कथा आठ वर्ष अघिबाट सुरु हुन्छ। भारतको हैदरावाद करिम नगरबाट रेल र बसको यात्रा हुँदै काठमाडौं आइन् रजिता गिरी। 'हैदरवाद टू काठमाडौं' - उनको जीवनको पहिलो लामो यात्रा थियो। रेलको डिब्बामा बस्दा उनले काठमाडौंको स्वरुप कल्पिएकी थिइन्: सुन्दर शहर, पशुपतिनाथको मन्दिर जस्तै सुनको गजुर भएको ।
उनले पशुपति देखेकी त थिइनन्। तर, विवाह भएको केही दिनपछि श्रीमान् सम्पत गिरीले उनलाई आफूसँगै काठमाडौं लैजाने सुनाए। सुरुमा त ‘कहाँ हो कहाँ हो’ भन्दै उनले ‘जान्न’ भनिन्।
‘म काममा जान्छु। बुबा पनि काममा जानुहुन्छ। तिमी हाम्रा लागि खाना बनाइदिनु। काठमाडौं शितल छ। गाह्रो हुँदैन,’ सम्पतले सम्झाए।सम्पतसँग रजिता
फकाउन हो या लोभ्याउन, आफू बस्ने ठाउँ पशुपतिनाथको मन्दिर नजिकै रहेको सम्पतले बताएपछि उनी सकारात्मक हुन थालिन्। त्यसपछि सुनको गजुर भएको मन्दिरको वर्णन सुनिन् सम्पतको मुखबाट। काठमाडौंको वर्णन सुनिरहँदा रजितालाई अहिले नै पुगिहालुँ जस्तो हुन थाल्यो।
रेलको गतिभन्दा छिटो थियो उनको कल्पनाको यात्रा। हैदरावादबाट गोरखपुरसम्म दुई दिनको लामो रेल यात्रा। गोरखपुरबाट सुनौली बस र रिक्सा। बसमा श्रीमानसँग कुम ठोक्काउँदै काठमाडौं। काठमाडौं आइपुग्दा साँझ झपक्क भइसकेको थियो। त्यो बेला पतिले जहाँ उभिएर ‘ऊ... पर हेर, पशुपतिनाथ भगवान’ भनेका थिए, त्यो गौशालाको पुल रहेछ। अहिले हरेकपटक पुलमा पुग्दा रजिता त्यही दिन सम्झिन्छिन्।
तर, बसको झ्यालबाट झिलमिल शहर देखेकी उनी बस्तीमा पुग्दा भने खल्लो अनुभूति गर्न पुगिन्। तिलगंगाको यो बस्तीजस्तै साँघुरो बन्दै गए उनका कल्पनाहरु।
+++
पानी पर्दा एउटाको छानोबाट चुहिएको पानी अर्कोको दैलोमा खस्छ। टन्टलापुर घाम लाग्दा जब एक जनामात्र पनि दैलोमा उभिन्छन् तब अरु कोठामा बहने हावा नै बन्द हुन्छ।
राजधानीको पशुपतिनाथ मन्दिर नजिकै तिलगंगा पछाडि जस्तापाताबाट बनेका करीब ३५ वटा टहराहरु छन्, बराबर उभिएका, एक कोठे। ढोका होचो, अलिक अग्लो मानिस छिर्नुपरे निहुरिनै पर्ने। दलिनमा बोरा र थोत्रा कपडा घुसारिएका। साँघुरो पिढीँमा भुसे चुल्हो। चुल्हो माथि धुँवाले काला भएका भाँडा। यो बस्ती नै यस्तै छ।
सुन्दर शहर काठमाडौंको कल्पनामा रमाउँदै आएकी रजिता यो बस्तीमा भित्रिएकी नयाँ बासिन्दा थिइन्।
साँघुरो बस्तीमा दैनिकी सहज थिएन। छर छिमेकसँग भाषा मिले पनि कुराकानी गर्ने मेसो पाएकी थिइनन्। ससुरा र श्रीमान् काममा व्यस्त। दिनभर कोठामा एक्लै बस्थिन्। बिहान बेलुकी खाना बनाउँथिन्। हरेक दिन श्रीमान् कामबाट फर्किएपछि उनी एउटै प्रश्न गर्थिन् - ‘हामी पशुपतिनाथ दर्शन गर्न कहिले जाने?’
एक बिहान। उठिन् र सधैँजस्तै नास्ता बनाइन्। ससुरा रजैया गिरी नास्ता खाएर आफ्नो बाटो लागे। श्रीमान तयार भएर निस्किए। उनी पनि श्रीमानको पछिपछि लागिन्। पाइला पशुपतिनाथतर्फ होइन अन्तै मोडियो।
पहिलो दिन श्रीमानको काम हेरिन्। टहरोले बनेको बस्ती देख्दाभन्दा बढी दुख्यो उनको मन। उनका श्रीमान् फोहोरका डुङ्गुरमा छिर्थे, बागमती किनारमा तैरिएका प्लास्टिक र पानीका बोतल तान्न पुग्थे। कुकुरले लखेट्थ्यो। कहीँ कतै मान्छेले पनि।
‘काठमाडौं ठाउँ मात्र शितल रहेछ। मान्छेको त दिमाग पनि गरम अनि व्यवहार पनि,’ रजितालाई काठमाडौंको ‘कडवा सच’ले नराम्ररी निमोठ्यो। ८ वर्ष बिते पनि रजिताको नेपाली भाषा प्रष्ट छैन। नेपाली, हिन्दी अनि तेलगु मिश्रित लवजमा बोल्छिन्।
‘मान्छेले लखेटेको, गाली गरेको सुन्दा तर्सिएँ,’ रजिता भन्छिन्, ‘हामीलाई फोहोरी देख्नेले बाटोको फोहोर देख्दा रहेनछन्। उल्टो त्यही फोहोर टिप्नेलाई दुर्वचन लगाउने रहेछन्।’
सम्पतले बोरा भरी प्लास्टिकका बोतलसँगै अरु सामान जम्मा गरेर ल्याउँदा, माइतीमा पसलको साहुनी बनेर बसेको सम्झिएर उनको आँखाबाट आँसु झरे।
काम गाह्रो थियो तर गर्नै नसकिने थिएन।
त्यसैले दिनभर कोठामा बस्नुभन्दा सम्पतसँगै हिँड्ने योजना बनाइन्। काममा जान ससुराको सहमति चाहिन्थ्यो। ससुरासँग खुलेर कुरा गर्ने बानी थिएन। एकपटक ससुरा कोठाबाट बाहिर निस्किएको मौका पारेर उनले मुख खोलिन्– ‘अब म पनि प्लास्टिक टिप्न हिँड्छु।‘
बिहान उठ्ने। खाजा खाने। कुर्तामाथि सम्पतको थोत्रिएको सर्ट लगाउने। टाउकोमा रुमाल बाँध्ने र बोरा बोकेर निस्कने। उनको दिनचर्या फोहोरको थुप्रो वरपर बित्न थाल्यो।
दैनिक फोहोर भनेर फालिएका प्लास्टिक उठाउने, बेच्ने अनि घर खर्च टार्ने दैनिकी बन्यो रजिताको। फोहोर जोखेर पठाएपछि मात्र उनको टहरामा तरकारी पाक्थ्यो।
रजिता जस्तै तिलगंगाको बस्तीमा हरेक महिलाका उस्तै कहानी छ। फोहोर टिप्दा श्रीमानको नाममा लगाएको चाँदीको बिछी मैलाउनुको कथा छ।
***
बीस वर्षकी पुष्पा गिरी परिवार चलाउन हरेक दिन फोहोर टिप्छिन्। एकदिन पुष्पाका बुबालाई फोहोरकै थुप्रो र धुँवा, धुलोले बिरामी पार्यो। पुष्पाको काँधमा ६ जनाको परिवारको जिम्मेवारी आइलाग्यो। एक कक्षा पनि नपढेकी उनलाई हिसाब किताब आउँदैन।
तर, कति गह्रौं फोहोरको कति पैसा आउँछ भन्ने हिसाब सिकिन्। ‘तरकारी किन्न पुग्ने त कमाउनु पर्यो नि,’ उनले शिर निहुराएर बोलिन्।
पहिलोपटक बोरा लिएर निस्किँदा एयरपोर्ट नजिकै खैरो कुकुरले खेद्यो। उनी भागिन्। तर, कुकुरले भेट्यो। खुट्टाबाट रगत बग्यो। केही मानिसले रेबिजको सुई लगाउन सुझाए। तर, मेडिकल सञ्चालकले भित्र पस्न दिएनन्। त्यो कुकुरले टोकेको घाउको खत अझै उनको खुट्टामा छ।
‘मलाई अहिले पनि कुकुरसँग डर लाग्छ,’ पुष्पा भन्छिन्, ‘त्यसपछि हाम्रो भाषा नबुझ्ने मान्छेसँग पनि साह्रै डर लाग्छ।’
मान्छेहरु गाडीमा चढ्न दिँदैनन्। आफ्नो घर वरपर फोहोर राख्छन् तर टिप्न दिँदैनन्। भोक लागेर खाजा खान मन लाग्दा होटल छिर्न पाउँदैनन्। केही मान्छे उनीहरुको छेउ पर्दा नाक थुन्छन्।
‘हामीलाई शहर भन्दा यही टोल रमाइलो। यहाँ फर्किएपछि आनन्द लाग्छ। यहाँ सबै बराबर,’ पुष्पाले भनिन्।
सुरुसुरुमा उनलाई काम गर्न सक्दिन भनेर धेरैले गिज्याए। तर, अहिले पुष्पा समूहमै ठूलो भारी बोकेर फर्कनेमा पर्छिन्।
त्यही देखेर बस्तीका केहीले विवाहको कुरा ल्याएका छन्। तर, उनी प्लास्टिक टिपेरै आफूलाई हुर्काएका आमाबुबाको सहारा बन्न चाहन्छिन्।
***
बस्तीमा सबैको भाषा एउटै। काम एउटै। दैनिकी उस्तै। दिनभर मैलो कपडाले आफैलाई ढाक्छन्। चोक चोकका सडक पेटीमा फोहोर उठाउन चहार्छन्। कुकुरले टोक्छ, लखेट्छ। मानिसले चोरको आरोप लगाउँछन्। यस्ता समस्यासँग अभ्यस्त भइसके सबै।
बेलुका फर्कन्छन्। नुहाई धुवाई गर्छन्। कोही गफ गर्न बस्छन्। कोही आफैलाई श्रृङ्गार्छन्। सिउँदो काँटेर सिन्दुर, गाजल, टीका, पाउजु। बिहे भएकाले नाकको दुवैपट्टि फूली लगाउँछन्। एउटा आमाको नाममा अर्को पतिको नाममा। अविवाहितको नाकमा पनि एउटा मात्र फूली र खुट्टाको औंलामा बिछी पनि एउटा मात्रै।
दिनभर सुनसान बस्तीमा साँझपख पाउजुको आवाज र चर्को तेलगु भाषा गुञ्जन्छ। साँझको गफगाफ आजभोलि प्लास्टिक खोज्न कहाँ जाने भन्ने विषयमा केन्द्रित हुन थालेको छ।
काठमाडौंको यस्तै एउटा बस्तीमा जन्मिएर हुर्किएका कृष्ण गिरी सुनाउँछन्, 'आजभोलि काठमाडौंमा प्लास्टिक कम भेटिन्छ। हामी सानै थियौं, वागमती किनारमा जम्मा हुने प्लास्टिकले नै चार पाँच सय कमाउँथ्यौं। अहिले दिनभर डुल्दा पनि त्यति कमाउन गाह्रो छ।’
छेउमा बसेर कुरा सुनिरहेकी कृष्णकी श्रीमती पनि यस्तै टोलमा जन्मिएकी हुन्। श्रीमानले अनुभव सुनाइरहँदा उनले पनि आफ्नो कुरा थपिन्। प्लास्टिक खोज्दाखोज्दै एकअर्कालाई भेटेका यिनिहरुको कथा यो बस्तीको प्रेमको कथा हो।
कृष्णको परिवार सिनामंगलस्थित टहरामा बस्थ्यो। उनी त्यहीँ जन्मिए। आमाले उनी जन्मिनु एकदिन अघिसम्म प्लास्टिक टिपिन् रे। उनी जन्मिएको दुई महिनादेखि आमाले काम सुरु गरिन्। उनलाई दाइ दिदीले हुर्काए।
नौ वर्षको उमेरदेखि त उनी आफूभन्दा ठूलो बोरा घिसार्दै हिँड्न सक्ने भए।
उस्तै उमेरकाहरु एकै ठाउँ भेला हुन्थे। एउटै एरियामा प्लास्टिक खोज्थे। कहिलेकाहीँ त एक अर्काबीच झगडा पनि पर्थ्यो। कहिले एउटालाई गाली गर्नेसँग सबै मिलेर झगडा गर्थे।
त्यही भिडमा थिइन् बस्तीकी मुक्तया। उमेरले उनीभन्दा केही वर्ष कान्छी। धेरै नबोल्ने तर निकै फुर्तिली र बाठी। कृष्णलाई उनी मनपर्यो। उनी पनि कृष्णलाई देख्दा लजाउँथिन्। यहाँ लजाउनुको अर्थ मन पराउनु थियो।
‘दिनकै सय किलो प्लास्टिक टिप्छु भन्ने फूर्ती बोकेर हात माग्न गएँ। उनका आमाबुबा खुशी खुशी राजी हुनुभयो,’ कृष्णले रौसिँदै सुनाए, 'मजस्तो असल केटो कहाँ त्यति सजिलै पाइन्थ्यो र?’
कुरा सुनेर बसेकी मुक्तया लजाइन्। र, तेलगु भाषामा कृष्णलाई केही भनिन्।
कृष्ण अहिले ३० वर्षका भए, मुक्तया २७। एघार वर्षअघि गुह्येश्वरी मन्दिरमा विवाह गरे। सधैँ धुँवा धुलोमा देखिएकी मुक्तयालाई विवाहको दिन श्रृङ्गारिएको देखे कृष्णले। त्यसदिन उनलाई मुक्तया सबैभन्दा सुन्दर लागिन्। उनी आफैलाई मन नपरेको प्लास्टिक टिप्ने काम उनलाई लगाउँदिन भन्ने सोचे।
लगत्तै हैदरावाद फर्कनेबारे सोचे। विवाह गरेर बचेको पैसाले ड्राइभिङ सिके। र, गाउँमै केही गर्ने भन्दै पोको पन्तरो बाँधेर निस्किए। हैदरावादको गर्मीमा अटो चलाउने काम त पाए। तर, रमाउन सकेनन्।
‘त्यहाँको कमाइले दुई पेट पाल्न पनि गाह्रो। यहाँ कम्तिमा भोकै त बस्नु परेको थिएन,’ उनी सम्झन्छन्, 'प्लास्टिक टिप्ने हो। न कसैको चोर्नु न कसैको लुट्नु। किन नराम्रो मान्नु भनेर यही काममा फर्किएँ।’
यो जोडीको दुई छोरी छन्। जेठी छ वर्षकी भइन्, कान्छी पाँच वर्षकी। प्लास्टिक टिप्न नसक्ने भएपछि गाउँ फर्किएकी आमसँग गएका छन्। दुवै सरकारी स्कूल पढ्छन्। यता कमाइ खस्किएपछि बोर्डिङमा पढाउने सपना तुहियो। धेरैले छोराछोरी गाउँमा हुर्काएर काम गर्न सक्ने भएपछि ल्याउने गरेका छन्। कृष्ण भने त्यसो गर्ने पक्षमा छैनन्।
‘यता काम हुन्जेल जसरी पनि उनीहरुलाई पाल्छु। फोहोर नै हुन छोड्यो भने त काम पनि बाँकी रहँदैन। त्यसपछि के गर्ने सोचेको छैन,’ उनले सुनाए।
***
हैदरावादस्थित केही गाउँका गिरीहरु ज्योतिष बन्न काठमाडौं आए। ज्योतिष बन्न नसकेकाहरु जोगी बने। यहाँ हुनेले शहरमा काम देखे। कमाई देखे। फोहोर उठाएर पनि खान सकिने अवस्था देखे। त्यसपछि कसैले छोरा बोलाए कसैले श्रीमती। कोही परिवार नै लिएर काठमाडौं आए।
मदन गिरी ज्योतिष हुन्। उनी ६० वर्षका भए। ४५ वर्षअघि नेपाल आउँदाको क्षण सम्झन्छन्, ‘काठमाडौं फाँट थियो, खाली। हाम्रो बस्ती पनि पातलो थियो। बढीमा १० जना थियौं। आज हाम्रै ठाउँकाहरुको पाँचवटा बस्ती छन् काठमाडौंमा।’
ज्योतिषी गर्नु बुबाहरुको काम। छोराहरु कवाडी बटुल्ने। मदनलाई भने बुबा लक्ष्मीप्रसाद गिरीले ज्योतिषशास्त्र नै सिकाए।
त्यसैले उनले कवाडी उठाउनु परेन। केही वर्षअघिसम्म रत्नपार्क, बानेश्वर, पशुपतिमा चकटी ओच्छ्याएर मानिसको हात हेर्थे। अहिले बोलाइएको ठाउँमा पूजा लगाउन पुग्छन्।
ज्योतिषी गरेरै दुई छोरालाई इन्जिनियर बनाए र एउटालाई एमए पढाए। अहिले सबै काम गर्छन्। हैदरावादमा नपुग्दो केही छैन। तर, काठमाडौंको घाम उनलाई प्यारो भएको छ। त्यस्तै प्यारो छ आफूले जिन्दगी बिताएको यो बस्ती जहाँ उनको भाषा बोल्ने मानिस छन्। उनको देउता पूजा गर्नेहरु छन्।
यो बस्तीमा दिपावलीको रौनक छाउँछ। सानै भए पनि खाली जमिन पोत्छन्। झिलिमिलि बत्ती बाल्छन्। देवी देवता पूजा गर्छन्। नाच्छन् गाउँछन्। आफ्नै जातको टोल भएकाले पर्व यतै आउँछ। उत्सव यतै आउँछ। यो सब चटक्क छोडेर बस्तीबाट निस्कन सक्दैनन् मदन।
गरिबी र बेरोजगारीको चपेटामा परेर देश छोडे यो बस्तीबासीले। उनीहरुको गाउँमा बस्ने घर बाहेक केही छैन। खेतबारी नभएपछि अरु काम हुँदैन। ज्याला मजदुरीले रासन चामल जुट्दैन। गर्मी त एक बहाना हो।
काठमाडौंमा दैनिक फोहोर उठाएर चार सयदेखि हजारसम्म कमाउँछन्। एक किलो प्लास्टिकको पाँच रुपैयाँ।
खर्च, कोठा भाडा तिर्न मासिक तीन हजार। फोहोर र बत्तीको पाँच सय। राशन र दैनिक तरकारी खर्च बेग्लै। कुनै महिना बीस हजारसम्म जोगाउँछन्। कुनै महिना कमाइभन्दा ज्यादा खर्च हुन्छ। त्यसैले खर्च धान्नकै लागि भए पनि परिवारको सबै निस्कन्छन् बोरा बोकेर।
गाउँमा हुर्किन बाँकी बालबालिका र काम गर्न नसक्ने वृद्धवृद्धामात्र छन्।
उमेर ढल्केको आमाबुबा र दुधे बच्च छोडेर यहाँ खट्नु पर्ने बाध्यताले पिरोल्छ उनीहरुलाई।
‘म यो काममा खुशी छैन। कोही पनि खुशी हुँदैन। तर, गर्नै पर्छ। उता छोरीहरुलाई पढाउनु पर्छ,’ रजिता बोल्छिन्। छोरीहरुले पढेनन् भने यही बस्तीमा आइपुग्छन्। यही बोरा बोक्छन् र फोहोरको थुप्रोमा आफूजस्तै रुमलिन्छन् भन्ने पीर छ उनमा।
त्यही पिरले तीनवटै छोरीबाट अलग्गाएको छ। उनीहरु जन्मिएको चार महिनामै काममा फर्किइन्। नफर्कँदा तिनै छोरी खानाको भोको हुने अवस्था। फर्कदा मायाको भोको भए। त्यही ग्लानी बोकेर फोहोर जुटाउँदै छिन्। रकम जुटाउँदै छिन्।
अब त उनी आफै पशुपति पुग्न सक्ने भइन्। हरेकपटक दर्शनका लागि पुग्दा छोरीहरुको भविष्यका लागि कामना गर्छिन्। र, अर्को कामना भोलिको फोहोरको भारी गह्रौं होस् भन्ने।उनको कामना काठमाडौंमा फोहोर रहेसम्म पूरा हुन्छ। किनकि जथाभावी फालिएका फोहोर रहेसम्म सबैको एउटै धन्दा छ, कमाइ छ।
दुई वर्षमा एकपटक हुने देवी पूजा र चुनावमा भोट खसाल्न मात्र हैदरावाद जाने कृष्ण भन्छन्, ’फोहोर नभएपछि सायद सधैंको लागि हैदरावाद फर्कन्छौं। त्यसपछि यो बस्ती पनि रित्तिन्छ।'