PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

लन्डनमा पत्रकार र स्थानीयको अन्तर्क्रिया : पत्रकारको क्षमता विकासमा सघाउन सुझाव



लन्डनमा पत्रकार र स्थानीयको अन्तर्क्रिया : पत्रकारको क्षमता विकासमा सघाउन सुझाव

लन्डनः नेपाल पत्रकार महासंघ बेलायत शाखाले नेपालबाट आएका अग्रज पत्रकार तथा बेलायतस्थित नेपाली अगुवाहरुसँग अन्तर्क्रिया गरेको छ।

लन्डनको ह्यारो बरो फुटबल क्लबमा शनिबार सम्पन्न अन्तरसंवादमा नेपालबाट आएका पत्रकारहरु प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारी, अनलाइनखबरका मातृका पौडेल, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र युकेमै रहेकी पत्रकार तथा एनआरएनए अभियन्ता संगीता मरहठ्ठासित अन्तर्क्रिया गरिएको थियो।

बीबीसी नेपाली सेवामा लामो समय बिताएका पत्रकार भगिरथ योगीले कार्यक्रमको सहजीकरण गरेका थिए।  

कार्यक्रममा बेलायतस्थित नेपाली समाजका अगुवाहरुले नेपाली संघसंस्था र पत्रकार एक अर्कामा हातेमालो गरी अघि बढ्नु पर्नेमा जोड दिए।

कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले सामाजिक संस्थाहरु र पत्रकारबीच हातेमालोको जरुरी रहेको बताए। उनले एनआरएनएले समाजमा खेलेको राम्रा कामलाई पत्रकारिताले विश्वभर फैलाउन मद्दत गरिरहेकोमा धन्यवाद समेत दिए। अध्यक्ष फगामीले आगामी दिनमा पनि एनआरएनए र पत्रकारबीच सहकार्य जरुरी रहेकाले यस्ता अन्तरसंवादलाई जारी राख्नुपर्नेमा जोड दिए।

प्रवासी नेपाली मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले औपचारिक कार्यक्रममा मात्र सीमित नरही अनुसन्धानमूलक समाचार सम्प्रेषणमा लागि पत्रकारलाई आग्रह गरे।

तमुधीँ युकेका अध्यक्ष नन्दजंग गुरुङले तमुधीँ युके पत्रकारसँग हातेमालो गर्दै अघि सदैव बढ्न तयार रहेको जनाए।

कार्यक्रमका संयोजक तथा नेपाल पत्रकार महासंघ युके शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुईटेलले अन्तरसंवादले समाजिक अगुवा र पत्रकारलाई एकअर्कामा बुझ्न सजिलो हुने विश्वास लिएको बताए।

अन्तरसम्वादमा प्रवासी नेपालीका सामग्रीलाई नेपाली मिडियामा कसरी प्रभावकारी रुपमा उठाउने विषयका साथै हाल नेपालमा चर्चामा रहेको मिडिया काउन्सिल विधेयक, आदिबारे छलफल गरिएको थियो। सहभागीहरुबाट सोधिएको प्रश्नको प्रेस काउन्सिल नेपालका सदस्य भण्डारी,  पत्रकारहरु पौडेल, आचार्य र मरहठ्ठाले जवाफ दिएका थिए। अन्तर सम्वादको निचोड प्रस्तुत गर्दै सहजकर्ता योगीले प्रवासी नेपालीको विषयहरु मूलधारमा नेपाली मिडियामा धेरैभन्दा धेरै ल्याउनका लागि पत्रकारहरुलाई पूर्णकालिन र दक्ष बनाउन प्रवासी नेपाली संघसंस्थाले सहयोग गर्नुपर्ने र पत्रकारहरुले पनि पहल गर्नुपर्ने बताए। 

महासंघ युके शाखाका अध्यक्ष नरेश खपाङ्गी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम शाखाका महासचिव संजयभक्त कँडेलले संचालन गरेका थिए। कार्यक्रममा बरिष्ठ उपाध्यक्ष ध्रुव अर्यालले धन्यवाद ज्ञापन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell