PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विश्वकप क्रिकेट २०१९ : यस्ता छन् सेमिफाइनल पुग्ने चार टिम



गोविन्दराज नेपाल

विश्वकप क्रिकेट २०१९ : यस्ता छन् सेमिफाइनल पुग्ने चार टिम

काठमाडौं: इङ्ल्यान्ड र वेल्समा १२औं संस्करणको आइसीसी विश्वकप क्रिकेट २०१९ मा अपेक्षाअनुसार र ठूला चार टिम सेमिफाइनल पुगेका छन्।

विश्वकै उत्कृष्ट १० टिमबीच राउन्ड रोविन लिगमा प्रतिस्पर्धा भएपछि भारत, अष्ट्रेलिया, इङ्ल्यान्ड र न्यूजिल्याण्डले अन्तिम चारमा स्थान बनाएका हुन्।

लिगमा कूल ४५ खेलपछि बाँकी ६ टिम भने बाहिरिएका छन्।

उपाधि दाबेदार टिमहरु नै सेमिफाइनल पुगेकाले अब बाँकी ३ खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्ने निश्चित छ।

लिग चरणमा भारत पहिलो, अष्ट्रेलिया दोस्रो, इङ्ल्यान्ड तेस्रो र न्यूजिल्याण्ड चौथो भएर सेमिफाइनल पुगेका हुन्।

अब पहिलो सेमिफाइनलमा भारत र न्यूजिल्याण्ड तथा दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र इङ्ल्यान्ड भिड्नेछन्।

यी चार राष्ट्र आइसीसी ओडिआई वरीयतामा पनि शीर्ष चार भित्रै छन्।

 

चार टिमको सेमिफानलसम्मको यात्रा र विशेषता यस्तो छ

 

भारत

विश्व वरीयता २

विश्वकप अघि दोस्रो वरीयतामा रहेर इङ्ल्यान्ड पुगेका भारत केही दिनका लागि शीर्ष वरीयतामा उक्लेको थियो। तर इङ्ल्यान्डसँग हारपछि भारत दोस्रो स्थानै झर्‍यो।

यस पटक कुनै पनि टिम लिगमा अपराजित रहेन। तर भारत सबैभन्दा कम खेल हार्ने टिम बन्यो। लिगका ९ मध्ये ७ खेल जितेको भारतले एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो भने घरेलु टोली इङ्ल्यान्डसँग मात्र हार बेहोरेको थियो।

प्रतियोगिता सुरु भएको एक सातापछि पहिलो खेल खेलेको भारतले सुरुमै ठूलो प्रतिद्वन्दीहरुसँग खेले पनि उत्कृष्ट नतिजा निकाल्यो। तर प्रतियोगिताको बीचकै ब्याट्म्यान शिखर धवन, बलर भुवनेश्वर कुमार र विजय शंकरजस्ता खेलाडीको चोटका कारण भारतलाई धक्का लागेको थियो धवन र शंकमर विश्वकपबाटै आउट भएपनि भुवनेश्वरले पुनरागमन गरिसकेका छन्।

भारतका रोहित शर्माले ५ शतक प्रहार गर्दै एउटै विश्वकपमा सबैभन्दा धेरै शतक प्रहार गर्ने कीर्तिमान बनाइसकेका छन्। उनले विश्वकपमा सर्वाधिक ६ शतक प्रहार गर्नै भारतकै सचिन तेन्दुलकरको कीर्तिमान बराबरी गरिसकेका छन्। अब एउटै विश्वकपमा धेरै रन बनाउने सचिनकै ६७३ रनको कीर्तिमान भन्दा रोहितमात्र २६ रनले टाढा छन्। रोहितले यस विश्वकपमा ५ शतकसहित ६४७ रन बनाइसकेका छन्।

सन् १९८३ र २०११ को विश्वकप विजेता भारत तेस्रो पटक विश्वकप जित्न योजनामा छ। भारत र न्यूजिल्याण्डबीच लिग चरणमा वर्षाका कारण खेल हुन सकेको थिएन। त्यसैले पहिलो सेमिफाइनल खेल्दा यी दुईका लागि यस विश्वकपको पहिलो खेल हुनेछ।

भारतले १९८७, १९९६ र २०१५ मा सेमिफाइनल खेलेको थियो भने २००३ मा फाइनलसम्म पुगेको थियो।

 

अष्ट्रेलिया

विश्व वरीयता ३

सर्वाधिक ५ पटकको च्याम्पियन अष्ट्रेलिया डिफेन्डिङ च्याम्पियन समेत हो। विश्व वरीयतामा हाल तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले इङ्ल्यान्डमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यस विश्वकपमा सेमिफाइनलमा स्थान पक्का गर्ने पहिलो टिम बनेको अष्ट्रेलिया अन्तिम लिग खेलमा दक्षिण अफ्रिकासँग हारेपछि दोस्रो बनेको हो।

अष्ट्रेलियाले भारत र दक्षिण अफ्रिकासँग मात्र हार बेहोर्दा बाँकी ७ वटा खेल जितेको थियो। ९ खेलबाट १४ अंक जोडेको अष्ट्रेलिया भारतभन्दा १ अंकले मात्रपछि पर्दै दोस्रो भएको हो।

यसअघि सात पटक सेमिफाइनल खेलेको अष्ट्रेलिया सेमिफाइनलमा पराजित भएको छैन। सात पटक नै फाइनल खेलेको उसले ५ पटक उपाधि जितेको हो।

पूर्व कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नर एक वर्षभन्दा बढी समयको प्रतिवन्धपछि यसै विश्वकपबाट राष्ट्रिय टिममा फर्केका थिए। बल टेम्परिङ काण्डपछि यी दुईले इङ्ल्यान्डमा पुनरागमन गर्दै उत्कृष्ट प्रदर्शन गरे। वार्नरले यस पटक ३ शतक प्रहार गरिकसका छन्। सर्वाधिक रन बनाउनेमा दोस्रोमा रहेका वार्नरले ३ शतकसहित ६३८ रन बनाइसकेका छन्। रोहितसँगै वार्नर पनि सचिनको कीर्तिमान तोड्ने लाइनमा छन्।

यस्तै बलिङमा अष्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले २६ विकेट लिँदै सन् २००७ मा अष्ट्रेलियाकै ग्लेन म्याग्राले राखेको कीर्तिमान बराबरी गरिसकेका छन्। अब उनी उक्त कीर्तिमान तोड्नबाट १ विकेटले मात्र टाढा छन्।

अष्ट्रेलियाले लिग चरणमा इङ्ल्यान्डसँग खेल्दा जित हात पारेको थियो। अब सेमिफाइनलमा पनि उक्त लय कायम राख्दै लगातार फाइनल पुग्ने लक्ष्यमा छ।

 

इङ्ल्यान्ड

विश्व वरीयता १

अहिलेको इङलिस टोलीलाई इतिहासकै उत्कृष्ट मानिन्छ। ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट रहेको इङ्ल्यान्ड भारत र न्यूजिल्याण्ड जस्ता टोलीलाई हराउँदै सेमिफाइनल पुगेको हो।

सन् १९९२ पछि पहिलो पटक सेमिफाइनल पुगेको इङ्ल्यान्ड अब फाइनल पुग्ने लक्ष्यमा छ। १९९२ मै फाइनल खेलेको इङ्ल्यान्ड पाकिस्तानसँग पराजित भएको थियो। अहिलेसम्म ३ पटक फाइनल पुगेर पनि इङ्ल्यान्डले उपाधि जित्न सकेको छैन।

श्रीलंका र अष्ट्रेलियासँग पराजित भएपछि लिग चरणबाटै बाहिरिने खतरामा पुगेको इङ्ल्यान्डले भारत र न्यूजिल्याण्डविरुद्ध पुनरागमन गर्दै शानदार जित हात पारेको हो।

विश्व वरीयतामा १ नम्बरमा रहेको इङ्ल्यान्ड ३ सय भन्दा बढी रन बनाउन माहिर टोली मानिन्छ। प्रदर्शनमा उतारचढाव आएपनि जुनसुकै टोलीविरुद्ध नतिजा आफ्नो पक्षमा पार्न सक्ने खुबी यस टोलीमा छ। ज्यासन रोए, जो रुट, कप्तान इओन मोर्गन, जोस बटलर जस्ता ब्याट्सम्यान रहेको इंग्लिस टोलीमा बेन स्टोक्स जस्ता अलराउण्डर छन्। यस्तै क्रिस वोक्स, जोफ्रा आर्चर र मार्क उडले बलिङ लाइन सम्हालिरहेका छन्।

 

न्यूजिल्याण्ड

विश्व वरीयता ४

चार वर्षअघि छिमेकी अष्ट्रेलियासँग संयुक्त रुपमा विश्वकप आयोजना गर्दा न्यूजिल्याण्डले पहिलो पटक फाइनल खेलेको थियो। तर अष्ट्रेलियासँग नै फाइनलमा पराजित भएपछि किवी टोलीले उपविजेतामै चित्त बुझायो।

यस पटक सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलसम्म अपराजित रहेको न्यूजिल्याण्डले त्यसपछि लगातार ३ खेल हार्दा पनि सेमिफाइनलमा स्थान बनायो। पाकिस्तान समान ११ अंक जोडेको न्यूजिल्याण्डले रनरेटमा पाकिस्तानलाई पछि पारेको हो।

दुवैले लिगमा ५ खेल जित्दा ३ खेल हारेका थिए भने एक खेल वर्षाले प्रभावित हुँदा नम्बर बाँडेका थिए।

सातौँ पटक सेमिफाइनल पुगेको न्यूजिल्याण्डले लगातार चौथो पटक सेमिफाइनल खेल्न लागेको हो। किवी टोलीको सेमिफाइनल रेकर्ड भने खराब छ। अहिलेसम्मको ६ सेमिफाइनल खेल्दा १ पटक मात्र उसले यो चरण पार गरेको छ।

त्यसैले यस पटक फाइनल पुग्न न्यूजिल्याण्डले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ।

ब्याटिङमा कप्तान केन विनियम्सन र रोज टेलर अनि बलिङमा ट्रेन्ट बोल्ट र लकी फर्गुसनले यस पटक न्यूजिल्याण्डका लागि राम्रो खेलिरहेका छन्। यस्तै अलराउण्डर कोलिन डे ग्राण्डहोलमले पनि ब्याटिङमा राम्रो गरिरहेका छन्। यी खेलाडीहरुले सेमिफाइनलमा पनि भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने आश गरिएको छ।

 

सेमिफाइनल तथ्याङ्क

भारत भर्सेस न्यूजिल्याण्ड

पहिलो सेमिफाइनल

 

अष्ट्रेलिया भर्सेस इङ्ल्यान्ड

४४ वर्षपछि पहिलो सेमिफाइनल

यी दुईले सने १९७५ को पहिलो विश्वकपमा सेमिफाइनल खेलेका थिए। जसमा अष्ट्रेलिया ४ विकेटले विजयी भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell