्करीमा कडाइ गरियो। मासु, भारी बोक्ने, रिक्सा तान्ने, सफारी गराउने प्रयोजनमा राजस्थानबाट उँट निर्यात गर्ने क्रम बढ्यो। जसका कारण उँटको सङ्ख्या घटेको भन्दै राज्यको प्रमुख जनावर घोषणा गर्‍यो। तर, उँट बेच्ने क्रम रोकिएन।

'एकदम सतर्क भएर ल्याउनुपर्छ। सफारीकै लागि उँट किनेको प्रमाणित गर्न नसके कारवाहीमा परिन्छ। गैर कानुनी हो भन्छन्। यसबारे मैले धेरै बुझेको त छैन। डर चाहिँ हुन्छ,' राजुका पुराना साहु बिट्टु मल्लिकले भने। उमेरले ४० वर्ष पुगेका उनले आफ्नो र अरुका लागि धेरै उँट ओसारेका छन्।

राजस्थानको तातोबाट ओडिशामा ल्याइएको उँटलाई वातावरणमा घुलमिल गराउनु मुख्य चुनौती। सुरुमा बिरामी हुन्छन्, ज्यानभरी घाउँ खटिरा उस्रिन्छ। मानिसको भारी थाम्न नसकेर भुईंमा थ्याच्च बसिदिन्छन्। ज्वरो आउँछ।

'म त रोएँ। मान्छे भएको भए बोल्थ्यो, किन गाह्रो भयो भन्थ्यो। भर्खर भर्खर हो यसलाई गाह्रो हुन छोडेको,' राजु थप्छन्, 'अहिले भने मलाई धेरै राहत भएको छ।'

तीन महिना यता रक्कीले चारजनासम्म बोक्न सक्ने भएको छ। आमाको ऋण पनि अब केही हजारमात्र बाँकी छ। ऋण तिरिसकेपछि पैसा जोगाउने र बिहे खर्च जुटाउने योजना छ उनको। सुनाउँछन्, 'पढाइ र पैसा नभएको भए कोही सादी गर्न मान्दैन थिए। अब त रक्की छ। पैसा छ।'

***

रक्कीलाई घर भित्र्याउनुको कहानी ओरिया र हिन्दी मिसाउँदै सुनाउँछन् राजु। आफ्नो कुरा एक सासमा सक्ने बानी रहेछ उनको। बीचबीचमा रोकिन्थे र आफूले बोलेको कुरा दोहोर्‍याउथे। सकेसम्म ओरिया नमिसाइ हिन्दी बोल्ने प्रयास गरे।

मान्छेसँग एकअर्कालाई व्यक्त गर्ने भाषा छन्। एउटा नभए अर्को। उँटसँग मान्छेसँग बोल्ने भाषा छैन। तर, पनि रक्कीको मौन भाषा राजु बुझ्छन्। उसलाई भोक लागेको थाहा पाउँछन्। गाह्रो भएको पनि थाहा पाउँछन्। थकाइ लागेको होस् या सञ्चो नभएको, सबै थाहा पाउँछन्।

रक्की पनि राजुको भाषा बुझ्छ। त्यसैले उनको इशारामा दिनभर समुद्री तटको बालुवामा आफ्नो पाइला बनाउँदै मेट्दै सफारीको उँट हुनुको कर्म निभाउँछ। तर, किन हो किन यहाँ मलाई रक्कीमाथि चढेर सवारी चाहिँ गर्न मन लागेन। हो, मैले उँट चढिन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell