PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

चार देशका लागि प्रस्तावित राजदूत संसदीय समितिबाट सर्वसम्मत, यी हुन् अनुमोदनमा परेका नयाँ राजदूत



चार देशका लागि प्रस्तावित राजदूत संसदीय समितिबाट सर्वसम्मत, यी हुन् अनुमोदनमा परेका नयाँ राजदूत

काठमाडौं: सरकारले चार देशका लागि प्रस्ताव गरेको राजदूत प्रतिनिधिसभा अन्तर्गत संसदीय समितिबाट सर्वसम्मत अनुमोदन भएका छन्। आज बसेको बैठकले अष्ट्रेलिया, कतार, स्पेन र बंगलादेशका नयाँ राजदूतलाई सर्वसम्मत चयन गरेको हो।

जेठ दोस्रो हप्ता बसेको मन्त्रिपरिषदको बैठकले चार देशमा राजदूत नियुक्तिको निर्णय गरेको थियो।

सरकारले अष्ट्रेलियका लागि महेश दाहाल, बंगलादेशका लागि बंशीधर मिश्र, स्पेनका लागि राजदूत दावाफुटी शेर्पा र कतारका लागि नारद भारद्वाजलाई नयाँ राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो। 

यी हुन् चार देशका नयाँ राजदूत

कांग्रेस छाडेर ने क पा प्रवेशपछि अष्ट्रेलियका लागि राजदूत

मानव बेचविखनको आरोप लागेपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएपछि त्यहाँ पद रिक्त भएको हो। अष्ट्रेलियका लागि सर्वसम्मत राजदूत दाहाल १० महिना अगाडि मात्र ने क पामा प्रवेश गरेका थिए। सुरुमा कांग्रेसमा रहेका दाहाल गत प्रतिनिधिसभा तथा प्रदेशसभामा चितवनबाट प्रचण्ड विजयी भएसँगै उनीसँग नजिकिएका थिए।

नेपाली कांग्रेसको कोटाबाट नेपाल टेलिभिजनको अध्यक्ष भएका उनलाई ने क पाको पार्टी कार्यालयमा प्रचण्ड र महासचिव विष्णु पौडेलले पार्टी प्रवेश गराएका थिए।

तत्कालीन सञ्चारमन्त्री मीनेन्द्र रिजालले दाहाललाई अध्यक्षमा नियुक्त गरेका थिए। दाहाललाई पछि माओवादी केन्द्रबाट मन्त्री बनेका राम कार्कीले उनको कार्यकाल थप गरिदिएका थिए। कार्कीले माओवादी कोटाबाट सचिन रोकालाई महाप्रबन्धकमा नियुक्ति दिँदै दाहालको कार्यकाल थपेका थिए त्यतिखेर।

केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएसँगै दाहालले राजीनामा दिए। ने क पा प्रवेश गर्ने क्रममा धुम्बाराहीमा 'टुरिस्ट' पहिरनमा ढाका टोपी लगाएका उनी त्यस लगत्तै विमानस्थल पुगेका थिए। अनि सोझै अमेरिका हानिएका थिए। उनका परिवार अमेरिकामा स्थापित छन्। नेपाल जेसिजको अध्यक्ष भएका र वाककटुता भएका दाहालसँग मानिस रिझाउने क्षमता बाहेक कुटनीतिक क्षेत्रको अनुभव भने छैन।

बंगलादेशमा कांग्रेस आउट, ने क पा इन

तत्कालीन नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत नियुक्त गरी पठाएका राजदूतहरुलाई ओली सरकारले फिर्ता गराउँदै डा मिश्रलाई सिफारिस गरेको थियो।

कांग्रेसको कोटाबाट सिफारिसमा परेका नेपालका लागि बंगलादेशका राजदूत डाक्टर चोपलाल भुषाललाई गत वर्षको पुसमै ओली सरकारले फिर्ता बोलाउन निर्णय गरेको थियो।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालका श्रीमान डाक्टर भुषाललाई देउवा सरकारले त्रिवि शिक्षण अस्पतालका चिकित्सक हुँदाहुँदै बंगलादेशको राजदूतको रुपमा पठाएको थियो।

उनको स्थानमा ओली सरकारले नेकपाका डाक्टर बंशीधर मिश्रलाई राजदूतको रुपमा सिफारिस गर्ने निर्णय गरेको हो। मिश्र नेकपाका नेता राजेन्द्र पाण्डे अध्यक्ष रहेको मनमोहन मेडिकल कलेजका लगानीकर्ता हुन्।

तत्कालीन नेकपा एमालेबाट संविधानसभाको सदस्य भएका मिश्र मेडिकल शिक्षाको सुधारका लागि गोविन्द केसीले गरेको सत्याग्रहको कटु आलोचक हुन्। उनमा पनि कुटनीतिक क्षेत्रको अनुभव छैन। उनी न त पार्टीको विदेश विभागसँग जोडिएका नै नेता हुन्। डाक्टर मिश्र पार्टीभित्र वरिष्ठ नेता माधवकुमार नेपालको कोटाबाट सिफारिसमा परेको स्रोतले बतायो।

जनप्रशासनमा स्नातक तथा एमबीबीएस गरेका मिश्रले २०३२ सालमा विद्यार्थी जीवनबाट राजनीतिक यात्रा सुरु गरेका थिए। २०४९, २०५६ र २०६४ मा मिश्र नेता नेपालको गृह जिल्ला रौतहट ४ बाट निर्वाचित भएका थिए। उनी २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सदस्य भएका थिए। उनी हाल नेकपाको केन्द्रीय सदस्य छन्।

स्पेनका लागि नयाँ राजदूत पासाङल्हामुकी छोरी

स्पेनका लागि नयाँ राजदूत शेर्पा नेपालकी प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी हुन्। उनका बुबा लाक्पा सोनाम शेर्पा यति एयरलाइन्सका कार्यकारी अध्यक्ष तथा थामशेर्कु ट्रेकिङका सञ्चालक हुन्। उनका भाइ आङछिरिङ शेर्पाको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीसँगै निधन भएको थियो। उनको निधन पछि लाक्पा सोनाम यति एयरलाइन्सको कार्याकारी अध्यक्ष भएका हुन्।

सरकारले यसअघिका स्पेनका लागि राजदूत भरतबहादुर रायमाझीलाई पनि सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो।

नेपालले स्पेनमा पहिलो पटक २०७४ सालमा सरकारले राजदूत खोल्ने निर्णय गर्दै रायमाझीलाई राजदूतको रुपमा सिफारिस गरेको थियो। त्यतिबेला दूतावास नै नभएको देशमा राजदूत सिफारिस गरेको भन्दै विरोध भएको थियो।

राप्रपाको कोटाबाट राजदूत सिफारिस भएका रायमाझी नियुक्ति भएको ९ महिनापछि कार्यक्षेत्रमा पुगेर ओहोदाको प्रमाणपत्र बुझाएका थिए।

ने क पाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेका व्यवसायी आङछिरिङ शेर्पाकै सम्बन्धका कारण दाबाफुटी शेर्पालाई राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको परराष्ट्र स्रोतले बतायो। हाल ने क पाको पार्टी कार्यालय रहेको धुम्वाराहीको भवन उनै दावाफुटीकी आमा पासाङ ल्हामुको स्मृतिमा बनेको फाउन्डेशनको स्वामित्वमा रहेको भवन हो। उनी फाउन्डेशनकी अध्यक्षसमेत हुन्।

दावाफुटी राष्ट्रिय विभुतीकी छोरी भएकाले 'कोटा'मा बुढानिलकन्ठ स्कुलमा पढेकी हुन्। पछि अमेरिकामा अध्ययन गरी फर्किएकी उनले विश्व खाद्य कार्यक्रममा केही समय स्वयंसेवकका रुपमा काम गरेकी थिइन्। 

कतारका राजदूत नारद प्रम ओलीसँगै जेल बसेका

कतारका लागि सर्वसम्मत भएका राजदूत नारद भारद्वाज प्रधानमन्त्री केपी शर्मा ओलीसँगै झापा विद्रोहमा सहभागी भएका उनी १२ वर्ष जेल बसेका थिए। त्रिविमा अंग्रेजी विषयको सहप्राध्यापक रहेका उनलाई ओलीकै जोडबलमा राजदूत सिफारिस गरिएको हो।

कतारका लागि राजदूत प्रा रमेशप्रसाद कोइरालालाई सरकारले वैशाखमा फिर्ता बोलाउने निर्णय गरेको थियो।

कोइराला कांग्रेस कोटाबाट राजदूतमा सिफारिस भएका थिए। कांग्रेस कोटाबाट कतारका लागि २०७३ को अन्तिममा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूतमा सिफारिस गरेको थियो। कोइराला पूर्व श्रममन्त्री टेकबहादुर गुरुङका सल्लाहकारको जिम्मेवारीमा समेत थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell