PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको वर्चस्व, युकेश र सावित्रा वर्ष खेलाडी घोषित



गोविन्दराज नेपाल

स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको वर्चस्व, युकेश र सावित्रा वर्ष खेलाडी घोषित

काठमाडौं : इन्डोनेसियमा सम्पन्न १८औं एसिया गेम्समा नेपाललाई एक मात्र रजत पदक दिलाएको प्याराग्लाइडिङ टिमको वर्चस्व रहेको पल्सर स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङकै युकेश गुरुङ र फुटबलकी सावित्रा भण्डारी वर्ष खेलाडी घोषित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको १६औं स्पोर्ट्स अवार्डमा युकेश पुरुषतर्फ उत्कृष्ट र सावित्रा महिलातर्फ उत्कृष्ट घोषित भए।

यस्तै प्याराग्लाइडिङकै योगेश भट्टराई वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भए। प्याराग्लाइडिङमा पुरुषतर्फ रजत पदक जितेको टिमलाई टिम अफ दि इअरबाट सम्मानित गरियो।

पिपुल्स च्वाइस अवार्ड महिला भलिबल खेलाडी रेश्मा भण्डारीले जितिन्। एसएमएस भोटिङ, फेसबुक लाइकको आधारमा भएको उक्त अवार्डमा रेश्माले सर्वाधिक भोट प्राप्त गर्दै अवार्ड जितेकी हुन्।

वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड एथ्लेटिक्समा अजित भण्डारीले जिते।

लाइफटाइम अचिभमेन्ट अवार्डबाट कीर्तिमानी धावक हरि बहादुर रोकायलाई सम्मान गरियो।

यसैगरी स्पेशल अवार्ड फुटबलर रोहित चन्दले प्राप्त गरे भने पारा एथलेट अवार्ड ब्लाइन्ड क्रिकेटकी मनकेसी चौधरीले जिते।

यसैगरी यस वर्षबाट प्रदान गर्न सुरु गरिएको एआइपीएस एसिया स्पोर्ट्स जर्नालिस्ट अवार्ड पाकिस्तानका खेल पत्रकार अमजाद अली मलिकलाई प्रदान गरियो। एआइपीएस एसियाका महासचिव समेत रहेका मलिक पाकिस्तान स्पोर्ट्स राइटर्स फेडेरसनका अध्यक्ष समेत हुन्।

नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको अवार्डमा यस पटक विभिन्न १० विधामा अवार्ड प्रदान गरिएको थियो।

वर्ष पुरुष खेलाडी युकेश, वर्ष महिला खेलाडी सावित्रा, वर्ष प्रशिक्षक योगेश र पिपल्स च्वाइस अवार्डको विजेता रेश्माले पल्सर मोटरसाइकल प्राप्त गरे।

यस्तै अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। वर्ष खेलाडी पुरुष र महिलाले टर्कीस एयरलाइन्सको एक-एक वटा राउण्ड टिकट प्राप्त गरेका छन्। दुई खेलाडी विश्वको कुनै पनि स्थानमा जान सक्नेछन्।

हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको मुख्य प्रायोजन रहेको स्पोर्ट्स अवार्डमा मुख्य सह-प्रायोजकको रुपमा किरण सु म्यानुफ्याक्चररको मुख्य उत्पादन गोल्डस्टार र मुख्य सह-प्रायोजक (पावर्ड बाइ) मा डिस मिडिया नेटवर्क लिमिटेड रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell