PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

किला प्रकरणका अभियुक्तको बयान : मजा लिन ढलाने किलाले युवतीमाथि आक्रमण

किला प्रकरणका अभियुक्तको बयान : मजा लिन ढलाने किलाले युवतीमाथि आक्रमण


  • कुञ्जरमणि भट्टराई-

काठमाडौं : महाराजगन्जमा रहेको एक फास्टफुड बन्द भएपछि बा ४७ प १३३१ नम्बरको मोटरसाइकल नैकापतिर हुइकिन्छ। उक्त मोटरसाइकल रिङरोड छोडेर भित्री बाटो हुँदै ढल्कोतिर अघि बढ्छ। 

रातको ९ देखि १०:३० बजेको समय सडक खाली हुँदै छ। मानिसहरु कामबाट छिटोछिटो आफ्नो घरतर्फ फर्किरहेका हुन्छन्। बाटोमा पैदलयात्रीहरु पनि भेटिन्छन्। 

२३-३३ वर्ष उमेरका युवती नजिकै पुगेर छोइएलाजस्तो गर्छ मोटरसाइकल। शंका गर्ने फुर्सद् नपाउँदै मोटरसाइकलमा सवार व्यक्तिले युवतीलाई धारिलो हतियारले घोपिहाल्न भ्याउँछ।
 
यसरी नै यो बाटोमा सवार ती व्यक्तिले युवतीलाई घोपेका छन्। केही महिनाअघि बाटै यस्तो घटना बढ्न थालेपछि प्रहरीमा उजुरी पर्‍यो। सोही विषय केही समयदेखि सिरिन्ज आक्रमण भन्दै बाहिर आयो।

आखिर यसरी युवतीलाई आक्रमण गर्ने को हुन् त? प्रहरीलाई टाउको दुखाईको विषय बन्यो। 

सिरिन्ज किन प्रहार गरिन्छ र कसले गरिरहेकोको छ भन्ने विषयमा प्रहरी खोजीमा लाग्यो।

घटना भएको स्थानको पहिचान र सिसिटिभी फुटेजमा देखिएको हुलियालाई लामो अनुसन्धान गरेपछि अपराधी पत्ता लगाउन सफल भएको महानगरीय प्रहरी महाशाखाका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए।
 
तिनै अभियुक्त बिहीवार राति पक्राउ परे, रामेछापका ३० वर्षे सन्तोष कार्की घटनाका अभियुक्त। आज उनै कार्कीलाई महानगरीय प्रहरी परिसर टेकुले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। 

पत्रकार सम्मेलनमा आकाशे रंगको ज्याकेटमा देखिएका कार्कीको अनुहार मास्कले छोपिएको थियो। तिनै कार्कीले आफुले गरेको अपराध स्वीकारे। उनले आफूले रमाइलोका लागि युवतीहरुलाई ढलाने किलाले हान्ने गरेको पनि बताए।

कार्कीले 'के गरौँ के गर्रौँ भएपछि आनन्द लिन किला प्रयोग गरेको' बयान दिएको प्रमुख सुवेदीले बताए।

उनी केही वर्ष खाडी मुलुकमा बसेर फर्केको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको सुवेदीले बताए। कार्कीले यस्तो क्रियाकलाप गर्नुको कारणबारे प्रहरीले अनुसन्धान जारी राख्ने जनाएको छ।

अहिलेसम्म किला प्रहार भएको सातवटा उजुरी प्रहरीमा परेका छन्। एक जनामाथि दुईपटकसम्म किलाले आक्रमण भएको उजुरी पनि प्रहरीमा परेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell